कहिलेसम्म वन संरक्षण मात्र गरिरहने ?

लेख

वन व्यवस्थापनको सन्दर्भमा धेरै नागरिक वा जनताको सहभागिता रहेको पद्धति सामुदायिक वन हो । २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूहहरुलाई २२ लाख ३७ हजार ६ सय ७० हेक्टर राष्ट्रिय वन सामुदायिक वनको रुपमा हस्तान्तरण भएको छ । सामुदायिक वन अभियानमा २९ लाख ७ हजार ८ सय ८१ घरधुरी आवद्ध रहेका छन् । संरक्षित क्षेत्रवाहेक वाँकी रहेको ४९ लाख २९ हजार हेक्टर मध्ये ४५ प्रतिशत सामुदायिक वनको रुपमा देखिन्छ भने नेपालको कुल वन क्षेत्रको ३३ प्रतिशत सामुदायिक वनको रुपमा व्यवस्थापन भइरहेको छ । नेपालको कुल भूभागको हिसाब गर्ने हो भने सामुदायिक वनले ओगटेको क्षेत्रफल १५ प्रतिशतको हाराहारीमा हुन आउँछ ।
वन व्यवस्थापनका चर्चा गर्दा संरक्षणमुखी सोच नै हाबी भएको छ । सरकार नियन्त्रित वनको व्यवस्थापनको कुरा त त्यस्तै हो सबैभन्दा कुशलतापूर्वक व्यवस्थापन भएको भनिएको सामुदायिक वन पनि संरक्षणमुखीभन्दा माथि उठेको छैन । यसो हुनुमा नीति निर्माता, वन प्राविधिक, उपभोक्ताहरु सबैको संरक्षणमुखी मानसिकता भएर हो । रुख काट्नु वन विनाश हो भन्ने सोच अझै पनि छ । सामुदायिक वनको अवधारणा सुरु गर्दा कै सोच अहिले पनि छ । त्यति बेला वन विनाश भएको थियो त्यसैले सबैभन्दा पहिला संरक्षण गर्नु आवश्यक थियो र हुनु पनि पर्दछ । विद्यार्थीका लागि १२ कक्षा भनेको जस्तो । १२ कक्षा पास गरे पछि के वन्ने सोही अनुसार आफ्नो अध्ययन अगाडि बढाउँछन् त्यसैगरी सामुदायिक वन पनि संरक्षण पहिलो अनिवार्य विषय हो । त्यसपछि व्यवसायिक बाटो समात्न सक्नु पर्दछ । तर संरक्षणमुखी मात्र गर्ने सोच अझै हटेको छैन । एउटा विद्यार्थीले सधैभरी १२ कक्षा दोहो¥याइ दोहो¥याइ पढेर बस्दैन । तर त्यो पढेको विषय बिर्सने पनि गर्दैन । हामी चाहिँ संरक्षण मात्र गरेर बसेका छौँ । थोरै प्रयोग गरे व्यवसायिक भएकै छैन । यसमा सामुदायिक वनको नेतृत्व गर्ने, सहयोग गर्ने सबै जिम्मेवार देखिन्छ । सामुदायिक वन अवधारणा विकास गर्दाका समयका उपभोक्ता, सहयोगी, सरकारी संरचना सफल भए किनकि त्यो बेलामा सामुदायिक वनमार्फत वन संरक्षण गन्तव्य बनाए । संरक्षणमुखी त्यो गन्तव्य प्राप्त भइसकेको धेरै भइसक्यो । ५ प्रतिशत वन बढ्यो । उजाड भइसकेको वा उजाड उन्मुख क्षेत्रमा हरियाली छायो । अब सामुदायिक वनको नयाँ गन्तव्य निर्धारण गरी सो प्राप्तिका लागि क्रियाशिल हुनु पर्ने हो त्यसमा चुकेको देखिन्छ । २९ लाख घरधुरी आवद्ध भएको, एक करोड ५० लाख नागरिकहरुलाई समेटेको, २ लाखभन्दा बढी सामुदायिक नेतृत्व तहमा क्रियाशिल भएको, समावेशी लोकतन्त्रको समुदाय स्तरमा अभ्यास गरेको, जैविक विधिता जोगाएको भनेर फूर्ति लगाएर मात्र हुँदैन । यी त अव सबल आधारको रुपम स्विकार गरी वन क्षेत्रको अधिकतम् सदुपयोग गर्नु पर्दछ । यसले कमजोर वर्गको जिविकोपार्जनमा के सुधार ल्यायो । समृद्ध नेपाल बनाउन के योगदान ग¥यो भन्ने चर्चा गर्न आवश्यक छ । वन क्षेत्र गाड धनजस्तो भएको छ । छैन भन्दा छ तर जीवन उपयोगी वनाउन सकिएको छैन ।
रुख भनेको काट्नैका लागि हो । यो नवीकरण गर्न मिल्ने प्राकृतिक स्रोत हो । परिपक्व भएको रुख काट्ने विरुवा लगाउने वा विरुवा हुर्कने वातावरण तयार गर्नु पर्दछ । नेपालको वनबाट निकाल्न सकिने मात्राको केही अंश पनि काठ निकाल्न सकिएको छैन । हिजो कुनै ठाउँमा काठ लडेर सडेर गएको ठाउँ देखियो भने वन कार्यालय रहेछ भनेर अनुमान गर्न सकिन्थ्यो । अहिले यो रोग सामुदायिक वनतिर पनि सर्न लागेको भान हुन्छ । वनमा काठ सडेर गएको छ तर घर बनाउन फलामे रड र आल्मुनियमको झ्याल राख्नु पर्ने बाध्यता भइसकेको छ । वनको दिगो व्यवस्थापन गरेको खण्डमा नेपालको आन्तरिक मागको तुलनामा दोब्बरभन्दा बढी काठ निकाल्न सकिन्छ भनी आंकलन गरिएको छ । तर गत वर्ष मात्र नेपालमा गोलिया काठ नै आयात गरेको सरकारी आंकडावाट देखिन्छ । गत आ.व.मा काठ तथा काठजन्य सामग्रीहरु झन्डै ६ अर्ब रुपैयाँको आयात गरिएको तथ्य भेटिन्छ ।
वन क्षेत्रलाई सौन्दर्यको साधन बनाउन खोजिँदै छ । तर वन भनेको समृद्धिको साधन हुनु पर्ने हो । सामुदायिक वनको अवधारणा विकास गर्दाका समयको दुःख सम्झेर अहिले पनि रुख काट्न माया गरिराखेका छौँ । नेपालको झन्डै आधा भूमिका वन छ त्यो सबै क्षेत्र देखाउने मात्र उपयोग नगर्ने हो भने मुलुक र मुलकबासीको समृद्धि हावादारी गफ मात्र हुनेछ । नेपाल सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा सारेको छ । सबै क्षेत्रवाट त्यो सोच कार्यान्वयनका लागि सामूहिक पहल हुनु पर्ने हो तर वन क्षेत्रलाई उत्पादनमूलक काममा प्रयोग भएकै छैन । अनि कसरी संभव छ नेपाल सरकारको महत्वकांक्षी सोच ।
वन क्षेत्रको अवको गन्तव्य वनको दिगो व्यवस्थापनमा आधारित हुनु पर्दछ । सामुदायिक वन त झन् उपभोक्ताको समृद्धिलाई केन्द्र विन्दु बनाएर वनको दिगो व्यवस्थापनमुखी योजना कार्यान्वयन हुनु पर्दछ । सामुदायिक वनको अवधारणा विकास हुँदाको समयमा हरेक घरपरिवार कम्तीमा पनि दिनको एकपटक जानु पर्दथ्यो । प्रत्यक्ष वनको सम्पर्कबिना जीविकोपार्जन संभव थिएन । अहिले उपभोक्ताको आवश्यकता फेरिएको छ । यहि अवस्थालाई सम्बोधन हुने गरी योजना वनाउनु पर्दछ । अहिले वनबाट दाउरा चोरी होला भन्ने त्यत्ति धेरै चिन्ता छैन । सहर वरिपरिका सामुदायिक वनहरुले पर्यापर्यटनमा ध्यान दिनु सान्दर्भिक हुन्छ । रुख राम्रो भएका सामुदायिक वनले रुख काट्ने विरुवा हुर्काउने अवधारणा सुरु गर्नु पर्दै छ । हामीसँग भएको वन नै यस्को व्यवस्थापनवाट मुलुक र मुलुकबासी धनी हुने हो । खाडीमुलुकको तेल र चाइनाको सामान बेचेर हामी समृद्ध हुन खोज्नु गोरु पालेर गाईको दूध खान खोज्नु जस्तै हो । वनवाट समृद्धि ल्याउनका लागि युवा पुस्ताको प्रवेश हुनु जरुरी छ । सामुदायिक वनको नेतृत्वमा ४० वर्ष नाघेकाहरुको मात्र बाहुल्यता छ । वन क्षेत्रसम्बन्धी कानुन बनाउने, कार्यान्वयन गर्ने सबै ४० नाघेका उनीहरुले सामुदायिक वनबाट आफनो व्यक्तिगत भविष्य अत्यन्त कमले मात्र देख्छन् । सामुदायिक वन सहायक काम मात्र भएको छ त्यही भएर पनि सामुदायिक वनको नयाँ गन्तव्य तयार भएको छैन । ४० नाघेकाको अनुभव र युवा पुस्ताको अठोेट र सोच समायोजन गर्नु पर्दछ । सामुदायिक वन क्षेत्रमा युवाहरुको प्रवेश भएमा नवीनम् सिर्जना गर्न सक्दछन् । आफ्नो भविष्य खोज्न थाल्छन्, व्यावसायिक वन व्यवस्थापन सुरु गर्न सक्छन् । अनि वन क्षेत्र समृद्धिको साधान हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.