जहाँ बालकृष्ण शिवाकोटी त्यहीँ सफलता

अन्तरवार्ता पर्यटन प्रदेश ३ प्रमुख राजनीति

बालकृष्ण शिवाकोटीको नाम नसुन्ने विरलै होलान् किनभने उनी जहाँ जान्छन् अर्थात् हात हाल्छन् त्यही सफलता हासिल गर्छन् । हो, उनै शिवाकोटी लगानी बोर्डका सदस्य रहेका छन् । शिवाकोटी ०७३ साउनमा लगानी बोर्डमा मनोनित भएका थिए । मेगा बैंकका सञ्चालक समिति सदस्य शिवाकोटी कालिञ्चोक केवलकारका सञ्चालक पनि हुन् । करिब १ दर्जनभन्दा बढी उद्योग तथा व्यवसायमा उनको संलग्नता छ । पारिवारिक पृष्ठभूमि नै उनको व्यवसायिक भएकाले उनी पनि व्यवसायमा नै रमाउन खोजे र व्यवसायमा भिज्दै गए । उनलाई व्यवसायी मात्र भन्दा बिनाचिनीको चियाजस्तो होला सायद, किनभने उनी एक समाजसेवीका साथै राजनीतिकर्मी पनि हुन्् । उनै शिवाकोटीसँग कोरोनापछि नेपाली उद्योगीले भोगेका समस्या, सरकारसँग व्यवसायीहरुको अपेक्षा, अपेक्षाहरु कति पूरा भए ? कर तथा दोलखा समृद्धिमा केवलकारको भूमिका के रह्यो ? यहि सेरोफेरोमा ताकाकोशी सन्देश साप्ताहिकले प्रश्न राखेको छ ।
० कोरोना कहरपछि नेपाली उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्या के के हुन्् ?
कोरोनाका कारण विश्व अर्थतन्त्र खस्किरहेको बेला त्यसको प्रत्यक्ष तथा परोक्ष प्रभावमा नेपाली अर्थतन्त्र पनि परेको छ । अरु देशको तुलनामा नेपालमा मृत्युदर भने कम रहेको छ । पर्यटन, शैक्षिकदेखि सम्पूर्ण क्षेत्र धरासयी नै रहेको छ । रिप्पल इफेक्ट अर्थात् प्रहारको तरंग विस्तारै नेपाली अर्थतन्त्र र त्यसको प्रत्यक्ष असर नेपालीहरुको जनजीवनमा पनि पर्न थालेको छ । कोरोनाको विश्व महामारीका बीच आयात, निर्यातदेखि पर्यटन, व्यापार, वैदेशिक श्रम तथा रोजगारको क्षेत्रमा समेत कोरोनाको रिप्पल इफेक्ट परेको छ ।
कोरोनाकै कारण आयात निर्यात ठप्प हुँदा आर्थिक गतिविधि हुन सकेको छैन भने कोरोनाकै कारण देशभित्र सञ्चालित आयोजना परियोजनाहरु अघि बढ्न सकेका छैनन् । श्रमशक्ति, वस्तु तथा सेवाको अभावमा उद्योग कलकारखाना सञ्चालन हुन सकेका छैनन् भने अन्तरदेशीय बोर्ड तथा पोर्टहरुको कडाइका कारण वैदेशिक व्यापार व्यवसाय चल्न सकेको छैन । कोरोनाकै कारण वैदेशिक रोजगारीमा समेत प्रभाव परेको छ । जसका कारण देशका आर्थिक गतिविधि सुस्ताउँदै जान थालेका छन् ।
वैदेशिक रोजगारीमा परेको प्रभाव अबको केही दिनमा नै रेमिटेन्समा समेत पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम बजार रोकिएसँगै मुलुकको अर्थतन्त्रको प्रमुख आधार बिप्रेषण (रेमिटेन्स)को दर अनपेक्षित रूपमा घट्ने निश्चितजस्तै छ । यसो हुँदा नेपालको अर्थतन्त्र थप कमजोर बन्ने छ । उद्योग÷ व्यापार क्षेत्र भने वस्तु तथा सेवाको आयात निर्यातमा प्रभाव परेसँगै स्वतः रूपमा त्यसले प्रभाव उद्योग तथा व्यापार क्षेत्र पर्न जान्छ । उद्योगलाई चाहिने कच्चा पदार्थको बाहिरबाट आयात हुन सक्दैन भने अर्कोतर्फ उत्पादित वस्तुसमेत बाहिर निर्यात हुन सक्दैन । अहिले नेपाली उद्योगहरुले यही समस्या भोगिरहेका छन् । अहिले स्वदेशी अधिकांश उद्योगहरु कोरोनाको समस्याको फेस गरिरहेका छन् ।
० तपाई नेकपाकै चल्तापूर्जा नेता । यो सरकारसँग उद्योगी व्यवसायीहरुले के कस्ता अपेक्षा राखेका छन् ?
सरकारले सकेसम्म सबै काम गरेको छ । गरेन भन्न पनि मिल्दैन । देशको आर्थिक अवस्था, अर्थतन्त्र अवस्था हेरेर हामी उद्योगी व्यापारीहरुले केही पाइन्छ भनेर सोच्ने हो । देशको अवस्था गम्भीर रहेको छ । उद्योगधन्दा रिभाइज गर्न मुस्किल रहेको छ यस्तो अवस्थामा हामी व्यवसायीहरु सरकारसँग बैंकको ब्याज कमी गराऊ, बैंकको ब्याज कम्तीमा ३ वर्षका लागि ५ प्रतिशत घटाइनुपर्ने यस्तै, एक खर्ब रुपैयाँको कोष खडा गरी घाटामा जाने उद्योग, व्यापार तथा सेवा व्यवसायका लागि तीन वर्ष अवधिका लागि तीन प्रतिशत पुनर्कर्जा कोषले व्यहोर्ने र दुई प्रतिशत सम्बन्धित बैंकले स्प्रेड रेटबाट मिलान गर्ने गरी कर्जा उपलब्ध गराइनुपर्ने मागहरु रहेका छन् ।

० ती अपेक्षाहरु कति पूरा भएका छन् ?
व्यवसायीहरुको धेरै अपेक्षा हुन्छन् । सबै त कहाँ पूरा गर्न सक्छन् र ? तर, सरकारले ल्याएको मौद्रक नीतिले केहि मल्हम भने लगाउन पाएका छन् । ब्याजमा केही छुट दिने कुरा, अझै केहि सरकारले उद्योगीहरुका लागि गर्न सकेन भने असहज अवस्थामा पुग्छ ।
० तपाई दर्जनौँ उद्योगका सञ्चालक, एक सफल व्यवसायी । यस्तो समयमा पनि सरकारले कर तिर्नका लागि करकर गरिरहनु कतिको न्यायोचित हो ?
राज्य सञ्चालनका लागि कर आवश्यक हो । राज्य चलाउन कर उठाउनै पर्छ तर, सरकारले उद्योगी, व्यवसायीहरुको अवस्था पनि हेर्नु पर्ने थियो । बरु कर तिर्ने समय अवधि थप गर्नु पर्छ । थोरै ब्याजदर गर्नु पर्छ । सबैलाई सन्तुलन गरेर लैजानु पर्छ । कर नतिर्नु हाम्रो सोचाइ होइन बरु समय दिनु पर्छ । असर परेको व्यवसायीहरुलाई प्राथमिकतामा राख्नु प¥यो । मौद्रिक नीतिमा क, ख, ग वर्ग छुटाएजस्तै हामीलाई पनि छुटाउनु पर्छ । चल्न नसकेकालाई केही समय दिनु प¥यो, साह्रै तिर्न नसक्नेलाई उनीहरुलाई केही छुट दिनु प¥यो र तिर्न सक्ने खालका व्यवसायीहरुले आफैँ इमानदारपूर्वक तिर्नु प¥यो ।
० तपाई निजी बैंकको सञ्चालक पनि, बैंकहरुले यस्तो समयमा ऋणीहरुमाथि ज्यादती नै गरे भन्ने गुनासो पनि सुनिन्छ । स्थिति त्यस्तै हो र ?
खासै त्यस्तो नै होइन, केही बैंकहरुमा भने यस्ता गुनासो, सुनिन्छ र नभएको कुरा पनि होइन, वास्तविक नै हो । बैंक पनि आमपब्लिकको पैसा उठाएर चल्ने संस्था हो । त्यहाँ पनि धेरै मान्छेहरुको लगानी छ । यस्तो समयमा बैंकले १ वर्ष फाइदा नकमाउँदा हुन्छ । फाइदाको अपेक्षा नराख्दा कुनौ ठूलो असर पर्दैन । ऋणीहरु अर्थात उद्यमीहरु चलेनन् भने भोलि मुलुक नै सञ्चालन हुनमा अप्ठ्यारो पर्छ । व्यवसायीहरु सञ्चालनमा आउन पाए भने भोलि बैंकहरुलाई ऋण तिर्न सक्छन् । राज्यलाई तिर्नु पर्ने कर, भ्याट सबै तिर्न सक्छन् ।
० तपाई लगानी बोर्डमा निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ । अहिले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट लगानीको अवस्था कस्तो छ ?
लगानी बोर्डले धेरै परियोजना भित्र्याउनका लागि कामहरु गरिरहेको थियो । त्यो परियोजनाहरु सञ्चालनमा छन् । कोभिडको कारण हाम्रो देशमा मात्र होइन, संसारभरी नै यसको असर परेको छ । लगानीकर्ता आउनका लागि उत्साहित भए तापनि आफ्नो मुलुकमा पनि त्यस्तै समस्या छ यहाँ आएर पनि काम गर्ने अवस्था छैन । अहिलेको अवस्थामा यहि भइरहेको उद्योग परियोजनाहरु कसरी सञ्चालन भइरहेको छ ? त्यो नै सोच्न बाध्य बनाएको छ । नयाँ आउनका लागि केही समय कुर्नु नै पर्छ । समय अनुकूल भयो भने तुरुन्तै कार्य आरम्भ हुने छ ।
० दोलखालाई समृद्ध पार्नका लागि तपाईले कालिञ्चोक केबलकार सञ्चालन गर्नुभयो । सुरुमा लगानीकर्ताहरुबीचै केही किचलो थियो । त्यो समस्या सल्टियो ?
लगानीकर्ता यसको समस्या होइन । मिडियाले नबुझेर भनौँ या राम्रोसँग अध्ययन नगरी लेख्छन् । सामान्य विवाद त हो नै, जग्गाको विषयमा । सरकारको हो या गुठीको जग्गा भन्ने विषय रहेको छ । यो विवाद विगतदेखि नै चलिरहेको रहेछ । हामी आएपछिको समस्या होइन । कालिञ्चोक केबलकार सञ्चालन भएपछि दोलखाबासीले के पाए भन्ने विषय नै ठूलो कुरो हो । हिजो केही हुन नसकेको डाँडो आज पर्यटकका लागि प्रमुख रोजाइको केन्द्र बनेको छ । १ दिनका लागि गएका पर्यटकहरु २ दिन बस्न खोज्ने अवस्था भएको छ । आज दोलखा जिल्लाले मुहार फेर्न पाएको छ । त्यहाँका व्यवसायीहरु धेरै नै खुसी भएका छन् । कालिञ्चोकको प्रवेशद्वार कुरीमा करिब ४० वटा होटल रहेका छन् । आज धेरैले रोजगार पाएका छन् । होटल व्यवसायीदेखि बाटामा बसेका फूल व्यापारीहरुले रोजगार पाएका छन् । जीवनस्तर उकासिएको छ । मौसममा पर्यटक तथा धार्मिक तीर्थालुहरु बस्न पनि कोठा नपाउने अवस्थामा हुन्छन् । दैनिक तीन चार हजार पर्यटक आउँछन् ।
० बालकृष्ण शिवाकोटीको सफलताको राज चाहिँ के हो ?
आफ्नो कामको ज्ञान हुन्ु र सधैँ ऊर्जावान् हुन्ुपर्छ, जतिसक्दो छिटो काम सुरु गर्ने, कडा मेहेनत, भविष्यको निर्माण, जस्तोसुकै काम गरे पनि भविष्यमा कस्तो परिणाम आउँछ ? त्यसको हेक्का राख्नुपर्छ । जे गरिरहेका छु, त्यो आनन्दपूर्वक गर्छु । अरुको सल्लाह लिने गर्छु । राम्रो मान्छेसँग पार्टनर बनाउने यस्तै यस्तै हुन्, बालकृण शिवाकोटीको सफलताको राज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *