बैतडी र बझाङको हिउँ

प्रदेश ७ प्रमुख लेख विविध

धेरै समयको अन्तराल पछि सुदूरपश्चिम प्रदेश भ्रमण गर्ने अवसर मिल्यो । सुदूर पश्चिमको तराईका जिल्लामा आउन जान पनि सजिलो छ । तर पहाडी जिल्लामा त्यत्ति सहज नभएकाले आउजाउ गर्ने अवसर पनि कमै मिल्ने गर्दछ । यस प्रदेशका पर्ने नौवटै जिल्लामा यसअघि एक पटकभन्दा बढी गइसकेको छु । सबैभन्दा कम पुगेको जिल्ला बझाङ हो । बझाङमा जाने अवसर मिलेकोले खुसी लागिरहेको थियो । आजभन्दा ६ वर्षअघि त्यहाँ पुगेको थिएँ । त्यो बेलाको अवस्था मेरो मानसपटलमा तँछाडमछाड भइरहँदा अहिलेको अवस्था हेर्न म लालयित थिएँ । संघीयतामा मुलुक प्रवेश सँगसँगै विगतको दुर्गम भनिएको जिल्लामा पनि केही रौनक छायो होला भन्ने कौतुहलता मसँग थियो । त्यसमा पनि मेरो यसपटकको बझाङ भ्रमण स्थानीय तहसँग सम्बन्धित कामका लागि थियो । जसबाट मैले धेरै सिक्न तथा जान्न सक्ने अवसर महसुस गरिरहेको थिएँ ।

मेरो योजना १५ पुसमा काठमाडौंबाट यात्रा सुरु गर्ने थियो । तथापि यस अवधिमा मेरो बुबाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले एक दिनपछि मात्र काठमाडौं छाड्ने निधो गरेँ । इसेवाको प्रयोगबाट श्रीएयरलाइन्सको टिकट धनगढीसम्मको प्रबन्ध गरेँ । ८४ वर्षीय बुबाको दुबै आँखामा मोतीविन्दु भएकाले एक आँखाको शल्यक्रिया १४ गते भएको र १५ गते चिकित्सकलाई देखाउनु पर्ने भएकाले बसौँ भन्ने लागेको थियो । मेरो अनुपस्थितिमा बुबालाई सहयोग गर्ने कोही नभएको त होइन । बुबालाई सहयोग गर्ने उहाँको छोरा छोरी, बुहारीहरु धेरै नै काठमाडौंमा भएकाले समस्या पर्ने थिएन । तैपनि बसौँ भन्ने लाग्यो ।

निर्धारित दिन १६ पुसका दिन धनगढी एयरपोर्टमा उत्रिएँ । संयोगले आज नेपाल भ्रमण वर्षको पहिलो दिन जनवरी १, २०२० । धनगढी झरेसँगै बझाङका सम्पर्क व्यक्ति सामाजिक तथा प्राविधिक विकास सेवा समूह नामक संस्थाका कलकबहादुर खत्रीसँग सम्पर्क गर्न खोज्दा फोन लागेन । अनी कता जाने दुविधा भयो । धनगढीवाट बझाङ जाने वस पाइन्छ भन्ने सुनेको थिएँ । यसैबीच मैले कञ्चनपुर डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरलाई फोन गरेँ । उनले महेन्द्रनगर आउनु, त्यतैबाट गाडी पाइन्छ भनेपछि पर्यटक माइक्रोबसबाट महेन्द्रनगरतर्फ लागेँ । हरियो प्लेट भएको पर्यटक बसले पाँच सय रुपैयाँमा आरामदायी तरिकाले महेन्द्रनगर पु¥यायो । त्यो बसले वन कार्यालयको गेटमा नै रोकिदियो । म उनको निवासमा पुगेँ । त्यहाँ डडेल्धुरा र डोटी डिभिजन वन कार्यालयका प्रमुख, डोटी भू–संरक्षण कार्यालयका प्रमुख पनि त्यही हँुदारहेछन् । रमाइलोसँग कुराकानी गरियो । साँझमा बजार घुम्न निस्कियौँ । कफ्सन नेपालका प्रदेश संयोजक एवं उपाध्यक्ष जगदिश अवस्थीसँग पनि भेट भयो । रातिको बसाइँ डिभिजन वन कार्यालयका प्रमुखको निवासमा पाहुना भएर बसियो ।

पुस १७ गते बिहान ५:३० मा नै महाकाली यातायातको बझाङ जाने टिकट भएकाले वन कार्यालयका सहयोगी सुन्दरका साथमा बिहानै बसपार्कतिर लागेँ । हामीलाई ५ बजे आउनू भने पनि गाडी डेढ घन्टा पछि मात्र हिँड्यो । बिहान निस्कनै बेलामा पानी अलि–अलि परिरहेको थियो । अब जाडो होला भन्ने अनुमान गरिरहेको थिएँ । गाडी अत्तेरिया, गोदाबरी हुँदै उकालो लाग्यो । भातकाँडा, सहजपुर हुँदै डोटीको बुडोर पुग्यो । गाडीहरुको गति नियन्त्रणका लागि समय कार्डको व्यवस्था गरिएको रहेछ । त्यो पालना गरेको भनौँ वा नगरेको कारण केही समय रोकिनु प¥यो । खानाका लागि डडेल्धुराको स्याउले नजिकै गाडी रोकियो । पहिला नै पैसा तिरेर कुपन लिएर खाना खान पाइने । डडेल्धुरा बजार हुँदै हाम्रो बस हुँइकिइरह्यो । डडेल्धुरा बजारदेखि ५ किमि दूरीको पोखरा भन्ने स्थान हुँदै बैतडीको खोड्पे बजार पुग्यो । यहाँवाट बैतडीको सदरमुकाम गोठालापानी र दार्चुला जाने सडक पश्चिमतर्फ लाग्छ भने हामी जाने बझाङ त्यही भएर उत्तरतर्फ मोडिन्छौँ । चिसोले सताइरहेको छ । हिउँ परेको देखिरहेको छ । जुत्ताभित्रका खुट्टा कक्रिएको आभास भइरहेको छ । यसभन्दा एक वर्षअघि पनि गृह जिल्ला दोलखा जाँदा मुडेको हिउँ पनि खाएकाले हिउँ पर्दाको अनुभव बटुलेको थिएँ । त्यसभन्दा पनि यहाँ नयाँ ठाउँको फरक महसुस भइरहेको थियो । हामी बैतडी जिल्लाको सडक भएको तर उच्च स्थानमा पुग्यौँ । हिउँ बाक्लै पर्न थाल्यो । बसवाट हेर्न तथा फोटो खिच्न थाल्यौँ । मलाई डर लागिरहेको थियो गाडी रोकिने हो की भनेर । नभन्दै एक जंगलको बीचमा गाडीहरु रोकिए । अगाडि ट्र्याक्टर र ट्रक फस्यो भनियो । तर हिउँका कारणले सबै गाडी रोकिएका रहेछन् । भारी हिमपात भइरहेको छ । जंगल छ, जाने कही छैन । मैले चिनेको मान्छे कोही पनि छैन । जुत्ताभित्रका खुट्टा मेरो नै होइन भन्ने किसिमले कठ्यांग्रिएको छ । विगतको अनुभवले हिँडेमा खुट्टाको चिसो भाग्छ भन्ने लागेर ओर्लेर हिउँमा नै फटाफट यताउता हिँड्न थालेँ । हिउँ रोकिने र गाडी खुल्ने सम्भावना देखिएन । पुनः बसमा आएर बसेँ । बसका केही युवाले हामी हिँड्नु पर्छ १÷२ किलोमिटर हिँडेपछि बजार भेटिन्छ त्यहाँ पुगेपछि बस्न पाइन्छ भने । मलाई पनि सहि लाग्यो । यतिखेर दिउँसोको २ बजेको होला । मसँग साना साना अनि हल्का २ वटा झोला थिए निकाले अनी लागेँ उनीहरुसँगै । हामी ४ जना भयौँ । हिँड्यौँ । हिउँमा हिँड्दा चिप्लने डर तर फ्रेस हिउँमा टेक्दा चिप्लँदो रहेनछ तर अरु हिँडेको ठाउँमा हिँडेमा चिप्लने डर हुने रहेछ । २० मिनेट जति कस्सेर हिँडेपछि ढोल्यामोड भन्ने स्थानमा पुग्यौँ । यतिबेलासम्म जुत्ताभित्रको खुट्टाको चिसो भागिसकेको थियो । सानो बजार रहेछ । मैले र सँगै जाने साथी गोरख धामीले पञ्जा किन्यौँ । साथीहरुले चिया पिए । अनी फेरि अगाडि बढ्यौँ । केही समयपछि श्रीभावर पुग्यौँ । यो पनि बैतडी जिल्लामा नै पर्दछ । यो स्थानको बारेमा पहिला पनि धेरै सुनेको खासगरी जडिबुटीको प्रचुर सम्भावना भएको क्षेत्र मानिन्थ्यो । त्यहाँ पनि बास बस्न मिल्ने कुरा देखिएन । हामी ४ जना हिँडिरह्यौँ । चारैतिर हिउँ परिरहेको छ । यति बाक्लो हिउँ परेको मेरो जीवनमा नजिकबाट देखेको पहिलोपटक हो । हिउँमा हिँड्दा भिजिँदैन । त्यही भएर सजिलो महसुस भइरहेको छ । हिँड्दा जिउ पनि तातिरहेको छ । केही समयको हिँडाइपछि बैतडी र बझाङको सिमाना आइपुग्यो । सिमाको गेटमा स्वागत लेखी बझाङले हामीलाई स्वागत गरिसक्यो । यहाँवाट बझाङ जिल्ला सुरु हुने र यो स्थान बित्थडचिर गाउँपालिकामा पर्दोरहेछ । हामी फोटो खिच्दै रमाइलो मान्दै हिँडिरह्यौँ । करिब ६ किमिको पैदल यात्रापछि वित्थड भन्ने सानो बजारमा पुग्यौँ । अब हिँड्न नसक्ने निष्कर्षसहित बस्ने वा गाडी पाए अगाडि बढ्ने सोच विकास ग¥यौँ । यो स्थान अलि तल्लो भएकाले हिउँमा केही कमी देखिन्थ्यो ।

बित्थडमा सुख्खा रोटी र तरकारी खायौँ । अनी एक जिपलाई रिजर्भ गरी बित्थडबाट, देउलेक, सुनकुडा हुँदै बाग्थला भन्ने स्थानमा गयौँ । हामीले ३ हजार ५ सयमा रिजर्भ गरेका थियौँ । त्यहाँ पनि वस्न सहज होला जस्तो लागेन अनी हामी फेरि अर्को जिपलाई ५ सय रुपैयाँ दिएर ६ किलोमिटर अगाडि रहेको देउरातिर बढ्यौँ । यो देउरा भन्ने स्थान बझाङको सबैभन्दा गर्मी हुने स्थान सेती नदीको किनारमा पर्दोरहेछ । हामी एक होटलमा खाना खाएर बास बस्यौँ । कोठामा २ खाट थिए । हामी ४ जना थियौँ । नेपाल टेलिभिजनका सम्वाददाता राजेन्द्र सिंह र म खाटमा सुत्यौँ । अरु २ जना साथीहरुलाई भुइँमा ओछ्यान लगाइदिए । जे भए पनि हामी हिँडेर सही काम गरेको निष्कर्ष निकाल्यौँ । यो हिँड्ने निर्णयमा मेरो कुनै हात रहेको छैन । मलाई यहाँको कुनै भूगोल बारेमा जानकारी नै थिएन । उनीहरुको साथमा हिँडेको मात्र हो । तथापि त्यो राति गाडी पक्कै हिँडेन । हिउँ असाध्यै बाक्लो थियो । लगातार हिउँ परिरहेको थियो । नजिकमा बस्ने ठाउँ पनि थिएन । अनी नजिक हिँड्दा पनि बस्न लायक पर्याप्त स्थान थिएन । बसमा नै बसेको भए पक्कै हालत खराब हुने निश्चित रहेछ । मैले अरु ३ जनालाई धन्यवाद दिएँ । उनीहरुले मलाई हरेक ठाउँमा महत्व दिएर सहयोग गरे । म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । १८ गते बिहान होटलवालाको फोनबाट घरमा म सुरक्षित रहेको जानकारी गराएँ । हिजो बेलुकादेखि टेलिकमको फोन चलेको थिएन । एनसेलको मात्रै चलेको रहेछ ।

पुस १८ गते बिहान एक जिपमार्फत हामी चैनपुर तिर लाग्यौँ । सेती नदीको किनारसम्म नै हिउँ परेको देख्यौँ । अहिलेसम्म पनि हिमपात भइरहेको थियो । वाटो भरी हिउँ थियो । हिउँको भार थेग्न नसकी बाँस निहुरिएको थियो । रुखका हाँगाहरु भाँचिएका थिए । यो अवस्था हेर्दा यो हिउँ पर्ने स्थान होइन भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । नभन्दै स्थानीयहरुले २० वर्षपछिको धेरै हिउँ र तल्लो स्थानसम्म हिउँ परेको कुरा बताइरहेका थिए । हामी झोता, तमैल हुँदै बाडुली गाड ९खोला० तरी चैनपुर बजार पुग्यौँ । मलाई पत्रकार राजेन्द्र सिंहले कलक खत्रीको घर र सम्पर्क स्थानसम्म पु¥याउन सहयोग गरिदिनु भयो । म सुरक्षित स्थानमा पुगेँ । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *