महँगो बन्दै राजनीति

समाचार

कमलराज राई
नेपालमा राजनीति गर्न धनीमानी हुनै पर्ने संस्कार बस्न थालेको छ । नेपालमा राजनीति गर्न आमनेपालीको बलबुताले नभ्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महाधिवेशनमा भएको तामझामले पनि यही देखाएको छ । कम्युनिस्ट भन्नेबित्तिकै सर्वहाराको दलका रुपमा लिइन्छ । सर्वहारा दलको महाधिवशेनमा पनि करोडौँको मञ्च बनाइयो भनेर भनिएपछि अब राजनीति कति महँगो भयो ? यसबारे सोच्नै नसकिने भएको छ । सबैजसो राजनीतिक दल र तिनका नेताले पद पाउनका लागि मरिहत्ते गर्छन् तर त्यहि पद पाउन आन्तरिक रुपमा पनि धेरै खर्च गर्नुपर्ने भएको छ । अर्थात् पछिल्लो समय राजनीति महँगो हुन थालेको छ ।
हरेक दलमा गुट बनिरहेको र देशभरका कार्यकर्ता जम्मा गर्दा खर्च त हुने नै भयो । अझ कतिपय दलको त महाधिवेशनको तयारीमा तलदेखि नै निर्वाचन हुन्छ । खर्च पनि त्यहीँबाट सुरु हुन्छ । यसरी पार्टी संगठनका लागि हुने खर्च दलीय व्यवस्थामा अस्वाभाविक पनि नभए पनि त्यसलाई धान्नै नसक्ने गरी खर्चिलो बनाउनु भने अचम्मको कुरा भएको छ । आर्थिक हिसाबल यो अत्यन्त अनुत्पादक खर्च हो भन्न सकिन्छ । झन् महाधिवेशनको तामझाममा यत्ति खर्च हुन्छ कि सो रकम मुलुकको विकासमा लगाउने हो भने झन्डै एक महिना मुलुकको खर्च नै धान्छ ।
यो खर्च पार्टीका नेता÷कार्यकर्ताले घरबार बेचेर जुटाउने त होइनन् । यो सबै पैसा नेपाली जनताबाटै संकलन गरिने हो । नेता÷कार्यकर्ताले व्यावसायीबाट चन्दा उठाइरहेका छन् । केही ठूला नेतालाई व्यावसायीहरुले आफैँ सहयोग गर्न सक्छन् तर कर्मचारी, मजदुर र साना व्यापारीले मन कुँड्याएर डरैडरले पार्टीलाई पैसा दिइरहेका छन् । यसलाई जनताले स्वेच्छाले दिएको चन्दा भन्नुभन्दा हाँस्यास्पद हुन जान्छ । केहीले अलिअलि राजीखुसी पनि देलान् तर त्यस्तो पैसा यस्तो तामझामका लागि ’हात्तीका मुखमा जिरा’ न हुन्छ । फजुल खर्च धान्न सबै पार्टीका अधिकांश नेता÷कार्यकर्ताले अरूसँगै माग्नुपर्ने हुन्छ । महाधिवेशनकै बहानामा समेत नेताहरूले कार्यकर्तालाई परनिर्भर र आशे बनाइदिएका छन् । यस्तो संस्कार समाज र व्यक्ति स्वयंको विकासमा प्रत्यूत्पादक हुन्छ ।
पछिल्लो समय राजनीति भन्नेबित्तिकै धनीमानीहरुले मात्र गर्न सक्ने भएको छ । राजनीति भन्नेबित्तिकै समाजसेवाको अर्को नाम हुनुपर्ने हो । तर, राजनीतिलाई हुनेखानेहरुले आफ्नो पक्षमा पार्नका लागि खर्चिलो, भड्खिलो बनाउन थालिएको छ । चुनाव नै यत्ति महँगो भएको छ कि अब सच्चा इमानदारले राजनीति गर्नै नसक्ने गरी महँगिएको छ । राजनीतिक दलहरुको आन्तरिक चुनाव त यत्ति महँगो भएको छ कि अब सर्वसाधारणले चुनावमा भाग लिएर माथिल्लो तहमा पुग्ने सपना नदेख्दा पनि हुने भएको छ । यत्तिको महँगो भएपछि अब नेताहरुले सही र इमानदार भएर देशको सेवा गर्लान् त ? पार्टीको नेता चुनिएर आमनिर्वाचनमा भाग लिन जाँदा पैसाको खोला बगाउनु पर्ने भएको छ । यत्तिको महँगो चुनाव गराउनुको पछाडि नेताहरुको आम्दानीको स्रोत खोज्नुपर्ने बेला भएको छ ।
पद र पैसाको प्रभावले पार्टीको सांगठनिक संरचना जोखिममा पर्ने भएको छ । चुनाव यत्ति महँगो भएको छ कि अब कल्पनाभन्दा पनि बाहिर गएको छ । यो खर्च धान्नका लागि एक इमानदार नेताका लागि सम्भव नै छैन । अहिले नेताहरुले पार्टीभित्र जनाधार बनाउन छाडेर खर्च कमाउनतिर लागेका छन् । पैसा भएपछि सबै कुरा हुन्छ, भन्ने सोचका साथ नेताहरु अघि बढेका छन् । कुनै पनि पार्टीको महाधिवेशनको तडकभडक हेर्ने हो भने त्यहाँको खर्चमा जो जस्ले पनि तर्सिनुपर्ने भएको छ । भर्खरै सम्पन्न भएको एमालेको खर्चलाई मात्र हेर्ने हो भने कुनै अर्बपतिको भन्दा कमी थिएन । गरिब जनताको पक्षमा वकालत गरेको भन्ने हो भने चुनावलाई यत्तिको महँगो बनाउने काम किन भयो ? जनताको नाममा हुने, खाने वर्गले मात्र रजाइँ गर्ने हो भने यसबाट जनताले राहत पाउलान् र ?
राजनीतिक दलले राजनीतिक अन्योल चिर्दै देशलाई सही दिशा दिनुपर्ने बेलामा पार्टीहरुले नै व्यक्तिवादी चरित्र देखाउन थलेका छन् । पछिल्लो समय पार्टीभित्र वैचारिक शून्यता, पारदर्शी स्वस्थ्य बहसको अवस्था कम हुँदै गएको छ । यसबाट जन्मिने विकृति र संकटलाई निरुपण गर्न आवश्यक भइसकेको छ । नेताहरुमा स्वतन्त्र चिन्तन आत्मा हुनुपर्छ भन्ने हो । तर, कार्यकर्ताहरु नै गुटमा रमाउन थालेका छन् । जब गुट बन्छ, तब त्यहाँ दासता पनि जन्मिन्छ । सांसद बनेपछि उनीहरुबाट नै पदको दुरुपयोग हुने गरेको देखिन्छ । पार्टीभित्र सहभागितामूलक छलफलको अभ्यासको सट्टा गुटगत चिन्तन बढेकाले यसले देश र जनतालाई सही पथमा डो¥याउँदैन । यसबाट राजनीति पनि भ्रष्टपथमा अघि बढ्छ । खासमा गुटको राजनीतिले दलहरुको आन्तरिक लोकतन्त्रलाई समेत कमजोर बनाएको देखिन्छ । पार्टीमा पद र पैसाको प्रभावले पार्टीको सांगठनिक संरचना पनि जोखिमपूर्ण हुँदा पनि पार्टीले यसविरुद्ध बोल्न नसक्नु साँच्चिकै दासताभाव झल्किएको देखिन्छ । धनवाद र डनवादले एउटा वर्गलाई फाइदा नै पु¥याउला तर यस्ता प्रवृत्तिले कालान्तरमा पार्टीलाई नै दुर्घटनामा जाक्ने देखिन्छ ।
अहिले पैसा नहुनेले राजनीति गर्ने सपना नदेख्दा हुने भएको छ । कांग्रेसको अधिवेशन चलिरहेको छ, जहाँ दिनका दिन खसी ढाल्ने काम भइरहेको छ । कार्यकर्ता पाल्नका लागि नेताहरुले अत्याधिक खर्च गरिरहेका छन् । भोलि उनीहरु पदमा पुग्नेबित्तिकै मुलुकबाट नै आफ्नो लगानी उठाउन खोजिरहेका छन् । नेता बन्ने र भोलि मन्त्री बनेर देशको ढुकुटीमाथि अनियन्त्रितत तरिकाले हैकम जमाउने सोचमा कार्यकर्ता अघि बढिरहेका छन् ।
चुनावमा हुने खर्च र महँगो बन्दै गएको राजनीतिलाई देखाउन यही एउटा उदाहरण नै पर्याप्त छ । त्यही अनुपातमा खाद्यान्न, मासु, रक्सी, झन्डा, ब्यानर लगायतमा खर्च ह्वात्तै बढेको छ । अझ पछिल्लो समय त गुण्डा, डन, तस्करहरुलाई पार्टीमा भित्र्याउने र नेता बनाउने प्रतिस्पर्धा नै चलेको छ । राजनीतिक नेतृत्वको भ्रष्ट प्रवृतिकै कारण यो अवस्था उत्पन्न भएको हो । तत्काल यो स्थितिमा सुधारको संकेत देखिएको छैन । तैपनि मतदाताहरुको चेतनाले धेरै हदसम्म यस्तो प्रवृतिलाई निरुत्साहित गर्दै जाने कल्पना गरिए पनि यो परिवर्तन गर्न लामो समय लाग्ने देखिन्छ । दल र उम्मेदवारले गर्ने खर्च प्रत्यक्षतः सरकारी ढुकुटीबाट नभए पनि यो राष्ट्रिय अर्थतन्त्रबाट फरक हुने कुरा होइन । तर, दल तथा उम्मेदवारहरुले गर्ने खर्च अत्यन्तै अपारदर्शी खालको हुने गरेको छ । यस्तो अपारदर्शी खर्च बढ्दै जाँदा चुनाव मात्र होइन समग्र राजनीतिमै पैसाको बढ्दो चलखेलले समाज÷समग्र प्रणालीलाई भ्रष्ट बनाउँदै छ । भ्रष्टाचारको मुख्य स्रोत चुनाव बन्दै छ ।
दल र उम्मेदवारले गर्ने खर्चको त कुनै सीमा नै छैन । आयोगले निषेध गर्दागर्दै पनि चुनाव चिह्न अंकित टिसर्ट, टोपी छ्याप्छ्याप्ती देखिन्छ । हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यवेक्षकहरू देशभर छरिनेछन् । उनीहरूका लागि होटेल, यातायात व्यवसायले पनि काम पाउनेछन् । तर, यसो हुँदा राजनीतिक भ्रष्टाचार भने बढ्ने भएको छ । केही वर्ष अघिसम्म निर्वाचनमा सामान्य खर्च गरे पुग्थ्यो । दल र नेताहरू विभिन्न आस्थाका आधारमा चल्ने गर्दथे । त्यसको सकारात्मक प्रभाव स्वभाविक रूपमा पार्टी कार्यकर्ता र मतदातामा पनि पर्दथ्यो । तर, अहिले राजनीतिक भ्रष्टाचारले संस्थागत रूप लिँदै गएको छ । अब, दुःख कष्ट गरेका, जेल नेल खाएका वा आन्दोलनमा समर्पित भएकाहरुले होइन, जसले बढी खर्च गर्न सक्छ, उसैले पार्टीको टिकट पाउँदा राजनीतिले आफ्नो बाटो फेरिरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *