एउटा अध्यक्षले सरकार र अर्काले पार्टी चलाएर तेज गतीमा सरकार र पार्टीलाई अगाडी बढाउने काम भइरहेको छ

अन्तरवार्ता प्रदेश ३ प्रमुख राजनीति

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसाद पोखरेल, ०२९ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्छ । ०१६ सालमा दोलखाको जफे ३ मा जन्मिनु भएका पोखरेलले तत्कालिन एमालेनिकट अनेस्ववियुबाट आफ्नो राजनीतिक यात्राको सुरुवात गर्नु भएको थियो । जन्स्थानकै कालापानी प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा आर्जन गर्नु भएका पोखरेलले वैत्यश्वर माध्यामिक विद्यालयबा एसएलसी पास गर्नु भएको हो । शैक्षिक हिसाबले पनि उहाँ अब्बल मानिनु हुन्छ । चितवनको रामपुरबाट कृषिमा स्नातक गर्नु भएका पोखरेलले नेपाल ल क्याम्पसबाट बि.एल. सोसोलोजीमा एम.ए र आरडीमा एम।ए। सम्मको अध्ययन गर्नु भएको छ । अध्यानकै शिलशिलमा रहेर विभिन्न आन्दोलहरुमा सहभागिता जनाइसक्नु भएका पोखरेलले कम्युनिस्ट आन्दोलनकै पनि थुप्रै आरोहअवरोह पार गरिसक्नु भएका छन् । यसपछि उनी ०३४ मा अखिल क्रान्तिकारी कोर्डिनेसन केन्द्र (माले)मा आवद्ध हुनुभयो । मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना गराउन र निरंकुश पञ्चायत हटाउन उहाँले गर्नु भएको जोखिमपूर्ण संर्घष स्मरणीय छ । संगठनलाई चुस्तदुरुस्त राख्न अब्बल भएकै कारण अनेरास्वयु संगठनको चितवन जिल्ला अध्यक्ष, क्रमशः नारायणी अञ्चल कमिटीको सचिव अखिलको केन्द्रीय सदस्य हुँदै ०४३ सालमा तत्कालिन नेकपा मालेको जिल्ला कमिटी सदस्यको रुपमा रहेर दोलखाली कम्युनिस्ट आन्दोलनको राँको बाल्नु भएको थियो । ०५१ सालमा प्रजातान्त्रिक युवा संघको केन्द्रीय प्रचार सचिव हुँदै पार्टी विभाजनको कठिन समय ०५४ देखि नेकपा एमाले दोलखा जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नु भयो, पार्टी नै अप्ठेरोमा परेको बेलामा आफैँ क्रियाशिल भएर लाग्नु भयो । वागमती अञ्चल कमिटीको सदस्य एवं जलस्रोत समितिको केन्द्रीय सचिव, ०४३ सालमा जफे गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च, ०५६ र ०७० को निर्वाचनमा सांसद, ०७२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रीको जिम्मेवारी पूरा गर्नु भएका छन् । यसपछि तत्कालिन नेकपा माओवादी र एमालेबीच पार्टी एकीकरण भएपछि ०७५ जेठदेखि नवगठित नेकपाको केन्द्रीय र प्रदेश नम्बर ३ को सचिवको जिम्मेवारी सम्हालिरहनु भएका कम्युनिस्ट आन्दोलनका सशक्त योद्धा आनन्दप्रसाद पोखरेलसँग तामाकोशी सन्देश साप्तिाहिकका संवाददाता एलबी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

पार्टी एकीकरण कहिले सम्पन्न हुन्छ ? र प्रदेश ३ मा कहाँ कहाँ सकियो एकता ?
पार्टी एकीकरण अब चाँडै हुन्छ । यो दिन यो बारभन्दा पनि पार्टी एकीकरणकै चरणमा छ । दुई ठूला पार्टीका फरक विचार राख्ने नेता कार्यकर्ताहरुलाई एक बनाएर राख्नुपर्ने चुनौतीपूर्ण काम छ । हामीले चाँडै नै पार्टी एकीकरण गर्ने गरी केन्द्रदेखि स्थानीय तहसम्म हाम्रा नेताज्यूहरुलाई विभिन्न जिम्मेवारी सुम्पिएका छौँ । प्रदेश ३ को कुरा गर्दा सिन्धुली, रसुवा र दोलखामा नेकपाको कमिटीहरुलाई एकता गरी क्रियाशिल बनाउने कार्य हामीले सकिसकेका छौँ । अन्य १० वटा जिल्लामा पार्टीको प्रारम्भिक चरणमा कामहरुले तिव्रता पाएका छन् । प्रदेश ३ ले पार्टीको नीति निर्देशन कार्यान्वयन गर्न हामीले गाइडलाइन प्रयोग गरिहेका छौँ ।

तपाइ मन्त्री बनिसकेको भए पनि प्रदेश ३ को सचिवको जिम्मेवारी सम्हालिराख्नु भएको छ । पार्टी चलाउन सजिलो कि मन्त्रालयको जिम्मेवारी ?
पार्टी सरकार दुवै फरक पाटो भने पक्कै होइनन् । जिम्मेवारी सम्हाल्दै गर्दा दुवै क्षमता राख्नुपर्छ । त्यसमा पनि नेतृत्वमा बसेको मान्छेले अझ बढी ख्याल गर्नुपर्छ । सरकारमा रहँदा पनि पार्टीको रुलहरु मान्नै पर्छ । गाउँमै पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिने, संगठन विस्तार गर्ने र विषेश सक्रियता देखाउने काम गर्नै पर्छ । मैले लामो समय सांसदीय फाँटमा काम गरेको अनुभव पनि छ । पञ्चालयत कालदेखि लोकतन्त्र हुँदै गणतान्त्रमा प्रवेश गरेको अनुभव पनि छ । ०३४ सालमा मुलुकमा पञ्चायत थियो । जनपक्षीय प्रधानपञ्च हुँदा नेकपा (माले) जिल्ला कमिटी सदस्य थिएँ । त्यतिखेर कृषिमा ब्याचलर सकेर सिधै आन्दोलनमा लागियो । पञ्चायतविरुद्ध खुल्ला पार्टीको संसदीय निर्वाचनमा भाग लिनु त्यतिबेला ठूलो चुनौतिपूर्ण थियो, पार्टीले दिएको जिम्मेवारी अनुशसित कार्यकर्ता हैसियतले पार्टीकै योजनामा जनपक्षीय प्रधानपञ्च भएर काम गरेको हो । सोही बेला आइएस्सी पास गरेपछि रसियामा पढन जाने अवसर पाएको थिएँ, मेरै ब्याचका धेरै साथीहरु कोलम्बो प्लान्टअन्र्तगत पढ्न पनि गए, मैले त्यो सुविधा पाउँदापाउँदै पनि आफ्नै देशको सेवा गर्नुपर्छ भनेर पार्टीको नीति र कार्यक्रमलाई सफल बनाउन ती सुविधाहरु त्यागेर पार्टीमा लागेको सिपाहस् हौँ । पार्टीको निर्देशनमा मैले ०३४ देखि प्रधानपञ्चदेखि लिएर ०७४ संविधान सभाको निर्वाचनमा मात्र भाग लिइनँ, पार्टीले दिएको हरेक जिम्मेबारी र निर्देशन पालना गर्दै आएको छु । अहिले मलाई ३ नं। प्रदेशको सचिवको जिम्मेवारी दिइएको छ यो ऐतिहासिक अवसरमा दुवै पार्टीका कार्यकर्ताहरुको मनोभावनालाई सम्मान गर्दै एकतालाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सफल हुनेछु भन्नेमा विश्वस्त छु । साथै आदरणीय पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डद्वयप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।
अहिले पार्टीले दिएको जिम्मेवारीमा खरो रुपमा उत्रँदै १३ वटा जिल्लामा सबै कमिटीहरु विवादरहित ढंगबाट सबैलाई सम्मान गर्दै गर्दै पार्टी एकता सम्पन्न भएपछि म आफूलाई सफल भएको ठान्नेछु । पार्टीको विधान, नीति, नियम, कार्यक्रमहरु पार्टीले पास गरिसकेको छ । त्यसलाई हरेक तहले अक्षरंश पालना गर्नु पनि त्यतिकै महत्वपूर्ण रहन्छ । हालै ३ नं। प्रदेशको गठन कमिटी पूर्ण भइसकेको छ । प्रदेशलाई कमिटी र प्रदेश सरकारबीच समन्वय गर्दै पार्टी नीति र देशको समृद्धिका लागि सहि दिशा निर्देशन गर्ने काममा प्रदेश सरकार र पार्टीलाई ठीक ढंगले जनतासँग जोडनेदेखि पार्टी केन्द्र र संघीय सरकारसँग जोड्ने पुलको रुपमा काम गर्नुपर्ने मेरो जिम्मेवारी हुन्छ । म राजनीतिक वैचारिक र सांगठानिक नेतृत्वको विषयमा पर्याप्त जानकार व्यक्ति हुँ त्यसैले सांसद र मन्त्री हुनुभन्दा पनि पार्टीको राजनीतिक वैचारिक र सैद्धान्तिक कार्यभार कार्यकर्तादेखि जनतासम्म पु¥याउने मेरो कार्यभार अझ महत्वपूर्ण हो भन्ने ठानेको छु । यो निष्ठापूर्ण र राजनीतिक जीवनको परीक्षण पनि हो भन्ने ठानेको छु ।

व्यापक चर्चामा रहेको प्रदेश ३ राजधानीको विषयमा तपाईको धारणा के छ ?
राजधानी कहाँ भन्ने सन्दर्भमा म निर्णयकर्ता होइन, हाम्रो पार्टीको संगठनको बैठक छलफल र माथिल्लो पार्टी कमिटीको निर्णयअनुसार सबै जनताको मन जित्ने गरी ३ नं। प्रदेशले टुंगो लगाउने छौँ । मलाई यो प्रदेशको राजधानीको बारेमा ठिक र बेठिक भनेर बाध्य नपार्न विनम्र अनुरोध गर्दछु ।

प्रदेश ३ मा पार्टीप्रति नेवारी समुदाय असन्तुष्ट भएका छन् भन्ने सुनिँदैछ । यसको वास्तविकता के हो ?
प्रदेश ३ को सचिवको हैसियतले विकासका लागि १५ वर्षे कार्ययोजना प्रदेशले ल्याएको छ । अन्य प्रदेशको तुलनामा चौमासिक वार्षिक बजेट कार्यान्वयन गर्ने हो । साथै जहाँसम्म काठमाडौं उपत्यकामा नेवारी समुदायको गुनासोको कुरा आयो, त्यो गुनासो मैले भरखरै मात्र सुनेँ, हामी पार्टी सिद्धान्त र नीतिको आधारमा संगठित भएका पार्टी कार्यकर्ता हौँ । पार्टीको नीति निर्देशनअनुसार चल्ने भएको हुँदा संगठित पार्टीका नेता–कार्यकर्ता नै संसदहरु र मन्त्री हुनुहुन्छ उहाँहरुले काम गरिराख्नु भएको छ । काठमाडौंमा महानगरपालिकाले पनि आफ्नो भूमिका निर्वाह गरिहेको छ । त्यसैले काठमाडौंका जनताले त्यस्तो हेपिएको महसुस गरिरहनु परेको छ जस्तो म देख्दिनँ । जनगुनासा आउँछन र त्यसलाई पार्टीले निरन्तर सम्बोधन गर्दछ ।

दोलखामा सुन्दर गौरीशंकर हिमाल र प्राकृतिक स्रोतलाई आम्दानीको रुपमा केही परिकल्पना गर्नु भएको छ ?
हामीले नेपालको समृद्धि र विकासको दिशामा हाम्रो पार्टीको योजना कार्यक्रम पहिलादेखि नै प्रष्ट छ । कृषिलाई पहिलो, जलस्रोत दोस्रो, पर्यटनलाई तेस्रो, वनलाई चौँथो, उद्योगलाई छैँटै र सेवा व्यापारीलाई सातौँ गरेर आर्थिक खम्बाहरु हुन् भनेर परिभाषित गरेका छौँ । साथै मैले पर्यटन मन्त्री हुँदा नीतिगत रुपमा काम गर्न सक्ने आँट र क्षमता ममा थियो, त्यहीअनुसार विगतमा पर्यटन पूर्वाधारमा खर्च गर्ने चलन थिएन । म पर्यटन मन्त्री हुँदा २०१६ मा १० वर्षे दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको छु । त्यही योजनाअनुसार सरकारले काम ग¥यो भने हामीले २०२६ सम्ममा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मैले भिज्योलाइज गरेको थिएँ, अस्ति नोभेम्बर ३० सम्म १० लाख आएको आँकडा पढेको छु । यही आधारमा अगाडि बढ्ने हो भने मैले बनाएको गुरुयोजनाको लक्ष्य चाँडै पूरा हुन्छ ।
अर्को दोलखा पर्यटनको विषयमा कुरा गर्दा दोलखा चार पाँचवटा कुराले गौरव गर्नलायक जिल्ला हो । जहाँ ऋषिमुनीहरुको तपोभूमि हो । पार्वती शिवको उद्गम थलो गौरीशंकर हिन्दूको दृष्टिकोणबाट हेर्ने हो साथै सत्य, द्वापर, त्रेता र सत्यका ब्रह्म, द्वापरका विष्णु, त्रेताका महेश्वर, राम, सीता वनबास आएका छन् । द्वापरमा कृष्णहरु आएका छन् । त्यसकारण दोलखा पर्यटन क्षेत्रको विकास हुने आधार छ । अर्को दोलखा विश्वको पर्यटकीय क्षेत्रको टप छैटौँ स्थानमा छ । विश्वव्यापी रुपमा अगाडि बढेको छ । म पर्यटनमन्त्री हुँदा जुन प्रयास गरे त्यसैको उपलब्धि दोलखा छैटौँ स्थानमा पर्यटकीय क्षेत्र पर्न सफल भएको हो ।

० यहाँ धर्म संस्कृतिको कुरा जोडे, गएको मंसिर १३ गतेदेखि १६ गतेसम्म काठमाडौंमा भएको ग्लोबल पिस फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट सरकार नै सहभागी भएको विषयमा निकै आलोचना बढ्यो, तपाइको विचारमा के लाग्छ ?
एसिया प्यासिफिक समिट युनिभर्सल पिस फेडेरेसनले र आइक्यापले यसको आयोजना ग¥यो, यस विषयमा लिएर जुन हाउगुजी भयो । त्यो हाउगुजी किन भन्दा नेपालमा हिन्दूहरु कतै कार्यक्रममा उपस्थित हुँदा हाम्रो धर्म सकिन्छ भनेर तर्सिनु त्यो कायरतापूर्ण थियो र मानसिक रुपमा आतंक थियो यो अतिवाद हो । धर्मनिरपेक्ष मुलुक घोषणा भइसकेको अवस्थामा राज्यको धर्म हुँदैन भन्ने हो । सरकारका प्रमुखहरुलाई अन्तर्राष्ट्रिय पाहुना, विशिष्ट अतिथिहरु आउँदा कार्यक्रममा जानु, कार्यक्रम उद्घाटन गर्नु, वाचन गर्नु यसलाई विषय बनाउने हो भने र चर्चको पादरीको छेउमा बस्दैमा क्रिस्यिचन हुन्छ भन्ठान्ने हो भने अमेरिकाको राष्ट्रपति क्रिस्चियन हो । त्यहाँ पनि जानु भएन । संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन पनि क्रिस्चियन हुन् उनीसँग पनि बस्नुभएन । उनीसँग मैले पनि भेटेको छु भन्नु अर्थ को आउँछन् को जान्छन् भनेर हाउगुजी बनाउनुभन्दा धार्मिक सहिष्णुतामा नेपालीहरुले बढी जोड दिनुपर्छ । यो हाउगुजी कम्युनिस्ट सिध्याउने सरकारलाई बद्नाम गराउने खेल मात्र हो ।

नेकपामा दुईवटा अध्यक्षको बारेमा के भन्नुहुन्छ ?
दुईवटा अध्यक्षको बारेमा अंग्रेजीमा चियर भन्छ । यो को चियरको परम्परा दुनियाँको धेरै देशमा धेरै पार्टीहरुमा प्राक्टिस थियो । हामीले पनि त्यो प्राक्टिस गरेका छौँ । हाम्रा पार्टी अध्यक्षहरु शेर होइनन्, हामीले बनाएको राजनीतिक, सिद्धान्त, कार्यनीति, कार्यक्रमको विधानको मातहतमा परिमार्जिन गरेर बनाएका नेताहरु हुन् । शेर बनाउन होइन । उहाँहरु विधिबाट शासित हुनुहुन्छ । विधानमा व्यवस्था गरेका छौँ । विधानमा व्यवस्था गरेअनुसारको चियरम्यान अन्तर्राष्ट्रियस्तरको सफल अभ्यास हामीले गर्यौँ । एउटा अध्यक्षले सरकार चलाउनु भएको छ । अर्को अध्यक्षले पार्टी चलाउनु भएको छ । त्यही तेज गतिमा सरकार पार्टी अगाडि बढिरहेको छ । त्यसकारण यो शेर नभएर न्यायोचित छ । भोलि महाधिवेशनमा यो आवश्यक छैन भनेर विधि र विधानमा विधिवत् रुपमा हामी हटाउन पनि सक्छौँ । त्यसकारण अत्यन्तै उपयुक्त पार्टी एकतालाई र देशलाई आवश्यक को चियरमेन हाम्रो आदर्श हुन् ।

पछिल्लो राजनीतिक अवस्थालाई कसरी बुझ्नु भएको छ, ३ नं. प्रदेश सचिवको हैसियतमा के के कामहरु गर्दै हुनुहुन्छ ?
संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न भएका छन् । त्यो निर्वाचनबाट कम्युनिस्टहरुले झन्डै दुई तिहाईको जनमतबाट सरकार निर्माण गरेका छन् । पार्टी एकता पनि भएको छ । नेपालका दुईवटा ठूला पार्टी नेकपा माओवादी केन्द्र र नेकपा (एमाले) बीचमा पार्टी एकता भइसकेपछि मलाई नेकपाको केन्द्रीय सदस्य र ३ नं. प्रदेश कमिटीको सचिवको हैसियतमा जिम्मेवारी दिएको छ । त्यो भूमिकालाई पूरा गर्नका लागि तत्कालिन रुपमा पार्टीका आ–आफ्नै कमिटीहरु निष्क्रिय अवस्थामा विद्यमान रहेका थिए । उक्त कमिटीहरुलाई पार्टी एकीकरणको हिसाबबाट मूर्त रुप दिने काम गरिराखेको छु । अहिले तपाइको यो लोकप्रिय तामाकोशी सन्देश साप्ताहिकमा अन्तर्वार्ता दिइरहँदा केन्द्रीय कमिटी बन्यो, प्रदेश कमिटी बन्यो जिल्ला कमिटीहरु बनेका छन् । मैले नेतृत्व गरेको ३ नं। प्रदेशको कुरा गर्नुपर्दा १३ वटा जिल्लाहरुमध्ये ३ वटा जिल्लाहरुमा जिल्लादेखि स्थानीय कमिटीहरुको एकीकरण सम्पन्न भई अगाडि बढिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एकता भएको छ । दुइवटा विचार धारा बोकेर आएका राजनीतिक शक्तिहरु एकीकृत भएका छन् । कार्यक्रमको हिसाबले जनताको जनवादलाई स्वीकार गरेर समाजवादसम्म पुग्ने लक्ष्य लिई अगाडि बढेका छौँ । यस स्थितिमा जनताको विश्वास, जनताको माया र भरोसा नभएको पार्टी नभइदिएको थियो भने दुइतिहाइको सरकार सम्भव थिएन । त्यसकारण जनताको अधिक समर्थन जनमत साथै पार्टीले लिएको जनपक्षीय नीति कार्यक्रम, घोषणा पत्रको आधारमा जनताले मत दिएका हुन्, त्यही पृष्ठभूमिमा सरकार बनेको छ । दुई छिमेकी देशसँग समान ढंगबाट सम्बन्ध सुदृढ बनाउने काम गरेको छ । विकास गतिलाई अगाडि बढाउन २०२२ सम्म नेपाललाई कम विकसितबाट विकासोन्मुख देशको रुपमा ग्रायजुसन गराउने लक्ष्य राखेका छौँ । अर्थतन्त्रमा त्यत्तिकै मात्रामा सुधार देखिएको छ । यो सकरात्मक पाटो हो । नेपालमा केन्द्रबाट शासन सञ्चालनको २५० वर्षको इतिहास छ । स्थानीय तहको ७४ वर्षको इतिहास छ प्रदेश सरकार सञ्चालनको ९ महिनाको मात्रै हो । प्रदेशको स्थिति प्रदेश सरकार गठन भएपछि प्रदेश गएर बस भन्ने मात्रै छ । स्थानीय सरकारदेखि प्रदेश सरकारले सरकार सञ्चालनका लागि आवश्यक सबै ऐन नियम तय गरेर काम गर्नु पर्ने स्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *