भूत र विकास

लेख

साथी भाइसँगको गफमा गुनासा सुनिन्छ । सामाजिक सञ्जालमा हे¥यो असन्तुष्टी नै पोखिएर भल बगेजस्तै लाग्छ । कुनै पनि सरकारले केही गरेन, प्रगति भएन, विकास भएन भन्ने चर्चा धेरै सुनिन्छ । खासमा प्रगति नभएको हो त ? विकास नभएकै हो त ? कति प्रगति भएपछि विकास भएको मानिने होला ? विकास भएको मानिने विन्दु कुन होला ? पूर्ण विकास पनि सम्भव छ त ? यी प्रश्नको उत्तर खोज्नु अघि यो कथा सान्दर्भिक होला ।
परापूर्वकालमा एक जना सिद्ध तपस्वी बाबा रहेछन् । उनीले तन्त्रमन्त्रवाट भूतलाई कब्जामा लिने कोसिस गरेछन् । बाबाको नियन्त्रणमा आउनुअघि त्यो भूतले मबाट के काम लिन चाहनुहुन्छ भन्ने प्रश्न गरेछ । तब बाबाले मेरो काम गर्नु पर्छ भनेछन् । भूतले पुनः भनेछ म तपाईले अह्राएको काम गर्छु तर, मलाई तपाईले दिएको काम सकिनासाथ अर्को काम दिनु पर्छ नत्र म तपाईलाई नै खाइदिन्छु भन्ने सर्त राखेछ । बाबाले पनि खुुसी हुँदै काम कति हुन्छन् हुन्छन्, जति पनि काम लगाउन सकिहाल्छु नी भन्ने सोचेर सर्त मञ्जुर गरेछन् ।
बाबाले भूतलाई एक पछि अर्को काम गर्ने आदेश दिन थाले । भूतले पनि एक पछि अर्को काम अविलम्ब सकी पुनः काम माग्न थाल्यो । खेत खन्ने, पानी लाउने, रोपाइँ गर्ने, दाउरा चिर्नेलगायत विभिन्न कामहरू एकै निमेषमा सिध्याउन थाल्यो । बाबाका गर्नुपर्ने कामहरू सबै सकिए । काम दिन नसके बाबालाई बाँकी नराख्ने सर्त छ । अब बाबालाई डर लाग्न थाल्यो । आत्तिन थालिसकेका थिए के काम दिने भनेर, जस्तोसुकै असजिलो र समय लाग्ने काम दिए पनि एक्कै क्षणमा समाप्त गरी दिने गर्दथ्यो । पछिल्लो काम सिध्याएर बाबाकोमा काम माग्न आइहाल्थ्यो । बावाको दिमागमा के काम दिने भन्ने कुरा नै आएन उनले देखेजति काम अह्राइसकेका थिए । बाबाले सोच विचार गरेर एउटा बाँस काटेर ल्याउने आदेश दिए । तुरुन्तै बाँस लिएर आयो । अब आँगनको बीचमा गाड भने । त्यो काम पनि तुरुन्तै ग¥यो । त्यसपछि बाबाले आदेश दिए बाँसको माथि चढ भने चढ्यो, अनि ओर्ली भने ओर्लियो । पुनः चढ ओर्ली भनी काम दिए । बाबाले यो काम अह्राउनु मतलब आफू बच्नका लागि मात्र थियो । भूतलाई गजबको काम दिन सकेँ भन्ने सोच्दै आरामले बसेका मात्र के थिए । भूत द्रूत गतिले तल माथि गर्दा बाँस नै भाँचियो । फेरि भूत आयो मलाई काम चाहियो भन्दै । बुढा अब साँच्चिकै आत्तिन पुगे । अनि भनेछन्, बाबु तँलाई मैले धेरै दुःख दिएँ भैगो अब आफ्नै घर जा म तँलाई नियन्त्रणमा राख्दिनँ भनेछन् । भूतले हाम्रो सर्त बमोजिम काम गरौँ भनेछ । बाबा झनै आत्तिन थाले अनि फकाउन थाले भैगो मसँग काम त धेरै छ, तर अरुलाई सित्तैमा कति काम लगाउनु, तँलाई म फुक्का गरी दिन्छु बरु अलि अलि पारिश्रमिक लिएर जा भने । भूत मान्दै मान्दैन, सर्त बमोजिम काम गरौँ मात्र भन्छ । बाबाको होस् हवास् नै उड्यो । अत्याँस परेका बेलामा बाबाको दिमाग झ्वाट्ट चलेछ अनि भनेछन्, ‘त्यसो भए अब तिमीले विकास गर ।’ तब भूतले आँत्तिदै भनेछ मलाई अब तपाईले मारे पनि मार्नुस् तर म यो चाहिँ सक्दिनँ । विकास गरेर कहिल्यै सकिँदैन जति गरे पनि विकासे सन्तुष्टि हुँदैन भनी आफ्नो बाटो तताएछ । बाबाले पनि ज्यान जोगाउन सकेकोमा खुसी नै भए ।
भरिपूर्ण विकास गरेर सकिने भन्ने कुरा नै हुँदैन । यो निरन्तर चलिरहने प्रक्रिया हो । टुंगिने विषय होइन । जति भए पनि चित्त नबुझ्ने वा नसकिने कुरा नै ‘विकास’ हो । पछिल्लो समयमा विकास मात्रको शब्दावली प्रयोग गरिन्न । संयुक्त राष्ट्र संघले दिगो विकास भन्ने गरेको छ । दिगो विकासमा मुख्य तह ३ वटा पक्षहरू हेर्ने गरेको पाइन्छ । सामाजिक, आर्थिक र वातावरणीय पक्षको सन्तुलित अवस्थालाई दिगो विकास मान्ने गरिएको छ । नेपालको सन्दर्भमा विकासका ५ पक्षहरू भन्ने गरिन्छ । भौतिक, सामाजिक, आर्थिक, प्राकृतिक र मानवीय पक्षहरू भन्ने गरिन्छ । यी ५ पक्षमा सन्तुलित प्रगति नै विकास हो । विगतका तुलनामा यी ५ वटै पक्षहरू सकारात्मक परिवर्तन वा उपलब्धिहरू भएका छन् । समग्रतामा हेर्ने हो भने यी ५ वटै पक्षमा उपलब्धि हासिल भएका छन् ।
हामी साना हुँदा मोटर चढ्न पाउनु विकास थियो । सडक खन्ने क्रममा प्रयोग हुने ट्र्याक्टर पछि पछि दौडने हामी नै हो । खरका छानो भएका घर हुन्थे । कोठा भनेको के हो थाहा हुँदैनथ्यो । अलि हैसियत हुनेको ढुंगा वा झिंगटी वा टायलको छानो हुन्थ्यो । अहिले यस्ता छाना भएका घर देख्न मुस्किल पर्न थालिसक्यो । खर र फल्याकको छानो भनेको त के हो पछिल्ला पुस्ताका धेरैलाई पत्तो नै छैन । घर घरमा सडकै नचले पनि डोजर दौडाएकै छौँ । सामान्यतय हरेक घरमा कम्तीमा मोटरसाइकल हुन थालिसके । टिभी नभएको घर पाउन मुस्किल छ । कोठा नै पिच्छे टिभी सेट भित्तामा टाँसिने भइसके । ०४६ सालतिर टिभी हेर्न २ किलोमिटर टाढा जाने गर्दथ्यौँ । हाम्रो घर नजिकको टिभी भनेको फूलबारी शंकर थापा (दाइ) को थियो । त्यो पनि श्यामश्वेत अनि पछाडिको भाग ठूलो भएको थियो । घरको छानोमा ठड्याएका एन्टेना घुमाएर ‘आयो, आयो, आएन, गयो’ भन्ने गरिन्थ्यो । रामकोटदेखिका मान्छे साँझमा टर्च वा राँको बालेर टिभी हेर्न लागेको हिजो जस्तो लाग्छ । आज त्यस्ता टिभी पातला र चिटिक्क परेर हरेक कोठमा छिरिसके । हात हातमा मोबाइल छ । त्यसवाट विश्वका कुरा थाहा पाउन सकिन्छ । भौतिक विकास यहि होइन र ?
हामी सानो हुँदा औपचारिक शिक्षा पाउनु विकास थियो । म भन्दा ५ वर्ष जेठी दिदीले पढ्न पाएनन् । पहिला एसएलसी पास भएका मान्छे बिरलै पाइन्थ्ये । अहिले नपढेका मान्छे खोजे पनि पनि पाइन्न । मैले स्कुल जाने मौका पाएँ । एक्कै पटक ४ कक्षामा भर्ना भएँ । त्यसपछि क्रमशः पढ्दै गएर दोलखाका सदरमुकाम चरिकोटको कालिञ्चोक माविबाट स्कुले शिक्षा पूरा गरेँ । उच्च शिक्षाका लागि बाहिर निस्किएँ । त्यो वेलाको त्यही नै विकास हो । हामी सानो हुँदा विद्यालय जान ३,४ घन्टा हिँड्नु सामान्य कुरा थियो । अहिले टोल टोलमा भइसके । छोराछोरीको शिक्षा कै लागि सहरबजारमा कोठा भाडा लिई बस्ने चलन पनि बढिसक्यो । शिक्षकले कालोपाटीमा लेख्दा चकको सानो टुक्रा भूइँमा खसेको टिप्न हामी दौडादौड गर्दथ्यौँ । त्यो बेलाको ‘चक डस्टर’ भन्ने कुरा युट्युबमा खोज्दा मात्र पाइन्छ होला । यो के विकास होइन र ? यो नै हुन् नी, मानवीय विकास । मेरो जेठो दाजु नेपालगन्जमा जागीर गर्थे । उनले लेखेको पत्र ३ महिनामा हाता पर्दथ्यो । कहिलेकाहीँ सम्बन्धित मान्छेभन्दा पत्रपछि आइपुग्थ्यो । अहिले विश्वको कुनै कुनाबाट अनुहार हेरेर दैनिक कुरा गर्न सक्छौँ । के यो विकास होइन र ?
हामी विद्यालय पढ्न जाँदा १ बजे छुट्टी हुन्थ्यो । त्यो ‘टिफिन टाइम’ भनेको खेल्ने समय भन्ने बुझाइ थियो, अहिले पनि मेरो दिमागले त्यही बुझ्छ । अहिले सबै विद्यार्थीहरूले दिउँसो खाजा खाने गरेका छन् । विद्यार्थीहरूका लागि सरकारले समेत खाजाको प्रबन्ध गरेको छ । वर्षको दुईपटक नयाँ लुगा लगाउन पनि मुस्किल पर्दथ्यो । अहिले मैलो र अलिकति फाटेको लुगा पनि लगाइन्न । सानादेखि ठूलासम्मका गोजीमा २÷४ सय नहुने कुरै छैन । प्रायः सबैको एटिम कार्ड हुन्छ अनी मोबाइलबाटै पैसा साटासाट तथा खर्च गर्न मिलिहाल्छ । के यो विकास होइन र ?
बिहान बेलुका खान पनि धौ धौ थियो । अहिले त्यस्तो अबस्था त्यत्रि धेरैको पाइन्न । पहिला साहुको चर्को ब्याजको विकल्प थिएन । अहिले गाउँ टोलमा सहकारी गठन भएका छन् । २÷४ हजार लिन दिन सहज भएको छ । म सानो हुँदा हाम्रो घरमा महिनाको ५ हजार प्रवेश गर्न मुस्किल पर्दथ्यो होला तर हाम्रा आमा बुबाका छोराछोरी सबैको मासिक कारोबार जोड्ने हो भने ५ लाखभन्दा बढी हुन्छ होला । के यो आर्थिक विकास होइन र ?
प्रायः धेरैले जग्गा जमिन जोडेका छन् । प्राकृतिक स्रोतका कुरा गर्दा पहिलाभन्दा अहिले वन क्षेत्र नै ५ प्रतिशत बढेको छ । प्रायः धेरै घरमा बिजुली बलेको छ । पानीलाई सम्पत्तिमा रूपान्तरण गरिएको छ । यो के विकास होइन र ? पहिला जातभातको ठूलो खाडल थियो । हामीलाई अरुको घरमा गएर खाना खाने अनुमति थिएन, अहिले हाम्रो घरमा कसैको आगमन रोकिन्न । मलाई जस्को घरमा पनि खाना बन्देज छैन । यस्ता भेद्भाव विस्तारै कम हुँदै छ । सबै धर्ममा आस्था राख्नेप्रति सद्भाव रहेको छ । आदिवासी जनजाति, महिला दलित, विपन्नहरूको सशक्तीकरणका लागि समावेशी अवधारणा लागू भएको छ के यो सामाजिक विकास होइन र ? तथापि अपेक्षाकृत हुन सकेको छैन होला ।
माथि लेखिएका विषयहरूमा प्रगति भएका छन् । विकास भनेको त्यही नै हो तर यसैमा चित्त बुझाएर पुग्यो भन्ने कदापि होइन । बिर्सन नहुने कुरा पूर्णसन्तुष्टी कहिल्यै हुँदैन । त्यसै गरी पूर्णविकास पनि सम्भव छैन । तर त्यो असम्भव बाटोतर्फ सधैँ लागि रहनु पर्दछ । तर साना साना कुरामा पनि सन्तुष्टी लिन सक्नु पर्दछ । बिहान शौचालय जाँदा एकै चोटी पेट सफा भई खलास भएमा त्यो पनि खुसीको विषय हो । त्यसैले विकास र सन्तुष्टी सापेक्ष रूपमा हेर्न सान्दर्भिक हुन्छ । अघिल्लोभन्दा पछिल्लो झन् राम्रो हुनु पर्दछ । बिहानको भन्दा बेलुकाको खानाबाट मिठो र सन्तुष्टी आओस्, अनी अर्को दिनको त्यो भन्दा पनि राम्रो होस् । प्रगति र विकास पनि त्यस्तै हो । निरन्तर उपलब्धि भइरहोस्, तर टुंगिदैन भन्ने बुझौँ । कथाको भूतले त विकास गरेर सकेको थिएन वा यती भए पछि विकास भयो, पुग्यो भन्ने हुँदैन । त्यसैले अझ धेरै गर्नु छ तर विकास भएको छैन भनेर भन्नु पनि हुँदैन । साना साना उपलब्धिलाई पनि स्वीकार गरौँ । त्यसले गर्दा अझ प्रगतिका लागि उत्प्रेरणा जगाउन सक्छ । विकास भनेको निरन्तर चलिरहने प्रगतिको पथ हो भनेर बिर्सनु हुँदैन ।