वनबाट खोला अतिक्रमण

पर्यटन प्रमुख लेख

मान्छेले खोला क्षेत्र अतिक्रमण गरी घर तथा नीजि जग्गा वनाएको सुनिएको थियो । त्यसैगरी खोलाले वन तथा जमिनलाई अतिक्रमण गरेको पनि सुनेका हुन सक्छ । तर सर्लाही जिल्लामा भने वनले खोलालाई कव्जामा लिएछ । अर्थात वन जंगलले खोलालाई कब्जा गरी साँघुराएको पाइयो । वर्षामा वाढी आई बालीनाली मात्र होइन, चौपाय र मान्छेसम्म बगाउने गरेको खोलाको अहिले नाम निशान नै छैन की क्या हो जस्तो भएको छ । बर्खा याममा वाढी आउने हिउँदमा बगर हुने अवस्थामा रहेको क्षेत्र अहिले सधैँभरी हरियाली हुने गर्दछ । हिउँदमा हेर्दा त त्यहाँ पनि पानी बग्छ र ! जस्तो लाग्छ । यो कुनै काल्पनिक स्थान होइन । यो काल्पनिक कथाजस्तो लाग्ने स्थान सर्लाही जिल्लाको हरिऔन खोलाको हो । यसरी आमुल परिवर्तन भएको क्षेत्र हरिऔन नगरपालिकामा पर्दछ । यसतो रुपान्तरण त्यत्तिकै भएको होइन । यसमा स्थानीय समुदाय विशेष गरी महिलाहरुको उल्लेख्य तथा गतिलो योगदान रहेको छ ।

हरिऔन खोलाले हरेक वर्ष दुःख दिन थाल्यो । बस्ती नै डुबाउने शंका वढ्न थाल्यो । केही गरिएन भने हाम्रो वस्ती नै खोला बगाउने भन्ने डरले गाउँले जम्मा भएर छलफल गर्न थाले । खोलालाई रोकथाम गर्नुको कुनै विकल्प थिएन । तारजालीको व्यवस्था गरेर तटवन्ध पनि वनाए । काम लागेन, वाढीलाई तारजाली तथा ढुँङ्गाले छेक्न सकेन । विकल्पका लागि विभिन्न निकायहरुसँग परामर्श छलफलहरु भए । कुनै प्रभावकारी निकास निस्केन । त्यही समयमा सामुदायिक वनको अभियान तराईतिर पनि छिरेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सर्लाहीमा संगठन विस्तार हुँदै थियो । सर्लाही महासंघका तत्कालिन अध्यक्ष सीताराम पोख्रेल (हालका वडा अध्यक्ष)ले सामुदायिक वन वनाऔँ विरुवा लगाऔँ विस्तारै बाढीको समस्या रोकथाम हुने सक्ने उपाय सिकाइदिए । ०५९ सालबाट सामुदायिक वन बनाउने सोचका साथ काम थालियो । सामुदायिक वनको अभियानलाई उत्साह प्रदान गर्न सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीले रु.एक हजार सहयोग गरेको थियो, हरेक घरवाट ३० रुपैयाँ संकलन गरी काम थालियो । विशेषगरी महिलाको उत्साहलाई थप प्रवद्र्धन गर्दै ०६१ सालमा विष्णुपुर महिला सामुदायिक वन उपभोक्ता समूहलाई ३ हेक्टर बगर क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण गरियो । अहिले बगर क्षेत्र खुम्चँदै गएर ७ हेक्टर वन क्षेत्र नै भइसकेको छ । त्यस सामुदायिक वनमा ६५ घरधुरी आवद्ध रहेका छन् ।

सबै महिला रहेको ११ जनाको कार्यसमिति क्रियाशिल रहेको छ । उनीहरु नियमित बैठक बस्छन् । वन क्षेत्र तथा समुदायका उपलब्धिका चर्चा गर्छन् । अनी परेका समस्याको बारेमा चिन्तन गर्छन् । समस्याको गाँठो फुकाउन प्रयत्नशिल छन् । त्यस समूह कि संस्थापक अध्यक्ष शारदा थापा भन्छिन्, ‘सामुदायिक वन चाहिएर वा वन पैदावरको आपूर्ति गर्नका लागि बनाएको होइन । बस्ती तथा घर जोगाउनलाई सामुदायिक वन बनाएको हौँ । अहिले त हाम्रो जीविकाको साधन पो भएको छ ।’

उनीलगायत केही महिलाहरु सामुदायिक वन बनाउने सरकारी प्राविधिकसँग वन नाप्ने फिता लिएर हिँड्ने गर्थे तथापि कतिपय गाउँलेहरु नै अब आइमाईले वन बनाएर खोला रोक्ने भए रे भनेर हँसिमजाक पनि सुन्नु परेको थियो । गाउँले महिला बिचलित भएनन् । बगरमा गाईवस्तु छाड्न बन्द गरे । छिटोछिटो हुर्कने बिरुवा लगाए । कांंस जातको घाँस खन्न तथा उखेल्न वन्देज गरे । चरिचरण नियन्त्रण तथा काँसको कारण बगर हरियालीमा आउन थाल्यो । एक दुई वर्ष बाढीले विनास ग¥यो । त्यसपछि त खोलामा पानी आउँछ घाँसमाथि बगेर जाने भो । माटो बगाएर किनकि काँस तथा विरुवाले माटोलाई चपक्क समात्ने गर्दछ । गलैँचामाथि पानी बगेजस्तो पो भयो घाँसमाथि पानी बग्दा । पानीले कुनै माटो आफूसँग लैजान पाएन । तीन वर्षपछि नै खोलो नियन्त्रणमा आयो । त्यसपछि खोलालाई झन् खुम्च्याउने गरी बिरुवा लगाउन थालियो । झन्डै झन्डै पहिलाको रिस फेरेजस्तै गरी । अहिले हरिऔन खोला, विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा खुम्चिएर सानो खोल्सीजस्तो भएको छ ।

आवश्यकतामा आधारित भएर सामुदायिक वन बनेकाले यसका प्रभावकारी उपलब्धिहरु देखा परे । यसो हुनुमा अर्को कारण प्रक्रियागत समूह गठन गरेर पनि हो । सामुदायिक वन उपभोक्ता महासंघले प्रक्रियागत रुपमा सामुदायिक वन बनाउनु पर्दछ भन्ने विषयमा अभियान नै चलाएको थियो । महासंघले समूह सेवा कार्यक्रमअन्तर्गत सहजकर्ताहरु तयार गरी समूह गठन तथा विधान कार्ययोजना निर्माणमा सहयोग गरेको थियो । त्यो सामुदायिक वन बनाउने क्रममा हाल समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालकी महासचिव बिना श्रेष्ठ त्यत्तिबेला सहजीकरण गर्न त्यस समयमा केही दिन बिताएकी रहिछन् । स्थानीय सहजकर्ताको सहयोगमा घरदैलो सशक्तिकरण, समान चाहना साना समूह छलफल गरी विधान तथा कार्ययोजनाको खेस्रा तयार गरी समूहको साधारण सभाबाट विधान र वन कार्ययोजना पारित गर्ने काम भएको रहेछ । बिना श्रेष्ठ कै अनुभवमा त्यस ठाउँमा बैठक राख्ने शीतल छहारी पाइएको थिएन तर अहिले ठूला तथा साना रुख विरुवाको छहारी खोज्नु नै पर्दैन । हरेक स्थानमा छहारी छ । वरु वनभित्र पसेर घामको ताप प्रत्यक्ष भेट्न पो मुस्किल पर्लाजस्तो रहेछ भन्ने कुरा गर्दै छोटो समयमा यति धेरै परिवर्तन आएकामा छक्क परिन् ।

सामुदायिक वनको कारणले घरबार जोगियो । फलफूल लगाएको बिरुवा तथा घाँसहरुको वृद्धि भयो । अहिले घाँस बेचेर मात्रै वर्षको ४०÷५० हजार समूहमा आम्दानी हुने गरेको छ । वनको हैसियत विकास तथा खोला नियन्त्रण भएपश्चात अब समुदायको विकासतिर महिलाहरु लागेका छन् । त्यस समूहका ५५ घरधुरीले बाख्रा ऐँचोपैँचो कार्यक्रमअन्तर्गत ३÷३ वटा बाख्रा वनाइसकेका छन् । यस कार्यक्रमअन्तर्गत हरेक घरलाई ३ वटा बाख्रा दिनपछि ३ वटा पाठा फिर्ता गर्नु पर्ने चलन बनाएका छन् । समूह आफैँद्वारा सञ्चालन गरेको यो कार्यक्रमबाट ६५ घर नै लाभान्वित हुनेछन् । यो क्षेत्र बजारबाट नजिक पनि भएकाले पर्यटीकय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको छ । जडिवुटीका पकेट क्षेत्र वनाउनका लागि संभाव्यताको खोजी तथा योजना बनाउने क्रममा रहेको छ ।

सामुदायिक वनको छेउमा आफ्नै भवन, व्यवस्थित कार्यालय, ५० जना जति बसेर छलफल गर्न सक्ने कक्षसमेत व्यवस्था भएको संस्थागत रुपमा समेत सवल देखिन्छ । सामुदायिक वनको सिकाइ लिनका लागि नेपालका विभिन्न क्षेत्रबाट अध्ययन भ्रमण गर्न आउनेको पनि लर्कै हुन्छ । यसरी भ्रमण गर्न आउनेका लागि केही शुल्क लिने संस्थागत निर्णय छ । आएका पाहुनालाई पुष्पगुच्छाद्वारा स्वागत पाउँदा सवै पाहुनाको मन प्रफुल्लित नहुने कुरै भएन । यो सामुदायिक वन वातावरणीय र सामाजिक रुपले नमुनाको रुपमा स्थापित हुँदै छ । त्यसैगरी आर्थिक रुपले समेत समृद्धिका लागि सामूहिक पहल भइरहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published.