भूमाफिया र कर्मचारीको मिलोमतोमा अधिकारीको जग्गा गायब

प्रमुख विविध समाचार

काठमाडौं । भूमि प्रशासनलाई पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउने सरकारी प्रतिबद्धताबीच मालपोत कार्यालय कलंकीका कर्मचारीले कुनै आधिकारिक पत्र तथा अदालतको आदेश बिनै एक व्यक्तिको नाममा रहेको जग्गा रोक्का गरेको आरोप लागेको छ ।
लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका धादिङका नवराज अधिकारीको नाममा रहेको काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित जग्गा कुनै स्पष्ट कानुनी आधार नदेखाई रोक्का गरिएको आरोप लागेको छ ।

अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला, साविक बाडभञ्ज्याङ गाविस वडा नम्बर १, हाल चन्द्रागिरि नगरपालिकामा पर्ने कित्ता नम्बर ३१९ को जग्गा मालपोत कार्यालय कलंकीले एकतर्फी रूपमा रोक्का राखेको बताइएको छ ।
जग्गाधनीले कुनै बैंक, वित्तीय संस्था, सहकारी वा व्यक्तिसँगको ऋण तथा आर्थिक कारोबारका लागि धितो राखिएको छैन । त्यस्तै, जग्गा रोक्का गर्न कुनै अदालतबाट आदेश जारी भएको वा राज्यका कुनै निकायबाट आधिकारिक पत्राचार भएको जानकारीसमेत आफूहरूलाई नभएको जग्गाधनीकोे दाबी छ ।

सामान्यतया जग्गा रोक्का गर्दा त्यसको स्पष्ट कानुनी आधार, सम्बन्धित निकायको पत्राचार वा प्रचलित कानुनबमोजिमको निर्णय आवश्यक पर्छ । तर अधिकारीको जग्गा कुन कानुनी आधारमा रोक्का गरिएको हो भन्ने विषयमा गम्भिर प्रश्न उठेको छ ।
जग्गाधनी पक्षले मालपोत कार्यालयका कर्मचारीको नियतमाथि समेत प्रश्न उठाएको छन् । कुनै आर्थिक कारोबार, अदालतको आदेश वा सरकारी निकायको पत्राचार नभएको अवस्थामा जग्गा रोक्का गरिनु कर्मचारीको स्वेच्छाचारी निर्णय हुन सक्ने जग्गाधनीको आशंका छ ।
विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली नागरिकको सम्पत्तिमाथि हुने प्रशासनिक निर्णयमा पारदर्शिता र जवाफदेहिता आवश्यक हुन्छ । जग्गाधनी स्वयं विदेशमा रहेको अवस्थामा सम्पत्तिको स्वामित्व तथा कारोबारसम्बन्धी अधिकारमा असर पर्ने गरी गरिएको निर्णयको कानुनी आधार स्पष्ट हुनुपर्ने छ ।

मालपोत कार्यालयले जग्गा रोक्का गर्दा कुन निकायको पत्र, कुन मितिको निर्णय र कुन कानुनी व्यवस्थाको आधार बनाएको हो भन्ने विषय महत्वपूर्ण हुन्छ । यदि कुनै आधिकारिक पत्र वा कानुनी आधारबिना नै जग्गा रोक्का गरिएको पुष्टि भएमा त्यसले सम्बन्धित कर्मचारीको कार्यसम्पादन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ ।

अर्कोतर्फ, जग्गा रोक्का गर्ने निर्णयमा कार्यालय प्रमुखको जानकारी र स्वीकृति थियो वा थिएन कर्मचारीहरूले आफु खुसी निर्णय गरेका हो की भन्ने भन्ने विषयमा छानबिन गर्नु पर्ने अवस्था देखिन्छ ।

भूमि प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपरेको तथा कर्मचारीको निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको गुनासो आउने गरेका छन्। अधिकारीको जग्गा रोक्का प्रकरणले पनि मालपोत कार्यालयको निर्णय प्रक्रिया र आन्तरिक नियन्त्रण प्रणालीमाथि प्रश्न चिन्ह खडा गरेको छ । धेरैजसो भूमि तथा मालपोत कार्यालयमा यस्तो घटना हुने गरेको पाइन्छ ।

जग्गाधनी पक्षले रोक्काको आधिकारिक कारण र कानुनी आधार स्पष्ट पार्नुपर्ने माग गरेको छ । कुनै निकायको आदेशबिनै रोक्का गरिएको भए तत्काल फुकुवा गरी त्यसमा संलग्न कर्मचारीको भूमिकामाथि छानबिन गर्नुपर्ने जग्गाधनीको माग छ ।

यद्यपि, जग्गा रोक्का गरिएको वास्तविक कारण, रोक्का अभिलेख र निर्णय प्रक्रियाबारे मालपोत कार्यालय कलंकीको आधिकारिक धारणा प्राप्त भएपछि मात्र कर्मचारीबाट कानुनविपरीत काम भएको हो वा होइन भन्ने यकिन गर्न सकिनेछ ।

यस प्रकरणमा कुनै अदालतको आदेश, बैंक तथा वित्तीय संस्थाको पत्राचार वा अन्य सरकारी निकायको आधिकारिक निर्देशनबिनै मालपोत कार्यालयले जग्गा रोक्का गर्न मिल्छ कि मिल्दैन भन्ने चर्चा भूमि कार्यालयमा चल्न थालेको छ । जग्गा रोक्काको कानुनी आधार स्पष्ट पार्नुपर्ने निर्णय प्रक्रियामा संलग्न कर्मचारीको भूमिका स्पष्ट पार्नु सम्बन्धित कार्यालयको जिम्मेवारी हो की होइन भन्ने प्रश्न पनि गम्भिर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *