लकडाउन पछिको हाम्रो दिनचर्या

प्रदेश लेख

“धनी व्यक्ति बँगुर हुन गरिव व्यक्ति फ्याउरा हुन् ।” यो कुरा दुई दशक भन्दा केही वर्ष अघि तिर हामीहरुले तालिममा खुव प्रयोग गर्दथ्यौं । यो वीचार कुनै सामुदायिक सशक्तिकरणको क्षेत्रमा कार्यरत विद्धानको भनाई हो भनी छलफललाई रोचक वनाउने प्रयास गर्दथ्यौं ।
वँगुर ढुक्क वस्छ उसँग ठुलो क्षमता छ उसलाई मालिकले खान दिन्छ भन्ने कुरामा निश्चीन्त रहन्छ । उस्को काम मोटाउने मात्र हो । जुन मोटाइ मालिकको लागि फाइदाजनक हुन्छ । अरु चिन्ता लिनु पर्ने आवश्यक छैन । केही गरी उस्लाई खाना दिएन भने आफै खोज्न सक्ने क्षमता भने छैन । एकै पटक उस्को जीवन डामाडोल पनि हुन सक्छ । त्यता तिर उस्ले खासै ध्यान दिदैन वा दिन चाहँदैन । उस्को एक मात्र विशेषतामा दक्षता प्राप्त गरिसकेको हुन्छ । तर फ्याउरो एकै ठाउँमा वस्दैन । उस्ले एकै ठाउँमा भने जति खान पनि पाउँदैन । उस्को खाने वाटो एउटा मात्र हुँदैन । वल्लो गाउँ पल्लो गाउँ पखेरा घुमि हिड्छ । जे पाउँछ अली अली खाइखाल्छ । उ दुव्लो छ । जहिले पनि संकटमा तर उ खान नपाएर चाँही मर्दैन ।

वंगुरको जस्तो एक मात्र उपाय हैन फ्याउरासँग धेरै विकल्प हुन्छन् । धनी व्यक्ति वा मुलुकसँग एउटा ठुलो वुद्धि वा क्षमता हुन्छ त्यसको प्रयोगवाट उ समृद्धि हासिल गरिरहन्छ । धनी व्यक्तिसँग ठुलो क्षमता हुन्छ त्यसैका आधारमा जीवन सजिलै विताएका हुन्छन् । काठमाडौंका घरधनीले घरभाडा लगाएर जीवन चलाए जस्तो । जापानसँग उपकरण सम्वन्धी ठुलो वुद्धि छ त्यसैको प्रयोग गर्दछ धनी छ । त्यसै गरी अमेरिका पनि एक ठुलो क्षमता छ त्यसैको सदुपयोगवाट शक्तिशाली भैं वंगुर जस्तो मोटाएको छ । हाम्रो जस्तो गरिव देश र गरीव मान्छे फ्याउरा हुन् ।

हामीसँग साना साना तर धेरै विकल्प छन् । एउटा मात्र ठुलो वुद्धिमा क्षमता छैन । कुनै विषयमा विशेषज्ञता पनि हुँदैन । त्यसैले धनीमूलकको अर्थतन्त्र चौपट भए डावाडोल होला तर हामीजस्तो गरिव देशको अर्थतन्त्रमा चौपट भएर मर्नै पर्ने अवस्था नआउला । फ्याउरा जसरी नैं ग्रामिण जनजीवनका हरेक परिवारमा विभिन्न विकल्पहरु प्रयोग भैरहेको हुन्छ । २,४ वटा कुखुरा वाख्रा पालेका हुन्छौं । धेरथोर खेतीपाती सवैको हुन्छ । २,४ वटा फलफूलको बोट नभएको घर नैं हुँदैन । सके घरमैं सानो तिनो पसल पनि चलाएकै हुनसक्छ । परिवारका एक जना जागिर पनि हुन सक्छन् । खेती पातीमा पनि विविधता छ । यसले वाँच्नलाई कठिन छैन तर विशेषज्ञता छैन । ठुलो क्षमता पनि देखिदैन ।

अमेरिका र जापानमा एक घण्टा विजुली गएमा सवै कुरा चौपट हुन्छ तर हाम्रोमा ३ महिना वत्ति गयो भने पनि मरिँंदैन । अष्ट्रेलियामा ट्वाइलेट पेपरको हाहाकार भयो तर नेपालको ग्रामिण क्षेत्रमा ३ महिना वाहिरवाट सामान गएन भने पनि भोकै मर्नु पर्ने अवस्था आउँदैन । ग्रामिण परिवेशमा आयात गर्नै पर्ने खाद्य सामाग्री भनेको नून मात्र हो । त्यसैले औद्योगिक केन्द्रीत अर्थतन्त्र भएका र हाम्रो जस्तो अर्थतन्त्र भएका विचमा कोरोनोले पार्ने प्रभाव पनि फरक नैं हुन्छ । मासु र गुन्द्रुक कुह्य जस्तो हुन सक्छ । मासु विग्रे कामै नलाग्ने हुन सक्छ तर गुन्द्रुक सुकाएर फेरी काम लाग्न सक्छ ।
फ्याउरालाई दुःख भए पनि वाँच्न कठिन हुँदैन भने जस्तै लकडाउनको अवधी र त्यस पछि पनि हामी नेपाली अझ ग्रामिण क्षेत्रमा वसोवास गर्नेलाई प्रलयकारी दुःख थपिदैन । तर हाम्रा केही गतिविधिहरुमा भने परिवर्तन हुन सक्नेछन् ।
लामो एकान्तवास पछि हामी कुनै न कुनै दिन वाहिर निस्कन्छौं । कोभिड १९ को विपद् नटर्ला तर हामी एकान्तवासवाट मुक्त पाउँछौ नैं । केही सामान्य अवस्था आए पछि सरकारले लकडाउनलाई केही खुकुलो पार्ला अनी हामी हाम्रा घरवाहिरका काम तिर लाग्नु पर्दछ । मैले घर वाहिर निस्कने पाइने भनेको समयमा कोरोनाको लहर भने सकिएको हुँदैन । वैज्ञानिकहरुको भनाइलाई आधार मान्दा पनि भ्याक्सीन नबनी रोक पूर्ण नियन्त्रण हुँदैन । त्यस्तो वन्न जती हतार गरे पनि एक वर्ष लाग्छ रे । यसको अर्थ कोरोना भाईरसको महामारीको रुप नआउने अवस्था देखिनासाथ सरकारले सचेत गरी काम कारवाही गर्न आव्हान गर्दछ । त्यो वेलामा हामी खुल्ला आकासको सडकका कार्यक्षेत्रमा जाँदा कस्तो अवस्था होला भनी कौतुहलता लागिरहेको छ ।
हाम्रो लवाइखुवाईमा परिवर्तन आउने छ । नजिकवाट मान्छेको दाँत देख्न मुस्कील नैं पर्ला । सवैको मुखमा मास्क हुनेछ । होटल तथा रेष्टुरेन्टमा गएर खाने मौका पाउन मुस्किल पर्ने छ । सायद धेरै होटल तथा रेष्टुरेन्ट वन्द भैरहने होलान् । सार्वजनिक गाडीको भिडभाड कमी आउने छ । हरेक घरमा सावुन हुने छ । शौचालय पनि सफा हुने छ ।
विदेश जानेको संख्या त अत्यधिक कमी आउने नैं छ । श्रम वजारमा विदेश गएकाहरु नेपाल फर्कने छन् । उनीहरुसँग केही पैसाका साथमा सिपयूक्त अनुभव वटुलेर आएका हुनेछन् । त्यस्तो उल्लेख गर्न लायक सिप नभएकासँग पनि हण्डर खाएको अनुभव मनमा गुम्स्याएर ल्याएका हुनेछन् । त्यो तागतको रुपमा आफ्नो भूमिमा प्रयोग गर्न लालयित हुनेछन् । यस्ता नेपाली नागरिक यूवा वर्गका नैं छन् । त्यसैले यी मध्ये आधा भन्दा वढिको ध्यान आफ्नो पुख्र्यौली व्यवसाय कृषिमा लाग्नेछन् । व्यवसायिक र यन्त्रमा आधारित कृषि व्यवसायको नयाँ फड्को मार्ने छ । यो कार्यका लागि स्थानीय सरकारले प्रयाप्त सहयोग र सहजिकरण गर्ने छ । संघीय र प्रदेश सरकारले समेत यसमा ध्यान हुनेछ । घरघर खेती खेतीमा सहयोग गर्ने विषयगत जानकार कृषि प्राविधिक उपलव्ध हुनेछन् । हेर्ने मात्र हैन परेको अप्ठेरोमा सहयोग गर्ने प्राविधिक उपलव्ध हुनेछन् । विधुत्मा हामी आत्मनिर्भर हुने बाटोमा छौं । अव कृषि उपजमा आत्मनिर्भर हुने मौका मिलेको छ । संघीय कृषि मन्त्रालयले उद्घोष गरेको मार्ग चित्रलाई कार्यान्वयन गर्ने मौका मिल्नेछ । हाम्रो पुँजी र सिपले ठुला ठुला उद्योग सञ्चालन गर्न सक्दैनौं । हामीले गर्ने कृषिमा आधारित उद्यम पहिलो प्राथमिकतामा राख्नै पर्दछ ।

सडक खन्ने मात्र ध्यान जाने हाम्रो विकासवादी सोचमा केही परिवर्तन हुनेछ । अस्पतालमा लगानी हुनेछ । शिक्षामा समेत ध्यान जानेछ । कर्मचारीतन्त्रमा पनि जसरी पनि पैसा कमाउनु पर्दछ भन्ने मानसिकतामा भन्दा माथि उठ्नेछ । राजनीतिककर्मीलाई पनि राम्रै पाठ हुन सक्छ । विकास निर्माणका योजना वनाउँदा वातावरण मैत्री र संभावित विपद् पहिचान गरी सो को विविध पक्षमा ध्यान जानेछ । हाम्रा अग्रज तथा पुर्खाले व्यवहारिक रुपमा लागु गरेका सावुन नहुँदा माटोले हात धुने, वाहिरवाट आए पछि आगो छोएर मात्र केटाकेटी समाउने, लुगा फेरेर खाना खाने सकेसम्म स्वयंपाक्य भोजन गर्ने, मान्छे मरेको १३ दिनसम्म कोरामा वस्ने जस्ता कुराहरुको वैज्ञानिक महत्व पछिल्लो पुस्ताले समेत थाहा पाउने छन् । पछिल्लो बालपुस्ताले “उहिलेका कुरा खुइले” नभनी केही हदसम्म अनुशरण गर्नु पर्ने रहेछ भन्न थाल्नेछन् ।

जे भए पनि लकडाउन पछि हामी हरेकले हिजोको भन्दा केही न केही फरक गतिविधि गर्नै पर्ने हुन्छ । बानी व्यहोरामा परिवर्तन ल्याउनैं पर्दछ । परिवर्तन हुन्छ नैं । हामी हरेकले आफ्नो भूमिका र प्रतिवद्धता खोजी गर्नै पर्दछ । हामी वँगुर हैनौं फ्याउरा हौं । सुखले नभए पनि दुःख नैं सहि वाँच्न त वाँची हाल्छौं ।

Leave a Reply

Your email address will not be published.