काठमाडौं । नेपालको बैंकिङ क्षेत्र खराब स्थितिमा पुगेको छ । नेपालका अधिकांश बैंकहरु ठूलो नाफा कमाएको देखाए पनि वितरण योग्य नाफा झन्डै शून्यको अवस्थामा पुगेको छ । बैंकहरुको वित्तिय विवरण केलाउँदा यस्तो भेटिएको हो । प्रभु बैंकको खराब कर्जामात्र १५ प्रतिशतभन्दा माथि रहेको छ । बैंकिङ्ग क्षेत्रका जानकारहरुका अनुसार, कुनै पनि वित्तिय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनु भनेको सो बैंक विग्रिएको मानिन्छ ।
विवरण अनुसार, एनआईसी एसिया बैंकको खराब कर्जा ९.२६ प्रतिशत पुगेको छ भने तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ८.६६ प्रतिशत पुगेको छ । मुख्य सचिवबाट अवकाश पाएर हालै मात्र बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष सम्हाल्न पुगेका छन् । नेपालका २० वाणिज्य बैंकमध्ये खराब कर्जा अधिक रहेको चौथो बैक हिमालयन बैंक रहेको छ । सो बैंकको खराब कर्जा ७.९६ प्रतिशत छ । कुमारी बैंकको खराब कर्जा ७.४६ प्रतिशत रहेको भेटिन्छ ।
यस्तै, प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्सको ५.८८ प्रतिशत, लक्ष्मी सनराइजको ५.२३ प्रतिशत, ग्लोबल आइएमईको ४.९६ प्रतिशत, नबिलको ४.१० प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत, सानिमा बैंकको २.८७ प्रतिशत, नेपाल एसबिआई बैंकको २.९२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत खराब कर्जा हुँदा एभरेष्ट बैंकको खराब कर्जा मात्र ०.४९ प्रतिशत रहेको भेटिएको छ । वाणिज्य बैंकहरूजस्तै विकास बैंक र वित्त कम्पनीहरूमा पनि खराब कर्जाको दर उच्च देखिएको छ ।
खराब कर्जा बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रदर्शन परीक्षण गर्ने महत्वपूर्ण औजारको रुपमा रहने गरेको छ । खराब कर्जाले बैंकको वित्तीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले लगानीकर्ताका लागि पनि यो सूचक महत्वपूर्ण हुन जान्छ । कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याजको निर्धारित भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा मान्छि । अर्थविज्ञका अनुसार अहिले बैंक तथा वित्त क्षेत्रको खराब कर्जाको अवस्था हेर्ने हो भने नेपालका अधिकांश वाणिज्य र विकास बैंकहरुलाई ज्वरो आएको स्थिति छ ।

