तालिममा खेताला जाँदा

लेख विविध शिक्षा/स्वास्थ समाचार

फेकोफनमा काम गरिरहँदा बाह्य तालिम चलाउने अवसर पनि बेला बेलामा आउने गर्दथ्यो । हामीलाई पहिलो अवसर फेकोफनमा काम गर्न थालेको एक वर्ष काट्नासाथ पाएका थियौँ । फेकोफनको संरचनाभित्र तालिम डिजाइन र सञ्चालनमा चुप र भोलाको नाम आउँथ्यो । हामी तुलनात्मक रुपमा अलि कलिला, भविष्यको बाटो निर्धारण गर्नु पर्ने बेलाका केही सिक्ने रहर पनि भएका थियौँ । हामीसँग तालिम लिएरभन्दा दिएर धेरै सिक्न सकिन्छ भन्ने विश्वास थियो । सहकर्मी चुपबहादुर थापा चाहिँ अस्ट्रेलियन वन परियोजनाले दिएको मोडुलर प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भएका थिए । हुकुमबहादुर सिंह र उत्तम उपाध्यायको सहजीकरण शैली असाध्यै राम्रो थियो । तर मेरो उनीहरुसँग त्यो तहको संगत हुने मौका मिलेन । सहकर्मी थापाले मोडुलर तालिममा सिकेको कुरा र सामग्रीहरु मलाई दिन्थे । सँगसँगै तालिम चलाउने मौका पाएकाले पनि धेरै सिक्न पाएँ । फेकोफनका पाठ्यक्रम तयार गर्दा सोही ढाँचाको नै प्रयोग हुन्थ्यो । त्यो ढाँचामा आधारित पाठयोजना धेरै प्रकाशित भएका छन् । अहिले नामै लिनु पर्दा ‘सामुदायिक वन गठन प्रक्रियासम्बन्धी पाठ्यक्रम’ फेकोफन र वाच मिलेर प्रकाशन भएको छ । म भने डम्बर तेम्बेको सहजीकरण र प्रस्तुती शैलीेबाट धेरै प्रभावित छु । उनको संगतमा तालिमे कलालाई अलि व्यवस्थित गराउन सकियो । उनी समेतले फेकोफनमा नै दिएको सहजीकरण सीप सम्बन्धी तालिम मेरो तालिमे जीवनमा वरदान सावित भएको छ ।
फेकोफनप्रतिको आकर्षण
डम्बर तेम्बेसँग चिनजान हुँदा एसडिसीअन्तर्गत काम गर्थे । केही वर्षपछि उनी चुरे वन विकास परियोजना लहानमा प्रमुख भएर गए । चुप र मलाई त्यहाँको पार्टनर संस्थामा जागिरको कुरा गरेका थिए । त्यो बेलामा फेकोफनमा ४ हजार तलब थियो उता जाँदा १४ हजार हुने थियो । उनले उता जाने हो भने फेकोफनको सहमति लिएर मात्र जानु पर्दछ । म फेकोफनसँग कुरा गरौँला भने । हामी दुईले समीक्षा ग¥यौँ । फाइदा बेफाइदा केलायौँ । पैसा धेरै उता तर नेटवर्किङ अवसर यता । एक जिल्लामा वस्नु पर्ने उता नेपाल दौडन पाइने यता । आर्थिकलगायत सुविधा उता विभिन्न जिल्लाका मान्छेसँग भेट हुँदै राष्ट्रव्यापी अभियान यता । प्रोफेसनल एनजिओकर्मी बन्ने उता वन अभियानकर्मी हुने यता ।
फेकोफनको अध्यक्ष हुने संभावना वोकेका तत्कालिन सदस्य सचिव भीमप्रसाद श्रेष्ठसँग सल्लाह ग¥यौँ । उनले नजाओ, म अध्यक्ष भए पछि उता जत्तिकै नभए पनि तिमीहरुको राम्रो व्यवस्था गरिदिँउला भने । हामीले मान्यौँ । नभन्दै उनी अध्यक्ष भए पछि ९ हजार तलब पु¥याइदिए । हामी सबैको टेबुलमा कम्प्युटर बस्यो । जबकि त्यो बेलामा कम्प्युटर भएको कोठमा जुत्ता खोलेर जानु पर्छ नत्र भाइरस सर्छ भनिन्थ्यो ।
पहिलोपटक खेताला जाँदा
फेकोफनको पहिलो परिषद्् ०५४ मा हेटौँडामा भएको थियो । सो प्रत्यक्षदर्शी भएको त्यहाँ बहिष्कारको कुरो पनि चलेको थियो । फेकोफनका कतिपय पदाधिकारीहरुले मञ्च छाडेको प्रतिनिधिहरुले छाराष्ट बोलेको दृश्य अझै पनि ताजै छ । यस विषयमा अर्को कुनै शृंखलामा लेखौँला ।
दोस्रो राष्ट्रिय परिषद् झापामा भएको थियो । परिषद्् भनेको फेकोफनको दोस्रो सर्वोच्च अंग हो । हामी पनि झापामा हुने परिषद्को तयारीमा जुटिरहेका थियौँ । दोस्रो परिषद्मा चुप र भोला नजाने भन्ने कुरा आयो । नेपाल स्वीस सामुदायिक वन परियोजना र हिमवन्ती नेपालले चलाएको मोडुलर तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका पाउने भएछौँ । हामीलाई प्रशिक्षकको रुपमा छनोट गर्ने काम डम्बर तेम्बेले गरेका रहेछन् । तालिम र परिषद्को मिति जुध्यो ।
हामी २ जना चरिकोटमा सञ्चालन हुने ‘सामुदायिक वन विकास प्रक्रिया’ तालिमको सहजीकरण गर्नु पर्ने भयो । हिमवन्ती नेपाललगायत अन्य केही परियोजनाबाट सहभागी छनोट गरेको थियो । दोलखा, रामेछाप र ओखलढुंगाबाट ५÷५ त्यसैगरी धादिङ, चितवन र काठमाडौंबाट १÷१ जना, झापा र पाल्पाबाट २÷२ दिदीवहिनीहरु तालिमका सहभागी थिए । पुरुषहरु भनेको प्रशिक्षकको भूमिका हामी २ मात्रै । यी सहभागीहरु विभिन्न परियोजनाहरुले छानेर पठाएका थिए । चरिकोटस्थित नेपाल स्वीस सामुदायिक वन परियोजनाको कार्यालयको बुइकलमा ०५५ चैत ३ देखि १३ सम्म तालिम सञ्चालन भएको थियो । दिउँसो हामी २ भाइले सहजीकरण गर्दथ्यौँ । बेलुका डम्बर तेम्बेसँग समीक्षा गर्दथ्यौँ । हामीले तालिममा सहजीकरण गरिरहँदा डम्बर तेम्बे तल्लो तलामा बसेर सुनिरहन्थे । बेलुका घुमाउरो पाराले पृष्ठपोषण दिन्थे । उनी तालिम कक्षमा नै बसेको भए पक्कै पनि सहजीकरण गर्न असजिलो मान्थ्यौँ होला । हाम्रो बसाइ भने सातदोबाटो चोकमा अवस्थित लक्ष्मी लजमा थियो । सामुदायिक वनको अवधारणा, वन विकास गुरुयोजना, कानुनी व्यवस्था, विधान र वन कार्ययोजना, सामुदायिक वन गठन प्रक्रिया, फेकोफनको परिचयजस्ता विषयवस्तुहरु समावेश गरिएको थियो । तालिमको अवधिमा एक दिन फिल्ड भ्रमणमा पनि थियो । नजिकैको सिम्पानी सामुदायिक वन र म समेत उपभोक्ता भएको चुच्चे ढुंगा ठाडो पाखो सामुदायिक वनमा गएका थियौँ । हाम्रो घरमा गएर मकै र मोहीसमेत खाएका थियौँ ।
पहिलो प्रशिक्षण शुल्कमा फेकोफनको लेबी
हामीले जनही रु. १० हजार प्रशिक्षण शुल्क पायौँ । जबकि तलब ४ हजार थियो । हाम्रा लागि त्यो रकम धेरै नै थियो । तालिमपछि म केही दिन घरतिरै बसेँ । चुप र तालिमका केही सहभागीहरु काठमाडौंतिर आए । त्यत्रो पैसा पाएको खुसीमा चुपले मुडेमा टन्नै खाजा खुवाएछन् । मेरो घर बन्दै थियो । छानोका लागि जस्ता किन्न ३ हजार खर्च गरेँ । सहकर्मी चुपले पनि त्यो पैसाबाट रु ३५०० खर्च गरी खरको छानोलाई विस्थापित गराई सेतो जस्ता हालेछन् । घर र गाउँमा उल्कै रमाइलो भयो होला ।
फेकोफनले त्यो तालिममा पठाउँदा केही भनेको थिएन पछि हामीसँग जनही रु ३ हजार ५ सय रुपैया बुझाउनु परेको थियो । कर्मचारी अन्यत्र काम गर्न जाँदा केही प्रतिशत फेकोफनलाई बुझाउन नियम बनाइएको थियो । सायद आर्थिक रुपमा दिगोपनाका लागि गरेको प्रयासको एक अंश थियो होला । अवधारणा ठिक थियो तर पैसा खर्च गरिसकेपछि नियम बनाइयो । एक महिनाको तलब ५ सयमा चित्त बुझाउनु परेको थियो । अरुलाई नियम लागू गरेको सुनिएन । त्यो पैसा कता खर्च गरियो मेसो पनि भएन । यो अवधारणाले निरन्तरता पाएको भए संस्थाको आर्थिक अवस्था कति गतिलो हुन्थ्यो होला ।
रावणसँगको भेट र चन्दा
त्यस्तै, खेतालो जाने अर्को अवसर हामी २ लाई सेसीले सञ्चालन गरेको सिबेड परियोजनाअन्तर्गत पनि मिलेको थियो । सेसी भन्ने क्यानाडेली संस्थाले डडेल्धुरा, बैतडी, जुम्लालगायत जिल्लामा सिबेड नामक परियोजना चलाएको थियो । हामीले बैतडी र जुम्लामा ५÷५ दिने तालिममा खेताला जाने अवसर पाएका थियौँ । जुम्ला हाम्रा लागि नयाँ थियो । काठमाडौंबाट नेपालगन्जसम्म हवाइजहाज चढ्न पाइने, फेकोफनभन्दा धेरै भत्ता पनि पाइने । खुसी भयौँ । त्यती बेलामा काठमाडौंदेखि धनगढी जहाज थिएन । काठमाडौंदेखि नेपालगन्जसम्मको हवाइजहाज टिकट खर्च रु. २४०० र एयरपोर्ट ट्याक्स छुट्टै ११० तिर्नु पर्दथ्यो । नेपालगन्जबाट अत्तेरियासम्म गाडीमा गएरु बास बस्यौँ । भोलिपल्ट बिहानै त्यहाँबाट जनही ३१० रुपैयामा बसको टिकट काटी बैतडी लाग्यौँ । डडेल्धुरा सदरमुकामभन्दा केही परसम्म पिच थियो त्यसपछि कच्ची बाटो हैरान हुने थियो ।
यी दुवै जिल्लामा ‘सामुदायिक परिचयात्मक र तथा सहजीकरण सीप विकास तालिम’ फेकोफनको जिल्ला संरचनाका लागि थियो । सेसी सिबेडको तर्फबाट हामीसँग समन्वय गर्ने नेत्र भण्डारी थिए । उनको श्रीमती विदेशी थिइन् । नाम ग्रिट उनको माइती जर्मनीजस्तो लाग्छ । उनी पनि बैतडी नै गएकी थिइन् । हामीले शाही लेकमा ०५७ कात्तिक २३ देखि ५ दिनसम्म तालिम सञ्चालन गरेका थियौँ । जिल्ला वन अधिकृत प्रकाश लम्साल, सिवेडका वन प्राविधिक प्रकाश झा, सेसी सिवेडका भुवन भट्टसँग दोहोरो गफगाफ अनुभव आदानप्रदान भयो । फेकोफन बैतडीका अध्यक्ष भुवन शर्मा र सचिव कृष्णसिंह भण्डारी थिए । शाहीलेक नै घर भएका तेजसिंह भण्डारी अर्का रमाइला सहभागी थिए । उनी जुंगे दाइ भनेर चिनिन्थे । दुखःद कुरा, उनी भर्खरै ०७७ भदौ २७ गते हृदयघात भएर बितेछन् ।
बैतडीमा ‘रामलिला’ नाटक प्रस्तुत हुने बेला रहेछ । रावणको भूमिकामा सिवेड परियोजनाका जिल्ला संयोजक भुवन भट्ट थिए । मान्छे डरलाग्दा नै देखिन्थे । दिउँसो परियोजनाको हाकिम राति चाहिँ रावण भनी हामी हाँसो गर्दथ्यौँ । एक रात गोठालापानीभन्दा अलि तल थालीडाँडामा रामलिला हेर्न गयौँ । चन्दा दिने चलन रहेछ, दिने मान्छेको नाम माइकबाट उद्घोष गर्दा रहेछन् । हामी २ जनाले रु. १५० दियौँ ।
सदरमुकाममा रहेको कोट हेर्न गयौँ । पहिलाका राजाहरु सुरक्षाको दृष्टिकोणबाट चारैतिरको उँचो भएको स्थानमा बस्दा रहेछन् तर त्यस्तो टुप्पोमा पानीको कुवा देखेर हामी छक्क प¥यौँ ।
बियर र ठगी
जुम्ला भने मंसिर महिनातिर गएका थियौँ । फेकोफनको अध्यक्ष हरिप्रसाद न्यौपाने र हामी दुई गएका थियौँ । नेपालगन्जसम्म हवाइजहाज अनी त्यहाँबाट पनि अर्को विकल्प थिएन । जुम्ला जान टिकट पाउन साह्रै मुस्किल पर्ने । हामी एयरपोर्ट नजिकै राँझामा रहेको लुम्बिनी गीता होटलमा बास बस्यौँ । भोलिपल्ट नै एक टिकट मिल्यो । जिल्ला अधिवेशन भएकाले हामी २ लाई नेपालगन्ज छाडेर हरि न्यौपाने उडे । टिकट नपाएर ३ दिन होटलमा बस्यौँ ।
एक दिन चाहिँ मात्ने गरी बियर खाउँ भन्ने सल्लाह ग¥यौँ । सेकुवा मगायौँ । बियर ल्याउन लगायौँ । गिलासमा हाल्न पनि जानिएन । फिँज पोखियो । ३ बोतल पियौँ । मातेको अनुभव लिनु थियो । मात्दै मातिएन । लौ मातिँदो रहेनछ, नखाउँ भनेर थपिएन । अहिले सम्झदा दुवै मातेछौँ क्यार दुवैले अर्कालाई मातेको देखेनौँ होला ।
तेस्रो दिन टिकट मिल्यो । विमानस्थल जानु पर्ने बेला भयो । होटलको हिसाब माग्छौँ त रु १ हजार ७ सय पो भन्छ । त्यो बेलामा बियरको ८० रुपैया जति पथ्र्यो होला । एक हजारभन्दा बढी कसैगरी हुँदैनथ्यो । होटलवाला भनेपछि नतिरी भएन । ति¥यौँ । एयरपोर्ट ट्याक्स पनि तिर्नु पर्छ भनी एक हजारको खुद्रा माग्यौँ । साहुले दियो । चुपजीले पैसा दिएको भने । साहुले दिए भने मैले पनि अँ भनेँ । रिक्सामा बसेर आफैँलाई शंका लागेर आफ्नो पैसा गन्न थालेँ । चुपले किन गनेको भने । साटेको हजारको नोट दिएनछौँ भनेँ । साहुले साटेको पैसा नदिएकाले ठगीजस्तो भयो । फिर्ता दिन जाउँ पनि भन्यौँ तर उसले बिल बढाएर ठगेको सम्झियौँ । हामी फर्किएनौँ । साहु सम्झेर आउला बेइज्जत गर्ला भन्ने डर विमानस्थलभित्र, प्लेनमा चढेर नउड्दासम्म पनि लागिरह्यो । त्यति मात्र होइन, फर्केर आउँदा पनि समात्छ की भन्ने डर लागिरह्यो । अहिले पनि त्यो बाटो हिँड्दा मन ढक्क हुन्छ ।
चामल भएर उडियो जुम्ला
स्थानीय एजेन्ट राम श्रेष्ठबाट जनही रु ४११० तिरेर यति एयरलाइन्सको टिकट पायौँ । चामल बोक्ने प्लेन हुँदा रहेछन् । मान्छेको भाडाभन्दा झन्डै चौबर पैसा तिरेर हामी प्लेन चढेका थियौँ । जुम्लाबाट फर्कँदा हामीले रु. ११०० मात्र ति¥यौँ । जुम्ला जान मुस्किल पर्ने रहेछ । हामी मान्छे भएर गएका थिएनौँ, हाम्रो तौल बराबरको चामलको बोरा झारेर हामी चढेका थियौँ । कर्णाली अञ्चल टेकेको थिएन । उत्सुकता मनभरी थियो । करिब ४० मिनेटको यात्रामा छिन्चु, वीरेन्द्रनगर, दैलेख देख्दै हिउँलाई नजिकैबाट हेर्दै रमाइलो मान्दै जुम्ला विमानस्थल पुग्यौँ । जुम्लाको सदरमुकाम तिला नदीको किनारमा रहेकोे अन्यन्त सुन्दर ठाउँ अझै पनि झल्झल्ती याद आउँछ ।
कर्णालीको सुगम जुम्ला
खाजामा सधैँ मासु हुन्थ्यो तर मासु चाहिँ चाम्रो । जिल्ला फेकोफनका अध्यक्ष क्षेत्र वुढथापा, सचिव पूर्णशेखर देवकोटा, गोकर्ण चौलागाइँ, गोमा भण्डारीहरुको नाम अहिले पनि याद छ । त्यसै गरी सुकराम रावल नाम गरेका एक गाविसका अध्यक्ष, नेमकिपाका जिल्ला सचिव राजबहादुर अधिकारी पनि तालिममा सहभागी थिए । जुम्लामा नेमकिपाको राम्रो प्रभाव थियो । तालिम सञ्चालन प्रभावकारी नै भयो । सिवेडका जिल्ला मेनेजर विष्णु श्रेष्ठ र फरेष्ट अफिसर ठाकुर भट्टराईसँग गफगाफ हुन्थ्यो । २३०० मिटरको उचाइमा रहेका खलंगामा त्यो समयमा माइनस ५ डिग्री सेल्सियस थियो । तातोपानी नभई नहुने । नुहाउन सक्ने कुरै भएन । मुख धोएर कपाललाई तातोपानीले पुछ्दा जमेर हिउँ बन्थ्यो । संसारको सबैभन्दा उचाइँमा धान फल्ने स्थान पनि यहि रहेछ । त्यसबेला ३० वटा गाविस र ९ वटा इलाका थियो । तर यो जिल्ला कर्णालीको अञ्चलकै सबैभन्दा सुगम जिल्ला हो । सदरमुकामबाट जुम्लाको सीमासम्म पुग्न २ दिनभन्दा बढी लाग्दैन भनेको सुनियो । यो जिल्लामा साह्रै उकालो पनि १ घन्टाभन्दा बढी खासै हिँड्नु पर्दैन । खस जातिको उद्गमस्थल सिंजा पुग्न पनि सदरमुकामबाट २ दिन पैदल लाग्छ, मुगु जिल्लामा रहेको रारा ताल पुग्न पनि त्यत्ति नै समय लाग्छ रे ।
कर्ण, लक्ष्मण, धन, गोमाहरुले हामीलाई पथप्रदर्शकका काम गरेका थिए । कर्णाली टेक्निकल स्कुलतिर पनि पुग्यौँ । चन्दनाथ मन्दिर चर्चित स्थल हो । त्यो मन्दिरभन्दा माथिबाट प्लेन उडाइँदैन भन्ने चलन सुनिएको थियो । खलंगामा नै मैले पहिलोपटक स्याउको बोट देखेको । गोमाले हामीलाई २७ दाना स्याउसमेत कोशेली दिएकी थिइन । स्याउ देख्दा राम्रो होइन, खाँदा साह्रै रसिलो र मिठो पनि ।
खोल्सी तर्न खोज्दा उत्तानोटाङ
एक दिन बिहानै हामी २ जना मात्रै नजिकै रहेको ठाडो खोल्सी तरेर पारी जाने विचार ग¥यौँ । खोल्सीको पानी जमेकोले टेकेर नै हिँड्न मिल्थ्यो तर चिप्लो हुने डर थियो । क्षत्रीको छोरो चुपलाई सु¥याएँ । तपाई फुत्त पारी जान सक्नुहुन्छ ? उनले किन नसक्नु भनी खोल्सीको बीचमा एउटा चाक्लो ढुँगा थियो त्यसैमा फड्केर पुग्ने कोसिस गरे । चिप्लो रहेछ । चुप त बर्लांग खोल्सीको हिउँरुपी पानीमा उत्तानो परे । सामान्य चोट नै लाग्यो । पानी तल बगिरहेको भए पनि माथिको पानी चाहिँ जमेर ठोस भएको हुन्थ्यो ।
जुम्लामा हुँदा नुहाउन मनै लागेन, जब नेपालगन्ज झ¥यौँ, शरीर चिलाउन थाल्यो । अनुहार पनि कालो भएको महुसस गरियो । जुम्लामा आगो खुब तापिन्थ्यो अनी हावा पनि सुख्खा नै चल्थ्यो । त्यही भएर अनुसार खस्रो भएको थियो । नेपालगन्जमा विनायक गेस्ट हाउसमा बस्यौँ । एटेच ट्वाइलेट भएको कोठा भाडा रु १५० मात्र थियो । पछिल्लो दिन बिहान भारतीय सीमा रुपडियामा रु. ३६५ मा प्रेसरकुकर किन्यौँ । त्यहाँ सस्तो र गुणस्तरीय सामान पाइन्थ्यो । अनी त्यही दिन बुद्ध एयरबाट हामी काठमाडौं फर्कियौँ ।
भत्ताले घडेरी
बैतडी र जुम्ला आउँदा जाँदा र तालिमको अवधिको प्रतिदिन प्रतिव्यक्ति रु ४ सय भत्ता पाइन्थ्यो । यो सेसीबाट सोझै पाइन्थ्यो । यसको भने फेकोफनलाई वुझाउनु परेन । अनी हवाइजहाज टिकटको खर्च पनि आफैँले गरेर पछि बिल पेस गरी सेसीबाट दाबी गर्नु पर्दथ्यो । टिकटको खर्च मैले नै गरेको थिएँ । दुवै ठाउँ जाँदाको बस, प्लेन टिकट र प्रतिदिन ४ सयको भत्तासमेत जोड्दा मलाई एकमुष्ट राम्रै पैसा जम्मा भयो । त्यो पैसा लगेर मैले चरिकोट चोथाङमा एक घडेरी किनेँ । करिब ३८ हजारमा ३ आना जग्गा । अहिले त्यो जग्गा १२ देखि १५ लाखसम्म पर्छ होला । जग्गा खरिद गर्ने काम मेरो जीवनको दोस्रो थियो । ५ वर्षअघितिर सोही स्थानभन्दा अलि तल माइलो दाजु र म भएर झन्डै ७ रोपनी जग्गा प्रतिरोपनी एक हजारमा किनेका थियौँ । अहिले रोपनीको वार्षिक हजारभन्दा बढी तिरेर बँगुर व्यवसायीले कृषि कर्म गरिरहेका छन् । क्रमशः

Leave a Reply

Your email address will not be published.