कुशल योजनाकार, प्रशासक र शिक्षाविद् गुमेको दिन

प्रमुख लेख समाचार

श्रद्धेय प्रोफेसर उपेन्द्रमान मल्ल नेपालको आकशमा उदाएका चम्किला सीतारा हुन् । उनले छरेको ज्ञानको प्रकाशले मातृभूमि नेपाललाई उज्यालो तुल्याएको छ भने नेपाली जनताको मनको अन्धकारलाई नाश गरी पवित्र र कञ्चन बनाएको छ । उनी जीवित ज्ञानको भण्डार थिए त्यसैले संसारकै इतिहास, धर्म, संस्कार र आधुनिक विकासको बारे प्रखर जानकार थिए ।

शिक्षाको हिसाबले उनी भूगोलका महाविज्ञ भए तापनि ज्ञान, कर्म र अनुभवले उनलाई हरेक मानवतासित जोडिएका विषयहरुको ज्ञाता तुल्याएको थियो । त्रिभुवन विश्वविद्यालयबाट अवकाश ग्रहण गरेलगत्तै प्रोफेसर मल्लले श्री इस्ट कन्सल्ट प्रा.लि. मा विज्ञको रुपमा प्रवेश गरी लगातार नेपालका विकास परियोजनाहरुमा जोडिएर महत्वपूर्ण योगदान दिँदै आएका थिए । उनी विकास परामर्शदाताको भूमिकामा वातावरण विज्ञको हिसाबले खुबै चम्किए र उनी स्वयंले आफूलाई सांस्कृतिक पर्यवरणविद्को रुपमा प्रकाशित र स्थापित तुल्याएका थिए । छोटकरीमा भन्नुपर्दा उनी एक कुशल प्रशासक, शिक्षाविद् र बेजोडको वातावरण विज्ञ थिए । राणा शासन् कालमा दरबारियाहरुले मात्र पढ्न पाउने दरबार हाइस्कुलबाट उनले ०३ सालको एसएलसी परीक्षामा नेपाल टप गरेपछि उनको शिक्षातिरको अगाडिको यात्रा लगातार बढ्दै गयो । त्रिचन्द्र कलेजबाट उनले स्नातकसम्मको पढाइ पूरा गरे र त्यसपछि भूगोल विषयमा स्नातकोत्तरको पढाइ गर्नका लागि भारतको पटना लागे । त्यतिबेला नेपालको आफ्नो विश्वविद्यालयहरु र शिक्षा बोर्डहरु केहि थिएन त्यसैले नेपालको स्कुल र कलेजको शिक्षाको परीक्षा पटना विश्वविद्यालयबाटै सञ्चालित हुने गरेको थियो ।

नेपालीहरु उच्चशिक्षा लिनका लागि भारतको कलकत्ता, पटना र वनारस जाने गरेका थिए । त्यसैले प्रोफेसर मल्ल पनि स्नातकोत्तरको अध्ययनका लागि भारतको पटना सहर गए र त्यहाँ भूगोल विषयको अध्ययन गर्दै प्रथम श्रेणीमा प्रथम नै भएर नेपालको नाम रोसन् गरेका थिए । नेपाल फर्केपछि त्यतिबेलाको चलनअनुसार राणा प्रधानमन्त्री समक्ष उपस्थित भई मोहर चठाएर नेपालको निजामति सेवामा प्रवेश गरे । त्यतिबेला शिक्षा सेवा अलग्गै थिएन त्यसैले त्रिचन्द्र कलेजमा अथवा दरबार हाइस्कुलमा पढाउने शिक्षक प्राध्यापकहरु समेत पनि निजामति सेवाकै हुने गरेको थियो । यसरी सन्् १९४७ मा नेपालको एसएलसी बोर्ड परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका प्रोफेसर मल्लले सन््् १९४९ मा आइए, सन् १९५१ मा बिए (अनर्स) र सन् १९५३ मा एमए भूगोल विषयमा प्रथम श्रेणीमा प्रथम भएर पास गरेका थिए । सन् १९५४ देखि सन् १९५७ सम्म सरकारी निजामति सेवामा हुँदा उनले बाणिज्य मन्त्रालयको एक्टिङ सचिवको पदभार सम्हालेका थिए ।

सरकारी नोकरीमा हुँदा नै ब्रिटिस काउन्सिलको छात्रवृत्ति प्राप्त गरी उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सन् १९५७ मा बिलिटको उपाधि प्राप्त गरेका थिए । बेलायतबाट उच्च शिक्षा लिएर नेपाल फर्केपछि उनले सरकारी निजामति सेवा त्याग गरी त्रिभुवन विश्वविद्यालयको सेवातिर लाग्ने निर्णय गरे र अनवरत रुपमा त्यहाँ ३८ वर्ष सेवा गरे । उनले उक्त विश्वविद्यालयमा प्रोफेसरको पदसम्म प्राप्त गरी प्राध्यापनमा संलग्न भए भने मानविकी संकायको डिन बनेर नयाँ शिक्षा योजना, ०२८ को कार्यान्वयन गर्नमा स्वर्गीय राजा वीरेन्द्रको पालामा श्री ५ को सरकारलाई सघाए । उनको कुशल नेतृत्वमा नयाँ शिक्षा परियोजनाको सिमेस्टर प्रणाली नेपालमा पहिलोपटक सफलतापूर्वक लागू गरिएको थियो भने उनीहरुले नै नेपालमा पहिलोपटक स्नातकोत्तरका विद्यार्थीहरुलाई राष्ट्रिय विकास सेवामा परिचालन गराएका थिए । राष्ट्रिय विकास सेवा कार्यक्रम एकदमै लोकप्रिय भएका थियो भने त्यसमा स्वयंसेवक बनेर गएका स्नातकोत्तरका विद्यार्थीहरुले नेपालभरी नै शिक्षाको विकास गर्दै जनचेतनको लहर फैल्याउने काम गरेका थिए । उनी एक कुशल योजनाकार पनि भएको कारणले गर्दा सरकारले उनलाई सन् १९७९ देखि १९८९ तक राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको थियो । यहि बेलामा उनले नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गर्ने श्री ५ को सरकारको नीतिलाई कार्यान्यन गर्न सघाएका थिए । उनी आयोगको सदस्य भएकै बेलामा उनले अधिकार विकेन्द्रीकरणको नीति लागू गरी सिंहदरबारमा केन्द्रित अधिकारलाई अञ्चल, जिल्ला र गाउँ गाउँमा लैजानका लागि खुबै जोड लगाएका थिए । सरकारी विभागलाई खारेज गरी क्षेत्रीय कार्यालयहरुलाई अधिकार सम्पन्न तुल्याएका थिए । उनी स्वयं भूगोलको विज्ञ भएको हुनाले त्यत्तिबेलाको प्रखर भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङसित मिलेर राजाको नेतृत्वमा चलेको त्यो बेलाको सरकारलाई क्षेत्रीय विकास नीतिको अवधारणाअनुसार कार्यान्वयन गर्न र मूर्तरुप दिन खुबै सघाएका थिए । स्वर्गीय डा. हर्क गुरुङ उद्योग बाणिज्य मन्त्री भएका बखत उनकै अनुरोधमा आयोगबाट अवकास भएपछि पनि तत्कालिन धान चामल निर्यात कम्पनीलाई व्यवस्थित गर्नका लागि एक वर्षसम्म त्यसबेलाको तराईमा खटेर जनरल म्यानेजरको पदमा बसी भारतको केरला र बंगलादेशमा चामल निकासी गरी नेपालका लागि विदेशी मुद्राको आयआर्जन गराएका थिए । उनको राष्ट्रभक्ति र राष्ट्रवाद बेजोडको थियो त्यसैले प्रोफेसर मल्ल राष्ट्रको हितमा लड्न भिड्न जतिबेला पनि जोसुकै सित पनि तत्पर हुने गरेको थियो । नेपाल र नेपाली प्रथम भन्ने नीति उनले जीवनको अन्तिम घडीमा पुग्दासमेत पनि छाडेनन् । सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयबाट अवकाश भएपछि उनले इस्ट कन्सल्ट प्रा. लि. मा वातावरण विज्ञ भएर अध्ययन र अनुसन्धानको काम सुरु गरे । जीवनको अन्तिम घडीसम्म पनि उनले इस्ट कन्सल्टमा आफ्नो संलग्नता कायम राख्दै आजीवन निर्देशकको रुपमा संस्थाको नेतृत्व गर्दै सबैलाई काम गर्न प्रेरित गरेका थिए ।

इस्ट कन्सल्ट र उनी बस्चमा कुनै स्वार्थको गठबन्धन थिएन त्यो प्रेमको गठबन्धन थियो त्यसैले त्यो अमर छ । इस्ट कन्सल्टमा वतावरण विज्ञको रुपमा उनले नेतृत्व गरी अध्ययन र अनुसन्धान सम्पन्न गरिएको प्रमुख परियोजनाहरुमा मेची हिल डेभलोपमेन्ट प्रोजेक्ट, कम्युनिटी ग्राउन्डवाटर इरिगेसन् सेक्टर प्रोजेक्ट, चमेलिया हाइड्रोपावर प्रोजेक्ट, कालीगण्डकी ‘ए’ हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट, अपर मोदी ‘ए’ हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट, बबई इरिगेसन् प्रोजेक्ट, भैरवकुण्ड हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट, चाकु खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट, विभिन्न विद्युत् ट्रान्समिसन् लाइन परियोजनाहरु र अन्य धेरैधेरै विकास परियोजनाहरु पनि छन । सन् १९३२ नोभेम्बर २७ तारिखमा जन्मेका प्रोफेसर मल्लका योगदानहरु अनेक छन् । सानै उमेरदेखि नै ठूलो जिम्मेवारी निभाउने र बोक्न बानी परेका प्रोफेसर मल्ल जीवनमा कहिले थाकेको र आराम गरेको देखिएन । सधँै उनी अध्ययन र अनुसन्धानमा व्यस्त रहे र राष्ट्रका लागि नयाँ नयाँ ज्ञानको भण्डारहरु सिर्जना गर्दै रहे । राणा कालमा जन्मिएर शिक्षित भएका प्रोफेसर मल्ल पञ्चायत कालमा खुबै चम्किए तर गणतन्त्र कालमा भने उनी विज्ञका रुपमा मात्रै सीमित रहे र कुनै सरकारी संस्थाको नेतृत्व गर्ने अवसर पाएनन् । उनको अध्ययन र अनुसन्धानमूलक लेखरचनाहरु धेरै प्रकाशित भएका छन् र धेरै पुस्तकहरु पनि छापिएका छन् ।

उनी अनेक प्राज्ञिक संस्थाहरुसित आबद्ध रहेका छन् भने भूगोलविद्का रुपमा भौगोलिक समाजसित घनिष्ट सम्बन्ध रहेको देखिन्छ । यस्ता बहुप्रतिभाका धनी प्रोफेसर मल्लको जति बखान गरे पनि कमै हुन्छ । उनी वास्तवमै एक ज्यूउँदो जाग्दो इतिहास र ज्ञानको भण्डार नै थिए । सरस्वती माताका कृपा पाएका प्रोफेसर मल्ल अनेक भेषभूषा, भाषा र सांस्कृतिका ज्ञाता थिए भने अंग्रेजी र नेपालीका प्रखर वक्ता पनि थिए । त्यसैले उनलाई धेरै कार्यक्रमहरुमा वक्ताको रुपमा निमन्त्रणाको ओइरो लाग्ने गरेको थियो । इस्ट कन्सल्टको राम्रो दिनमा उनको साथ थियो भने नराम्रो दिनमा पनि लगातार उपस्थित भई सबैको हिम्मत हौसला बढाउन प्रेरित गर्ने काम गर्न छाडेनन् । यस्ता बहुप्रतिभाका धनी महाविज्ञ र संस्थाका परमहितैषी प्रोफेसर मल्ल ८७ वर्ष पूरा भई ८८ वर्ष लागेकै दिन अर्थात नोभेम्बर २६, २०१९ का दिन हृदयघातका कारण यस मानव संसारबाट हमेसाका लागि बिदा भएका छन् । उनको यो महाप्रस्थानले उनका प्रशंसक हामी सबै स्तब्ध भएका छौँ । राष्ट्रले एक कुशल योजनाकार, प्रशासक र महान् शिक्षक गुमाएको छ भने हामी इस्ट कन्सल्ट परिवारले भरपर्दो संरक्षक एवं शुभचिन्तक गुमाएका छौँ । स्वर्गीय प्रोफेसर माल्लले आफ्नो जीवन कालमा ठूलो संघर्ष गरी आजको यो उचाइँ पाप्त गरेका हुन् । नेपालको राजनीतिक परिवर्तनका तीन भिन्न काल खण्डहरुसित जोडिएको उनको जीवन त्यति सरल र सहज भने थिएन तैपनि उनले कहिले मनमा हार नखाई निरन्तर संघर्ष गर्दै गएकाले ज्ञान र शिक्षाको जगत्मा अमरत्व प्राप्त गर्न सफल भए । उनको भौतिक शरीर नास भए पनि उनको ज्ञानको कृति कहिले नास हुने छैन र उनलाई अध्ययन र अनुसन्धानमा लागेका ज्ञानीहरुले सदासर्वदा स्मरण गर्दै रहने छन् । ज्ञानी र दानीहरु कहिले मर्दैन त्यसैले स्वर्गीय प्रोफेसर मल्ल नेपालको आकासमा सदासर्वदा चम्किलो ताराका रुपमा नेपालीलाई प्रेरित गर्दै रहनेमा हामी विश्वस्त छौँ । उनको भौतिक शरीरलाई अग्नीले भष्म पारी पञ्चतत्वमा विलिन गराइसकेको छ, त्यसैले हामीसित अब उनको असल सोच र कृतिहरु मात्रै बाँकी छन् । आत्मा कहिले मर्दैन भन्ने विश्वासका साथ उनको सोही अमर आत्मालाई साक्षी राख्दै उनले देखाएको मार्गमा नै हिँडेर उनको अधुरा सपनाहरुलाई पूर्ण गरी छाड्ने प्रण गर्दछौँ ।

उनको असामयिक निधनले उनको परिवारजनलाई मात्र होइन, पूरै नेपाल राष्ट्रलाई नै अपूरणीय क्षति भएको अनुभव गर्दै यस दुःखद घडीमा सबै शोक सन्तप्त परिवारजन, व्यक्तिहरु र संस्थाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई धैर्यधारण गर्ने र क्षतिपूर्ति व्यहोर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ सर्वशक्तिमान परमात्मासित उनको दिवंगत आत्मालाई चिरकालसम्म शान्त बनाइराख्न प्रार्थना गर्दै उनको काम र योगदानले उनलाई नेपालको नीति र योजना विकासको क्षेत्रमा सदासर्वदा अमर बनाएर राख्ने पूर्ण विश्वासका साथ हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ ।

Leave a Reply

Your email address will not be published.