कोल्टीमा एकै दिन दुई वटा हवाइजहाज चढ्दा

लेख

जीवनमा पहिलोपटक हवाइजहाज चढ्ने मौका मिल्यो । त्यो पनि नेपालको दुर्गम क्षेत्रमा रहेको कोल्टी विमानस्थलमा, एकै दिनमा २ वटा हवाइजहाज । ती दुई हवाइजहाज पनि फरक फरक कम्पनीका थिए । यो ०५७ सालको घटना हो ।
म, त्यति बेला सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मा कार्यरत थिएँ । विभिन्न जिल्लामा तालिम प्रयोजनका लागि जाने मौका मिलिरहन्थ्यो । यहि सिलसिलामा पहिलोपटक बाजुरा जाने मौका मिल्यो । बाजुराको सदरमुकाम मार्तडीमा ०५७ बैसाखको पहिलो हप्ता तालिमको लागि हर्क थापा दाइ र म गएका थियौँ । काठमाडौंबाट रात्रि बसमा धनगढीसम्म गयौँ । त्यहाँबाट अर्को दिन रात्रि बसबाटै साँफेबगरसम्म पुगेर पैदल यात्रा गर्नु पर्दथ्यो । साँफेबगरबाट नदीको किनारै किनार हिँड्नु पर्दा खासै असजिलो होइन । उकालो ओरालोको सामाना गर्नु नपर्ने । मार्तडी नै पुग्ने वेलामा एक उकालो थियो । त्योभन्दा बाहेक खासै उकालो हिँड्नु परेन । बाटाका साना साना चिया पसलहरुमा पनि नजिकैको नदीका ताजा माछा सस्तैमा खान पाइने । माछा खाँदै रमाइलो मान्दै हिँडिरह्यौँ । साँफेबगरमा बसबाट ओर्लेका दिन त्यहाँ खाना खाएर हामीले बाटो तताएका थियौँ । सायद बाह्रबिसे भन्ने स्थानमा पुगेर बास बसेका थियौँ । भोलिपल्ट नदीको किनारको बाटो हुँदै अगाडि बढ्यौँ । बाटोमा खच्चडसँग धेरै भेट भइरहन्थ्यो । त्यो साँझ मार्तडीभन्दा अलि तल बास बस्यौँ । बास वसेको ठाउँबाट मार्तडी पुग्न उकालो मात्र बाँकी रहन्थ्यो । त्यो गाउँको नाम याद भएन ।
हामी काठमाडौंबाट हिँडेको पाँचौ दिन बिहान बाजुराको सदरमुकाम मार्तडी पुग्यौँ । त्यहाँ हाम्रा सम्पर्क व्यक्तिसँग भेट्यौँ । सम्पर्क व्यक्ति लालबहादुर ओलीसँग तत्काल भेट हुन सकेन तर केयर नेपालका गोविन्द रिमालसँग भेट भयो । उहाँ मेरो जिल्लाबासी पनि हुनुहुन्छ । उहाँको नाम सुनेको तर भेटघाट भएको थिएन । उहाँसँग चिनजान हुने मौका बाजुरामा जुरेको रहेछ । फेकोफनको संगठन विस्तार तथा सुदृढीकरणका लागि उत्प्रेरक तालिम थियो । सायद यो तालिमका सहभागीहरुलाई खान बस्नका लागि केयर नेपालले आर्थिक सहयोग गरेको थियो की जस्तो लाग्छ । तालिमपछि फेकोफनको संगठन विस्तारका लागि योजना तर्जुमा गरी जिम्मेवारी बाँडफाँटसमेत गरिएको थियो । त्यो बेलाका धेरैको नाम त याद छैन । मार्तडी नजिकैका उमाकान्त पण्डित, अम्मनाथ योगीहरुको नाम याद छ । उहाँहरु पछिसम्म पनि फेकोफनको अभियानमा क्रियाशिल भइरहनु भएको थियो । कोल्टीतिरका रोकाया थर गरेको एक जना शिक्षक पनि हुनुहुन्थ्यो । उहाँसँगै हामी मार्तडीबाट लेक हुँदै कोल्टी आएका थियौँ । लेकमा खिचेको उहाँसहित खिचेको फोटो अहिले पनि मसँग सुरक्षित छ । त्यही जाँदा नहकुल केसीसँग पनि चिनजान भएको थियो । त्यतिबेला उहाँ तत्कालिन जिविसमा युनडिपीअन्तर्गतको एक परियोजनामा क्रियाशिल हुुनुहुन्थ्यो ।

जाँदा हिँडेर गएको भए पनि फर्कँदा हवाइजहाजको टिकटको प्रबन्ध हुनेजस्तो कुरा गोविन्द रिमालले बताउनुभयो । फेफोफनको पैसा खर्च गरेर हवाइजहाज चढ्ने कुरा हामी कल्पना गर्न पनि सक्दैनथ्याँै । अहिलेसम्म प्लेन चढेको थिएन । रहर थियो । मौका पनि मिल्यो । फेकोफनले बिल स्वीकृत गरेन भने पनि हाम्रै खर्चले भए पनि चढ्ने विचार ग¥यौँ । केयर नेपालका गोविन्द रिमालको सहयोगमा सिडियोको कोटाको सरकारी जहाजको २ वटा टिकट पायौँ । सहायक सिडियो स्याङजातिरका सानो कद भएका फूर्तिला मान्छे थिए । तालिमका सहभागी रोकाया थरका शिक्षकसँग लेक हुँदै कोल्टी आयौँ । मार्तडीबाट कोल्टी पुग्न एक दिन भरजस्तै लाग्यो । मार्तडीबाट कोल्टीको विमानस्थलमा पुग्नु भनेको काठमाडौं वा तराइ झर्न उल्टो बाटो हिँडेजस्तो हुन्छ । केही गरी हवाइजहाज पाइएन भने फेरि मार्तडी नै फर्कनु पर्छ । मार्तडीदेखि लेक भन्ने स्थानसम्म उकालो, ओरालो हिँडी कोल्टी भन्ने स्थानमा पुगिन्छ । कोल्टी भन्ने स्थानसम्म र गहिरो जस्तोमा पर्दछ । वरिपरि अग्ला अग्ला पहाड थिए । ती पहाड असाध्यै सुख्खा देखिन्थ्ये । कोल्टीमा एक रात लुम्बिनी नाम गरेको होटलमा बस्यौँ । पहिलोपटक हजाइजहाज चढ्ने अवसर मिल्दैथ्यो । उत्कसुकता थियो । डर पनि लागिरहेको थियो । कति हल्लाउला, कस्तो देखिएला भन्ने मनमनै गुनिरहेको थिएँ । हर्क दाइ पक्कै अनुभवी हुनुहुन्थ्यो होला मेरा लागि प्लेन नौलो थियो । नजिकबाट देख्ने मौकासमेत पाएको थिँइनँ । त्यो समयमा हरेक दिन बेलुका ९ बजेको समाचारपछि सरकारी हवाइजहाजहरु कुनै स्थगित भएका भए जानकारी दिन्थ्यो । कोल्टीमा आउने प्लेन स्थगित भएको सुनिएन । मन झन् खुसी भयो । त्यो बेलामा स्थगित भए पनि अर्को दिन पुनः त्यही टिकटबाट चढ्न पाइन्थ्यो तर कुन दिन हुन्थ्यो निश्चित हुँदैनथ्यो । तैपनि प्लेन चढ्न पाउने पक्का चाहिँ हुन्थ्यो ।
प्लेन चढ्ने दिन । बिहान सबेरै मलाई निन्द्राले छाड्यो । हामी हाम्रो झोला बोकेर विमानस्थलतिर गयौँ । नेपालगन्जबाट प्लेन उडेपछि कोल्टीको एयरपोर्टमा साइरन बज्यो । प्लेन आउनुभन्दा १० मिनेटअघि पनि जनाउसूचक साइरन बज्यो । त्यो पनि मेरा लागि नौलो थियो । खुसीले गद्गद् थिएँ । बिहान ९ बजेतिर सरकारी प्लेन आयो । शानेवानि (शाही नेपाल वायु सेवा निगम) अंग्रेजी छोटकरीमा आरए भन्ने चलन थियो । प्लेन ल्यान्ड भएको केही समयमा नै हामी लाइन लागेर प्लेनमा उत्साहसाथ चढ्यौँ । तर नेपालगन्जबाट गएको त्यो हवाइजहाजमा पाइलटको एकजना साथी घुम्न लगेको रहेछ रे । कोल्टीमा रहेका हामी यात्रुमध्ये एकजना ओर्लनु पर्ने भो । सबैभन्दा पछि चढ्ने हामी २ मध्ये एक ओर्लनु पर्ने भयो भन्यो । म ओर्लेँ । जहाजबाट ओर्लँदा मेरो अनुहार कस्तो भो होला । म ओर्लेको देखेपछि हामीलाई सहयोग गर्ने ती हाम्रा तालिमका सहभागी शिक्षक दौडेर त्यहाँ आएर किन ओर्लेको भने । मलाई ओरार्ने मान्छेलाई देखाएर ‘उ त्यो मान्छेले ओर्ली भनेकाले म ओर्लिएँ’ भनेँ । ती मान्छे वायुसेवाको कर्मचारी रहेछन् उन्लाई हप्काउँदै भने सरकारी कोटाको मान्छेलाई ओराल्ने भनी गाली गरे । तब त्यो कर्मचारीले भन्यो अघि नै भन्नु पर्दैनथ्यो त ? तपाईलाई ओराल्न मिल्ने नै थिएन । त्यति बेलासम्म प्लेन उडेर डाँडा काटिसकेको थियो । त्यो कर्मचारीले भन्यो अव जुन प्लेन आए पनि म जसरी पनि पठाइदिन्छु भन्यो । अरु उपाय नै थिएन । तर डर के थियो भने त्यो ठाउँमा केही दिन मात्र होइन, केही हप्ता नै प्लेन नआउन पनि सक्थ्यो । गाडीको बाटोमा जानका लागि उल्टो बाटो हिँड्न पर्दथ्यो । हामी आएकै बाटो फर्कनु पर्दथ्यो । सायद साँफेबगर पुग्न कम्तीमा ४ दिन हिँड्नु पर्दथ्यो । म आत्तिइरहेको थिएँ । धन्न, यती एयलाइन्सको जहाज आयो चामल बोकेर । पहिलाको सर्तअनुसार नै मलाई प्लेनमा राखिदिए । बसेँ । पहिलोपटक सरकारी शाही नेपाल वायु सेवा निगमको जहाज चढेर सिटमा बसेर झरेको थिएँ । त्यही दिन अर्को प्लेन पनि चढेँ । एकै दिन दोस्रोपटक प्लेन चढेँ । प्लेन त चढेँ तर पहिलो अनुभव त्यही पनि साथी छुटेको । अब के हुने भो, म किन छुटेँ । यो प्लेन दुर्घटना हुन्छ की भन्ने लाग्यो । प्लेनले जमिन छाड्यो मेरो मुटुले पनि ठाउँ छाड्यो । ज्यान सिरिंग ग¥यो । सातो गयो । यस्तो हल्लायो कि मेरो कल्पनाभन्दा धेरै माथिको । सिटलाई दुवै हातले चपक्कै समातेँ । अब मरियो भन्ने नै लाग्यो । मनमा के के कुरा खेल्यो भनि साध्यै छैन । म मर्नका लागि नै हर्क दाइसँग छुटेछु भन्ने लाग्यो । करिब ३० मिनेटको यात्रा होला तर मलाई वर्षौँ बितेजस्तो भयो । मैले बाबुआमा, दाजुभाइ, दिदीबहिनी र चिनजानका सबैलाई सम्झेँ । केही लागेन आँखा चिम्लेर जिउ कक्रक्क बनाउँदै सिट समातेर बसेँ । प्लेन घच्याक्क ग¥यो । लौ खतम् यसरी प्लेन दुर्घटना हुँदोरहेछ भन्ने लागेर रुन मात्र सकिनँ । आखिरी त्यो त प्लेन नेपालगन्ज विमानस्थलमा अवतरण पो गरेको रहेछ । पछि नेपालगन्ज विमानस्थलमा हर्क दाइलाई भेटेपछि मात्र मेरो ज्यान फि¥यो । क्रमशः

Leave a Reply

Your email address will not be published.