जनताको ध्यान अन्त लैजाने काम

प्रमुख लेख

कामलराज राई
नेताहरु यत्ति चलाख छन् कि उसले केही काम गर्न नसकेपछि अरुको दोष देखाउँदै राज गर्दै आएका छन् । हिजो पञ्चायत कालमा नेताहरुले पञ्चायतका कारण मुलुकमा विकास नभएको भन्दै आएका थिए । पञ्चेहरुले नेताहरुलाई देखिनसहँदा मुलुक अघि नबढेको भन्दै जनताका सामु आफ्नो हातमा शासन सत्ता आयो भने सबै काम तमाम गर्ने भनेर उफ्रिरहे । हो, पञ्चेहरुले पनि अत्याचार गरेकै थिए । स्वतन्त्रताका पक्षमा आवाज उठाउनेहरुलाई पञ्चहरुले निर्ममतापूर्वक हत्यासमेत गरेपछि जनताले पञ्चायतको पक्ष लिएनन् । त्यसैको फल मुलुकमा प्रजातन्त्र आयो, त्यसबेला नेताहरुले एक दलले बहुमत नल्याएर मिलिजुली सरकार भएकाले विकासको काम गर्न सकिएन भनेर जनतालाई ढाँटिरहे । त्यसो त ०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्याएको थियो तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सन्कीपनका कारण मुलुकमा मध्यवधि चुनाव भयो । त्यसपछि मुलक अशान्ततिर अघि बढेको हो । अहिले पनि जनताले नेकपाले बहुमत दिएका छन् तर नेताहरुले विकासको लक्ष्यतिर अघि बढेका छैनन् । भन्दाभन्दै नेताहरुले राजा सल्बलाउन थालेकाले विकास गर्न सकिएन भनेर दोष अरुको थाप्लोमा थुपारेका छन् ।

यो मुलुकको कार्यकारी अधिकारी मात्र नभएर राष्ट्रप्रमुख नेताहरुले चाहेबमोजिमका छन् । देशको शक्ति सबै नेताहरुकै हातमा छ तर आज काम गर्न नसक्नेबित्तिकै जनताको ध्यान अन्त लैजानका लागि अर्को अमूर्त व्यक्तिको नाम बद्नाम गरेका छन् । इतिहास भइसकेको राजाले अब देशमा राज गर्ला भनेर सोच्ने ठाउँनै छैन तर जनताको ध्यान अन्त मोड्नका लागि नेताहरुले पूर्वराजालाई दोष दिने काम गरिरहेका छन् । आफू काम नगर्ने अनि अरुलाई सत्तोसराप गर्ने नेताहरुका कारण मुलुकमा विकास नभएको हो, भन्दा अत्युक्ति नहोला । आज नेताहरुको चाहनाबमोजिम मुलुकमा गणतन्त्र आएको छ तर मुलुकले विकास गर्न सकेको छैन । राजा पुनः सत्तमा आए भने नेताहरुको भुठो खेती नसप्रिने देखेका नेताहरु तर्सिन थालेका छन् । मुलुकले देखि राजतन्त्र इतिहास भइसकेको छ, यस्तो अवस्थामा राजतन्त्रको पुनस्र्थापनाको सम्भावना देखिँदैन । तर, नेताहरुमा अझै राजा आएर आफूले खाइपाइ आएको सुविधा कट्ला भन्ने डर देखिएको छ । नेताहरुको यो पराजित मानसिकताबाट जनता पनि आजित भएका छन् । आफू जनताको पक्षमा काम नगर्ने र, गर्नेलाई पनि आउन नदिने खेलमा नेताहरुका देखिएका छन् । जंगल पुगेका पूर्वराजाले सहर पस्ने सम्भावना नदेख्दा नदेख्दै पनि जनतालाई हाउगुजी लगाएर जनतामा आफूखुसी शासन गर्ने सोचमा नेताहरु देखिन्छन् । नेताहरुले यो मुलुकको मुहार फेर्छौँ भनेपछि नै जनताले मुलुकको शासनसत्ता नेताहरुको हातमा थमाइदिएका हुन् । राजाले भन्दा छिटो र व्यवस्थित ढंगबाट यो मुलुकको विकास गर्ने, जनतालाई सर्वैसर्वा बनाउने वाचाका साथ अघि बढेका नेताहरु आज शासन सत्ता सञ्चालन तहमा पुगेपछि उनीहरु नै छोटेराजा भएर अघि बढेका छन् । यसबाट जनता साँच्चै रुष्ट पनि छन् । नेताहरुले जनचाहनाअनुसार मुलुक सञ्चालन गर्न नसकेपछि जनताले नेताहरुको विकल्प खोज्लान् भनेर नेताहरु त्रसित देखिन्छन् । राजाको शासन कुनै न कुनै रुपबाट अधिनायकवाद थियो । त्यसो त अहिलेका नेताहरु पनि राजाभन्दा कम नदेखिएकाले जनताले नेताहरुको विकल्प खोजेको थाहा भएपछि नेताहरु राजाविरुद्ध खनिएका हुन् ।

नेताहरुको चाहनाबमोजिम मुलुकमा गणतन्त्र आएको हो । साँच्चै भन्ने हो भने ०६२÷६३ को आन्दोलनको मुख्य एजेन्डा गणतन्त्र थिएन । तर, जसै मुलुकमा संविधान सभाको निर्वाचन भयो, तब नेताहरुको चाहनामा गणतन्त्रको घोषणा गरेका हुन् । वास्तवमा भन्ने हो भने राजाबाट लोकतन्त्रमाथि कुनै खतरा देखिँदैन । नेताहरुले राम्रो काम नगर्न नसकेकाले आफूहरु विस्थापित भइएला भनेर नेताहरु आत्तिएका हुन् । राजाको प्रत्यक्ष शासन व्यवस्थाबाट वाक्क भएका जनताले लोकतन्त्र ल्याएका हुन् । जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त गणतन्त्र भएकाले गणतन्त्रलाई कसैले सजिलै ढाल्न सक्ने अवस्था छैन । लोकतन्त्रमाथि हमला गर्ने कोही कसैसँग हिम्मत देखिँदैन । तर, यसको बदलामा नेताहरुले जनताको पक्ष्ँमा काम भने गर्नुपर्छ । मुलुकमा हिजो राजतन्त्र थियो, अहिले लोकतन्त्र भनिए पनि यसो नभएर नेतातन्त्र चलिरहेको छ । यहि नेतातन्त्रविरुद्ध जनता सडकमा आउन सक्ने चाहिँ सम्भावना छ । जनअपेक्षाअनुसार नेताहरुले काम गर्न सकेनन्, जनताको चित्त बुझाएनन् भने जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्छ । यस हदमा भने नेताहरु चनाखो हुनैपर्छ । सरकारले जनतामाथि शासन गर्ने होइन, समन्वय गर्ने हो तर अहिले नेताहरु नै छोटेराजा बनेर मुलुकमा अनियमितताको मुल फुटाएपछि नेताहरुमा राजाका हाउगुजी चल्नु स्वभाविक हो । आफू केही गर्न नसक्ने, अरुले केही गर्न सकेनौँ भनेर आलोचना गर्दा व्यवस्था विरोधी भन्दै आलोचकको मुख थुन्ने काम भइरहेको छ । अहिले यो मुलुकको कार्यकारी प्रमुखदेखि राष्ट्रप्रमुखसम्म पनि राजनीतिक दलहरूकै हातमा छ । अहिले सबै अधिकार जनप्रतिनिधिहरूले हातमा लिएका छन् । उनीहरूले शासन व्यवस्था सञ्चालन गर्न नसकेपछि जनताले उनीहरूले व्यवस्था विरोधी भन्दै मुलुकमा सर्वसत्तावादको चलखेलमा नेताहरू देखिएका छन् । लोकतन्त्रमा सबै सम्भावनाका ढोकाहरू खुला हुनुपर्छ, त्यसैले न लोकतन्त्र । आफूले शासन गर्दा लोकतन्त्र र अरुले काम गर्दा अरु चाहिँ अधिनायकवाद भयो भनेर कराउन नेताहरूले आलोचना सुनेर आफू सुध्रनुपर्छ तब मात्र नेता भन्न सुहाउँछ । मुलुकबाट राजा त गएकै हुन् तर नेताहरूले छोटेराजा बनेर राजाले भन्दा बढी मुलुकलाई सोस्ने काम गरेकाले जनताले यसको विरोध मात्र गरेका हुन् । जनताले छाक काटेर कर तिरेका हुन् । उनीहरूको करलाई नेताहरूले अनेकौँ हिसाब मिलाएर दुरूपयोग गरेकाले जनताले यसको विरोध गरेका हुन् । यसको विरोध गर्दा गणतन्त्रविरुद्धको षड्यन्त्र भएको भनेर सांसदहरूलाई पोलेको छ । आफूले खाइपाई आएको तलब, भत्ता गुम्ने डरका कारण सांसदहरूलाई चिन्ता भएको हो । त्यसैले सांसदहरूले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने सबै किसिमका गतिविधिलाई रोक्न भनेका छन् । लोकतन्त्रमा सबै नेताहरूले आलोचना सहन सक्नुपर्ने हुन्छ । आलोचना नसहने र आफूलाई सर्वैसर्वा बन्ने नेताहरू चाहिँ अधिनायकवादको पक्षधर भनेर भन्दा हुन्छ । अब फेरि यो मुलुकमा पुनस्र्थापना होला र आफूले खाइपाई आएको सुविधा खोसिएला भन्ने चिन्ता गर्ने सांसदहरूका कारण मुुलुकमा विकास नभएको हो । इतिहास भएको राजतन्त्र फर्कने सम्भावना छैन तर नेताहरूले जनअपेक्षाअनुसार काम गरेनन् भने त्यसको विकल्पमा कुनै पनि शासन व्यवस्था आउन सक्छ । त्यस शासन व्यवस्थामा आफू टिक्ने कि नटिक्ने उनीहरू चिन्तित छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नेताहरूले जनअपेक्षाअनुसार काम गर्नुपर्ने हुन्छ । काम नगर्ने तर संघीय लोकतान्त्रिक गणतन्त्र भन्दै उफ्रेको भरमा शासन व्यवस्था टिक्दैन । नेताहरूले जनताको पक्षमा काम गर्नैपर्छ । विष्णुको अवतार मानिँदै आएको राजालाई जंगल पठाउने जनताले चाहने हो भने मै हुँ वा छोटेराजा बन्ने नेताहरूलाई पनि सडकमा लैजान सक्छन् भन्ने चाहिँ नेताहरूले बिर्सन हुँदैन । आफूले जनताको काम नगरेपछि जनताले अन्य व्यवस्थाको पक्षमा आन्दोलन गर्लान् र आफ्नो माग खोसिएला भनेर चिन्तामा डुबेका सांसदहरूले जनताको काम गर्नुपर्छ भन्ने बिर्सन हुँदैन । नेताहरूले जनअपेक्षाअनुसार काम गरेनन् भने जे पनि सम्भव छ । जनताले चाहेको खण्डमा समाप्त भएको राजतन्त्र पुनस्र्थापना हुन सक्छ । तर सरकारले जनताको मन जित्न नसक्ने अनि अरुलाई दोष दिएर आफू उम्कन पाउने ठाउँ भने छैन ।

Leave a Reply

Your email address will not be published.