नेपालमा विदेशी सहयोगको औचित्यहीन

प्रमुख बिबिध लेख समाचार

नेपालको राजनीतिक नेतृत्वले राष्ट्रलाई पश्चिमी मुलुकजस्तै समृद्ध र नेपाली जनतालाई सुखी बनाउने नाममा विदेशी सहयोग लिन थालेको सातदशक बितिसक्यो । यस्तो विदेशी सहयोग अनुदान र ऋणको रुपमा नेपालमा कति आयो, आयो त्यसको कुनै लेखाजोखा छैन । विदेशी ऋणले भने नेपाली जनतालाई टुप्पीसम्मै डुबाउने अवस्थामा राष्ट्रलाई परिणत गरेको छ । नेपालजस्तो गरिब देशले यसरी ऋण लिनु हुन्न राष्ट्र डुब्छ भन्दा नेपालको राजनीतिक नेतृत्वले विदेशी ऋण लिन किन डराउने सबै पछाडि अनुदानमा रुपान्तरित भइहाल्छ नी भन्छन्् । विदेशी दाताहरुको नियोगहरु, विदेशी बैंकहरु र विदेशी गैरसरकारी संस्थाहरु नेपालभरि छ्याप्छ्याप्ती छन् र अनेक प्रकारले नेपालको विकासमा सहयोग गरेको गरेकै छन् । मामुली सफाइ गर्नेदेखि लिएर ठूलाठूला परियोजनाहरु नेपालमा विदेशीकै अनुदान, ऋण र प्राविधिक सहयोगमा बनाउने गरिएको छ । बितेको सात दशक देखि यो प्रकृया निरन्तर चल्दै आएको भए तापनि त्यसको ठोस परिणाम अहिलेसम्म केही देखिएको छैन । नेपाल राष्ट्र समृद्ध होला र नेपाली जनता सुखी होलान् भन्दाभन्दै झन्झन उल्टो हुँदै गएको छ । नेपाल लगातार सात दशकदेखि अल्पविकसित मुलुकमै कायम छ र नेपालको गरिबी उन्मूलन गरी राष्ट्रलाई समृद्ध बनाउने नाममा आएको त्यत्रो विदेशी अनुदान र ऋण सहयोग कसले खायो खायो ? केहि अत्तो पत्तो छैन । नेपाल कहिले डेभलोपिङ राष्ट्र बन्नै सकेन र जहिले पनि अल्पविकसित राष्ट्रमा कायम भएको भएकै छ किन ? सहयोग गर्ने विदेशी राष्ट्रले नेपाललाई ठगेको हो कि नेपालकै नेताहरुले नेपालीलाई ठगेको हो भन्ने कुराका अब हिसाब किताप गर्ने बेला भयो । यतिबेला नेपाल राष्ट्र अमेरिकनदाताको मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत नेपाललाई दिने भनिएको नेपाली रुपियाँ ५५ अर्ब बराबरको अनुदान सहयोगलाई लिएर त्यसलाई नेपालको संसदबाट अनुमोदन गर्ने कि नगर्ने र उक्त अनुदान सहयोगसित जोडिएको सबै अनुचित सर्तहरु मान्ने कि नमान्ने भन्ने विवादले राष्ट्रिय बहसकै रुप लिएको छ । हेर्दा अनुदान सहयोग पनि सहजै स्वीकार नगरेर नेपाली जनताले बेबकुफी गरेकोजस्तो देखिन्छ तर वास्तविकता भने त्यस्तो छैन । नेपालको बितेको सातदशककै इतिहासलाई राम्रोसित हेर्ने र त्यसलाई राम्रो सित केलाउने हो भने अहिले चलेको विवादको कारण सबै छर्लंग हुन्छ । नेपालमा अमेरिकन जसुसी संगठन सिआइएले यो भन्दा पहिले नेपाललाई सहयोग गर्ने नाममा नेपालमा खम्पा काण्ड गराइसकेका छन् । त्यो खम्पा काण्ड फ्रि–तिब्बत आन्दोलनसित जोडिएको थियो र चीनको विरुद्ध नेपालभित्रै तिब्बतका खम्पाहरुलाई संगठित गरी हतियार उपलव्ध गराई नेपालको मुस्ताङ जिल्लामा राखिएको थियो र त्यहाँबाट तिब्बतमा आक्रमण गराइएको थियो । यसका लागि कलंकी स्युचाटारमा हवाइ मैदान बनाइएको थियो र त्यहाँबाट रातमा हवाई उडान गरी नेपालको मुस्ताङ जिल्लामा अमेरिकाले घातक हतियारहरु खसाल्ने गरिएको थियो । स्वर्गीय राजा वीरेन्द्रको नेतृत्वमा खम्पाहरुका विरुद्ध ठूलो सैनिक कार्यबाही गरी परास्त गरिको थियो भने नेपालबाट अमेरिकन स्वयंसेवकहरुलाई हटाएका थिए । अहिले त्यसै घटनालाई पुनरावृत्ति गर्ने अथवा नयाँ अध्याय वा नयाँ संस्करण सुरु गर्ने दाउमा नेपालभित्र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन र अमेरिकन स्वयंसेवकहरु अनुदान सहयोग लिएर छिर्ने दाउमा छन् वा छिरी सकेका छन् । अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेझैँ नेपाललाई यो भन्दा पहिले नै ठूलो धोका दिइसकेको अमेरिकनहरुलाई देखेर सोझा नेपाली जनताको मन पनि तर्सिनु अस्वभाविक हो भन्न मिल्दैन । अर्कोतर्फ हेर्दा नेपालको राजनीतिक नेतृत्वले विदेशी सहयोग लिने र त्यसको सहि उपयोग गर्ने कुरामा नेपाली जनतालाई ठूलो शंका लागेको छ । विवाह गर्नको हतारले केटी माग्न बिर्सियो भने जस्तो अवस्थामा अहिले नेपालको राजनीतिक नेतृत्व पुगेको छ । नेपाल राष्ट्र कसरी समृद्ध हुन्छ र नेपाली जनतालाई कसरी सुखी बनाउनेभन्दा पनि नेपालका शीर्ष नेताहरु आफैँ कसरी समृद्ध र सुखी बन्ने हो भन्ने होडमा लागेका छन् । त्यस्ता राजनीतिक नेतृत्वको क्षमता र नियतमा नेपाली जनतालाई किञ्चित पनि भरोसा छैन । विदेशी अनुदान र ऋण सहयोग लिएर नै राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाएर छाड्छौँ भन्दै प्राप्त विदेशी अनुदान र ऋण सहयोगको ठूलो दुरुपयोग नेपालमा भएका छन् र भइरहेको पनि छ । यदि त्यस्ता विदेशी सहयोगहरुको दुरुपयोग नगरेको भए वा दुरुपयोग नभएको भए अहिलेसम्म नेपाल विकसित मुलुक बनिसक्ने थियो तर उल्टै भएको छ जहिले पनि कुवाको भ्यागुतो कुवामा नै भनेझैँ नेपाल राष्ट्र अल्पविकसित मुलुकमा नै कायम भएर नै रह्यो । नेपालका राजनीतिक नेतृत्वले ए कतातिर हाम्रो गल्ती भयो भनेर कहिले पनि हेर्ने प्रयास गरेको छैन । प्वाल परेको पानीजहाज चढेर समुद्र पार गर्ने प्रयास गर्नु मूर्खता हुन्छ किनकि प्वाल जतिसुकै सानो भए तापनि त्यसबाट लगातार पानी भित्र छिर्दै गएपछि उक्त पानीजहाज कुनै न कुनै बेला डुब्छ डुब्छ कुनै शंकै गर्नु पर्दैन । नेपाल राष्ट्रको पनि हालत त्यहि हो भ्रष्टाचार र अपराधको प्वाल नटाले नेपाल राष्ट्र राष्ट्र भएर लामो समय जीवित रहन सक्ने छैन । सहयोगको नाममा छिरेका विदेशी ब्वाँसाहरुलाई राम्रोसित चिन्ने प्रयास नेपालको राजनीतिक नेतृत्वले गर्नु पर्छ । अनुदान सहयोग भनेपछि त्यसभित्र अन्तर्निहित विदेशी नियतलाई राम्रोसित नबुझी स्वीकार गर्ने गरेमा त्यो विदेशीको अगाडि झुक्नु नै हुन्छ र त्यसले नेपालमा समृद्ध ल्याउने र नेपाली जनतालाई सुखी बनाउनेभन्दा पनि नेपालमा अर्को उल्का पीडा र उत्पाद ल्याउने पनि हुन सक्छ । अहिलेको नेपालको राजनीतिक नेतृत्वले त्यस्तो अवस्था आएमा राष्ट्रलाई सम्हाल्नै सक्ने छैन र नेपालको सत्ताको बागडोर थाहा नै नपाई विदेशीको हातमा पुग्न पनि सक्ने संभावना तड्कारो रुपमा देखिएको छ । नेपाललाई समृद्ध बनाउने विकासको विधि नै मिलेको छैन त्यसैले विधि नमिलेको वा विधि नपुगेको तपस्याजस्तै यसबाट कुनै फल पाप्त गर्न सकिन्न । गलत बाटोमा हिँडाएको राष्ट्र निर्दिष्ट ठाउँमा कहिले पनि पुग्न सक्दैन । नेपालको राजनीतिक नेतृत्व अहिलेसम्म विदेशीको सल्लाह र सहयोगमा चलेको चलेकै छ । उनीहरुले सिकाएको भनेको कुरालाई नेपालको विकासको अचुक मन्त्र मानेर नेपालको सरकारले जपेको जपेकै छ तर अहिलेसम्म कुनै विकासको फल लागेको छैन । नेपालको विकास थारो गाईभैँसी पालेकोजस्तै भएको छ र त्यसले नब्याएकाले नेपाली जनताले बिगुती दूधसम्म पनि पिउन पाएको छैन । नेपालको हालको विकास विदेशीका लागि मात्रै विकास भएको छ भने नेपालीका लागि कागलाई बेल पाक्यो न हर्ष न विस्मात् भएको छ । नेपालमा विदेशीको व्यापार फैलिएको छ भने नेपाली जनता त्यसको मूल्य चुकाउनका लागि वैदेशिक रोजगारीमा गएर तिनीहरुकै गुलाम बन्न बाध्य भएका छन् । नेपालको अर्थतन्त्र पूरै गोलचक्करमा नराम्रोसित फसेको छ । विदेशी सामान आयात गरी लाउने र खाने, त्यसको मूल्य चुकाउनका निमित्त वैदेशिक रोजगारीमा बाध्य भएर जाने र पर्यटन विकास भनी जोड जोडले चिच्याउनेबाहेक अन्य योजना नेपालको राजनीतिक नेतृत्वले सोच्नै सकेको छैन । आफैँले आयात गरेको सामानहरुमा दोब्बर तेब्बर कस्टम ड्युटी लगाएर आम्दानी देखाउने मुलुकमा नेपाललाई विदेशी सल्लाह र सहयोगले रुपान्तरण गरेको छ । आयात घट्यो कि राष्ट्रको आम्दानी पनि घट्ने कुचक्रमा नेपाल नराम्रोसित फसिसकेको अवस्था छ । व्यापारघाटा कम गर्नकै लागि नेपालीले वैदेशिक रोजगारीमा जानु पर्ने र विदेशीको गुलामी बाध्य भए गर्नुपर्ने भएको छ । गरिब नेपाली जनताले खाडीको राप र ताप खपेर यता नेपालमा भाले मौरी बनेर मोजगरी बसेका राजनीतिक नेतृत्व र उसका आसेपासे दलाल व्यापारीहरुलाई पाल्नु पर्ने भएको छ । पोल्नु पर्नेलाई पाल्नु पर्दाको दुःख बयान गरेर साध्र्य छैन भन्ने कुरा दैनिक कफिनमा नेपाल भित्रिने नेपाली कामदारको लासहरुजस्तै दर्दनाक र ह्याउबिदारक छ । नेपालको राजनीतिक नेतृत्वले अब सहयोगको नाममा नेपालमाथि लाद्ने विदेशीको स्वार्थलाई बोक्ने र पोष्ने काम तुरन्तै त्यागेर उक्त विदेशी अनुदान र ऋण सहयोगमा नेपालको हितलाई मात्र हेर्न जरुरी छ । अर्थहीन विकासमा खर्च गर्ने विदेशी अनुदान वा ऋण सहयोगलाई अब नेपालमा उत्पादन उद्योगहरु खोल्न र नेपालको निर्यात बढाउनका लागि परिचालन गर्नु पर्छ । अहिले कायम भएको डरलाग्दो आर्थिक कुचक्रबाट तुरन्तै नेपाल राष्ट्रलाई मुक्त तुल्याउने राजनीतिक सतप्रयास सुरु होस् भन्ने नेपाली जनताले चाहेका कुरा सत्तामा बसेका राजनीतिक दलहरुले राम्रोसित बुझोस् र बुझ पचाउने काम कतैबाट नहोस् । राष्ट्रलाई परनिर्भर गुलाम बनाउने औचित्यहीन विदेशी सहयोगमा अब धेरै समय फाल्ने काम रोकी राष्ट्रलाई आत्मनिर्भर स्वावलम्वी बनाउने मार्गतिर सबैलाई एक जुट पारी लाने पहलकदमी राजनीतिक नेतृत्वले लिनै पर्छ ।

Leave a Reply

Your email address will not be published.