काठमाडौं । दलनिकट कर्मचारी नेताहरुले देशलाई कसरी खोक्रो बनाउँछन् भन्ने उदाहरण खोज्न टाढाँ जानुपर्दैन । औचित्यविहीन भइसकेको आधारिक ट्रेड युनियनलाई भँजाएर कार्यबहाक अध्यक्षको हैसियतमा रहेका भोलानाथ पोखरेलले कर्मचारी सरुवा, बढुवामा लाभ लिनेदेखि देशविदेश घुमेर मोजमस्ती गरिरहेका छन् । त्योसँगै दलका नेताहरुसँग बार्गेनिङ गरेर स्थानीय तहमा उम्मेदवारको कोटासमेत मागेर जनप्रतिनिधि बनाउने गरेका छन् । पोखरेलले कुनैबेला एमाले र माओवादीलाई एक बनाउने काम पनि गरेका थिए । पोखरेल एमाले र माओवादी एक भएर नेकपा हुँदा नेता माधव नेपाल खेमाका कर्मचारी थिए ।
नेकपा फुटेर एमाले र माओवादी छुट्टाछुट्टै भएपछि माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि पोखरेल माधव नेपालतिर लागे । माधव नेपालतिर लाग्ने पोखरेलका दौतरीहरु मोहन घिमिरे, रामचन्द्र अधिकारी (आरसी) र गगन विष्ट लगायतका कर्मचारी समेटेर एकीकृत सहकारी कर्मचारी संगठन खडा गरिएको थियो । उक्त संगठनको अध्यक्षमा मोहन घिमिरे रहेका थिए । मोहन घिमिरे अध्यक्ष भएपछि एकीकृत सहकारी कर्मचारी संगठन नै तहसनहस हुन पुग्यो । संगठन तहसनहस भएपछि भोला पोखरेल र आरसी अधिकारी फेरि एमाले निकट नेपाल निजामती कर्मचारी संगठनतिर लागे । भोला एकीकृत समाजवादी निकट कर्मचारी संगठनमा हुँदा पोखरा उपमहानगर पालिका र कमलाई नगरपालिकाको नगरप्रमुखहरु जिताउन सफल रहेका छन् । नगरप्रमुखसँगै कार्यकारी अधिकृतमा पनि आफ्नो फेबरको मान्छे पठाउन सफल भएका थिए ।
पोखरेलले आधिकारिक ट्रेड युनियनको नाम भँजाएर यी दुई नगरपालिकाको क्यालेन्टर र स्मारिका छपाइको ठेक्का लिँदै आएका छन् । त्योसँगै अन्य मालदार स्थानीय तहमा पनि भोलाको निर्देशन अनुसार कर्मचारी सरुवामा पर्ने गरेका छन् । एमाले निकट कर्मचारी संगठनमा फर्किएका अर्का आरसी अधिकारीलाई महासचिव बनाएर उठ्तीपुठ्ती धन्दा चलाउन लगाएका छन् । उता, एकीकृत सहकारी कर्मचारी संगठनको अध्यक्ष रहेका मोहन घिमिरे भने यतिबेला आएर अलपत्र परेका छन् । अलपत्र मात्रै परेका छैनन् उनको उठ्तीपुठ्ती धन्दा पनि चौपट भएको छ ।
हुन त घिमिरे जब्बर कर्मचारी हुन् । उनैले जागिर खाएको अवधिदेखि अवकास हुने अवस्थासम्म आइपुग्दा पर्यटन, संघीय मन्त्रालयबाहेक अन्यत्र जान रुचाएनन् । यदि सरकारले सरुवा गरेको खण्डमा पनि जस्तोसुकै हतखण्ड मच्चाएर संघीय मन्त्रालयमै हालीमुहाली गरिरहे । जागिरे अवधि छोटिँदै गर्दा घिमिरेको सिको सिक्दै पोखरेल र आरसीको दादागिरी चम्किँदै छ । अहिले निजामती कर्मचारी संगठनले संघीय निजामती कर्मचारी ऐन जारी गर्नुपर्ने भन्दै आन्दोलनको लागि विभिन्न कर्मचारीहरुलाई उकास्दै गर्मीको सिजनमा दुःख दिने काम गर्दै आएका छन् ।
कर्मचारी युनियनका नेताहरुले देश र जनताको काम गर्नेभन्दा पनि कर्मचारी वर्गको हकहितको लागि भन्दै इमानदार कर्मचारीलाई बाइपास गर्दै भ्रष्ट कर्मचारीलाई अगाडि सारेर संगठन र आफू मोटाउने काम गरिराखेका छन् । तर, राज्यका सम्बन्धित निकायहरुले तिनै कर्मचारी नेताहरुलाई पुरस्कृत गर्ने गरेका छन् । एमाले निकट कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा अख्तियारमा परे तापनि पावर, सोर्सफोर्ससँगै दाम चढाएपछि सफाई पाउने गरेको एक पीडित कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् ।
