कागजको खोस्टो मात्र नहोस्

प्रमुख राजनीति लेख समाचार

नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिवाट संसदमा प्रस्तुत भयो । नीति तथा कार्यक्रम असाध्यै राम्रा छन् । सो नीति कार्यान्वयन गर्नका लागि नेपाल सरकारका अर्थमन्त्रीबाट १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत भयो । नीति तथा कार्यक्रमको मर्मलाई बजेटले आत्मसात् गरेन की भन्ने परिरहेको छ । तथापि प्रतिनिधि सभामा जमेर छलफल भयो । केहीले यो बजेटरूपी दस्तावेजलाई गजबको भन्न भ्याए, कतिपयले गन्तव्यविहीन यात्रा ठम्याए । कोरोनाको महामारी बढिरहेको बेलामा यो बजेट आएको हुँदा विगतका बजेटभन्दा फरक हुन्छ भन्ने धेरैलाई आसा थियो । सबै क्षेत्र उद्यमशिलमा लागेर कम्तीमा पनि खाद्य सामग्रीका लागि आत्मनिर्भर बन्ने मौका नेपालमा आएको छ । सायद संघीय बजेट यसैमा केन्द्रित भएको होला । अहिले प्रदेशको बजेट पनि आयो । स्थानीय सरकारको बजेट पनि आउने छ । ती सबैको गन्तव्य नेपाली जनतालाई बचाउने नै हुनेछ । समृद्ध नेपाली सुखी नेपाली बनाउने केन्द्रित हुने नै छ । बजेट आयो तर कार्यान्वयन कति हुने हो । यो हेर्न भविष्यमा निर्भर रहनुको हामीसँग विकल्प छैन । यस सन्दर्भमा एक कथा सान्दर्भिक होला ।

एक जना ठिटो भोकले रन्थनिएर एउटा रेष्टुरेन्टमा पस्यो । नयाँ परिकार के छ भनी मेनु हेर्दा कलेजो फ्राई देख्यो । अर्डर ग¥यो । खायो । उसलाई परिकार असाध्यै मिठो लाग्यो । ठिटोले मनमनै विचार गर्न थाल्यो । यहाँ जति खाए पनि पेट भरिने होइन । पैसाको मात्र नास हुने हो । बरु घरमै लगेर पकाएर खान पाए सस्तो हुने थियो । घरकाले पनि खान पाउँथे । खुसी हुन्थे । अनी उस्ले कलेजो पकाउने तरिका तथा सामग्रीहरूको बारेमा रेष्टुरेन्टवालासँग जानकारी लियो । सिकाएको सबैकुरा कापीमा टिप्यो । उ रमाउँदै बजारमा गएर कापीमा टिपे अनुसारको सामान किन्यो । घरतिर लाग्यो । उसको साथमा आधा किलो कलेजो र अन्य मरमसलासहितको आवश्यक सामग्रीहरू थिए । सामान भएको झोला हातमा र पकाउने तरिका लेखिएको कागज खल्तीमा हाली फूर्तिका साथ बाटो लाग्यो । उ हिँड्दै थियो । उस्लाई थकाइ लाग्यो । थकाइ मार्न र चुरोट तान्न भनी चौतारीमा उपरखुट्टी लगाएर बस्यो । छेउमा कलेजो भएको प्लास्टिकको झोला राखेर चुरोट तान्न लाग्यो । उस्को मन असाध्यै खुसी थियो । मन मनमा कलेजो फ्राई बनाएको परिवारसहित बसेर खाएको कल्पना गर्न थाल्यो । सबै खुसी हुने भए भनी दंग थियो । त्यति नै खेर एक्कासि चील आएर कलेजो राखेको झोला टिपी उड्यो । त्यो ठिटो आत्तियो । के गरौँ, कसो गरौँ भयो । यसो खल्तीमा हात हाल्न पुग्छ । पकाउने तरिका लेखेको कागज भेट्छ । उ खुसी हँुदै चिल उडेकोतर्फ हेर्दै भन्न लाग्यो, ‘ए मूर्ख चिल, तैँले कलेजो लगेर के गर्छस् पकाउने तरिकासहितको कागज त मसँग छ नी, अब के गर्छस् ?’

कथामा पनि त्यो ठिटोको मनसाय असल छ । उस्को नियतमा खोटो देखिन्न । आफू मात्र खाएर हुँदैन सपरिवार खुसी पार्नु पर्दछ भन्ने छ तर सानो होसियारी नहुँदा कागज मात्र उस्को साथमा भएको छ । तैपनि उ खुसी भएको भान पारिरहेको छ । कलेजोलगायत अति आवश्यक सामग्री उसँग छैन । त्यस्तै हाम्रा संघीय अर्थमन्त्री र प्रदेशका आर्थिक मामिला मन्त्रीको नियत सफा होला । आसय सकारात्मक होला । सबैलाई खुसी पार्ने नै होला तर कथाको ठिटोसँग भएको कागजजस्तो मात्र हुने त होइन ? चिन्ता लाग्न थालेको छ । एक्कासि चिलले कलेजको झोला उडाएजस्तो कोभिड–१९ ले दर्जनभन्दा बढी मान्छे हरण गरिसक्यो । लकडाउन सुरु भएदेखि यता दैनिक २० जनाले आत्महत्या गरी ज्यान गुमाइरहेको आँकडा आएको छ । विभिन्न रोगको उपचार नपाएर कारण ज्यान गुमाउने संख्या रोकिएको छैन । लकडाउनको अवधिमा पनि ठूला ठूला सडक दुर्घटनाको कारण अकालमा ज्यान गुमाउनेको संख्या पनि कम छैन । हरेक दिन कोराना भाइरसका संक्रमितहरू बढेका बढै छन् । नागरिकहरू नरहने तर हामी बजेटरूपी दस्तावेज हामीसँग छ भनेर बसेजस्तो हुने त होइन ? चिन्ता बढेको छ ।

नेपालमा ठूला उद्योग त कति नै थिए र । ती पनि बन्द भएको धेरै महिना भइसक्यो । सरकारको ढुकुटी ऋणात्मक भएर कर्मचारीलाई तलब खुवाउन पनि ऋण वा वैदेशिक अनुदान भर पर्नु पर्ने अवस्था भएको समाचार सार्वजनिक सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । कर उठ्न सकेको छैन । कर तिर्न सक्ने हैसियत भएकाले पनि तिरेको छैनन् । व्यवसायीले भ्याट तिर्न नसक्ने कुरा हुँदैन सरकारलाई वुझाउन आलटाल गरिरहेका छन् । भ्याट रकम त व्यापारीले ग्राहकसँग उठाएर सरकारलाइ बुझाउने हो नी । त्यो तिर्न नसक्ने भन्ने सन्दर्भ नै आउँदैन ।
लिखिरतिखिर कृषि कर्ममा केही काम भए पनि उपजले उचित बजार पाउन सकेको छैन । आयतित सामग्री ल्याई बेचविखन गर्ने कार्य ठप्प नै छ । रेमिट्यान्स शून्यप्रायः जस्तो भइसक्यो । विदेशमा रहेकाहरू नेपालमा आउने क्रम बढिरहेको छ ।

भारतबाट हजारौँको संख्यामा होइन, लाखौँ नेपाल फिर्ता भए । उनीहरूले अलि अलि सीप पनि ल्याए होलान् त्यो भन्दा पनि डरलाग्दो कोभिड–१९ नामक भाइरस पनि ल्याएका कुरा कसैका सामु छिपेको छैन । उनीहरूको सीमा नै परीक्षण गराउन सकेनौँ । यसमा नेपालको भन्दा भारतको दोष छ । संयुक्त राष्ट्रिय संघको संरचना विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड भारतले लागू गरेन । जुन देशमा जो छ त्यही देशमा राखिनु पर्ने वा आवश्यक परेमा क्यारेन्टाइन र आइसोलेनमा राखी उपचारसमेत गर्नु पर्ने हो । भारतले यो कुराको बेवास्ता नै ग¥यो । जस्को कारणले नेपालमा संक्रमितको संख्या बढेको हो । भारतभन्दा अरु देशबाट आएका संक्रमित संख्या अति थोरै छ । यो संकटका लागि अलि अलि प्राकृतिक अवस्थिति कारण पनि होला त्यो भन्दा पनि धेरै चाहिँ भारतको हेपाहा प्रवृति हो भन्दा नौलो भनेको मानिन्न ।

यो विषम परिस्थितिमा हाम्रा कार्यशैली परिवर्तन हुन सकेन भने पुरानै पाराले चल्ने चलाउने अनि भ्रष्टाचार उस्तै हुने हो भने कथामा भनिएजस्तो नयाँ स्वाद चाहने, सपरिवारलाई खुसी पार्न खोज्ने तर पुरानै पाराले चुरोट तानेर बसेजस्तो हुन्छ । यो तरिकाले हाम्रो संकट टर्दैन । नयाँ रोजगारी सिर्जना नहुने, विदेश गएका पनि खाली हात फर्कने, बेरोजगारी भैmँ भौतारिने, कृषिमा आकर्षण नबढ्ने, अनी भएका व्यवसाय डुबेर ऋण तिर्न नसक्ने अवस्था आयो भने हाम्रो अवस्था के होला ? कोभिड–१९ को महामारी थेग्न नसकेर, ऋणको भार थिचेर अनी खाना नपाएर नागरिकहरूको ज्यान गुम्न थाल्यो भने कस्तो अवस्था होला ? कथाको ठिटोजस्तो कलेजो पकाउने तरिका लेखेको कागज त मसँग छ भनेजस्तै बजेट लेखेको कागजलगायत लिखित दस्तावेज त हामीसँग छ भन्नुमा कुनै फरक नहोला । त्यसैले हामीसँग योजनारूपी दस्तावेज पनि चाहियो अनी उपलबिधमूलक काम पनि । धन्यवाद ।