कहिलेसम्म असफल तर वृद्ध नेताहरूको कब्जामा राजनीतिक दलहरू ?

प्रमुख लेख समाचार

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा उत्पन्न भएको विवादले विगत डेढ महिनादेखि निकास पाउन सकेको छैन । गत १० असारबाट स्थायी समितिको सुरु भएको बैठकमा गत १६ असारमा अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सरकारसँगै पार्टी सञ्चालनमा असफल सावित भइसकेको निष्कर्ष निकाल्दै ओलीले पार्टी अध्यक्ष र मुलुकको प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने आफ्नो मागलाई प्रवेश गरेका थिए । अध्यक्ष दाहालको यो मागलाई पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमले समर्थन गरेका थिए । तर प्रधानमन्त्री ओलीले भने महाधिवेशनअगाडि अध्यक्ष र आमनिर्वाचन अगाडि प्रधानमन्त्री पदबाट राजीनामा नगर्ने अडान राखेपछि नेकपाको नेतृत्व तहमा विवाद उत्पन्न भएर चर्कन थालेको हो । निकासका लागि अध्यक्ष दाहालले ओलीले दुईमध्ये एक पदबाट राजीनामा गर्नु पर्ने माग राखे पनि ओली भने आफ्नो अडानमा कायम नै रहेका छन् । र, निकासका लागि अध्यक्ष दाहालले दुईमध्ये एक पदबाट ओलीले राजीनामा गर्नु पर्छ भनेजस्तै ओलीले पनि यही मंसिरमा एकताको महाधिवेशन गर्ने र उक्त महाधिवेशनबाट आफू अध्यक्षमा नउठ्ने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई अध्यक्ष दाहालसहितका नेकपाका वरिष्ठ नेताहरूले ठाडै अस्विकार गरेपछि नेकपाको नेतृत्व तहमा उत्पन्न भएको विवादले थप जटिल मोड लिएको थियो ।
नेकपाका ७० वर्षको हाराहारीमा पुगेका वरिष्ठ नेताहरूले सत्ताका निम्ति यसरी लामो समयदेखि विवाद गरिरहँदा यो पार्टीका युवा पुस्ताका नेताहरू भने रमितेको भूमिकामा मात्र देखिएका छन् । अहिले सत्ताका लागि विवाद गरी राखेका प्रधानमन्त्री ओलीसँगै अध्यक्ष दाहालले पनि दुईपटक सरकारको नेतृत्व गरिसकेका छन् । यसैगरी अर्का दुई नेता खनाल र माधव नेपालले पनि एक÷ एक पटक सरकारको नेतृत्व गरिसकेका छन् । तर यी कुनै नेताले पनि नेतृत्व गरेको सरकारले उल्लेख्य काम गरेको छैन । यो स्थितिमा प्रधानमन्त्री ओली मात्र असफल भए भन्ने कुनै आधार छैन र सरकार संचालनको मामिलामा नेकपाका सबै शीर्ष नेताहरू असफल सावित भइसकेका हुन् । यसैगरी पार्टी संचालनको मामिलामा पनि एउटा विमानको दुई पाइलटको अवधारणासहित नेकपाको दुई अध्यक्ष भएका ओली र दाहाल समान रूपले जिम्मेवार छन् । यसरी पार्टी संचालनको मामिलामा पनि दुवै अध्यक्ष असफल सावित भएको मान्नु पर्छ किनभने नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ६ महिनाभित्र एकीकरणका सबै प्रक्रिया सम्पन्न गर्ने भनिएको थियो । तर अहिलेसम्म एकीकरण प्रक्रिया सम्पन्न हुन सकेको छैन ।
यो स्थितिमा नेकपाका युवा पुस्ताका नेताहरूले अहिले सत्ताका निम्ति विवाद गरिराखेका पाका नेताहरूमाथि सक्रिय राजनीतिबाट अलग भएर पार्टीको अभिभावकत्व ग्रहण गरी पार्टी र सरकार संचालनको जिम्मेवारी युवा पुस्तालाई दिनुपर्छ भन्ने माग अहिलेसम्म गर्न सकेका छैनन् । जबकि पुराना पुस्ताका नेताहरू असफल सावित भइसकेको उनीहरूको काम कारबाहीले नै प्रमाणित गरिसकेको छ । यो स्थितिमा सत्ताका निम्ति चर्को विवाद गरिराखेका शीर्ष नेताहरूमाथि दबाब बढाउन पनि नेकपाका युवा पुस्ताका नेताहरूले सत्ताको पुस्ता हस्तान्तरणलाई अभियानको रूपमा अगाडि बढाउनु पर्ने थियो । तर नेकपाका युवा पुस्ताका सबै नेताको वर्तमान हैसियत आफ्नो योग्यता र क्षमताको आधारमा नभएर यिनै पाका नेताहरूको छत्रछायाँमा र उनीहरूको अभिभावकत्वमा बन्न गएकाले युवा पुस्ताका नेताहरूले बुढा पुस्ताका पाका नेताहरूलाई सक्रिय राजनीतिबाट सन्न्यास लिन दबाब दिन सक्ने अवस्था छैन ।
सत्तारुढ नेकपामा युवा पुस्ताको जुन अवस्था छ, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा पनि त्यही अवस्था रहेको छ । सभापतिको हैसियतले शेरबहादुर देउवा पूर्णरूपले असफल सावित भइसकेका छन् । यसैगरी सभापति भएर पार्टीलाई सक्षम नेतृत्व दिने कला र क्षमता वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि नभएको उनको कार्यशैलीले नै देखाइसकेको छ । यसैगरी सभापतिका लागि इच्छुक रहेका नेपाली कांग्रेसका अन्य नेताहरू कृष्ण सिटौला, प्रकाशमान सिंह तथा शशांक कोइरालाले पनि पार्टीलाई सही ठाउँमा ल्याएर सही रूपले अगाडि बढाउँछन् भन्ने अवस्था छैन । सभापति देउवा र वरिष्ठ नेता उमेरको हिसाबले ७५ वर्षको हाराहारीमा छन् भने सभापतिका लागि आकांक्षी अन्य नेताहरू ७० वर्षको सेरोफेरोमा छन् । तर यी कुनै नेताहरू प्रति जनताले र पार्टी कार्यकर्ताले आसा गर्ने कुनै ठाउँ छैन । यो स्थितिमा नेपाली कांग्रेसको नेतृत्व पनि युवा पुस्तामा हस्तान्तरण भए त्यसले पार्टीसँगै मुलुकलाई समेत हित गर्न सक्छ भन्न सकिन्छ । तर नेपाली कांग्रेसको युवा पुस्ताका नेताहरूले पनि यी पाका नेताहरूलाई चुनौती दिँदै नेतृत्व हस्तान्तरणको कुरा उठाउन सकेका छैनन् । नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरू पनि नेकपाकै युवा नेताहरूजस्तै बुढा नेताहरूको संरक्षणमा हुर्किएर यहाँसम्म आइपुगेको कारणले गर्दा नेतृत्वको मामिलामा पाको पुस्तालाई चुनौती दिने हैसियत राख्दैनन् ।
त्यस कारण ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको स्थितिमा नेकपाको अर्को वरिष्ठ नेता मुलुकको प्रधानमन्त्री भए पनि वर्तमान अवस्थामा भने कुनै फरक पर्ने देखिँदैन । यसैगरी अध्यक्ष पदबाट ओलीले राजीनामा दिए भने पनि र दाहालले पार्टीलाई एकल अध्यक्षको रूपमा नेतृत्व गर्ने अवसर पाए भने पनि उनले नेकपालाई चुस्त दुरुस्त पार्दै एकीकरणको बाँकी काम सम्पन्न गरेर यही वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्न सक्छन् भन्ने स्थिति छैन ।
उता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवस्था पनि यस्तै छ । आगामी फागुनमा सम्पन्न हुने १४औँ महाधिवशेनबाट सभापतिलगायत नेतृत्व परिवर्तन भए पनि कांग्रेसको अहिलेको ढाँचा र कार्यदिशामा कुनै फरक आउने छैन किनभने जुन सोचबाट देउवाले पार्टी संचालन गरिराखेका छन्, उनका समकक्षी अन्य नेताहरूको सोच पनि सभापति कोइरालाको भन्दा फरक छैन । र, १४औँ महाधिवेशनबाट आउने नेतृत्व पनि यही ढर्राबाट चल्ने निश्चित छ । नेतृत्वमा जबसम्म युवा पुस्ता पुग्दैन पार्टीले परिवर्तनको अनुभूति पनि गर्न सक्दैन । तर नेकपासँगै नेपाली कांग्रेसमा पनि नेतृत्वमा युवा पुस्ता पुग्ने सम्भावना भने छैन ।

Leave a Reply

Your email address will not be published.