३० बर्षेमा नभएको काम अहिले भएको छ

Featured अन्तरवार्ता प्रमुख राजनीति

भक्तपुरको विकास र पछिल्लो समय विकासको क्षेत्रमा भक्तपुरले गरेको प्रगति यतिबेला नेपालमै उदाहरणीय छ । सिंगो नेपाललाई चकित पार्नेगरी पछिल्लो समय भक्तपुर जिल्ला परिवर्तनको दिशामा अघि बढिरहेको छ । यसको वास्तविकता के हो ? छोटो समयमा चातर्फी विकास कसरी सम्भव भयो ? यसमा जनप्रतिनिधिको भूमिका के छ ? लगायत विषयमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकले नेकपा नेता एवं भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेतसँग गरिएको कुराकानीको सम्पादिन अंशः

० भक्तपुरको विकासका लागि यहाले के गर्नुभयो ? र, हाल के गर्दै हुनुहुन्छ ?
भक्तपुर बत्तीमुनीको अँध्यारो थियो । संघीय राजधानीसँग जोडिएको जिल्ला भए पनि यहाँका शासकहरूले विगतमा विकास निर्माणमा ध्यान दिएनन् । राष्ट्रिय राजनीतिमा आफ्नो पहुँच पनि पु¥याउन सकेका थिएनौँ । मुलत मजदुर किसान पार्टीले आफ्नो वर्चश्व भएको जिल्लाको यस जिल्लालाई अगाडि बढायो । त्यसको नीति सरकारको भण्डाफोर गर्ने, संसदीय व्यवस्थालाई उपभोग गर्ने र सरकारको कुनै पनि तहमा आफ्नो सहभागिता नजनाउने भन्ने नीतिका कारण भक्तपुर राज्यको पहुँच र विकासबाट पछाडि प¥यो । नेमकिपाको त्यो ज्यदतीबाट निकाश खोजेका जनताले कांग्रेसको तर्फबाट जगनाथ आचार्यजस्ता राष्ट्रिय राजनीतिमा दखल राख्ने व्यक्ति पनि जिताए, गिरिजाप्रसाद कोइरालाको एकदमै निकट भएका नेता लेखराज न्यौपानेलाई पनि जिताए । तर, उहाँहरूले पनि भक्तपुरको यो भावनालाई समेट्न सक्नुभएन भन्ने गुनासो आयो र पछिल्लो पटक राजनीतिमा मैले आफ्नो भूमिका जसरी बलियो बनाउँदै गए । त्यसपछाडि जनताको आसा र अपेक्षा म र नेकपाप्रति बढेको कारणले म निर्वाचित भएको यो दुई वर्षको कार्यकाललाई हेर्ने हो भने विकासको लहर आएको छ । यहाँ अहिले ३० वर्षसम्म नभएको विकास २ वर्षमा भएको छ । अघिल्लो ३० वर्ष र यो दुई वर्षलाई राखेर हेर्दा २ वर्षले जित्ने स्थिति बनेको छ । प्रत्यक सडकहरू दुइलेनका बन्न थालेका छन् । ८ मिटर, ६ मिटर, ५ मिटर बन्न थालेका छन् । पर्यटन, खेलकुद, खानेपानी पूर्वाधार र घरघरमा धारा बनाउने अभियान पनि चलाइएको छ । अबको दुई वर्षमा हरेकको घरघरमा पानी हुनेछ । यसैगरी स्मार्ट सिटी, प्राणी उड्डयान, वीर अस्पताल र मानव अंग प्रत्यारोपणलगायत ठूलठूला हस्पिटलको निर्माण, पाँच हजार क्षमताको कन्भेन्सन हल, रंगशालालगायत ठूलाठूला आयोजना भक्तपुरमा यी २ वर्षमा गरेका छौँ । अहिलेको नीति तथा कार्यक्रममा ८ वटा ठूलाठूला आयोजनाहरू पार्न सफल भएका छौँ । यसैले गर्दा भक्तपुरको विकासले तिव्रता पाइरहेको छ ।

० तपाइमाथि थुप्रै आरोपहरू लाग्ने गर्छन् । सबै आरोपहरूबारे तपाइको धारणा के छ ?

जनीतिमा विपक्षीलाई कमजोर बनाउनु राजनीतिको मुख्य धर्म हो । त्यही भएको हुनाले विगतमा आफूले वर्चश्व कमाएको ठाउँमा अर्को नेता आउनु र अर्कैको वर्चश्व हुनु कसैका लागि सह्य कुरा होइन । त्यही भएको हुनाले उहाँहरूले आरोप लगाउनु भएको होला । मैले बुझेअनुसार ठोस रूपमा भक्तपुरमा मेरोविरुद्ध आवाजहरू सुनिँदैन । नगण्य रूपमा मिडिया, सामाजिक सञ्जाल र व्यक्तिपिच्छे अनलाइन मिडिया भएकाले केही मिडियाहरूले लेखेका उहाँहरूले उठाउनु भएका विषयलाई पनि हामीले गम्भीर रूपमा लिएका छौँ । यसरी उठाइएका कतिपय विषयलाई सेवामूलक ढंगबाट पनि हेर्छौँ, दोस्रो कुरा कतिपय कपोलकल्पित कुराको त प्रमाणले पुष्टि गर्छ । यो बीचमा उहाँहरूले दुई वटा विषय उठाएको देखेँ । एउटा साँगाको कैलाश महादेव जाने ठाउँमा हामीले एक करोडको पुल बनायौँ । उहाँहरूले के हल्ला गर्नुभएको रहेछ भने ‘करोडौँ भ्रष्टाचार भयो ।’ अब यहाँ बजेट नै एक करोड मात्रै हो । ठेक्काबाट काम भएको छ । ठेकेदारले घटेर ७२ लाखमा काम गरेको छ । त्यत्रो झोलुंगे पुल बनेको छ । यो उपत्यकाको गौरवको सबैभन्दा लामो झोलुङ्गे पुल बनेको छ । त्यो अरुजस्तो खेर जाने पुल होइन । लकडाउन खुल्नेबित्तिकै त्यहाँ दिनको २ हजार, ३ हजार मान्छे हिँड्ने पुल हो ।

नगरपालिकाले १० रूपैयाँ मात्र कलेक्सन गर्ने हो भने पनि एक, दुई वर्षमा त्यो पैसा उठ्छ । त्यहाँ जुन ढंगले भ्रष्टाचार भएको भनिएको छ । यो कपोलकल्पित कुरा हो । सांसदले एक करोड, मेयर र अरुले खाए भन्ने भ्रम हो । ७२ लाखको पुलमा भ्रष्टाचार नै ६/७ करोड भएको भनिएको छ । यो हल्लाको पछि कोही लाग्दैन । त्यो नेपालको नमुना काम हो । अर्को सूर्यविनायकदेखि जडिबुटीसम्मको हाइवेका लागि ७६ लाख रूपैयाँ बजेट पारेका छौँ । त्यो चाहिने शक्ति बस्नेत मन्त्रीज्यूले सिलान्यास गर्नुभयो । त्यहाँ भएको पुरानो माटो हटाएर नयाँ माटो राखेर, पुराना रुखहरू काटेर काम भइरहेको छ । त्यहाँ सबै स्थानमा दुबोका चपरीहरू राखिएका छन् । त्यहाँ बिल पेस गरेर पैसा उठाएको भन्ने आरोप छ । केही अनलाइनहरूले यसलाई मिसन बनाएका छन्, अफवाह फैलाएका छन् । आजको सार्वजनिक खरिद ऐनलाई पछि हटाएर सबै काम स्थानीय तहले गर्छ । टेन्डरको प्रक्रिया उसैले गर्छ । टेन्डरको प्रक्रियाबाट जाँदा घटेर टेन्डर लिन्छ । उपभोक्त समितिबाट बनाउँदा स्थानीय तहले सबैलाई भेला पारेर आयोजनाको जिम्मा दिने हो । अब भन्नुस– ‘कहाँ छ, भ्रष्टाचार ?’ विगतमा थियो । भ्रष्टाचार हुने छिद्रहरू अहिले त्यस्तो छैन । दोस्रो कुरा सांसदको भूमिका भनेको पहल गर्ने मात्रै हो । हामीले विकास ल्याउने कुरामा पहल गर्ने मात्रै हो । तर, आयोजना कार्यान्वयन अरुले नै गर्ने हो । हामीले काम गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यसलाई मिडियाले सांसद विकास कोष भनेर लेखेका छन् । यसको कार्यान्वयन पनि के हुन्छ भने त्यसको म संयोजक हुन्छु । हाम्रो क्षेत्रका राष्ट्रियसभा सदस्य, प्रदेश सभा सदस्य र नगरपालिकाका मेयर त्यसको सदस्य हुन्छन् । उहाँहरूसँग वार्ता गरेर योजना छनोट गर्छौँ । त्यो छनोट गरेको योजना नगरपालिकाले कार्यान्वयन गर्छ । हाम्रो यहाँ सबै नगरपालिकाले योजना कार्यान्वनका लागि टेण्डर आह्वानको मापदण्ड तयार पारेका छन् । सोही अनुसार आयोजना टेन्डर प्रक्रियामा जान्छन् । अहिले पनि ५० लाख छुट्ट्याएका ठाउँमा टेन्डर प्रक्रिया ार्फत ३२ लाख, २५ लाखमा काम हुने गरेको छ ।

यो यसरी एउटा पारदर्शी मोडल प्रयोग गरेका छौँ । हामीले गरेका कामबाट छटपटिएर मान्छेहरूले आरोप लगाएका छन् । अर्को यहाँ स्थानीय जनताले महेश मार्ग राखेछन् । त्यो सडकको बारेमा पनि विवाद उठाइयो । त्यो मेरो नाममा मार्ग राखियो भन्ने मलाई थाहा थिएन । मिडियामा आएपछि थाह पाएँ । त्यहाँ भएको के हो भने किवा चोक भन्ने एउटा ठाउँ थियो । त्यहाँ टापुजस्तो बनाइयो किनभने त्यहाँ एकातिर पहिरो जाने, एकातिर ठाडो बाटो र पुल थिएन । त्यसका कारणले हामी निर्वाचित भएर आएपछि त्यो एरिया जोड्ने तीनवटा पुल बन्यो । सबै ठाउँको बाटो पिच भयो । सबै बाटोहरू ढलान भए । त्यहाँ दशौँ करोड खर्च गरेर बाटो बनाइसकेपछि त्यहाँका जनताले एउटा नाटकीय विकास देखेर त्यहाँका युवाको भेलाले यसको नाम महेश मार्ग रोखछन् । यसलाई केही साथीहरूले गलत प्रचार गरे । यो जनताले दिएको पुरस्कार पनि हो । अब त्यहाँ नाम नराख्नुस भनेर मैले भन्न मिलेन । यो विकासप्रति हामीले गरेको कामको सम्मान पनि हो । र त्यो ढंगले कुरा उठाउनु भएका साथिहरूको कुरा सकारात्मक नै लिन्छु । यदि मैले महेश मार्ग नै राख्ने हो भने त किवा चोकको एउटा सानो बाटोको नाम राख्नपर्ने थिएन होला नी ! आज हनुमन्ते करिडोरमा साढे दुई अर्बको काम भइरहेको छ । भक्तपुरमा यत्रा स्मार्ट सिटीहरू बनेका छन् । तिनीहरू नै मेरो नाममा राख्ने थिए होलान् । त्यो भएर मेरो त्यस्तो नामको रहर पनि छैन । जनताले नाम राखिसकेपछि ठिकै छ भन्ने मेरो धारणा हो । विरोधीहरूले उठाएका विषय वस्तु त्यस्तो धेरै गहिरो छैनन् । त्यो सबै कुण्ठाग्रस्त मानसिकताले उठाएको हो । निरासा र आक्रोश पनि हो ।
० अहिले सबै क्षेत्रको भन्दा बढी योजना ल्याइयो भन्नुभयो । के के योजना ल्याउनु भयो ? र कति बजेटका ल्याउनु भयो नी ?
भक्तपुरमा अहिले झण्डै चार अर्ब बढी बजेट र ४० सयभन्दा बढी योजना छन् । म ०७० सालको चुनावका पराजित भएपछि जम्मा १३ वटा योजना थिए । त्यसपछाडि म मन्त्री भइसकेपछि त्यसलाई बढाएर एक वर्षमै ६२ पु¥याइदिएँ । त्यसपछि अस्ति म सांसद भइसकेपछि ती योजना १ सय ३२ पुग्यो । अहिले ४ सय बढी योजना छन् । अहिले महत्वपूर्ण योजना ८ वटा छन् । जसमा सूर्यविनायकदेखि धुलिखेल ६ लेनको सडक, अर्को वीर हस्पिटल, कोटेश्वरमा सुरुङ बनाउने, चाँगुनारायणमा १ लाख र सूर्यविनायक नगरपालिकामा १८ लाखको स्मार्टसिटी बनाउने आयोजना हनुमानमन्दिर करिडोर निर्माणमा २ अर्ब बजेट, त्यसपछाडि गठ्ठाघरमा ५ हजार क्षमताको हल निर्माण गर्नेलगायत ८ वटा ठूलो योजना छन् । त्यो बाहेक प्रत्यक वडालाई हाइवेमा जोड्ने, सदरमुकाम जोडने २ लेनका सडकहरू धमाधम बनिरहेका छन् । बस्ती व्यापक विस्तार भएको जिल्ला भएकाले हरेक बस्तीलाई जोड्ने सडकहरू बनेका छन् । यहाँका हरेक विद्यालयलाई मर्मत, सम्भार, पुनर्निर्माण शैक्षिक सुधार गर्दै छौँ । यो वर्ष पनि १६/१७ वटा विद्यालय भक्तपुरमा बनाउँदै छौँ ।

स्वास्थ्य क्लिनिक ८ वटा हेल्थपोस्ट बनाउँदै छौँ । खानेपानी पर्याप्त आयोजना परेका छन् । यद्यपि, बहरी खानेपानी आयोजना र मेलम्चीका आयोजनाहरू पनि भएका छन् । अहिले उपभोक्ता समितिमार्फत भइरहेका कामहरूमा पनि ट्याङ्की निर्माण र बोरिङहरू निर्माणका लागि प्रशस्त र पर्याप्त बजेटको व्यवस्थापन गरेका छौँ । पर्यटनको विकासका लागि पाण्डव बजारलाई हामीले नयाँ ठमेलको रूपमा विकास गरेर साँझका लागि पर्यटकीय क्षेत्र बनाउँदै छौँ । साँगादेखि लाकरे भज्याङसम्म पदमार्ग बनाउँदै छौँ । यहाँको नगरपालिकाले बनाएको शिव सर्किटलाई विस्तार गर्दै छौँ । कैलासमा हामीले झोलुङ्गे पुल बनाउँदै छौँ । यहाँ वञ्जिजम्पदेखि लिएर, जिपलाइन, अनन्त नन्देश्वरी, घ्याम्पे डाँडा, नैचाले एरिया र लाकुरी भज्याङलाई पर्यटकीय हबको रूपमा विकास गर्दै छौँ । त्यसमा विभिन्न मठमन्दिरहरूको व्यवस्थापन गर्दै आन्तिरिक र बाह्य पर्यटक बढाउँदै छौँ । खेलकुदको क्षेत्रमा हामीले संघीय सरकारको तर्फबाट अन्तर्राष्ट्रिय रंगशाला, प्रदेश सरकारबाट कभर्डहल र अन्य विभिन्न खालका रंगशाला र खेलमैदानहरू निर्माण कार्य भइरहेको छ । यो अभियान नै चलाइका छौँ । सांसद विकास कोषको बजेट पनि खेलकुदमा प्रयोग गरिने छन् ।
० मठ–मन्दिरको व्यवस्थापन कसरी गर्नुभएको छ ?
कतिपय विकासका र आधुनिक चेतना राख्ने साथीहरूले बेकारको खर्च भन्ने गरेका छन् । हामीले यसलाई फरक तर्क गरेका छौँ । एउटा त यो हाम्रो भावनासँग जोडिएको विषय हो । अर्को हाम्रो पुर्खा र इतिहास र गौरवसँग जोडिएको छ । यसको नाम नै भक्तपुर अर्थात् भक्तहरूको बस्ने ठाउँ हो । यसैले आध्यात्मिक चेतना र एउटा धार्मिक चेतनाका कारण अपराध धेरै कम छ । अस्ति सूर्यविनायकमा एउटा बलात्कारको घटना भयो । त्यो काभ्रेको महिला हुन् र पीडक पनि बाहिरकै हुन् । यस्ता खालका घटना भएका छन् । हाम्रा पुर्खाले गरेको धर्मकर्मले भक्तपुर राम्रो छ । भलो भएको छ, भक्तपुरको । यसैले यो लगानी अनुत्पादक होइन । नगरपालिकाले पर्यटनबाट मात्र ८० करोड पैसा उठाउँछ । पुर्खाले बनाइदिएको सम्पदा हाम्रो सम्पत्ति हो भन्ने छ । डोलेश्वर अन्तिम चरणमा छ ।