आमाको जन्मथलो हुँदै खिम्ती किनारमा रहेको शिवालयसम्मको यात्रा

पर्यटन लेख विविध

नौरथा लागिसकेको थियो। असोज २६ गते बिहान करिब १० बजे सिंगटी निवासी पेमलाक्पा शेर्पा र म चरिकोटबाट जिरीतर्फ लाग्यौँ। रायमाझी थरका चालक पनि थिए। जिरीसम्म त धेरै पटक पुगेको थिएँ तर त्यो भन्दा उता सवै नौलो थियो मेरा लागि। यात्राको उद्देश्य केवल नयाँ ठाउँ घुम्नु थिएन। संरक्षण क्षेत्रमा समतामूलक शासनसम्बन्धी दुईदिने कार्यशालामा सहभागी हुनु पनि थियो। तर यो यात्राले मलाई आमाको जन्मथलो हुँदै खिम्ती खोलाको किनारमा रहेको शिवालयसम्म पु¥याउने अवसरसमेत जुटायो।बिहानको खाना नयाँ पुलमा खायौँ। नयाँ पुल तरेपछि भीमेश्वर नगरपालिका छाडेर वैतेश्वर गाउँपालिकाको भूभागमा प्रवेश ग¥यौँ। तामाकोशी नदीको किनारैकिनार लाग्ने हो भने रामेछाप पुगिन्छ। हामी भने उकालो बाटो समातेर बुस्ती पार गर्दै अगाडि बढ्यौँ।नयाँ ठाउँ भएकाले मन उत्साहित र कौतुहलपूर्ण थियो ।

आमाको जन्मथलो पुग्दा
बुस्ती हुँदै आमाको जन्मथलो र हुर्किएको ठाउँ नाम्दु पुगियो । नाम्दु पुगेपछि मनमा अनेकौँ कुरा खेल्न थाले । यही ठाउँमा मेरी आमा जन्मिनुभएको थियो, यहीँ हुर्किनुभएको थियो । यहीँका बाटामा उहाँ हिँड्नुभयो होला, यहीँका पाखापखेरामा खेल्नुभयो होला । यहीँको माटोमा उहाँको बाल्यकाल बितेको थियो होला । आमाको बाल्यकालको कुनै प्रत्यक्ष सम्झना मसँग थिएन, तर उहाँको जन्मथलोमा पुग्दा मनमा अनेकौँ कल्पना जागे ।म पनि त्यहाँ कंयौ पटक पुगेको छु, त्यता खेलेको छु ।

नाम्दुबाट अझै उकालो लाग्यौँ । मैनापोखरी हुँदै खावाडाँडा पुग्दा वैतेश्वर गाउँपालिकाको भूभाग छाडेर जिरी नगरपालिकातर्फ प्रवेश गरियो । त्यसपछि उकालो पनि सकियो । चरिकोटबाट करिब ५५ किलोमिटर सडक यात्रा गरेर हामी जिरी पुग्यौँ ।

जति पुगे पनि रहर नपुग्ने जिरी
जिरी मेरो लागि नयाँ ठाउँ थिएन । धेरैपटक पुगिसकेको छु । तर जिरी जति पटक पुगे पनि घुम्ने रहर पूरा हुँदैन । त्यहाँको बस्ती, घरहरूको बनावट, वरिपरिका वनजङ्गल र प्राकृतिक वातावरणले मन लोभ्याउँछन् । प्रकृतिसँग नजिक रहेर व्यवस्थित रूपमा विकास गरिएको बस्तीको अनुभूति जिरीले दिन्छ ।

जिरीमा पेमलाक्पाजीको बैंकसम्बन्धी केही काम रहेछ । त्यसैले केही समय हाम्रो गाडी रोकियो ।मैले रहर लागेका दृश्यहरू मोवाइलमा कैद गरें ।हामी जिरी बजारबाट पूर्वतर्फ लाग्यौँ । हाम्रो गन्तव्य शिवालय थियो ।

जिरीबाट कुने भन्ने ठाउँ हुँदै जानुपर्ने रहेछ । कुने आमाको मावला अर्थात् मेरो बुढो मावली हो । त्यस ठाउँलाई पनि हेर्ने इच्छा थियो । तर चालकलाई सोध्न बिर्सिएछु । कुरा सम्झँदा हामी अगाडि बढिसकेका थियौँ । त्यो ठाउँ हेर्न नपाएको पछुतो मनमा रहिरह्यो ।

कालोपत्रे सडक सकियो । सिउरानी गाउँ आइपुग्यो । त्यहाँ एउटा नदी रहेछ । मैले चालकलाई सोधेँ, “यो कुन नदी हो ?” उनले खिम्ती खोला भएको बताए ।

नदीको पुल तरेर हामी रामेछाप जिल्लामा प्रवेश ग¥यौँ । दक्षिणतर्फ लागे खिम्ती हुँदै मन्थलीतिर पुगिने रहेछ । तर हामी नदीको विपरीत दिशातर्फ, उत्तरतिर लाग्यौँ । जिरी र कुनेभन्दा अगाडिका ठाउँ मेरा लागि नौला थिए । त्यसैले बाटोमा देखिएका बस्ती, भूगोल र प्राकृतिक दृश्यबारे चासो राख्दै सोध्दै अगाडि बढेँ । बेलाबेलामा तस्बिर पनि खिचिरहेको थिएँ ।

खिम्ती खोलाको किनारैकिनार
रामेछाप जिल्ला प्रवेश गरेपछि सडकको स्वरूप केही फरक देखियो । कालोपत्रे थिएन, तर मसिना गिट्टीजस्ता ढुङ्गाले बनाइएको सडक कालोपत्रे सडकजस्तै लाग्थ्यो । चालकले त्यो सडक स्विस सरकारको सहयोगमा निर्माण भएको जानकारी दिए ।

हाम्रा चालक पवटीका भए पनि यस क्षेत्रमा बसेर काम गरिरहेका रहेछन् । उनी बाटो र आसपासका ठाउँबारे जानकार थिए । उनको जानकारीले हाम्रो यात्रालाई सहज बनाइरहेको थियो ।

हामी खिम्ती खोलालाई देब्रेतिर पार्दै उत्तरतर्फ अघि बढ्यौँ । ठोसे बजार आइपुग्यो । ठोसेको नाम पहिले नै सुनेको थिएँ, तर आफूले कल्पना गरेभन्दा ठूलो र विकसित बजार देख्दा आश्चर्य लाग्यो ।यहाँ फलाम खानी छ भन्ने गरिन्छ । खिम्ती खोला देब्रेतिरै थियो भने खोला पारिको पश्चिमतर्फ दोलखा जिल्ला पर्दोरहेछ । हामी रामेछापको भूभाग हुँदै अगाडि बढिरहेका थियौँ ।

नयाँ ठाउँको यात्रा गर्दा सडकको दूरी मात्र महत्त्वपूर्ण हुँदैन । बाटोमा देखिने बस्ती, मानिसको जीवनशैली, भूगोल र प्राकृतिक सम्पदाले पनि यात्रालाई अर्थपूर्ण बनाउँछन् । मेरा लागि यो यात्रा त्यस्तै अनुभव बटुल्ने अवसर बनिरहेको थियो । अन्ततः हामी शिवालय पुग्यौँ । त्यहाँ दुई रात बस्ने र दुईदिने कार्यशालामा सहभागी हुने कार्यक्रम थियो ।

शिवालयको सानो बजार र शेर्पा गाइड लज
शिवालयमा हामी शेर्पा गाइड लजमा बस्ने भयौँ ।सञ्चालक शेर्पाजी मिलनसार र रमाइला रहेछन् । होटल सफा र चिटिक्क थियो । कोठा हेर्न गयौँ । साना कोठाहरू काठैकाठले बनाइएका थिए । प्रत्येक कोठामा दुईवटा बेड थिए । कोठा सफा थिए, तर संलग्न स्नानघर अर्थात् एट्याच्ड बाथरुम भएका होटल त्यहाँ नरहेको जानकारी पाइयो ।

मैले कोठाको भाडा सोधेँ । एक रातको तीन सय रुपैयाँ भन्ने उत्तर आयो । अहिलेको समयमा पनि यति सस्तोमा कोठा पाउनु मेरा लागि रोचक अनुभव थियो । खानामा के पाइन्छ भन्ने मेरो अर्को जिज्ञासा थियो । नयाँ ठाउँमा पुग्दा त्यहाँको स्थानीय उत्पादनको स्वाद चाख्ने इच्छा स्वाभाविक रूपमा जाग्छ । त्यहाँ स्कुस पाइने रहेछ । साग पनि पाइने जानकारी दिइयो, तर हामीले खाएको साँझको खानामा स्थानीय उत्पादनको विविधता भने देख्न पाइएन ।

हामी बसेको होटलबाट खिम्ती खोला र झोलुङ्गे पुल नजिकै थिए । म त्यहाँ पुगेँ, खोलाको बहाव र पुलको तस्बिर खिचेँ, भिडियो बनाएँ । होटलमा घाम ताप्दै पनि केही तस्बिर खिचेँ र सामाजिक सञ्जालमा राखेँ । यात्राका क्रममा देखेका दृश्य अरूसँग बाँड्दा यात्राको आनन्द अझ बढ्ने रहेछ ।

जर्मनीबाट घुम्न आएका एक जोडीसँग भेट भयो । केही बेर हामीबीच कुराकानी भयो । उनीहरूले विशेष गरी प्लास्टिक प्रदूषणका विषयमा चासो राखे । विदेशबाट आएका पर्यटकले पनि हाम्रो प्राकृतिक वातावरण र प्रदूषणको अवस्थाबारे चासो राखेको देख्दा वातावरण संरक्षणको विषय विश्वव्यापी सरोकारको विषय रहेछ भन्ने अनुभूति भयो ।

हामीकहाँ पर्यटनको प्रचुर सम्भावना छ । तर प्राकृतिक सुन्दरता जोगाउन नसके पर्यटनको आकर्षण पनि कमजोर हुन्छ । प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन, नदी र खोलाको स्वच्छता तथा स्थानीय बस्तीको सरसफाइमा ध्यान दिन सके यस्ता ठाउँमा पर्यटन प्रवद्र्धन गर्न थप सहज हुनेछ ।

संरक्षणमा समतामूलक शासनको कार्यशाला
हाम्रो शिवालय यात्राको प्रमुख उद्देश्य संरक्षणमा समतामूलक शासनसम्बन्धी कार्यशालामा सहभागी हुनु थियो । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको समन्वयमा रिकफ्ट नेपालले उक्त कार्यशाला आयोजना गरेको थियो । शिवालयमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको इलाका कार्यालय पनि रहेछ ।

त्यहाँका कार्यालय प्रमुख शंकर थामीसँग मेरो पहिलेदेखि नै चिनजान थियो । शिवालय पुगेकै दिन उहाँसँग भेटघाट र कुराकानी भयो । परिचित व्यक्तिसँग नयाँ ठाउँमा भेट हुँदा यात्राको आत्मीयता अझ बढ्ने रहेछ ।

असोज २७ गते कार्यशाला सुरु भयो । कार्यक्रममा ३० जनाभन्दा बढी सहभागी थिए । संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी तथा वन उपसमितिका पदाधिकारीहरूको सहभागिता थियो ।कार्यशालाका मुख्य विषय संरक्षण क्षेत्रबाट प्राप्त हुने लाभको न्यायोचित बाँडफाँड, गुनासो व्यवस्थापन र नेतृत्व क्षमता अभिवृद्धि थिए । संरक्षण क्षेत्रको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता, उनीहरूले प्राप्त गर्ने लाभ र निर्णय प्रक्रियामा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । संरक्षणको जिम्मेवारी स्थानीय समुदायले निर्वाह गर्ने तर त्यसबाट प्राप्त हुने लाभको वितरण न्यायोचित नहुने हो भने संरक्षणप्रति अपनत्व कमजोर हुन सक्छ ।

प्राकृतिक स्रोत संरक्षण गर्नु राज्य र समुदाय दुवैको साझा दायित्व हो । तर संरक्षणको भार कसले कति बोकिरहेको छ र त्यसबाट प्राप्त लाभ कसले कति पाइरहेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । संरक्षण क्षेत्रभित्र वा आसपास बसोबास गर्ने समुदायको आवश्यकता, अधिकार र जीविकोपार्जनका सवाललाई बेवास्ता गरेर संरक्षणका कार्यक्रम प्रभावकारी हुन सक्दैनन् ।

त्यसैले संरक्षणबाट प्राप्त हुने लाभको न्यायोचित वितरण, स्थानीय समुदायका गुनासा सुन्ने र सम्बोधन गर्ने प्रभावकारी संयन्त्र तथा समावेशी नेतृत्व विकास आवश्यक छन् । यस्ता विषयमा छलफल र अभ्यास गराउने कार्यशालाले सहभागीहरूलाई आफ्नो जिम्मेवारी बुझ्न र व्यवस्थापनका विद्यमान अभ्यासलाई सुधार गर्न सहयोग पु¥याउँछ ।

कार्यशालाको महत्त्व तालिम सञ्चालन गर्नुमा मात्र सीमित हुँदैन । तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सकियो कि सकिएन भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति र वन उपसमितिका पदाधिकारीहरूले आफूले सिकेका विषयलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सके त्यसले संरक्षण व्यवस्थापनलाई थप समावेशी, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पु¥याउनेछ ।

शिवालयको नाम र खिम्ती खोलाको किनार
शिवालय पुगेपछि त्यहाँ शिवको मन्दिर अवश्य होला भन्ने लाग्यो । असोज २७ गते साँझ मन्दिर खोज्दै निस्कियौँ । प्रहरी चौकीनजिकै शिवमन्दिर रहेछ । शिवालय बजार सानो भए पनि चिटिक्क परेको देखिन्थ्यो ।

बजारको भौगोलिक अवस्थाले भने मनमा केही डर उत्पन्न गराइरहेको थियो । खिम्ती खोलाको किनारमा बस्ती र होटलहरू थिए । केही समयअघि मात्र भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका घटनाहरू देखेसुनेका थियौँ । ती घटनाको सम्झना ताजा भएकाले खोलाको किनारमा बस्दा मनमा जोखिमको अनुभूति भइरह्यो ।

तर यात्रा र बसाइको कार्यक्रम तय भइसकेको थियो । केही हुँदैन भन्ने आशा राख्दै त्यहीँ बस्यौँ । यद्यपि यस्ता नदी किनारका बस्तीमा विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीको महत्त्वलाई बेवास्ता गर्न मिल्दैन । प्राकृतिक सौन्दर्यले मानिसलाई आकर्षित गर्छ, तर प्रकृतिको शक्ति र जोखिमलाई बुझेर सुरक्षित बसोबास तथा पूर्वतयारीका उपाय अपनाउनु पनि उत्तिकै आवश्यक छ ।

जिरी नगरपालिकाको श्यामातर्फ केही किलोमिटरको दूरीमा स्टोन पार्क रहेको सुनिएको थियो । समय र कार्यक्रमको सीमाका कारण त्यहाँ पुग्न सकिएन । नजिकैको अर्को आकर्षक ठाउँ हेर्ने रहर अधुरै रह्यो ।

यात्राले दिएका सम्झना र सिकाइ
असोज २८ गते कार्यशाला सम्पन्न भयो । त्यसपछि हामी आएको बाटो हुँदै उही गाडीमा चरिकोट फर्कियौँ । शिवालयदेखि म बस्ने स्थान घेवापानीसम्म आइपुग्दा करिब ७१ किलोमिटर सडक यात्रा गर्नुपर्ने रहेछ ।

यो यात्रा मेरा लागि कार्यशालामा सहभागी हुने औपचारिक कार्यक्रम मात्र रहेन । आमाको जन्मथलो नाम्दु पुगेर बाल्यकालका सम्भावित सम्झनाहरू मनमा उतार्ने अवसर मिल्यो । जिरीको प्राकृतिक सुन्दरतालाई फेरि नजिकबाट नियाल्न पाएँ । ठोसे बजार र खिम्ती खोलाको किनार हुँदै शिवालय पुग्दा रामेछापको भूगोल, बस्ती र जनजीवनबारे नयाँ अनुभव हासिल भयो । कहिलेकाहीँ छोटो सडक यात्राले पनि जीवनका धेरै पाटा देखाइदिन्छ । एउटा ठाउँले पारिवारिक इतिहाससँग जोड्छ, अर्को ठाउँले प्रकृतिको सुन्दरता देखाउँछ र कुनै अनुभवले सामाजिक जिम्मेवारीको बोध गराउँछ । चरिकोटबाट सुरु भएर नाम्दु, जिरी, ठोसे हुँदै शिवालयसम्म पुगेको यो यात्राले मलाई यस्तै विविध अनुभव र सम्झना दिएर फर्काएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *