राजनीतिलाई व्यापार बनाउँदै दलहरु

लेख

दलहरुले नेपालको सत्ता सम्हालेको तीनदशक बितिसकेको छ । यसको तुलनामा राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाले नेपालमा २७ वर्ष मात्रै शासन चलाएका थिए । दलहरुले भन्दा छोटो अवधिका लागि शासन गरेको भए पनि पञ्चहरुले नेपालमा धेरै उद्योगहरु खोली चलाउनका सथै महत्वपूर्ण भौतिक पूर्वाधारहरुको निर्माण गराएका थिए । नेपाल राष्ट्रको विकास कार्यहरुलाई लक्ष्यसहितको योजना नै बनाएर अगाडि पञ्चहरुले नै बढाएका थिए । वास्तवमा नेपालको विकासको जग पञ्चहरुले नै बनाएका हुन् भने दलहरुले त्यसलाई भत्काएर उल्टोपाल्टो गर्ने काम मात्रै गरेका छन् । राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थालाई नेपाली जनतामाझ बद्नाम तुल्याउनका निमित्त दलहरुले झुटा प्रचारको साहरा लिएका थिए । राजा, रानी र अन्य राजपरिवारका सदस्यहरुले स्विट्जरल्यान्डको बैंकहरुमा गोप्य रुपले खाताहरु खोली नेपाल राष्ट्रलाई लुटेर पैसा सबै त्यता थुपारेको आरोप लगाएका थिए । सो आरोपलाई दलहरुले ३० वर्ष नेपालको शासन चलाइसक्दा पनि अनुसन्धान गरी सावित गर्न सकेका छैनन् । उल्टै दलका नेताहरुले आफ्नो ३० वर्ष लामो शासन कालमा नेपालमा अनेक भ्रष्टाचार र अपराधका काण्डहरु रची थुपारेका अकुत पैसा विदेशमा लगी लगानी गरेको आरोप खेप्दै छन् । तत्कालिन राजा र राजपरिवारका सदस्यहरु व्यापारमा लागेको हुनाले राष्ट्रको हित हेर्दैन त्यसैले राजनीतिक नेतृत्व गर्नबाट वञ्चित गर्नु पर्छ भन्दै नेपाली जनताको मनमष्तिकमा राजा र राजपरिवारप्रति घृणा पैदा गरिदिएका थिए । फलस्वरुप नेपाली जनता बिस्तारै पञ्चायती व्यवस्थाको विरुद्धमा उत्रिएर दलहरुलाई नेपालको राजकीया सत्ता कब्जा गर्नका लागि सजिलो वतावारण तयार पारिदिएका थिए । यसरी सजिलै सत्तामा पुगेका दलहरु अहिले न भूँई न भारको भएका छन् । पञ्चहरुले ठूलो मेहनतका साथ कोरेका नेपाल राष्ट्रको विकासको खाकामा सामान्य नामहरु परिवर्तन गरी बाघको छालामा स्यालको रजाइँ गर्दै आएका दलहरुले कहिले नेपाललाई सिंगापुर र कहिले स्विट्जरल्यान्ड बनाउने गफ हाँकेर कहिले थाकेनन् । राष्ट्रिय संस्कार केही पनि नभएका दलका नेताहरु सजिलै विदेशीका प्रभावमा पर्दै गए र पञ्चहरुले बसालेको विकासको जग भत्काउने र आत्मनिर्भर नेपालको लागि नभई नहुने उद्योगहरु राजा र पञ्चहरुको मेख मार्ने उद्देश्यले धमाधम बन्द गर्दै लाने काम मात्रै गरेका छन् । फलस्वरुप नेपाल राष्ट्र दलहरुको तीनदशक लामो शासनकाल खण्डको गहणको परिणाम स्वरुप उद्योगविहीन अवस्थामा पुगेकाले पूरै परनिर्भर राष्ट्र बनेको छ । दलहरुले नेपाललाई संस्थागत रुपमा मानव तस्करी गर्ने मुलुकमा रुपान्तरण गरेका छन् । उहिले वीर गोर्खाली र शेर्पाको देशका नामले चिनिने नेपाल राष्ट्रलाई अहिले अदक्ष कामदार आपूर्ति गर्ने मुलुकको नामले चिनाएका छन् । नेपाली महिलाहरु र पुरुषहरुलाई समेत विदेशको यौन बजारमा लगेर यौन व्यापार गर्न बाध्य पारेका छन् । नेपालमा तस्करको लस्कर लागेका छन् र नेपालमा लागुऔषधिको तस्करी, विदेशी मुद्राहरुको तस्करीलगायत मानव तस्करीसम्मको संसारमै घृणित व्यवसायहरु फूले फलेका छन् । दलहरुले नेपालमा दलाल, माफिया, बिचौलिया र नाफाखोर व्यापारीहरुको व्यवसाय खुबै चम्काएका छन् भने उद्योगीहरुलाई अनेक झमेला बढाएर निरास पारेका छन् । पूर्वराजाले व्यापार व्यवसाय गरेकोमा अहिले सत्तामा बसेका दलहरुले खुबै बिरोध गरेका थिए र कुप्रचार गरी जनताको मनमा पूर्वराजाप्रति घृणा उत्पन्न गरिदिएका थिए । राजाले व्यापार गरी बसेमा नेपाली जनताले दुःख पाउँछन् भनी अनर्गल प्रचार गर्दै दलहरु हिँड्ने गरेका थिए । अहिले आएर तिनै दलहरु व्यापारमा लागेका छन् र विदेशमा पैसा लगेर लगानी गर्ने गरेका छन् । केही दलका नेताहरुले स्विट्जरल्यान्डको बैंकहरुमा पैसा पनि जम्मा गरेका छन् भन्ने चर्चा चल्दै छन् । पूर्वराजाले वा अन्य राजपरिवारका सदस्यहरुले त्यसरी पैसा लगेर राखेका छन् भन्ने कुरा दलहरुको कुप्रचार थियो त्यसैले त्यसको अनुसन्धान गरी अहिले सत्तामा बसेका दलहरुले पुष्टी गर्न कहिले पनि सकेनन् । दलहरुले लक्ष्य र उद्देश्यसहितको योजना बनाएर नेपालको विकास गर्न चासो देखाएको छैन । हचुवाको परियोजनाहरु राजनीतिक निर्णयबाट स्वीकृत गरी कार्यान्वयन गराउनमा दलहरु धेरै उत्सुक देखिन्छन् । दलहरुले अगाडि सारेका राष्ट्रिय महत्वको भनिएका ठूला परियोजनाहरु सबै कमिसन खाने उद्देश्यले मात्रै ल्याएका हुन् । पञ्चायत कालमा धेरै लागतका ठूला परियोजनाहरु फाटफुट मात्रै हुने गरेको थियो । ठूला परियोजनाहरु दातृ राष्ट्रकै लगानी र प्रविधिक सहयोगमा निर्माण गरिने चलन थियो । तर आजभोलि नेपालमा त्यस्तो छैन, ठूला लागतको परियोजनाहरु विदेशी बैंकहरुको ऋण सहयोगमा निर्माण गर्ने गरिएका छन् । यस्ता परियोजानहरुको कन्सल्ट्यान्टदेखि लिएर ठेकेदारसम्मको छनोट गर्ने काममा कमिसनको ठूलो चलेखेल हुन्छ । विदेशी कन्सल्टैन्ट र विदेशी ठेकेदार छान्ने काम कमिसन खानका लागि राम्रो स्रोत मानिन्छ । नेपालका दलहरुले खासगरी नेकपा माओवादीले दुईतिहाई बहुमतका साथ आम चुनाव जितेर संघीय सरकार बनाएपछि समृद्ध नेपाल र सुखी नेपालीको विकासे नारा अगाडि सारेको थियो । तर नेकपाले अगाडि सारेका ठूलो लागतका परियोजनाहरु उसको यो विकासे नारा पूरा गर्नेतिर कतैबाट पनि जोडिएको देखिन्न । उद्योगहरु केही नभएको मुलुक नेपालमा नेकपाले बनाउँदै लगेको रेल परियोजनालगायत चौडा व्यापारिक सडक मार्गहरुको कुनै कनेक्सन देखिन्न । नेपालको विकासे चक्रमा महत्वपूर्ण भूमिका भएको औद्योगिक विकास नै गायब भएकाले यो अपूर्ण छ त्सयैले नेकपा सरकारले हचुवाको भरमा बनाउन थालेको रेल सेवाजस्ता पूर्वाधार विकासको परियोजनाहरु नेपालको समृद्धि र नेपाली जनताको सुखसित कतैबाट पनि जोडिएको छैन । गाउँघरतिरको एउटा कथन छ, ‘बिहे गर्ने हतारले केटी माग्न बिर्सियो’ भन्ने त्यहि हालत नेकपा सरकारको भएको छ । हचुवाको विकासमा महत्वपूर्ण लगानी र समय खेर फालेका छन् र नेपाल राष्ट्रलाई समृद्ध होइन झन्झन कंगाल बनाउँदै लगेका छन् । कुनै पनि प्रतिफल तुरुन्तै प्राप्त गर्न नसकिने परियोजनाहरुमा लगानी बढेकाले धेरै लगानी निष्क्रिय बनेर बसेका छन् र त्यसबाट प्रतिफल लिन कति वर्ष कुर्नु पर्ने र कति थप लगानी गर्नु पर्ने हो अनुमान नै लगाउन सकिन्न । दलहरुले नेपालमा राष्ट्रिय ऋण बढाउने, कर बढाउने र महँगी बढाउनेबाहेक अरु काम केही गर्न सकेका छैनन् । नयाँ उद्योगहरु खोल्ने र बन्द भएका उद्योगहरु पुनः खोलेर चलाउनेतिर दलहरुको ध्यान गएको छैन । वैदेशिक रोजगारी र पर्यटन विकासमाथि नेकपा सरकारको ठूलो चासो भएकामा त्यो सबै कोरोना रोगको प्रकोपले गर्दा ठण्डा परेका छन् तर पनि नेकपा सरकार आफ्नो विकासे नीति नै परिवर्तन गरी राष्ट्रलाई आत्मनिर्भरको बाटोमा अगाडि बढाउनेतिर तयार छैन । पूर्वराजा ज्ञानेन्द्रले नेपालमा नै लगानी गरेका छन् । होटेल, चिया बगानदेखि लिएर कृषि र वन्य उपज कच्चा पदार्थ रहेका उद्योगहरु उनले नेपालमा सञ्चालन गरेका छन् । दलहरुले लगाएको आरोपमा उल्लेख भएकोजस्तो विदेशमा पूर्वराजाले लगानी गरेका छैनन् । दलका नेताहरुले भने नाफाखोर व्यापारीहरुसित मिलेर विदेशमा समेत लगानी गरेको चर्चा चलेको छ । दलहरुले नेपालको राजनीतिलाई आफ्नो व्यापार व्यवसाय बनाएका छन् भन्ने आरोप लागेको छ । दलका राजनीतिक कार्यकर्ताहरु बिचौलिए भएका छन् र माफिया दलालहरुको फाइल च्यापेर राष्ट्रघातीहरुलाई काम दिलाउनका लागि सिंहदरबारभित्र रहेका मन्त्रालयहरु नियमित धाउने गर्दछन् । दलहरुका राजनीतिक कार्यकर्ताहरु सबै यसरी दलाल बनेका छन् भने नेताहरु उता कालो धन जम्मा गर्दै यस आरामको जिन्दगी बिताउनेतिर उद्यत् भएर लागेका छन् । दलका नेताहरुका लागि नाफाखोर व्यापारीहरु, घरजग्गाका दलालहरु, मुद्रा तस्करहरु, मानव तस्करहरु, लागुऔषधका तस्करहरु, विदेशीका दलाल बिचौलियाहरुले सबै ऐसआरामका साधन र स्रोतहरु जुटाइदिएका छन् । तैपनि दलका नेताहरुलाई पुगेको छैन त्यसैले राजनीतिक नियुक्तीहरुदेखि लिएर समानुपातिकका सांसदहरु बनाउनेसम्मका सार्वजनिक पदहरु सबै मिलेर भागबन्डा गरी बेचेर खान्छन् । नेताहरुले आफ्ना नातेदार र कुटुम्बहरुलाई कसैलाई राजदूत र कसैलाई सार्वजनिक संस्थानहरुको उच्चपदाधिकारीहरु बनाइसकेका छन् । सांसद पद किनेर कुख्यात व्यापारीहरु र विदेशीका दलालहरु नेपालको सांसद बनेर संघीय राजनीतिक व्यवस्था र दलका नेताहरुको धज्जी उडाउँदै संसारभर नेपाल राष्ट्रलाई बद्नाम तुल्याएका छन् । दलका नेताहरु लोभी र पापी बनेको हुनाले नेपालमा राजनीतिक स्थिरता आउन सकेको छैन र नेपाल राष्ट्रको तीनदशक लामो महत्वपूर्ण समय त्यसैखेर गएको छ । यो समयमा मेहनत गर्नेहरु धनाबाट तना भएका छन् भने भ्रष्टाचार र अपराध गर्नेहरु तनाबाट धना भएका छन् । दलहरुले कामगरी खाने मेहनती जनतालाई बेरोजगार तुल्याएका छन् भने विदेशीको दलाली र बिचौलियागिरी गरी खानेहरुलाई मालामाल बनाइदिएका छन् । राष्ट्रको उद्योगहरु सुकेका छन् भने नाफाखोर व्यापारीहरुको आयात व्यापार फुकेको फुकेकै छन् । उद्योगीलाई लगानी गर्न दिनुपर्ने राष्ट्रको महत्वपूर्ण लगानी यतिबेला नाफाखोर व्यापारीहरुको हातमा पुगेका छन् र आयात व्यपारमा लगानी गरी वर्षमा दश दोब्बर नाफा निकाली खाएका खाएकै छन् । उता लगानी छैन भन्दै पहिले राम्रैसित चलेको राष्ट्रको उत्पादन गर्ने उद्योगहरुलाई एकपछि अर्को यिनै उल्टो बुद्धि भएका दलका नेताहरुले बन्द गरेका छन् र पुनः खोली चलाउनेमा ध्यान पटक्कै दिएका छैनन् । यस्ता उल्टो बुद्धि भएका अनि लोभ र पापमा फसेका दलका नेताहरुलाई सत्ताबाट ननिकालेर नफ्याँकेसम्म अब नेपाल राष्ट्रको उन्नति प्रगति नहुने पक्का देखिन्छ । राजा आऊ देश बचाऊ भन्ने नारा मात्रै लगाएर अब पुग्दैन, दलहरुलाई फाल भन्ने नारा घन्काउँदै नेपाली जनता सक्रिय हुन नितान्त जरुरी भएको छ ।

Leave a Reply

Your email address will not be published.