सामुदायिक वन अभियानमा संलग्नताको सन्दर्भमा फेकोफन र टेकोफ्याट

लेख

वि.सं. २०५४ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन अभियानलाई सबलीकरण तथा सुदृढीकरणका लागि केही स्वयंसेवी सहजकर्ता राख्ने निर्णय गरेको रहेछ । फेकोफनका राष्ट्रिय कार्यसमितिका सदस्य हरेकले एक, एक जना सिफारिस गर्ने तिनीहरूमध्ये छानेर ५ जनालाई सहजकर्ताको पदमा नियक्ति दिने प्रक्रिया अपनाएको रहेछ । यसरी छनोट प्रक्रियामा पहिला एक विदेशी सार्ला ब्रिटको विद्यावारिधिका लागि अनुसन्धानमा परिचालन भएकामध्ये ७ जनालाई समावेश गराएको थियो भन्ने सुनिएको थियो ।
फेकोफनको कार्यालय पुरानो बानेश्वर पिपलबोटनजिकै थियो । निर्धारण गरेको दिनमा बोलाएर सबैको शैक्षिक प्रमाण पत्रको फोटोकपी वुझाउन लगाइयो । अन्तर्वार्ता दिन लगाइयो । त्यसबाट १२ जनालाई छनोट गरियो । पहिलो चरणवाट छनोटमा परेका हामीलाई फेकोफनको बैठक कोठामा राखियो । मजस्तै प्रतिस्पर्धीलाई नियालेर हेरेँ । सबै अनुभवी देख्छु, सबैभन्दा सानो र कलिलो त आफूलाई मात्र लाग्छ । मसँग ४३ केजी मात्रको ज्यान थियो । २२ वर्षको । उचाइँ ५ फिट २ इन्च । चारैतिर आँखा घुमाएर हेर्दा एक जना भने म जस्तै पातलो केटो देखियो । अनि अलिकति आस पलायो । परिचय त भयो तर कसैको नाम पनि याद भएन अझ त्यो पातलो मान्छेको त नाम एकपटक भन्दा त अर्कै बुझेँ होला । नाम रहेछ ‘चुपबहादुर थापा ।’ पहिलोपटक यस्तो नाम सुन्दा के सही वुझिन्थ्यो र, दिमाखले चोकबहादुर बुझ्यो होला सायद । छनोटमा परेका हामी १२ जनालाई लिखित परीक्षा दिन लगाइयो । एउटा मात्र प्रश्न थियो ‘तपाई यो पदमा किन योग्य हुनुहुन्छ ?’
लिखित परीक्षा राम्रै भयो । लिखितपछि पुनः एकपटक अन्तर्वार्ता भयो । कार्यालयको सबैभन्दा माथिको कोठामा अन्तर्वार्ता भएको थियो । प्रश्न सोध्ने आधादर्जन जति मान्छे थिए । को को थिए पछि, पनि मेसो पाइएन । केहीलाई चाहिँ पछि चिनियोे । फेकोफनका संस्थापक तथा तत्कालिन अध्यक्ष हरिप्रसाद न्यौपाने, उपाध्यक्ष मायादेवी खनाल, फेकोफनका तत्कालिन सल्लाहकारहरू डा.नारायणकाजी श्रेष्ठ, डम्बर तेम्बे हुनुुहुँदो रहेछ, पछि चिनियो । प्रश्न प्रायः सबैले धेरथोर सोध्नु भयो । जानेको रमाइलो पाराले नै उत्तर दिएँ । त्यस मध्येमा डम्बर तेम्बेले सोधेको त्यो बेलाको असजिलो प्रश्न अझै याद छ । उहाँले भन्नुभयो, ‘ सामुदायिक वनको बैठक तथा भेलामा एक जना मात्र बोल्यो अरुले बोल्न पाएनन् भने के गर्नु पर्दछ ?’ मसँग त्यसको रेडिमेड उत्तर थियो । यहि परीक्षामा (परीक्षा भनिएको थिएन तालिममा सहभागी हुने तर शैक्षिक प्रमाणपत्र चाहिने भनिएको थियो तर फेकोफन केन्द्रीय कार्यालयमा आएपछि परीक्षा भन्ने थाहा भयो) सहभागी हुन चरिकोटमा एकपटक अन्तर्वार्ता सामना गरिसकेको थिएँ । यहि प्रश्न गणेश कार्कीले सोध्नु भएको थियो । उत्तर त केही दिएँ तर आफँैलाइ चित्त वुझेको थिएन । गणेश सरलाई सातदोबाटोमा भेट्नासाथ साधेको थिएँ । ‘तपाइको प्रश्नमा मैले के उत्तर दिनु पर्दथ्यो ?’ उहाँले भनी दिनु भयो, ‘मौका दिनु पर्दछ’ भन्नु भयो । काठमाडौंमा लिएको अन्तर्वार्तामा पनि डम्बर सरले त्यही प्रश्न सोध्नु भयो । मसँग रेडिमेड उत्तर हुने नै भयो । कुनै कुरा नसोची प्याक्च भनि दिएँ, ‘मौका दिनु पर्दछ ।’ फेरि उहाँले सोध्नु भयो, ‘लौ न त यहाँ म मात्र बोलेको छु अरुलाई मौका दिनुस् ?’ मैले यस्तो प्रश्न कल्पना गरेको थिइनँ । मलाइ अत्यास लाग्यो । तैपनि भनेँ, ‘तपाइ मात्र किन बोलेको अरुलाई पनि मौका दिनुस्, तपाइको मात्र कोठा हो र ? अरु बोल्न नपाउने ?’ भनेँ । यसरी जवाफ दिएँ की गाली गरेजस्तो गरेर । अन्तर्वार्ता सकियो । फर्किएँ । नाम निस्केला भन्ने लागेको थिएन । त्यहाँका कसैलाई चिनेको पनि थिइनँ । नचिनेको ठाउँमा के जागिर पाइएला र अनि अन्तर्वार्ता पनि गाली गरेकोजस्तो गरी बोलेको छु भन्ने गुन्दै मध्येबानेश्वरमा नै रहेको दिदीको कोठामा बास वस्न पुगेँ ।
अर्को दिन के भएछ भनेर हेर्न गएँ । ७ जना छनोटमा प¥यौँ रे । ती सात जनालाई २ हप्ताभन्दा लामो तालिममा सहभागी गराउने अनि त्यसमा राम्रो गर्नेलाई छनोट गरी जागीर दिने भन्ने जानकारी पाएँ । त्यो तालिम हुने रहेछ कैलालीमा । हामी ७ जनाको रात्रि बसको टिकट व्यवस्था गरिदिएको थियो । हामी (बाग्लुङको हर्कबहादुर थापा, रामेछापको ज्ञानबहादुर गुरुङ, धादिङको हरिहर उप्रेती, हुम्लाको कर्णबहादुर रोकाया, सिन्धुपाल्चोकको चुपबहादुर थापा, सुर्खेतका ऋषिराम थानी र दोलखाको म) लाग्यौँ, कैलालीतिर । नारायणगढ पश्चिम नगएको मान्छे मलाई रमाइलो नै लाग्यो ।
सामुदायिक गठन प्रक्रिया सम्बन्धी तालिम कैलालीको गेटा भन्ने स्थानमा सञ्चालन भएको थियो । यो स्थान पूर्व पश्चिम राजमार्गमा पर्ने सुदूरपश्चिमको केन्द्र अत्तेरियाबाट दक्षिणतर्फ धनगढी जाने सडकको नजिकै पर्दछ । त्यहाँ इकार्डस् नामक संस्थाले जग्गा जमिन लिई तालिम केन्द्र बनाउने कोसिस गरेको थियो । तालिमको आयोजक भने टेकोफ्याट (तराई कम्युनिटी फरेस्ट्री एक्सन टिम) थियो । सामुदायिक वन अभियानलाई तराईमा बिस्तार गर्ने गैससहरूको मोर्चाको रूपमा टेकोफ्याट स्थापना भएको थियो । यो कुनै औपचारिक संस्था होइन, तराईमा सामुदायिक वन अभियान विस्तार गर्नका लागि गैरसरकारी संस्थाहरूको अनौपचारिक संयन्त्र थियो । तर यो सशक्त थियो । तराईमा सामुदायिक वन अभियान ल्याउन यसले प्रभावकारी भूमिका खेलेको थियो । सामुदायिक वनहरू गठन भएर गति लिन थालेपछि सामूहिक सल्लाहमा यो संयन्त्र वा मोर्चा निस्क्रिय वा विघटन पारिएको थियो ।
तालिममा हेमन्त ओझा, गंगादत्त सुवेदी, घनश्याम अवस्थीलगायतले नियमित रूपमा सहजीकरण गर्नु भएको थियो ।
अतिथि प्रशिक्षकका रूपमा डा.नारायणकाजी श्रेष्ठ र चन्द्र राईले पनि केही दिन सहजीकरण गर्नु भएको थियो । यसै तालिमको सिलसिलामा त्यहीँ नजिकै रहेको राष्ट्रिय वन क्षेत्र व्यवस्थापनका लागि एक सामुदायिक वन उपभोक्ता समूह गठनको प्रयोगात्मक अभ्याससमेत गरिएको थियो । घरदैलो, टोल तथा समान चाहना भेला र साधारण सभालगायत प्रक्रियाहरू अपनाएका थियौं । समूहको नामाकरण सम्बन्धी एक अभ्यास अहिले पनि सम्झना आइरहेको छ । विभिन्न टोली तथा साना समूह छलफलबाट विधानको खेस्रा तयार भएको थियो । ती साना समूह छलफलमा संस्था वा समूहको नामको विषयमा छलफल गर्दा हरेकबाट फरक फरक नाम आयो । जव साधारण सभा भयो, तब हरेक टोलका नाम प्रस्तुत भयो । सहमति हुन मुस्किल पर्न गयो । विशेषगरी ३ वटा नाममा आए जुन हुनै पर्दछ भन्ने कुरा चर्कोसँग उठ्यो । एक टोलाट संघारी, अर्कोबाट सहिद अनि अझ अर्कोबाट भीमदत्त पन्त नामहरू प्रस्ताव भए । यी तीनैवटा नाममा दम थियो । चौधरीको बाहुल्यता भएकाले वन हाम्रो साथी हो त्यसैले संघारी भनेको पनि साथी भएको त्यो नाम राखौँ भने । यो तर्क पनि सही थियो । वन नै जीवनको साथी हो । त्यो ठाउँ सहिदको पनि रहेछ । त्यसैले सहिद राखौँ भने । केहीले सुदूर पश्चिमको मात्र नभई जमिनको सवालमा जनअधिकारको पक्षमा लग्ने भीमदत्त पन्त हुन्, उनको नामबाट राख्दा देशमा नै पहिचान हुन्छ भन्ने तर्क आयो । लामो रस्साकस्सी पछि एउटा विषयमा सहमति भई समूहको नाम ‘सहिद संघारी भीमदत्त’ राखिएको थियो । अहिले पनि त्यो सामुदायिक वन होला सायद । त्यो नामाकरणको अभ्यासबाट सामुदायिक वनमा आमसहमति कसरी ल्याउन सकिन्छ भनी हामीलाई महत्वपूर्ण सिकाइ भएको थियो ।
तालिममा सहभागी भई काठमाडौं आइयो । अनि घरतिर लागियो । केही दिन पछि फोन सम्पर्क गर्दा आउनु भनी जानकारी पाइयो । तालिमका प्रशिक्षक तथा सहभागीहरूको समेतको मूल्यांकनका आधारमा फेकोफनलाई हाम्रो नाम सिफारिस भएको रहेछ । सोही आधारमा हामी ५ जना (हर्कबहादुर थापा, ज्ञानबहादुर गुरुङ, कर्णबहादुर रोकाया, चुपबहादुर थापा र म) ले ५ फागुन ०५४ मा सहजकर्ता पदको नियुक्ति पायौँ । तलब पाउने भइयो महिनाको चार हजार । जबकि त्यो बेलामा अधिकृत स्तरको तलब ३ हजार ३ सय रुपैयाँ थियो जस्तो लाग्छ । मेरा लागि यो रकम ठूलो नै थियो । मैलै कामको अनुभव विभिन्न खाmको लिएको भए पनि हाजिर गर्ने जागिर खाएको थिइनँ । यो पहिलो थियो । हामीलाई शुद्ध कर्मचारी होइन, अभियानकर्मीको रूपमा विकास गर्ने सोचका साथ स्वयंसेवी सहजकर्ता भनि नियुक्ति दिइएको थियो ।
हामीलाई बारा जिल्लामा सामुदायिक वन गठन तथा एन्सो कम्पनीले गर्न खोजेको वन व्यवस्थापनमा जनअधिकारको अभियान सञ्चालन गर्न पठाइयो । हामी सहजकर्तामा जागिर पाएकाहरू मध्ये हर्कबहादुर थापाबाहेक अरु ४ जनालाई बारातिर लाग्यौँ । केही रकम पेश्कीबापत बुझ्दै हामी बाराको निजगढ पुग्यौँ । हामीलाई केही सम्पर्क व्यक्तिहरूको नाम दिइएको थियो । कैलालीको तालिममा सहभागी भएका (अरु नै संस्थाबाट) कृष्णप्रसाद चौलागाई र निर्मल भण्डारी निजगढ आसपासकैं हुनुहुन्थ्यो । त्यसैगरी, रामजी बजगाईं निजगढमा नै भेट भयो । उहाँहरूसँग कसरी काम गर्ने छलफल भयो । केही दिन बाराका विभिन्न वस्ती घुम्यौँ । अनि हामी भरतगंज सिंगौल गा.वि.स.मा सामुदायिक वन गठनको प्रक्रिया थाल्ने सल्लाह भयो । हामी त्यता लाग्यौँ । म त्यत्ति घर नछाडेको मान्छे । पहाडतिरको सामान्य भए पनि पक्की घरमा नै बसेको थिएँ । तराईका घरहरू त गोठजस्तो छाप्रो देख्थेँ । तल गाह्रो लगाएको भए पनि माथिल्लो तलामा छानो लगाएको तर वरिपरि ह्वाँगै । त्यस्तै एक घरमा हाम्रो बास मिल्ने भयो । गुन्द्री मात्रै थियो अरु ओड्ने पनि दिएनन् । आफूसँग भएको लुगा लगाएर सुत्नु पर्ने बाध्यता आइलाग्यो । दिउँसो पातलो लुगा लगाउने तर सुत्दा बाक्लो लगाउनु पर्ने भो । जिउमा मान्द्रोको डाम लाग्थ्यो । मकै खान रहर ग¥यौँ । एक पाथी किन्नु पो भनी दिए । मलाई त जागिर छाडेर हिँड्न वा भाग्न मन लाग्यो । तर हामीमध्येका पाका ज्ञानबहादुर गुरुङले सम्झाउनु भयो । उहाँ शिक्षक पेसावाट निवृत्तीभरण लिएर यता लाग्नु भएको थियो । केही दिनपछि बानी परियो, अनि वन क्षेत्रमा टिकियो । केही दिनमा नै त्यो घरबाट सरेर ढुंगा माटोको पक्की घरमा बास पाइयो । त्यो घरको मालिक नौमन भोलन हुनुहुन्थ्यो । पछि यहाँ बस्दा नै रितपूर्वक मित लगाउने काम पनि भयो । मितको नाम लिनु हुन्न भन्छन् क्यार । तर मेरो मितको नाम रामशरण हो । उहाँसँग आजभोलि सम्पर्क छैन । तत्कालिन गाविसका अध्यक्ष बलबहादुर थापासँग समन्वयमा भरतगन्ज सिंगौलमा सामुदायिक अभियान विस्तारमा संलग्न भयौँ । हामीमध्ये केही साथीहरू अमलेखगन्ज, सिमरालगायत क्षेत्रमा क्रियाशिल हुनुभयो । बारा वन व्यवस्थापन र एन्सो कम्पनीसँग सम्बन्धित विषयमा व्यापक छलफलहरू भएका थिए । यसपटक बारा जिल्लामा सामुदायिक वन अभियानका लागि ४० दिन बिताएका थियौँ । क्रमशः

Leave a Reply

Your email address will not be published.