एनआइसी एसियाले लिलाम प्रक्रिया सुरु ग¥यो

बैंक

लकडाउनकै बीचमा एनआइसी एसिया बैंकले नउठेको ऋणको धितो लिलामी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै दुई दर्जनभन्दा बढी ऋणीको सम्पत्ति लिलाम गर्ने जनाएको छ । बैंकले एक सातादेखि १५ दिनसम्मको समय दिएर ऋण भुक्तानीका लागि ग्राहकलाई भनेको छ ।

लकडाउनका कारण आर्थिक क्षमता कमजोर भएर ऋण तिर्न नसक्ने ग्राहकका लागि राष्ट्र बैंकले असार मसान्तसम्म ऋण तिर्न नपर्ने ब्यवस्था गरेको छ । लकडाउनकै बीचमा एनआइसीले ’पटक पटक मौखिक तथा लिखित ताकेता गर्दासमेत ऋण चुक्ता भुक्तान नगरेको’ विवरण सूचनामा उल्लेख गरेको छ । बैंकले पुस–माघतिर नउठेको ऋणको अहिले सूचना निकालिएको जनाएको छ । ‘आज निकालिएको सूचना पुरानो हो । अब रिकभरी अहिलेलाई होल्ड गर्ने निर्णय गरेका छौँ,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले भने, ’अब पुरानो रिकभरी पनि रोक्छौँ ।’

लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि ऋणीलाई पैसा तिर्न आउन सूचना जारी गरेका थिएनन् । मंगलबारबाट एनआइसीले भने ऋण उठाउने प्रक्रिया सुरु गरेको हो । अहिले राष्ट्र बैंकले ऋण भुक्तानीमा ग्राहकलाई सहजीकरण गरेको छ । राष्ट्र बैंकले असार मसान्तसम्म समय थप गरिदिएको छ । सरकारले पनि लकडाउनका बेला कर तिर्न नसक्ने भन्दै समय पर सारेको छ । यहीबेला ऋण तिर्न आउनु, नभए लिलाम गरिदिन्छौँ भनेर सूचना जारी गर्नु गलत भएको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक उच्च अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *