अँध्यारोमा हराएको समृद्धिको साँचो

प्रदेश ३ प्रमुख लेख शिक्षा/स्वास्थ समाचार

 

एक गुरुले विद्यार्थीहरुलाई पढाइरहेका थिए, अध्यापनको मगनमा उनलाई साँझ परेको यादै भएन । अध्याँरोले अक्षर देख्न नसकेपछि दाँया बायाँ पलाकपुलुक हेरी झल्याँस्स भएर विद्यार्थीलाई बिदा गरी हतार–हतार कोठातिर लागे । कोठामा पुगी ताल्चा खोल्न साँचो खोज्छन् त उनको खल्तीमा साँचो नै फेला परेन । हराएछ । साँचो खोज्न स्कुलतिर फर्किएछन् । रात परिसकेको थियो । एउटा चोकमा बत्ति बलेको उज्यालो देखेछन् । त्यो उज्यालोमा उनी साँचो खोज्न थाले । साँचो निरन्तर खोजिरहेका थिए । उनका एक विद्यार्थी टुप्लुक्क त्यहाँ आइपुगे अनि सोधे– यस्तो राति के खोज्नु भएको गुरु ? गुरुले आफ्नो साँचो हराएको कुरा गरे । गुरुजीलाई सहयोग गर्नु प¥यो भनी ती विद्यार्थी पनि साँचो खोज्न थाले । केही समयपछि अरु विद्यार्थीहरु पनि आउन थाले । गुरुजीको साँचो हराएको थाहा पाएपछि सबैजनाले खोज्न थाले । गुरु र विद्यार्थीहरुसमेत गरी १०–१२ जना जम्मा भई साँचो खोज्न थाले । एक घन्टासम्म खोज्दा पनि फेला नपरेकाले एक विद्यार्थी दिक्दार भई ‘गुरु साँचो भेटिएन त ?’ कहाँ प¥यो होला भन्दै ‘गुरु सम्झनुस् न यहाँ कहाँ नेर साँचो खसेको थियो होला ? के गरी साँचो खसाल्नु भो ?’ भनी सोधे । गुरुले भनेछन्, ‘बाबु, साँचो त स्कुलमा हराएको हो ।’ विद्यार्थीले छक्क पर्दै आक्रोशित मुद्रामा सोधे, ‘किन यहाँ खोजेको त ?’ गुरुले भने, ‘यहाँ उज्यालो छ अनी खोजेको, अन्त कहाँ खोज्न जानु, सबैतिर अध्याँरो छ । अध्याँरोमा खोज्न कठिन हुन्छ नि ।’
अहिलेसम्म हामीले यस्तै काम गरिरहेका त छैनौँ ? घोत्लने बेला आएको छ । हामीमा जे सजिलो छ त्यही गर्ने, जहाँ उज्यालो (सजिलै कमाउन वा भेटाउन सकिन्छ) त्यतै लाग्ने बानी परिसकेको छ । सबै सहरमा बस्न खोज्ने । सके अमेरिका, बेलायत, अस्ट्रेलिया वा जापान जाने नसके खाडी मुलुक भए पनि जाने तर गाउँमा कोही नबस्ने । स्थायी समृद्धिका निम्ति गाउँ छाडी परदेशिनु भनेको अँध्यारोमा हराएको साँचो जहाँ उज्यालो छ, त्यहीँ खोज्नुजस्तै हो, जुन् समयको क्षय मात्र हो । खोल्नु पर्ने ताल्चा समृद्धिको ढोका हो भने साँचो कृषि उद्यम नै हो, जुन सहरको उज्यालोमा नभई गाउँको अँध्यारोमा नै छ । गाउँको काम मुस्किल छ । त्यहाँ काम गर्न अध्यारोमा साँचो खोजेजस्तै हो । तर सुनिश्चित छ साँचो अध्यारोमा नै छ । यही अँध्यारोमा हराएको कृषिरूपी साँचो बोकी अगाडि बढ्नुको विकल्प कम्तीमा हाम्रो सन्दर्भमा देखिन्न । हामी आफैँँमा अन्तरनिर्भर भई समृद्धिको बाटोमा हिँड्नै पर्दछ । यसका लागि गाउँको अँध्यारोबाट उज्यालो खोज्दै भाग्ने होइन, चाहिएको चिज अँध्यारोमै भएकाले उक्त चिज प्राप्तिका लागि अँध्यारोमा नै संघर्ष गर्नु पर्छ । अँध्यारोमा खोज्नु भनेको उज्यालोमा खोजेजस्तो सजिलो पक्कै हुँदैन । त्यसैले अँध्यारोमा लालटिन लिएर खोज्नु पर्छ अर्थात् गाउँमा सिंचाइ, विद्युत्, प्रविधि, बाटो आदि विकासका साधन पु¥याउनु पर्छ अनि खोज्नु पर्छ कृषि उद्यमरुपी साँचो जसको प्रयोग गरी समृद्धिको ढोका खोल्नै पर्छ । धनी देशका तुलनामा हामीले यस्तो साँचो खोज्दा सजिलै भेट्न सक्छौँ । हाम्रा विकल्प धेरै छन् । त्यसैले हामीलाई धेरै मुस्किल पर्दैन । हामीले सामूहिक रुपमा पहल ग¥यौँ भने हामी आत्मनिर्भर हुन सक्ने सम्भावना देखिन्छ । खर्चमा मितव्ययी र व्यवस्थित बनौँ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने अबको १० वर्ष नयाँ कपडा नकिन्दा म नांगो बस्नु पर्दैन । यो अवस्था कम्तीमा पनि आधाभन्दा बढि नेपालीको छ होला । अबको १० वर्षसम्म राज्य कोषबाट सवारीसाधन नकिनौँ । मर्मतवाट चलाउन सक्ने अवस्था देखिन्छ । बाहिरबाट आयात गर्नु पर्ने खाद्य सामग्रीमा नुनबाहेक सबै हाम्रो भूमिमा नै उत्पादन हुन सक्छ । सबैले आफ्नो पाखा पखेरा खोर्सिन लागौँ । आफ्नो जग्गा नहुनेलाई स्थानीय सरकारले जग्गाधनीसँग समन्वय गरेर करारमा जग्गाको प्रबन्ध मिलाइदिँदा राम्रो हुन्छ । वन क्षेत्रको उपयोग प्रभावकारी हुन सकेको छैन । यसलाई पनि उत्पादनमुखी वनाऔँ । वनको हैसियत नबिग्रने गरी बहुवर्षीय बाली लगाउने कानुन छँदै छ । कुनै कानुन खराब वा जनमुखी रहेनछ भने त्यो सच्याउन बेर लगाउनु हुन्न । जसरी हुन्छ दिगो विकासलाई आत्मसात् गर्दै समृद्धिको बाटोमा लागौँ ।
सबैले ओठेभक्तिका रुपमा किसान महान् भने पनि विद्यमान हाम्रो समाजमा कृषिलाई पढे लेखेकाले नभई गरिबले गर्ने उद्यमको रुपमा हेरिन्छ । अझ भन्नु पर्दा कृषिलाई उद्यम नै मानेको पाइन्न । अरु केही गर्न नसक्नेले रोज्ने क्षेत्रजस्तो भइसकेको छ । सामाजिक दृष्टिकोणमा पनि पढे लेखेकाले यस क्षेत्रमा काम गर्नु भनेको बाटो बिराउनु वा भविष्यलाई अँध्यारोतिर धकेल्नुजस्तो मानिन्छ । विश्वव्यापी फैलिएको कोरोना कहरपछि उत्पादनमा आउन सक्ने सम्भावित गिरावट एवं आर्थिक मन्दीपछि कृषि क्षेत्रप्रति अलि फरक दृष्टिकोण एवं अभ्यास होला की भन्ने केही आसा भने जागेको छ ।
अरुलाई उपदेश दिनेले पनि आफैँँले गरौँ । महात्मा गान्धीले अरुलाई चिनी नखाऊ भन्नुभन्दा पहिला आफैँँले चिनी छाडेको सन्दर्भलाई सबैले सम्झौँ र व्यवहारमा लागू गरौँ । गफ गरेर धेरै वर्ष खायौँ । जीवन चलायौँ । अब आफैँले काम थालौँ र उदाहरणीय बनौं । यसको सुरुवात धेरैले गरिसकेका छन् । म लगायतको टिमले पनि सुरुवात गरेका छौँ । व्यवसायिक खेती गरी समृद्धितिर लम्कन करिब २०० रोपनी जग्गामा कृषि कर्मको थालनी भएको छ । २ हेक्टरमा किबी खेती, ३ रोपनीको पोखरीमा माछापालन, अकबरे खुर्सानी, एभोकाडो तथा पिकानट रोपनको काम थालनी भएको छ । यो अति सानो प्रयास मात्र हो । खाँचो छ यसलाई अभियानको रुपमा विकास गर्न, संस्थागत गर्न । यसमा तिनै तहका सरकारले व्यवहारमा नै प्राथमिकता दिनु प¥यो । ओठेभक्तिीको खाँचो छैन । हामी सबै उज्यालोमा अहिलेसम्म धेरै भौतारियौँ, अब चाहिँ जहाँ साँचो खसेको हो त्यही खोजौँ । अनी पो भेटिन्छ त । बरु साँचो खसेको ठाउँमा नै उज्यालो पारौँ । तब साँचो खोज्न सजिलो हुन्छ । खोज्नै पर्छ, भेट्नै पर्छ, अनि खोल्नै पर्छ समृद्धिको ढोका । हाम्रो सन्दर्भमा समृद्धिको ढोका खोल्ने साँचो कृषि नै हो । समृद्धि हाम्रै पालामा सम्भव छ ।