सत्यहरु

लेख

भनिन्छ, सत्य तीन किसिमका हुन्छन् । एक व्यक्तिगत सत्य, दुई साझदारीको सत्य र तीन धु्रव सत्य । व्यक्तिगत सत्य भनेको हरेक मान्छेसँग भएको दृष्टिकोण हो । कुनै पनि कुरालाई हरेक व्यक्तिले फरक फरक दृष्टिकोणवाट हेर्न सक्छ । कुनै एक काम वा मान्छेलाई अरु केहीले राम्रो वा केहीले नराम्रो पनि देख्न सक्छन् । त्यो सम्बन्धित व्यक्तिको आफ्नो व्यक्तिगत सत्य कुरा हो । जसले जे देख्यो त्यो बेठिक नहुन सक्छ । उसका लागि ठिक हुन सक्छ । सबैले एउटै हेराइ हुनु पर्छ भन्ने छैन । फरक फरक हुन सक्छ । ५ फुट उचाइँ भएको मान्छे कसैलाई होचो लाग्न सक्छ भने कसैलाई अग्लो वा कसैलाई ठिक्कको । सबै जना आ–आफ्नो ठाउँमा ठिकै हुन् ।
दोस्रो, समझदारीको सत्य भनेको चाहिँ ‘मानेको’ हो । अर्थात् यसलाई मानिएको वा समझदारी गरिएको सत्य पनि भन्न सकिन्छ । यसमा पनि विभिन्न स्वरुप हुन्छन्् जस्तै पहिलादेखि नै चलाएको कुरा जस्तै टाउकोमा लगाउनेलाई टोपी भनिन्छ । यो कुरा पहिलादेखि नै मानिआएको हो । खुट्टामा लगाउनेलाई जुत्ता भन्ने चलन चलेको हो । पहिलादेखि नै जुत्तालाई टोपी भन्ने चलन चलेको भए हामी त्यस्तै भन्थ्यौँ होला । हाम्रा पुर्खाहरुले यस्ता विषयमा समझदारी बनाएका हुन् वा मानेका हुन् । यो विस्तारै बानी पर्दै गयो । हामीले सजिलै बोलिरहेका छौँ । अहिले सन्दर्भमा हरेक व्यक्ति वा संस्था वा संरचनाहरुसँग व्यक्तिगत सत्य हुन्छन्् त्यसलाई संवादमार्फत समझदारी सत्यमा रुपान्तरण गर्ने हो । हाम्रा सबै प्रयासहरु सबै समझदारीका सत्य बनाउनु पर्छ । यस्ता विषयहरु अकाट्य हुन्छन्् भन्ने हुँदैन । तर यी समझदारी तयार गर्दा सबै वा प्रत्यक्ष सरोकार राख्नेहरुको व्यक्तिगत सत्यलाई मोही पारे जसरी मथेर समझदारीको सत्य वनाउनु पर्छ । समझदारी सत्य बनाउँदा सबैको विचार समावेश भएको महशुस गर्न पाउनु पर्छ । अनि मात्र त्यो सत्य टिकाउ हुन्छ ।
धु्रव सत्य चाहिँ एक मात्र हुन्छ, त्यो चाहिँ ‘मृत्यु’ हो । अरु सबै व्यक्तिगत र समझदारीका सत्य हुन् । हुन त घाम पूर्ववाट उदाउँछन् भन्ने कुरा सत्य होला नी भन्ने कुरा पनि आउला । तर हाम्रा पूर्वजले घाम उदाउने दिशालाई पूर्व नभनेर अरु नै भन्न पनि सक्थ्ये नी । घाम झुल्कने दिशालाई पूर्व मानेको त हो नी । त्यही भएर मृत्युबाहेक अरु सबै समझदारी वा मानेका सत्य हुन् । जीव पैदा भए पछि नष्ट हुन्छ । यसलाई मृत्यू भनौँँ वा नष्ट भनौँ या अन्य केही भनौँ । जे शब्दावली प्रयोग गरे पनि जीव सकिन्छ वा नष्ट हुन्छ त्यो अकाट्य वा ध्रुव वा शाश्वत सत्य हो ।
त्यसैले धु्रव सत्यका बारेमा चिन्ता नगरी समझदारीको सत्यमाथि घोत्लनु आजको आवश्यकता हो । समझदारीको सत्य भन्ने कुरा सापेक्ष हुने गर्दछ । त्यो ठाउँ परिवेश अनुसार फरक फरक हुन सक्छ । हिजोको सन्दर्भमा समझदारीको सत्य अहिले वा भोलि फरक हुन सक्छ । राजनीतिक व्यवस्था परिवर्तन, संविधान संशोधन, कानुन तर्जुमा यी सबै समझदारीका सत्य हुन्् । राजनीतिक रुपमा धेरै व्यक्तिगत सत्यमा नै केन्द्रित हुने गरेको छ । दल अनुसार नै फरक फरक कुरा आइरहेका छन् । दलभित्र पनि फरक फरक कुरा आउँछ । ती सबै व्यक्तिगत सत्य हुन् । ती व्यक्तिगत सत्यलाई समझदारीको सत्य बनाउन पहल हुनु पर्ने हो । अहिलेको सन्दर्भमा २ वटा राजनीतिक परिदृष्यलाई हेरौँ । भरखरै अर्थात २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रम र नेपालको नक्सा प्रकाशनको सन्दर्भलाई हेरौँ । नीति तथा कार्यक्रम सरकारले तयार ग¥यो । त्यस दस्तावेजमा सत्ताधारी दलका नेताहरुको आ–आफ्ना व्यक्तिगत सत्य थिए । सायद यस्ता व्यक्तिगत सत्य मन्त्रिपरिषद्का सदस्यहरुभित्र पनि पक्कै थियो । त्यसलाई केही हदसम्म सम्बोधन गर्ने प्रयास भयो होला । नेकपाभित्रका नेताहरुको व्यक्तिगत सत्यलाई सम्बोधन गर्न लागि अर्थात कम्तीमा नेकपाको सचिवालयका नेताहरु बीच समझदारी तयार गर्न २ जेठ बिहान एक छलफल आयोजना भयो । त्यस छलफलमा सचिवालयका नेताहरुले आ–आफ्ना व्यक्तिगत सत्य वा उनीहरुको विचार राखे होलान् । ती विचार कति सम्बोधन भयो भएन थाहा भएन तर राष्ट्रपतिले वाचन गर्ने ६३ पृष्ठको दस्तावेजलाई समझदारी बनाउने प्रयत्न भयो । सायद यही प्रक्रिया फिर्ता लिनु परेको अध्यादेशमा पनि गरेको भए कम्तीमा नेकपाको सचिवालयले समझदारीको सत्य मान्थ्यो होला । अहिलेको नीति तथा कार्यक्रम रुपी दस्तावेज नेकपा, सरकारको समझदारीको सत्य हो । आगामी आवभित्र गर्न पर्ने र सकिने कार्यक्रमहरु त्यति नै हो । तर यो दस्तावेजप्रति प्रतिपक्ष दलले विरोध जनाइरहेको छ । उस्ले काजगको खोस्टोजस्तै भनिरहेको छ । अहिलेको परिस्थितिलाई सम्बोधन गर्न नसक्ने भनिरहेका छन् । त्यसैले प्रतिपक्षको समझदारीको सत्य नीति तथा कार्यक्रम ठिक छैन भन्ने रह्यो । अर्को उदाहरण हेरौँ, नेपालको नक्सा सार्वजनिक गरेको सन्दर्भ । सर्वपक्षीय बैठक भएको थियो । नेपाल सरकारले आयोजना गरेको सो बैठकमा सबैवाट नेपालको अतिक्रमित भूमिसमेत समेटर नेपालको नयाँ नक्सा जारी गर्नु प¥यो भनी सुझाव प्राप्त भएको थियो । नेपाल सरकारले नक्सा तयार ग¥यो । सार्वजनिक ग¥यो । त्यसमा प्रतिपक्ष दलसमेतले समझदारीको सत्य माने । त्यसमा कसैको पनि विमती देखिँदैन । यो दुवै काम नेपाल सरकारले नै गरेको हो नी । तर किन फरक फरक स्थिति आयो त ? त्यसैले व्यक्तिगत वा प्रत्यक्ष संलग्न हुने पक्षहरुको दृष्टिकोण वा सत्यलाई संवाद वा छलफल वा अन्य माध्यममार्फत समझदारीको सत्य बनाउँदाको परिणाम हो । समझदारीको सत्य बनाउँदा कसैको पनि मन दुख्दैन । चित्त नबुझ्ने हुँदैन । चित्त नबुझेकै भए पनि चित्त बुझाउन बाध्य हुन्छ । समझदारीको सत्यको पक्षमा दृढ भएर लाग्छ । अहिले नेपाली कांग्रेसलाई सल्लाह नगरी नेपालको नक्सा जारी गरेको भए नेकाले केही न केही फरक दृष्टिकोण राख्थ्यो होला । चाहे त्यो राम्रो काम भए पनि प्रक्रिया मिलेन भनेर बखेडा झिक्थ्यो होला । यसैले भन्न सकिन्छ राम्रो काम गरेर मात्र पुग्दैन राम्रोसँग गर्नुपर्छ । समझदारीको सत्य बनाउँदा पनि कहिलेकाहिँ गल्ती हुन सक्छ होला तर त्यसलाई समझदारीबाटै सच्याउने कसरत पनि हुन्छ । गल्ती भए पनि मन बाझेको हुँदैन । त्यो नै सापेक्ष रुपमा समझदारीको सत्य हो ।
धु्रव सत्यको धेरै चिन्ता नगरौँ । सबैको व्यक्तिगत सत्य हुन्छ त्यो फरक फरक हुन सक्छ भन्ने स्वीकार गरौँ । ती व्यक्तिगत वा सम्बन्धित प्रत्यक्ष संलग्न पक्षहरुको सत्यलाई कुन न कुनै माध्यमवाट प्रस्तुत गर्न लगाई समझदारीको सत्य बनाऔँ । अनि प्राप्त हुन सक्छ हामीले खोजेको गन्तव्य ।