सार्वभौमसत्ता सम्पन्न नागरिक सूचनाका हकदार हुन्

Uncategorized अन्तरवार्ता राजनीति विविध समाचार

कृष्णहरि बास्कोटा, पूर्वप्रमुख सूचना आयुक्त

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आप्mनो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको प्रबन्ध गरिएको छ । यो नागरिकको मौलिक हक हो । यस्तो सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्छ । यसलाई प्रचलित कानून, अभ्यास र विश्वव्यापी मानव अधिकार घोषणापत्रहरु समेतले पुष्टि गरेको छ । यसर्थ, आम नेपाली नागरिकमा सूचना माग्ने, पाउने र प्रवाह गर्ने हक स्थापित भएकाले सूचना प्रवाहका लागि सूचना माग गर्न तर पहिल्लो समय रास्वपाको सरकारले अधिकांश सूचना लुकाएको छ । त्यसै सेरोफेरोमा पूर्वअर्थ सचिव तथा सूचना आयोग पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासँग तामाकोशी सन्देशका प्रतिनिधिले गरेको कुराकानीको अंश ।

० कानूनले सूचनाको हकलाई कसरी प्रत्याभूति प्रदान गरेको छ ?
सूचनाको हकसम्बन्धी ऐनको दफा ३ को उपदफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहँुच हुनेछ भन्ने कानूनी व्यबस्था छ । यसैगरी, ऐनको दफा ४ को उपदफा (१) मा प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ भनिएको छ । साथै, ऐनको दफा ११ मा नागरिकको सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने समेतको व्यबस्था छ ।

० सूचनाको हकको विश्वव्यापी विकासक्रम कस्तो रहेको छ ?
सन् १७६६ मा पहिलोपटक स्वीडेनमा सूचनाको हकसम्बन्धी कानून जारी भएको हो । सो मुलुकमा सेनाको खर्चसम्बन्धी सूचना माग गर्ने सन्दर्भमा कानून जारी भएको हो । त्यसपछि सन् १९५१ मा फिनल्याण्ड, सन् १९६६ मा संयुक्त राज्य अमेरिकामा र सन् १९७० मा डेनमार्क र नर्बेमा यो कानून जारी भयो । हाल विश्वका करिब १४२ ओटा भन्दा बढि मुलुकमा यो कानून जारी भएको छ । सूचनाको हकको दक्षिण एशियाको विकासक्रमलाई नियाल्दा सन् २००२ मा पाकिस्तानको पंजाब र केपी प्रदेशमा सूचनाको हकसम्बन्धी कानून जारी भयो । तत् पश्चात सन् २००५ मा भारतमा, सन् २००७ मा नेपालमा, सन् २००९ मा बंगलादेशमा यो कानून जारी भयो । साथै, सन् २०१४ मा अफगानिस्तान र माल्दिभ्समा तथा सन् २०१६ मा श्रीलंकामा र पाकिस्तानमा संघीय कानून जारी भएको हो ।

० नागरिकले सूचना मागेपछि तत्कालै सूचना पाउन सकिन्छ ?
सकिन्छ । हाम्रो कानूनमै सूचना माग गरेपछि तत्कालै दिनु पर्ने व्यबस्था छ । यस्का लागि प्रत्येक नागरिकले सम्बन्धित कार्यालयको सूचना अधिकारी समक्ष सूचना माग गर्नुपर्छ । यसर्थ, सामान्यतः यस्तो सूचना लिखितरुपमा माग गर्नुपर्छ । साथै, सूचना माग गर्दा आफूलाई के सूचना चाहिएको हो र त्यस्को प्रयोजन के हो भन्ने कुरामा एकीन हुनुपर्छ । यसो भएपछि सूचना अधिकारीलाई तत्काल सूचना दिन सजिलो हुन्छ ।

० पन्ध्र दिनमा मात्रै सूचना पाइने होइन र ?
हो, सूचनाको हकसम्बन्धी कानूनमा सूचना माग भएपछि तत्काल उपलव्ध गराउनु पर्ने व्यबस्था छ । तथापी, यदी माग भएको सूचना संकलन गर्नु पर्ने भए सूचना अधिकारीले बढिमा १५ दिन भित्र सूचना उपलब्ध गराउनु पर्छ भनिएको छ । यदि, सूचना अधिकारीले १५ दिन भित्र सूचना उपलव्ध गराउन नसकेमा कार्यालय प्रमुख समक्ष उजूरी गरी अर्को ७ दिनभित्र सूचना उपलव्ध हुने कानूनी प्रत्याभूति छ । तर, जीउ ज्यानको सुरक्षा सम्बन्धी सूचना भने २४ घण्टाभित्र उपलव्ध हुने कानूनी व्यबस्था छ । यस्का लागि निबेदनमा सोहि व्यहोरा उल्लेख गरी सूचना अधिकारीलाई जानकारी गराउनु पर्छ ।

० सूचना अधिकारीले सूचना नदिएमा कहाँ उजूरी गर्नुपर्छ ?
सामान्यतः सूचना अधिकारीले माग गरेको सूचना १५ दिनभित्रमा नदिएमा उनको बिरुद्ध कार्यालय प्रमुख समक्ष उजूरी गर्नुपर्छ । यस्तो उजूरी लिखित हुनुपर्छ र उजूरी दर्ता गराउनु पर्छ । उजूरी दर्ता गरेको निस्सा लिनुपर्छ । यसरी उजूरी गर्दा दुईवटा कुराको माग दावी गर्नु पर्छ । पहिलो, सूचना नदिने सूचना अधिकारीलाई विभागीय कारवाही गरिपाउँ । दोस्रो, मैले माग गरेको सूचना पाउँ । यस्तो उजूरी सूचना अधिकारीले सूचना दिन ईन्कार गरेको पत्र दिएको वा आशिंक सूचना दिएको वा १५ दिन गुजारेको मितिबाट सातदिनभित्र गर्नुपर्छ । सामान्यतः यसरी उजुरी परेपछि सम्बन्धित कार्यालय प्रमुखले ७ दिनभित्र सूचना उपलव्ध गराउनु पर्ने कानूनी व्यबस्था छ । यस्मा सूचना अधिकारीको दोष देखिएमा कार्यालय प्रमुखले निजलाई विभागीय कारवाही गर्ने कानूनी व्यबस्था छ ।

० कार्यालय प्रमुखले पनि सूचना नदिए कहाँ पुनरावेदन गर्न जाने ?
सूचना माग गर्ने नागरिकले कहिल्यै पनि हार मान्नु हुदैन । यसर्थ, सूचना अधिकारी र कार्यालय प्रमुख दुबैले सूचना नदिएमा राष्ट्रिय सूचना आयोगमा पुनराबेदन गर्नुपर्छ । यस्तो पुनरावेदन गर्दा पहिलो, सूचना अधिकारीले १५ दिनभित्रमा सूचना नदिएको अबस्था हुनुपर्छ । दोस्रो, कार्यालय प्रमुखसँग गरिएको उजूरीमा पनि निजले सूचना दिनु पर्ने ७ दिनको म्याद गुजारेको वा सूचना दिन ईन्कार गरी पत्र दिएको मितिले ३५ दिनभित्र राष्ट्रिय सूचना आयोगमा तोकिएको ढाँचामा पुनरावेदन दिनुपर्छ ।

यसरी आयोगमा पुनरावेदन गर्दा कुनै दस्तुर लाग्दैन । साथै, पुनरावेदनमा हुलाक टिकट पनि टाँस गर्नु पर्दैन । यस काममा सूचनाको हकका अभियन्ता र स्वयं आयोगबाट नागरिकलाई सूचना दिलाई दिनेगरी सहयोग प्राप्त हुन्छ ।

० पुनरावेदन उपर आयोगले के कस्तो कारवाही गर्छ ?
राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्दा आपूmले सूचना अधिकारीसँग सूचना माग गरेको र कार्यालय प्रमुखसँग उजूरी गरेको प्रमाण साथमा पेश गर्नुपर्छ । यसरी आयोग समक्ष परेको पुनरावेदनमा आयोगले समय सीमा तोकी निशुल्क सूचना उपलव्ध गराउनु भन्ने समेतको आदेश जारी गर्न सक्छ । आयोगले अधिकतम् ६० दिनभित्र आफ्नाे फैसला सुनाउछ ।

आयोगले आफु समक्ष परेको पुनरावेदनको कारवाही र किनारा गर्न सम्बन्धित प्रमुख/सूचना अधिकारीसँग बयान लिन सक्छ । कुनै लिखत पेश गर्न लगाउन सक्छ । सो सम्बन्धमा साक्षी प्रमाण बुझ्न सक्छ । आयोगमा पक्ष, विपक्ष, निजका प्रतिनिधि वा सम्बन्धित कानून व्यवसायीलाई उपस्थित गराउन सक्छ । यस्का लागि आयोगमा रहेको ईजलासमा बहस पैरवी हुन सक्छ । यसरी, आयोगले अदालती प्रक्रिया अनुसार आफ्नाे फैसला सुनाउछ ।

० सूचना दिन अटेरी गर्नेलाई आयोगले के सजाय गर्छ ?
राष्ट्रिय सूचना आयोगमा पुनरवेदन परेपछि आयोगले आवश्यक प्रक्रिया पूरा गरी सूचना दिनु भन्ने आदेश गर्दछ । यसरी आयोगबाट जारी भएको आदेशको अटेरी गरी सूचना नदिने पदाधिकारीलाई आयोगले रु एक हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्छ ।

यसैगरी, राष्ट्रसेवक कर्मचारीका हकका आयोगले विभागीय कारवाहीका लागि लेखी पठाउन सक्छ । साथै, ढिलो गरी सूचना दिनेलाई आयोगले दिनको दुईसय जरिवाना गर्छ । यस अतिरिक्त, यदि कसैले आयोगको आदेशको पालना नगरेमा अर्को दश हजारसम्म सजाय गर्न सक्छ ।

० व्यक्तिगत सरोकारको सूचना पनि पाइन्छ ?
आम नागरिकले आफ्नाे सरोकारको सूचना पनि माग्न र पाउन सक्ने संबैधानिक र कानूनी व्यबस्था छ । यस अनुसार आफ्नाे सरोकारको सूचना माग्न आम नागरिक अधिकार सम्पन्न छन् ।

० सूचना माग गर्ने सन्दर्भमा नागरिकको कर्तव्य के हो ?
आम नागरिकलाई नेपालको संविधान र कानूनले सूचना माग्ने र पाउने हक दिएको छ । यो हक विश्वव्यापी मानव अधिकार घोषणापत्रमा पनि उल्लेख गरिएको छ, जस्को नेपाल पनि पक्ष राष्ट्र हो ।

यसर्थ, आप्mनो सरोकारको र सार्वजनिक चाँसोको जुनसुकै विषयको पनि सूचना माग्ने र पाउने हकको अधिकतम् उपयोग गर्नु प्रत्येक सचेत नागरिकको कर्तव्य हो । जसअनुसार, सूचना माग गर्दा लिखित निवेदन दर्ता गराउने, सोको निस्सा लिने र यस्तो निबेदनमा संविधान र कानूनमा उल्लेखित आफ्नाे अधिकारको उल्लेख गर्नु पर्छ । यस्तो सूचना मागको निबेदन तत् कार्यालयमा आफै उपस्थित भएर, वारेशबाट, हुलाक वा कुरियरबाट, फ्याक्स, ईमेल लगायतका उपलव्ध माध्यमबाट पठाउन सकिन्छ, तर आफ्नाे निबेदन सूचना अधिकारीले प्राप्त गरेको प्रमाण सुरक्षित गर्नुपर्छ ।

नागरिकसँग सूचना माग्नुको उचित प्रयोजन हुनुपर्छ । यस्का लागि आफुलाई आवश्यक परेको सरोकारको विषय, सार्वजनिक चाँसोको जानकारी, भ्रष्ट्राचार एवं अनियमितता नियन्त्रण गर्ने लगायतको विषयमा सूचना माग गर्नुपर्छ । तर, नागरिकलाई प्राप्त भएको सूचनाको हकको दुरुपयोग भने गर्नु हुदैन । कानूनमा सूचनाको दुरुपयोग गर्नेलाई पाँच हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुने व्यबस्था छ ।

० सूचना पाउन निकै कठीन छ भनिन्छ नि ?
एकढंगबाट हेर्दा सूचना पाउन कठीन नै छ । अर्कोढंगले हेर्दा साविकको अबस्थामा आमूल सुधार भएको छ । कैयौं सूचनाहरु सामाजिक संजालमा छताछुल्ल भैरहेका छन् । सूचनाको बाढीका कारण सहि वा गलत सूचना छुट्याउन मुस्किल परिरहेको छ । यर्थाथ र भ्रमपूर्ण सूचना एकैपटक प्रवाह भैरहेका छन् ।

० संचारकर्मीले मागेको सूचना पाउनु पर्ने होईन र ?
संचारकर्मी राज्य र जनता वीचका सेतू हुन् । यिनले हासिल गरेको सूचना निशुल्करुपमा समाचारकारुपमा जनतामा पुग्छ । कैयौं सूचना विज्ञापन वापत रकम खर्च गरी जनतामा पुर्याउनु पर्ने सूचनालाई संचारकर्मीले आम संचारको माध्यमद्धारा प्रवाह गरिरहेका छन् । यसर्थ, हरेक कार्यालयका कार्यालय प्रमुख, प्रबक्ता वा सूचना अधिकारीले पहिला सूचना दिने भनेकै संचारकर्मीलाई हो । व्यक्तिले पाएको सूचना निजमै सिमित हुन्छ भने संचारकर्मीले पाएको सूचना आम जनतामा पुग्छ ।

० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सूचना नै शक्ति हो । यो आम जनतालाई सुसुचित गरी शक्तिशाली तुल्याउने माध्यम हो । मुलुकका सार्वभौमसत्ता सम्पन्न आम नागरिकले माग गरेका सूचना तत्कालै पाउनु पर्छ । हाम्रो मुलुकमा लोकतान्त्रिक शासन व्यबस्था संचालन भैरहेको छ । लोकतन्त्रको प्राणवायू नै सूचनाको हक हो । यसर्थ, नागरिकका संविधान प्रदत्त ३१ वटा हक मध्ये सर्वाधिक महत्वपूर्ण हक नै सूचनाको हक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *