पुँजीवादी आर्थिक कुचक्रमा नेपाल

वित्त शिक्षा/स्वास्थ समाचार

अहिले नेपाल नराम्रो आर्थिक कुचक्रमा फसिसकेको छ । नेपालको राष्ट्रिय आम्दानी नै आयात व्यापार, वैदेशिक रोजगारी र पर्यटन विकासजस्ता परनिर्भर व्यवसायहरुमाथि आधारित छ । संसारमा हुने सानातिना घटनाले नै नेपालको अर्थतन्त्रलाई थला पार्ने गरी प्रभावित पार्ने गरेको छ ।
अहिले छिमेकी देश चीनबाट सुरु भएको र विश्वभरी फैलिसकेको कोरोनाभाइरसको प्रकोपले पनि नेपाललाई नराम्रोसित असर पारिसकेको छ । सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको नेपाल सरकारले २० लाख पर्यटन नेपालमा ल्याएर डलर कमाउने ठूलो योजना बनाएकोमा सो योजना कोरोना भाइरसको प्रकोपले गर्दा सुरु अवस्थामा नै तुहिएको छ । डलर कमाउनु त कता हो कता कोरोना भाइरसको रोकथाम गर्नलाई पनि नेपाल सरकार अहिले सक्षम देखिन्न । २० लाख विदेशी पर्यटक नेपाल ल्याउने तयारीमा लागेको नेपाल सरकार यतिबेला कोरोना भाइरसको सामु हात जोडेर खडा भएको छ र त्यसलाई चुनौती दिने कुनै सरकारी तयारी छैन ।
नेपाल सरकारको कोरोना भाइरससित लड्ने कुनै पूर्वतयारी नभएको हुनाले अहिले नेपाली जनता राजतन्त्रदेखि चल्दै आएको चलनअनुसार नै उनै पशुपतिनाथको कृपामा बाँच्नु पर्ने अवस्था उत्पन्न भएको छ । नेपाल सरकारको व्यवस्थापकीय दक्षता केहि कतै देख्न पाइरहेको छैन र राष्ट्र नै भगवान्को भरोसामा चलेको अनुभव हुन थालेको छ । सुनको भाउ एकाएक अकासिएर कताबाट कता पुगेको छ भने डलरको भाउको हालत पनि त्यस्तै छ ! नेपालमा चलेको सबै परियोजनाहरु नेपालको अर्थतन्त्रलाई थला पार्ने गरी महँगा भएका छन् भने नेपाली रुपियाँको क्रयशक्ति क्षिन हुँदै गएको छ ।
नेपालको आर्थिक प्रणालीमा रहेको ५ खर्बमध्ये ३ खर्ब नै नेपालको बैंकिङ प्रणालीभित्र छैन भन्ने सत्य कुरा पहिले नै प्रकाशित भइसकेको छ । दुईतिहाई जतिको अनौपचारिक अर्थतन्त्र भएको मुलुक नेपालको नेपाली रुपियाँ विदेशी मुद्राको तुलनामा साह्रै नै कमजोर देखिएको छ । वैदेशिक रोजगारीबाट प्राप्त विदेशी मुद्राको राष्ट्रिय आम्दानीले मात्रै अहिले नेपालको आयात व्यापारबाट भएको व्यापार घाटालाई धानेको र नेपालका नेताहरु, सरकारी अधिकारीहरु र जनप्रतिनिधिहरुको उद्देश्यविहीन विदेश यात्राहरुको खर्चलाई पूरा गरेको देखिन्छ । यथार्थमा नेपाल सरकारको काम कारबाहीहरु सबै वैदेशिक रोजगारीबाट हुने राष्ट्रिय आम्दानीबाटै चलेको देखिन्छ र उक्त राष्ट्रिय आम्दानीमा हुने सानातिना घटबढले पनि नेपाल सरकारको काम कारबाहीलाई पनि ठूलै असर पुग्ने गरेको पाइन्छ ।
नेपाल सरकारले ठूलो आडभरोसा मानेको वैदेशिक रोजगारीको राष्ट्रिय आम्दानीलाई पनि यतिबेला कोरोना भाइरसले प्रभावित तुल्याएको छ । नेपाल सरकारसित यसको भरपाई गर्ने अन्य कुनै विकल्प नभएकाले राष्ट्रको अर्थतन्त्र नराम्रो आर्थिक कुचक्रमा फसेको छ । राष्ट्रमा खेतीपाती उद्योगधन्दा केहि छैन र पञ्चायतकालमा खडा गरिएका सबै उद्योगहरुलाई पनि मासी सकिएको छ । अहिलेका नेताहरुले केहि एसेम्ब्लिङ र रिफिल उद्योगहरु खोलेर विदेशीको आम्दानीलाई बढाउने काम गरेको भए तापनि नेपालको राष्ट्रका लागि आम्दानी होइन खर्च मात्रै बढाएको छ । यस्तो कुबुद्धि भएका नेताहरुले चलाएको मुलुक नेपाल अहिलो ठूलो संकटबाट गुज्रिरहेको छ । नेपाली जनता ठूलो उन्नति गर्न नसके पनि खेतीपाती गरी पेट भर्दै आएका थिए तर नेपाल सरकारले सबै नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने नीति बनाएकाले सबै युवाहरु वैदेशिक रोजगारीमा गएकाले खेतीपाती गर्ने काम बन्द भएका छन् र नेपाली जनताको पेट भर्ने काम पनि विदेशी आयातमाथि नै निर्भर हुन पुगेको छ ।
पञ्चायत कालमा पनि विदेशी सहयोगलाई निकै महत्व दिएको थियो त्यसैले विदेशी सहयोग नेपालमा ल्याउन सक्ने विदेश मन्त्रीहरुलाई त्यति बेलादेखि नै राष्ट्रिय हिरो मान्ने चलन बसेको थियो । नेपालबाट राजतन्त्र र उसको पृष्ठपोषक पञ्चायती राजनीतिक व्यवस्था गए पनि नेपालीको आनीबानी र कर्मचारीतन्त्र उही पुरानै कायम छ । त्यसैले राजनीतिक व्यवस्था र राजनेताहरु बदलिए पनि त्यसको प्रभाव र परिवर्तन नेपाली जनताले महशुस गर्न पाएकै छैन । अहिलेका राजनेताहरुले नेपाल राष्ट्रलाई उही पुरानै आर्थिक मार्गचित्र अनुसार नै अगाडि बढाइरहेका छन् र राष्ट्रलाई आर्थिक हिसाबले नै आत्मनिर्भर बनाउने र बन्न सक्ने ठोस नयाँ आर्थिक मार्ग चित्र तयार पारी राष्ट्रलाई दिन सकेको छैन ।
नेपाल राष्ट्र पहिले जसरी चलेको थियो अहिले पनि उसरी नै चल्दै आएको छ भने नेपालमा राजनीतिक व्यवस्था र राजनेताहरु बदल्नुको कुनै औचित्य देखिएको छैन । पहिलेको तुलनामा अहिले झन् नेपालको आर्थिक हालत खराब भएको महशुस गर्दै धेरै नेपाली जनताले पहिलेको राजतन्त्र नै ठिक भन्न पनि थालेका छन् । नेपाली जनताले नेकपालाई किन दुईतिहाइ बहुमत दियो भन्ने कुरा उक्तपार्टीका नेताहरुले अहिलेसम्म पनि बुझ्न सकेको छैन । नेपाली जनताले अमूल परिवर्तनका लागि भोट नेकपालाई हालेका थिए भने नेकपाका नेताहरुले त्यसको ठिक उल्टो गर्दै आएको छ ।
उही विदेशीको सहयोगमा राष्ट्रको विकास गर्ने सरकारी नीति कायम रहने हो भने परिवर्तनका लागि नेपाली जनताले भोट हालेको कुनै औचित्य छैन । उही वैदेशिक रोजगारी र आयात व्यापारमाथि निर्भर राष्ट्रको आर्थिक नीति कायमै रहने हो भने पनि परिवर्तनका लागि नेपाली जनताले भोट हालेको कुनै औचित्य छैन । नेकपा सरकारले नेपाली जनताको यहि कुरा नबुझ्दा अहिले नेपालमा ठूलो आर्थिक संकट छाएको छ र राष्ट्र नै भगवान्को भरोसा गरी चलाउनु पर्ने भएको छ । नेकपा सरकारले आफ्नो दक्षता र सुझबुझ झल्किने गरी राष्ट्रको राजनीतिक व्यवस्थापन गरेको केहि कतै झल्किएको छैन । चारैतिर निरासै निरास छाएको देखिन्छ भने अचानक संसारमा उत्पन्न भएको कोरोना भाइरसको प्रकोपले त्यसमा नुनचुकसमेत हाल्ने काम गरेको छ ।
आकासिएको डलरको भाउ र सुनको भाउलाई कसरी कम गर्दै बढ्ने क्रमलाई स्थिर तुल्याउन सकिन्छ ? कमजोर नेपाली मुद्रा रुपियाँलाई कसरी विदेशी मुद्राको तुलनामा बलियो बनाउन सकिन्छ ? नेपाली जनताको टाउकोमा सरकारले थोपरेको करको भरी र विदेशी ऋणको भारीलाई कसरी कम पारी चुक्ता गर्दै लान सकिन्छ ? नेपाली जनताको ढाड भाँच्ने गरी बढेको महंगीलाई कसरी नियन्त्रन गरी कम गर्दै लान सिन्छ ? वैदेशिक रोजगारीमा टिकेको आर्थतन्त्रलाई कसरी स्वदेशी उत्पादन उद्योगमा आधारित अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ ? यस्तो धेरै धेरै पश्नहरुको जवाफ नेकपाका नेताहरुसित छैन । पर्यटन विकासको कुरा गरेर अमूल्य समय खेर फाल्दै जानु पनि मनासिब होइन ।
नेपालमा यो भन्दा राम्रो अन्य आर्थिक उन्नतिको विकल्पहरु छन् भने परनिर्भर विकासमा ज्यानै फालेर लाग्नु पर्दैन । नेपालको अर्थतन्त्रले धान्न सक्ने पूर्वाधार विकासमा मात्रै सरकारले जोड लगाउँदा राम्रो हुन्छ । अरुले घोडा चढ्यो भनेर नेपालीले घरको धुरी चढ्ने मूर्खता कहिले पनि गर्नु उपयुक्त छैन । आयात व्यापारमा आधारित अर्थतन्त्रले नेपालको आफ्नै परियोजनाहरुलाई महँगो तुल्याएको छ भने स्वदेशी उत्पादन उद्योगलाई नराम्रोसित प्रभावित तुल्याएको छ । नेपाली खाने र नेपाली लगाउने आत्मनिर्भर बानीलाई त्यागेर धेरै नेपाली जनता विदेशी खाने, लगाउने र अयासी गर्दै हिँड्ने भएका छन् । यस्तो अवस्थालाई बदल्नका लागि उत्पादन उद्योगमा जोड लगाउँदै निर्यात व्यापार बढाउँदै लानुमा नै नेपालको कल्याण हुन्छ । पुँजीवादी अर्थतन्त्रको कुचक्रबाट जति चाँडो निस्किन सक्यो त्यति नै चाँडो नेपाल राष्ट्र समृद्ध र नेपाली जनता सुखी बन्ने छन् ।
पुँजीवादी आर्थिक कुचक्रमा झन्झन फस्दै जाने सरकारी नीतिले राष्ट्रलाई ठूलो भडखालोमा जाक्ने र नेपाल राष्ट्रको नमानिशाना नै मेटिन पनि सक्ने संभावना छ ! पुँजीवादी अर्थतन्त्र बजारको प्रतिस्पर्धामा आधारित हुन्छ त्यसैले बजारको माग र आपूर्तिले वस्तुको मूल्य निर्धारण गर्दछ भने मूल्य निर्धारण गर्नमा समाजिक न्यायको कुनै भूमिका रहेको हुन्न । यसको विपरीत समाजवादी अर्थतन्त्रमा केन्द्रले समाजिक न्यायलाई प्रमुखताको साथ महत्व दिएर वस्तुको बजार भाउ निर्धारण र नियन्त्रण गरिन्छ । वस्तुको माग र आपूर्तिलाई सामाजिक कल्याण र न्यायको आधारमा वैज्ञानिक हिसाबले व्यवस्थापन गरिन्छ । नेकपाका नेताहरुले आफ्नो वंश अनुसारको नीति बनाएर लागू नगरी उहि पुरानै सरकारले लागू गरेको बजारमुखी अर्थतन्त्र बोकेर हिँडेकाले अहिले राष्ट्रको दुर्गति हुन लागेको महशुस नेपाली जनताले गर्दै छन् ।
वैदेशिक रोजगारीमा जानका लागि कोरोना भाइरसको खतरा छ भने उताबाट यता नेपाल फर्किन पनि नेपालीलाई उक्त रोगकै जोखिम छ । यस्तो अवस्थामा पुँजीवादी अर्थतन्त्र अँगालेर नेपालको पेट भरिन्न भने विश्वमा देखिएको अहिलेको परिस्थिति चाँडै साम्य होला जस्तो पनि देखिएको छैन । देशलाई मिश्रित अर्थतन्त्रबाट बजारमा आधारित कन्जुमर अर्थतन्त्रमा लाने अघिल्लो सरकारको नीति नै गलत थियो भने त्यहि नीतिको सिकार अहिले नेकपा सरकार भएको छ । कोइली भएर कागजस्तो बन्न खोजेको हुनाले नेकपा सरकार राष्ट्र र नेपाली जनताको नजरबाट गिर्दै गएको छ । पुँजीवादी अर्थतन्त्रको दुष्परिणामले नेपाल न विकास न समृद्धिको अवस्थामा पुगेको छ भने साधन, स्रोत भएर पनि सरकारले अवलम्वन गरेको नीतिहरू गलत भएकाले नेपाली जनता सुखी होइन झन्झन दुःखी भएका छन् ।

Leave a Reply

Your email address will not be published.