अर्थतन्त्र जोगाउने उपाय

लेख विविध शिक्षा/स्वास्थ

चमेरोबाट अरु कुनै जनावर हुँदै मानिसमा चीनको वुहान सहरवाट सन् २०१९ को अन्त्यतिर कोरोना भाइरस (कोभिड–१९) पहिचानमा आएको हो । यो विश्वव्यापी रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले नै महामारीको रूपमा घोषण गरेसँगै धेरै राष्ट्रहरूले रोग नियन्त्रणार्थ आफ्नो देशमा लकडाउन घोषणा गरिरहेको परिस्थितिमा नेपाल सरकारले पनि सोही बाटो अपनाएको छ । जसले गर्दा उसै त कमजोर तथा परनिर्भर नेपालको अर्थतन्त्र झनै खुम्चिन पुगेको छ । सरकारको आम्दानीको प्रमुख स्रोत राजस्व ठप्प नै छ भन्दा फरक पर्दैन । आर्थिक वृद्धि न्यून छ । वस्तु तथा सेवाको उत्पादन तथा बिक्री वितरण अत्यन्तै क्षिण बनेको छ । यसै कारण अर्थतन्त्रमा ठूलो टेवा दिने रेमिट्यान्स अपवादबाहेक अहिले बन्द नै छ । अधिकांश वैदेशिक रोजगारीमा गएकाहरू पनि रोजगार गुमाई स्वदेश फर्कने तर्खरमा छन् । जसले गर्दा बेरोजगारी समस्या झनै बढ्ने देखिन्छ । सरकारी खर्च धान्नै मुस्किल पर्ने अवस्था सिर्जना हुँदै छ । सामान्य मध्यम वर्गीय नागरिकहरूमा समेत कसरी जीवन धान्ने, के खाने भन्ने चिन्ता बढ्दो छ । निम्न वर्गीय नागरिकको अवस्था त दयनीय नै रहेको छ । विज्ञहरू विश्वव्यापी उत्पादनमा आउन सक्ने गिरावटका कारण अनिकाल नै लाग्न सक्ने भन्दै छन् । हाम्रो तहसनहस भएको अर्थतन्त्रका लागि आम किसानले भूमिका खेल्न सक्छन् । किसान ती हुन्, जसले आफ्नो पसिनामार्फत जमिनको माटोलाई खानायोग्य वस्तुमा रूपान्तरण गर्दछन् । यस्तो चमत्कारिक कार्य गर्न दक्ष किसानलाई उसको वास्तविक परिचयबाट विमुख गरी अपरिचित बनाइएको छ । अहिलेसम्म आवरणमा मात्र किसानको गुणगान गरिएको पाइन्छ । व्यवहारमा प्राथमिकता दिएको पाइन्न । मुखले भनिन्छ, उत्तम खेती, मध्यम व्यापार, चुत्थो नोकरी तर व्यवहारमा अरु कुनै काम नपाएकाले गर्ने ‘कर्म’ कृषि हो भन्ने प्रतिविम्बित हुन्छ । वास्तवमा किसानको धर्म नै कृषि हो । अर्थतन्त्रका लागि कृषि अमृत समान छ । अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण तत्व उत्पादन नै मुलतः कृषिबाट प्राप्त हुन्छ । अर्थतन्त्रको विकासका लागि कृषिले रोजगारीको ठूलो अवसर प्रदान गर्न सक्छ, ठूला उद्योग सञ्चालनको आधार प्रदान गर्दछ, निर्यात प्रवद्र्धन गर्दछ र समग्र आर्थिक वृद्धिको अवस्था सिर्जना गर्दछ । साथै सवैलाई नभई नहुने अति आधारभूत आवश्यकता ‘खाना’ दिएको छ । जुन कुरा हामीले बिर्सिएका छौँ । सहरी क्षेत्रमा खाद्य सामग्री कहाँबाट आउँछ भन्दा ‘पसल’ भन्ने उत्तर आउन थालिसक्यो ।
किसानको पनि मन नै त हो, उसका पनि आफ्ना इच्छ्रा तथा चाहना हुन्छन्, आफू बाँचौँ भन्ने सोच उसमा पनि पक्कै हुन्छ । कथामा झैँ किसानको पनि छुट्टै आफ्नै गन्तव्य रहेको हुन्छ । उ आफैँ सुरक्षित हुनका लागि बेलैमा सुरक्षित स्थान पुग्नु छ । बाटोमा भेटेजतिलाई सहयोग गरिरहने हो भने उसको ज्यान पनि असुरक्षित हुन सक्छ । उ प्रति धेरै आश्रित हुन सक्छन् । त्यसैले उ धेरै बेर जंगलमा अलमल गर्नु हुँदैन । उसले आफ्नो अनुभवलाई प्रस्तुत गरी यसरी काम गर मात्र भन्न सक्छ । उसले भनेको कुरामा अनुशरण गर्ने त संकटमा परेकाले नै हो । यतिखेर संकटमा नेपाली अर्थतन्त्रका लागि कृषि उद्यमी किसानहरूले केही सुझाइरहेका छन् । बाँझो जग्गा खोतलौँ । खेती गरौँ । जुन ठाउँमा जे हुन्छ त्यही गरौँ । राज्यले सहजरूपमा बिउ बिजन, कृषि प्राविधिक, बजारको ग्यारेन्टी गरिदिओस् । सबै कृषिकर्मी र बालीको बिमा व्यवस्था गरौँ । अनी आफ्ना जग्गा हुनेहरूले आफैँले खेती गरौँ । खेतीमा आधुनिक उपकरण प्रयोग गरौँ । जस्को जग्गा भएर पनि कमाउने तागत छैन भने अरुलाई कमाउन दिउँ । जग्गाधनी र कृषिकर्मीबीचको समन्वयमा स्थानीय सरकारले पहल गरोस् ।
नेपालीले गर्न सकिने सबैभन्दा सहज कुरा नै कृषि हो, यस्मा दुईमत नहोला । थोरै र सुरक्षित लगानी हुन सक्छ । यसका लागि सरकारले उत्प्रेरणा दिन सक्नु पर्दछ । सबैलाई कृषिमा आकर्षित गर्नका लागि नयाँ सोचहरू विकास गर्न जरुरी छ । भर्खरै केही स्थानीय तहहरूले निजी जग्गामा खेतीपाती गरेमा अनुदान दिने निर्णय गरेका छन् । मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउनेलाई रु १ लाख अनुदान दिने घोषणा गरेको छ । त्यसैगरी स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै जग्गामा धान खेतीमा गरेमा प्रति २ रोपनीका लागि रु. ४ हजार र भाडामा जग्गा लिई खेती गरेमा प्रति २ रोपनीको रु. ५ हजार अनुदान दिने सूचना जारी गरेको छ । यी असल अभ्यासहरू हुन सक्छन् । यसको प्रभावकारिता कस्तो देखिने हो ? त्यो त समयले देखाउँदै जाला । कुर्नुको विकल्प छैन । तर यो सोचले कृषि कर्मप्रति आकर्षण पक्कै बढाउँछ ।
फलफूलमा समेत नेपाल आत्मनिर्भर हुन आवश्यक छ । यसका लागि केही अभियानमुखी सोचहरू विकास गर्न जरुरी हुन्छ । उदाहरणका लागि कागती, सुन्तलाको बिरुवा रोपी १ वर्षको बनाउनेलाई प्रति बिरुवा रु ३ सय अनुदान दिने, एभोकाडो, पिकानट, किबीजस्ता धेरै वर्ष टिक्ने फलफूलको बिरुवा रोपी २ वा ३ वर्षको बनाएपछि प्रतिबिरुवा रु. ५ सय अनुदान दिने व्यवस्था गर्न सकिन्छ । बिरुवा रोप्नु ठूलो कुरा होइन तर त्यस्ले उत्पादन दिन लायक बनाउनु महत्वपूर्ण कुरा हो । यस्ता नवीनतम् सोचका धनी हाम्रा जनप्रतिनिधिहरू छन् । किसानका बारेमा बुझ्ने ३ तहका मध्ये स्थानीय सरकारभन्दा अरु कुनै हुनै सक्दैन । संघीय सरकार त टिभीमा देखिने रेडियो सुनिने हो । जिउँदाको जन्ती मर्दाको मलामी स्थानीय सरकार हो । प्रदेश सरकार त कता छ, यो कोरोना संकटमा पत्तो पाउन सकिएन । कृषिलाई उद्यमको रूपमा विकास गरी रोजगारी दिनेहरूलाई केही अनुदान वा सहुलियत दिने परिपाटी विकास गरौँ । हरेक वडामा कृषि सेवा तथा सूचना केन्द्रको स्थापना गरौँ । कृषि बाली प्रवद्र्धन गर्ने कार्य र परेका कठिनाइको बारेमा जीवन्त अनुसन्धान गर्ने कार्यमा ‘नार्क’ जस्तालाई जीवन्तता दिनु पर्दछ । यस्ता निकाय राजनीतिक नियुक्ति खाने प्रतिष्ठा देखाउने मात्र नहोस् ।
कृषिलाई उद्योगको रूपमा स्थापित गर्न छः  (Money, Management, Machine, Material and Market) मा जोड दिनु पर्दछ । कृषिलाई केन्द्र मानी सडक, बिजुली, सिंचाइजस्ता पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ । कृषि कर्मका लागि अभियानको रूपमा आत्मसात् गरी उद्योगको रूपमा विकास गर्न आवश्यक छ । यसलाई संस्थागत गर्नु पर्दछ ।
वर्तमान परिपेक्षमा कोरोनाले शरीरमा पारेको नकारात्मक प्रभावको समाधानका लागि वैज्ञानिक एवं खोजकर्ताहरूले औषधिे तयार पार्लान् नै तर अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावको समाधानका लागि भने अचुक औषधि किसानको कृषि कर्म नै हो । तसर्थ अर्थतन्त्रको संकट समाधन हेतु किसानको सम्मानको साथै, उनीहरूको कर्मलाई बढवा दिन सबै तहका सरकार, नागरिक एवं बुद्धिजीवीहरू आपसमा हित्तचित्त मिलाएर लागिपर्नु पर्ने समय आएको छ । हाम्रो बिग्रिएको र बिग्रिन लागेको अर्थतन्त्र जोगाउने हाम्रो व्यवसायिक कृषि प्रणाली हुन सक्छ ।