कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको निर्णय र आग्रहलाई पालना गर्नुपर्छ

अन्तरवार्ता प्रदेश ३ प्रमुख लेख शिक्षा/स्वास्थ

विश्व कोरोना भाइरस महामारीको चपेटामा छ । पछिल्लो समय केही मुलुकहरू खुला भए पनि अहिले अधिकांश देशहरू अझै बन्दाबन्दीमा छन् । नेपालमा पनि पछिल्लो समय दिन दुईगुणा, रात चौगुणाका दरले कोरोना संक्रमितको संख्या बढिरहेका छन् । सरकारले गरिरहेका कामहरू ठिक छन् ? कसरी सरकारले काम गर्न सक्छ ? र, यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ ? लगायत विषयमा डाक्टर प्रमोद यादवसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्कर्माले गरेको कुराकानीको सम्पादित अंशः

० कोरोना भाइरसको संक्रमणमा बढी जोखिममा को को छन् ?
कोरोना भाइरस सक्रमण जसलाई पनि हुन सक्छ । सक्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड–१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ । अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सक्रमणको भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ । बाहिरबाट आएर होम क्वारेन्टाइन वा मास क्वारेन्टाइनमा रही लक्षण नदेखिएमा वा टेस्टसमेत भएर रोग प्रमाणित नभएमा डराउनु पर्दैन । यो नयाँ रोग हो । यसको पूर्ण अध्ययन नभइसकेको र रोगीसँग सम्पर्क भएको वा यात्रा गरेको दुई हप्तापछि पनि रोग देखिएका उदाहरण छन् । चीनमा महामारीले सबै चरण पूरा गरिसकेको भनिए पनि संक्रमणको दोस्रो चक्र देखिनुले जोखिम बाँकी रहेको संकेत गर्दछ । अब क्यारेन्टाइन तीन हप्ताको गर्नु पर्ने देखिन्छ । स्वासप्रश्वास, दम, उच्चरक्त चाप मुटु, मिर्गौलाका दीर्घरोगी तथा वृद्धलाई यो रोग सरेमा बढी खतरा हुने हुँदा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ ।
० कोरोना भाइरस सक्रमण हुँदा मृत्यु हुने सम्भावना कति छ ?
एक अन्तर्राष्ट्रिय अध्ययन अनुसार संक्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान छ । यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो । विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । तर कति व्यक्ति सक्रमित भएका छन् त्यसको तथ्याङ्क उपलब्ध नभएसम्म कोभिड–१९ को मृत्युदर यही हो भनेर निक्र्योल गर्न सकिँदैन । फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ । त्यो कोरोना भाइरसको संक्रमणबाट मर्नेहरूको संख्या उमेर अनुसार फरक छ । यसले जवानभन्दा पनि वृद्ध र बालबालिकाको मृत्यु धेरै भएको छ ।
० के कोभिड–१९ को उपचार छ ?
अहिलेसम्म कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड–१९ को उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन । अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टिबायोटिकले भाइरसलाई मार्न सक्दैनन् । कोभिड–१९ हुँदा देखिने लक्षणहरूको उपचार हुन्छ । अधिकांश मानिसमा तिनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ । अहिले कोरोना भाइरसविरुद्ध खोप बनाउन तथा परीक्षण गर्न विभिन्न देशका वैज्ञानिकहरूले काम गरिरहेका छन् ।
० नेपालका क्वारेन्टाइनहरू कति सुरक्षित छन् ?
हाम्रो देशका क्वारेन्टाइनहरू सुरक्षित छैनन् । यहाँका क्वारेन्टाइनमा मृत्यु हुनेको संख्या अधिक छ । सबै व्यवस्थाहरू खतरनाक छन् । सरकारले विभिन्न कामहरू गरिरहेको बताए पनि अझै समस्या समाधानमा ध्यान दिएको पाइँदैन । यसैले क्वारेन्टाइन अझ खतरा बन्दै छन् ।
० सामान्य ज्वारो आयो भने गाउँघरका स्वास्थ्यकर्मीले नछुने, एम्बुलेन्सले पनि बोक्न नमान्ने, आफन्तजनले छुन आनाकानी गर्न थालेका छन् । यो व्यवहार सही हो त ?
ज्वरो, सुख्खा खोकी, श्वास बढ्ने, टाउको, घाँटी, जिउ दुख्ने र कमजोरी महसुस हुने यस रोगका लक्षण हुन् । यस्ता लक्षण अन्य रोगमा पनि देखिन्छन् । ज्वरो आएको बिरामी विदेशबाट आएको वा रोगी तथा शंकास्पद व्यक्तिसँग सम्पर्कमा थियो भने शंका मानी पूर्ण सर्तकता अपनाउनु पर्दछ । अन्यका हकमा सामान्य सतर्कताका साथ ज्वरोको उपचार गर्नु पर्छ । महामारी फैलिएको समयमा स्वाब टेस्ट नगरेसम्म स्थिति यस्तै भन्न सकिँदैन । सरकारले शंकास्पद वा रोग निको भएको केसको सेवामा रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकसमेतको सुरक्षाका लागि उनीहरूको संलग्नता हेरी सुरक्षाकवचको व्यवस्था गरेको छ । शंकास्पद व्यक्तिको मृत्यु भएमा सम्बन्धि निकायलाई जानकारी गराई रोग भए नभएको निदान गर्न टेस्ट गर्नुपर्ने हुन्छ । तर, त्यसरी बिरामी नै नछुने, एम्बुलेन्सले नबोक्ने गर्नु एकदम गलत हो ।
० यसको प्राकृतिक उपचार तथा रोकथाम पद्धति छैनन् ?
हाम्रो परम्परागत संस्कार, संस्कृति, हावापानी, प्रकृति, आनीबानी र खानपान उपचार विधिको अवलम्वन गरेमा यो कोभिड र यस्तै भाइरल रोग धेरै हदसम्म रोकथाम तथा कन्ट्रोल गर्न सकिन्छ । सफाइमा ध्यान दिने, हत्तपत्त कोही व्यक्ति तथा वस्तु अनावश्यक नछुने, अंकमाल नगर्ने, हात नमिलाउने यसका सामान्य उपाय हुने । रुघाखोकी जस्तै कोरोना रोकथाम तथा उपचारका लागि तातोपानी, कागती, अदुवा, बेसार, टिमुर, लसुन, ज्वानो, प्रोटिनयुक्त खाना, सागपात आदि उपयोगी हुन्छन् । हल्का व्यायम, पूर्ण निन्द्रा र चिन्तारहित हुनुले हाम्रो रोग प्रतिरोधात्मक क्षमता मजबुत राख्दछ ।
० कोभिडस“ग लड्न हाम्रा प्रयास कति सफल छन् ?
रोकथाम नै एक मात्र उपाय हो । त्यसैले सबै देशले लकडाउन गरेका हुन् । त्यसैगरी रोग संक्रमण हुन सक्ने शंका भएकालाई क्वारेन्टाइनमा राख्ने र लक्षण वा रोग देखिएकालाई आइसोलेसनमा अलग्गै राख्ने गर्नुपर्छ । करिब चार महिना अगाडि नै चीनमा पहिलो केस नेपाल भित्रिसकेको अवस्थामा हामीले अन्तर्राष्ट्रिय उडान समय मै रोकेको भए युरोप र खाडी मुलुकबाट रोग भित्रिने थिएन । विदेशबाट नेपाल प्रवेश गर्नेको तथ्यांक लिने काम सुरुमै भएको भए अहिलेको स्थिति सिर्जना हुने थिएन् । यो नेपालीको मात्र त्रास होइन । विश्व नै कोरोनाको त्रासमा छ । आफ्नो स्वास्थ्य आफ्नो हातमा हुन्छ । आफ्नो सुरक्षा आफैँ गरौँ। सफा रहौँ सामाजिक दूरी कायम गरौँ । नआत्तिऔँ, सावधानी अपनाऔँ । कोरोना भगाऔँ, बाचौँ र बचाऔँ ।
० कोरोनाबाट कसरी जोगिने ?
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका भएका वा विदेशबाट आएका व्यक्ति कसरी क्वारेन्टाइनमा बस्ने भन्ने पनि जान्नु आवश्यक छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ । यस संक्रमणलाई ‘आयातित संक्रमण’ का रूपमा पनि हेरिएको छ । नेपालमा पनि चीनबाटै फर्किएका एक युवकलाई यसको संक्रमण देखिएर निको भएको थियो । तसर्थ स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ । सबैभन्दा पहिलो कुरा त विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ । सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । त्यस अवधिमा अरूमा भाइरस सर्न सक्छ ।
० सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?
सेल्फ क्वारेन्टाइनमा पहिले त हावा प्रशस्त चल्ने कोठा हुनुपर्छ । त्यहाँ हावाको अभाव हुनुहुँदैन । आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न दिनुहुँदैन । घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने, कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने, यतिबेला घरमा अरू मानिसलाई आउन सकेसम्म नदिने । फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने घरमा एउटा मात्र शौचालय छ भने आफूले प्रयोग गरिसकेपछि त्यसमा राम्रोसँग ‘डिसइफेक्टेन्ट’ (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलीकरण सामग्री) ले सफा गर्ने । त्यसपछि मात्रै अरूले प्रयोग गर्ने, घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने । जथाभाबी नफाल्ने र रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।
० सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?
सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ । सामान्य रुघाखोकी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ तर रुघाखोकी सर्ने दर कोरोनाको सर्ने दरभन्दा निकै कम छ । रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ । यसले हालसम्म बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन । त्यसैले आफू वा आफ्ना परिवारका सदस्यले संक्रमण देखिएका देशबाट फर्किएका मानिस वा तिनका परिवारका मान्छेसँग घुलमिल गरेका छैनन् भने आत्तिनु पर्दैन । ज्वरो आएको छ, सुक्खा खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चाहिँ स्वास्थ्य संस्थामा गएर जचाउनु पर्छ ।
० कोभिड–१९ बाट जोगिन के गर्ने, के नगर्ने ?
– सबैभन्दा पहिला, आफूलाई कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हाललाई अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्किनु नै राम्रो ।
–घरबाट बाहिर ननिस्किई नहुने भएमा भीडभाडमा सकेसम्म नजाने, भेट्ने मानिससँग हात नमिलाउने र उसबाट कम्तीमा पनि एक मिटर टाढा बस्ने ।
–बाहिरबाट घर फर्किएपछि वा सम्भव भएसम्म समय समयमा साबुन पानीले मिचीमिची हात धुने । हात धुन सम्भव नभए
–७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्ने ।
–बजारमा मास्कको हाहाकार भएकाले आफूलाई रुघाखोकी र ज्वरो आएको छैन भने मास्क नलगाउने ।
–सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामीबाट पनि टाढै बस्ने ।
–६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार हुनु जरुरी छ ।