सरकारले समन्वयकारी भूमिका खेल्नु नसक्नु नै पर्यटन क्षेत्रको ठूलो समस्या हो

अन्तरवार्ता अर्थ/वाणिज्य कर्पोरेट पर्यटन प्रमुख

नेपालको सबैभन्दा धेरै विकास गरिएको क्षेत्र यातायात क्षेत्र नै हो । सरकारले यसलाई प्रोत्साहन गर्न सकेको छैन । आर्थिक विकासको मुख्य आधार रहेको यो क्षेत्र सुधारका वाचा गर्नेहरु आफ्नो स्वार्थपूर्तिका लागि मात्र कुर्सीको मोहमा आउने गरेका छन् । नेपालको ट्राभल क्षेत्र सुधारका लागि पुनः त्यही प्रतिस्पर्धा सुरु भएको छ । नाटाको निर्वाचनमा व्यवसायीहरु होमिएका छन् । आगामी ३ माघमा नाटाको निर्वाचन हुँदै छ । नाटाको अध्यक्षको प्रत्यासी भीम पन्तले के के एजेन्डा लिएर चुनावमा आउँदै हुनुहुन्छ ? भनेर उहाँसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, संवाददाता एल.बी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
तपाई चुनावी मैदानमा होमिनु भएको छ । के के छन् एजेन्डा ?
हामी आफैँ ट्राभल व्यवासायी हौँ । ट्राभल क्षेत्रमा थुप्रै चुनौती र समस्याहरु छन् । समाधाका उपायहरु हामीले खोजिरहेका छौँ । सरकारले बनाउने ऐनहरुमा समस्या छन् । यसका लागि यातायात विभाग र मन्त्रालयसँग समन्वय गर्नेलगायत विषयहरु हामीले तयार पारेका छौँ । नेपालमा आर्थिक क्षेत्रको सबैभन्दा ठूलो क्षेत्र नै यातायतको क्षेत्र भएकाले पनि यसलाई सुधार गर्दैै लैजान आवश्यक रहेको छ । त्यसमा अझ पछिल्लो समय युवाहरुको रुचिको व्यवसाय पनि यही हो । हामीले चाहेका छौँ, युवाहरु अवश्य पनि यस व्यवसायमा आउनु पर्छ । जनचाहना अनुसारका कामहरु हामीले गर्न सक्नुपर्छ । सोही अनुसारको तयारी पनि अहिलेको आवश्यकता हो ।
मुख्य समस्याहरु के के हुन् ?
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पना नै गर्न सकिँदैन । यातायातको असुविधाकै कारण पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थल साधनहरू विकट पहाडी क्षेत्रहरूमा पु¥याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्याधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थान यातायातको सुविधाबाट वञ्चित छन् । धेरैजसो जिल्लामा त सडकले छोएकोसमेत छैन । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन विकासमा यातायातका यस्ता पक्षहरूले अहं भूमिका खेल्न सक्छन् । यसैले हाम्रा समस्याहरु भनिराख्नै पर्छ भन्ने छैन । यी सबै सडकका सामस्याहरु हुन् । यसैले हामी चाहन्छौँ, जनताको चाहनाअनुसार काम गरिनुपर्छ । राम्रा सडकहरु छैनन् । थुप्रै सडकहरु स्तरोन्नति हुन नसक्दा समस्या सिर्जना भइरहेको हामीले पाएका छौँ । दर्जनौँ घटनाहरु एउटै सडकमा हुने गरेका छन् । महिनामा दुई दर्जन बढी सर्वसाधारणले अकालमै ज्यान गुमाउँछन् । तर, सरकार कानमा तेल हालेर बसेको यसलाई घच्घच्याउने कुराहरु हामीले गर्ने गरेका छौँ । सुधारका गर्नपर्ने धेरै समस्याहरु हाम्रा अगाडि छताछुल्ल छन् । सरकारकै वरिपरिका समस्या धेरै छन् । भाडा व्यवस्थापनमा अहिले पनि सवारी धनीहरु लुटिरहेका छन् । पेट्रोल तथा पेट्रोल पम्पहरु निर्माण गर्नुपर्ने धेरै स्थानमा छ । विकटमा अहिले पनि सवारी चालकले ज्यान जोखिममा पारेर यात्रु बोकिरहेका समस्याहरु छन् । सरकारसँग सहकार्य गरेर, दबाब दिएर के गरेर हुन्छ । हामीले समस्या समाधानको दिशामा अगाडि बढ्ने छौँ ।
पर्यटन वर्ष २०२० लाई कसरी सहयोग गर्नुहुन्छ ?
सरकारले पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहेको छ । यो यसमा हामीले सहयोग गर्नैपर्छ । हामी यसको प्रमुख माध्यम पनि हौँ । हामीले बोध गरेका छौँ । सरकारलाई हामी सहयोग नै गर्न चाहेका छौँ । तर, सहकार्यको वातावरण सरकारले गर्नुपर्ने हुन्छ । त्यसमा अझ अहिले त सरकारले हामीलाई लाद्ने काम मात्र गरिरहेको छ । चाहेर पनि समस्या समाधानको दिशामा हामी अगाडि बढ्नै पाएका छैनौँ । त्यो कमजोरी यातायात व्यवसायीहरुको होइन । सरकारले समन्वयकारी भूमिका नखेल्नु नै अहिलेको समस्या हो । यसैले हामीले यातायात मन्त्रीसँग पहिलो चरणमै यी समस्या समाधानका विषयमा कुराकानी गर्ने छौँ । आसा छ । सरकारले पनि समन्वयकारी भूमिका खेल्ने छ । समस्या समाान हुनेछन् ।
पार्किङका समस्याहरु समाधान भए त ?
पार्किङका समस्या मुख्यगरी प्रमुख सहरहरुमा हुने गरेको छ । ग्रामीण क्षेत्रमा खुला स्थान हुने भएकाले पार्किङका समस्याहरु छैनन् । तर, सहरहरुमा यस्ता खालका समस्याहरु छन् । सरकारले यी समस्या समाधानमा ध्यान पु¥याउनु पर्छ । समयमै यसमा ध्यान नदिने हो भने पर्यटन वर्ष २०२० मा हामीले थुप्रै सम्भावना गुमाउनु पर्ने हुन्छ । ्
पर्यटन वर्ष र पार्किङको कनेक्सन के छ ?
पार्किङ र पर्यटन वर्षको अवश्य पनि समस्याहरु छन् । अहिले अन्तर्राष्ट्रिय विमानस्थल भएको काठमाडौंमा नै बढी समस्याहरु छन् । पार्किङ नहँुदा पर्यटकहरु सडक मै सवारी कुरेर बस्नुपर्छ भने सडकमै पर्यटक बोक्ने बसहरु पार्किङ गर्नुपर्ने अवस्था छ । सरकारले चाहेमा सबै कुराहरु सम्भव छ । तर, चाहँदैन । अब सरकारले काठमाडौंको सन्दर्भमा अझ यस्ता समस्या समाधानको दिशामा अगाडि बढ्नुपर्ने हुन्छ । पहिलो चरणमा पार्किङका समस्या समाधान गर्नुपर्छ ।
करका कुराहरु छन् । यसले यातायात क्षेत्रलाई प्रभाव पारेको छैन ?
मलाई लाग्छ । करका विषयमा यातायात क्षेत्र नै सबैभन्दा पीडित छ । तीन तहका करहरु छन् । मकवानपुरमा हेर्नुहोस्, तराईबाट आउने सवारीहरुले कसरी सास्ती पाइरहेका छन् । एकातिर वनको कर, स्थानीय सरकारको कर र केन्द्र सरकारले पुरानै बेलादेखि उठाउनु पर्ने करहरु छन् । यसैले गर्दा नै यातायात क्षेत्रमा व्यवसाय गर्नेहरु दिनहँु लुटिने गरेका छन् । तर, सरकारले कानुनी व्यवस्थाअनुसार नै हामीलाई लुट्ने गरेको छ । यसैले सरकारलाई हामीले कर व्यवस्थापनका लागि नै समस्या समाधान गर्न माग गर्छौँ ।
कसरी समाधान गर्न सकिन्छ ?
अहिले यातायात क्षेत्र ओझेलमा पर्दै गएको छ । मुलुकमा जरा गाडेर बसेको कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावका कारण अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखा परेको छ । अहिले न्यूनतम डलर मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ । अहिले प्रत्येक वर्ष ८ सय ५० लाखभन्दा बढी व्यक्तिले आन्तरिक हवाइयात्रा गरिरहेका छन् । हवाईसेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेको छन् भने चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् । विश्व पर्यटन बजारको आम्दानीमा वृद्धि भई ६ सय ५० अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । विश्वभरका मूल १.५ अर्ब पर्यटकले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्तक्षेत्रका हवाईसेवाहरूले आफ्नो परिवहन क्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ । यसैले सरकारले सडक यातायातको विकासमा जोड दिनुपर्छ । किनकि अहिले नेपालमा रहेको एउटा विश्वाशिलो माध्यम पनि त्यही नै हो ।
हवाई क्षेत्र समृद्ध भइसकेको हो ?
छैन । परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाई सेवाकै क्षमता घटाएको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धनतर्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र राम्रो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ । नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजी स्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, टेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न संघ–संस्थाको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर, सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाका कारणले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
यसको कारण के हो ? कसरी समाधान गर्ने ?
यो समस्या एकले अर्कोलाई सुधारको दृष्टिले हेर्न नसक्नु हो । जस्तो सरकारी नीति निर्धारण गर्नेहरू, चालकदल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामन्वय ल्याउन सकिएको छैन । जबसम्म उनीहरुलाई समन्वयमा ल्याउन सकिन्न, तबसम्म राष्ट्रिय हितमा यो पेशा ढुक्कले गर्न सक्ने स्थिति आउँदैन् । ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्दैन । सरकारले सबैको सहमति र सामन्जस्यमा राष्ट्रिय पर्यटन नीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपालमा पर्यटन क्षेत्रको विकास नहुने कुरै छैन ।