अमेरिका यात्रा संस्मरण

लेख

धेरै नेपालीले अत्यन्त चाहना गरेको गन्तव्य अमेरिका हो भन्दा फरक पर्दैन । यसमा पनि तन्नेरीको त सपनाको संसार भन्ने गर्दछन् । मेरो पनि अमेरिका जाने लालसा नभएको होइन तर अमेरिका गएर बस्नु पर्दछ भन्ने कहिल्यै लागेन । त्यहि भएर त होला अहिलेसम्म मैले डिभी भरेको छैन । आसा थियो कुनै न कुनै दिन अमेरिका पुग्ने चाँजोपाँजो मिल्ने नैै छ । संयोग, फेकोफनका तत्कालिन केन्द्रीय अध्यक्ष गणेश कार्कीले युएनएफएफको सेसन न्युयोर्कमा हुँदै छ, जाने भए प्रयास गर्नुस् भन्नु भयो । मैले तत्कालै शंका देखाइहालेँ, अमेरिकाले मलाई भिसा दिन्छ र ? उहाँले प्रतिप्रश्न गर्नु भयो किन दिँदैन ? प्रयास त गर्नुस् । मैले सामुदायिक वन अन्तर्राष्ट्रिय सञ्जालका संयोजक घनश्याम पाण्डेसँग कार्यक्रममा नाम दर्ताको लागि आग्रह गरेँ । घनश्याम पाण्डेले मार्फत ग्लोबल फरेस्ट्री एलाएन्सले मेरो नाम दर्ता प्रक्रिया अगाडि बढेछ । कार्यक्रम २०१५ मे ४ देखि सुरु हुने तर १५ दिन अघिसम्म आमन्त्रण पत्र आएको थिएन । सो नआई प्रवेशआज्ञा (भिसा)का लागि निवेदन दिनै मिल्दैनथ्यो । मलाई धेरै विश्वास थिएन, अमेरिका जान पाइएला भनेर । तैपनि चर्चा अलिअलि चलिहाल्यो । गर्दै जाउँ जे त होला भन्ने लागिरहेको थियो । अप्रिलको १८ मा आमन्त्रण पत्र आयो । पत्र पनि कस्तो भने आयोजकको सहि पनि छैन । मिति तथा अन्य नाम पनि मिलेको छैन । यसका आधारमा के भिसा पाइएला भन्ने लाग्यो । तै पनि अरुलाई सोधेँ, निम्तोको चिट्ठी यहि हो त ? भनी सोधेँ । त्यही हो त्यसैको आधारमा अमेरिकी दूताबासमा भिसाका लागि आवेदन दिनुस् भन्ने सल्लाह प्राप्त भयो । त्यस पत्र जस्तोमा एक रेफरेन्स नं. दिएको थियो । सायद यसैले काम गर्ला भन्ने लाग्यो ।
अमेरिका जान चाहानेहरुको भीड
२०१५ अप्रिल २० मा भिसाका लागि फर्म भर्न महाराजगन्ज गएँ । कता के भर्ने थाहा थिएन । अमेरिकी दूताबासको अगाडितिर कन्सल्टेसीका अफिस पाइन्छ त्यहीँ गए हुन्छ भन्ने सुनेको थिएँ । अलि खाली भएको एक पसलजस्तो कोठामा डराई– डराई छिरेँ । अमेरिकाका लागि भिसाको फर्म भर्नु हुन्छ भनेर सानो स्वरमा सोधेँ । तपाईले त के भिसा पाउनु होला भन्लान् की भन्ने डर थियो । यस अघि थाइल्यान्ड र कम्बोडिया गएको मात्र गएको थिएँ । आमन्त्रण पत्रप्रति आफैँलाई विश्वास थिएन । कन्सल्टेन्सी फर्मका भाइहरुले खुरुखुरु भर्न थाले । कतिपय जानकारी मसँग पनि थिएन । फर्म भरिदिने भाइले बैंकको नाम र खाता नं दिई रु १६ हजार रकम जम्मा गरेर आउनुस् भने । बैंकमा अमेरिकाको भिसाका लागि पैसा बुझाउनेको लामो लाम देखेर अचम्म लागिरह्यो । लाममा बसेको बेलामा कसैले मेरो तेस्रोपटकको प्रयास हो भन्दै थिए । मलाई अचम्म लागिरहेको थियो । मेरो त पहिलो प्रयास त्यही पनि ख्यालख्यालमा । मेरो पनि गयो १७ हजार भन्ने लाग्दै थियो । १६ हजार दूताबासको खातामा अनी अनलाइन फारम भर्ने कन्सल्टेन्टलाई रु १ हजार ।
रकम जम्मा गरेको भौचर लिएर फेरि फर्म भरेको ठाउँमा आए । फर्म त अनलाइन भर्नु पर्ने रहेछ । त्यही फारम भरिदिने भाइले मेरो अन्तर्वार्ताका लागि अप्रिल २१ र २२ दुवै दिन खाली रहेछ भने । मैले एक दिन खाली राखेर २२ बिहान १० बजेको समय हुन्छ भनेँ । किनकि मैले छिटो गर्नु पनि थियो अनि १ दिन त कागजात तयार गर्न पनि समय लाग्ला भन्ने अनुमान गरेँ ।
भोलि पल्ट कार्यालयको पत्र तयार गरेँ । श्याम श्रेष्ठसमेतको सहयोगमा पत्र तयार गरी घनश्याम पाण्डेलाई अन्तर्वार्ता कस्तो हुन्छ भन्ने बारेमा कुराकानी गरेँ । सकेसम्म आफूलाई व्यवस्थित, चुस्त र ढुक्क बनाउने प्रयास गरेँ । मलाई के ढुक्क थियो भने भिसा लागेमा ठिकै छ, नलागे पनि मेरो केही बिग्रने होइन ।
भिसाका लागि अन्तर्वार्ता
२०१५ अप्रिल २२ मा तोकिएको समयभन्दा केही अगाडि नै अमेरिकी दूताबास महाराजगन्जमा पुगेँ । बाहिरदेखि नै जाँचबुझ हुँदोरहेछ । त्यहाँ अन्तर्वार्ता दिनेको लाइन देख्दा छक्क परेँ । सबै नेपाली अमेरिका नै जाँदै छन् की के हो भने जस्तो लाग्दथ्यो । भिसा पाउने उफँदै बाहिर आउँथे, नपाउने रुँदै निस्केको पनि देखियो । भित्र पस्ने मेरो पालोे आयो । बैंकमा पैसा लिनका लागि पालो नं. दिएजस्तो पाइदो रहेछ । त्यो टोकनअनुसार कामहरु गर्नु पर्ने रहेछ । पहिलो काम पासपोर्ट बुझाउने काम भयो । दोस्रोमा पाँच वटै औँलाको छाप अनी तेस्रोमा अन्तर्वार्ता । अन्तर्वार्ताका लागि धेरै समय पर्खनु परेको थियो । मेरा लागि सबैकुरा नौलो थियो । बैंकमा पैसा लिन बसेको जस्तै लाग्यो । क्यास काउन्टरमा बसेका जस्ता दूताबासका कर्मचारीहरु थिए । उनीहरुले अन्तर्वार्ता लिँदा रहेछन् । यस्ता काउन्टर धेरै थिए । अन्तर्वार्ता दिने र लिने बीचमा सिसाको बार हुन्थ्यो । मेरो पालो आउन प्रशस्तै समय बाँकी भएकाले सबै अवलोकन गर्ने मौका मिल्यो । त्यत्ति मात्र होइन, ती काउन्टरमा बस्ने मध्ये कुन चाहिँले सहज सोध्ने, कुनबाट खुसी हुँदै मान्छे हिँड्थे, कुनबाट अध्याँरो मुख लाउँदै वा कतिपय रुँदै हिँड्थे भन्ने अवलोकन गर्न पाएँ । मलाई पनि एक काउन्टर जान पाए मलाई भिसा दिन्छ होलाजस्तो लाग्यो । मेरो पालो आउनै लाग्यो तर मेरो चाहना गरेको काउन्टर त खाली नै भएन । धन्न, खाली भएको काउन्टरले अर्को नं. नै दिएन । मेरो चाहना गरेको काउन्टरले नै मेरो पालोको नं बजायो । म खुसी भएँ । सुरुमा अन्तर्वार्ता नेपालीमा की अंग्रजीमा दिने भने । मैले नेपाली भए धेरै सजिलो नभए अंग्रेजी पनि हुन्छ भनेँ । मलाई सामान्य प्रश्न सोधे । मलाई भिसा दिँदैनन् होलाजस्तो लागेको थियो । तर मैले उन्का प्रश्नको जवाफ ढुक्क भएर दिएको थिएँ । आर्थिक तथा सामाजिक सम्पन्नतालाई भिसा दिन्छ भनेर सुनेको थिँए, उसले कहाँ बस्नु हुन्छ भनेर प्रश्न गर्दा काठमाडौंमा घर छ त्यही बस्छु भन्ने उत्तर दिएँ । तपाइको भ्रमण खर्च कस्ले व्यहोर्छ ? तपाइको अफिसमा कति कर्मचारी छन् ? अमेरिकामा हुने सम्मेलनले तपाईको काममा के सहयोग पुग्छ ? जस्ता सामान्य प्रश्न सोधे । आमन्त्रण पत्र छ भनी मागेर हेरे, अरु कागज केही पनि मागेनन् । केही समय घोरिएर मेरो अनुहार हेरेर ‘तपाईले भिसा पाउनु भयो’ भन्यो । मलाई विश्वास नै लागेन अनी सोधेँ, कसरी थाहा पाउछु ? इमेलमा जानकारी आउँछ अनि दरबार मार्गको बैंकमा गएर पासपोर्ट लिनु भने । यदि भिसा नदिने भएको भए तुरुन्तै पासपोर्ट फिर्ता दिने रहेछ । दिने भए उतै राख्दो रहेछ । मैले धन्यवाद भनी बाहिरिएँ । मेरो दिमाखमा अमेरिकाको भिसा त सजिलै पो लाग्दो रहेछ भन्ने लाग्यो । यो मेरो बुझाइ सही पनि होइन होला । भोलिपल्ट बिहीबार थियो, ५ बजेतिर इमेलमा पासपोर्ट लिन आउनु भन्ने जानकारी आयो । शुक्रबार सार्वजनिक बिदा, शनिवार पनि बिदा भएकाले आइतवार लिन जाने विचार गरेँ ।
भूकम्पले सातो लियो
शनिबार अर्थात् बैसाख १२ गते अर्थात अप्रिल २५ मध्याह्न ११.५६ मा विनाशकारी भूइँचालो गयो । ज्यान बचाउन नै मुस्किल प¥यो के को भिसा कता पासपोर्ट संकलन । गाउँका सबै घर लडेछन् धन्न मानिसलाई केही भएन । १४ वटा जिल्लाका घरहरु ध्वस्त भए । १० हजारका हाराहारीमा मान्छे मरे, हजारौँ घाइते भए । ५ लाखको हाराहारीमा घरहरु पूर्ण क्षति भए । कल्पना नगरेको भूइँचालो आयो । त्यो पनि पटक–पटक । हामी पनि भूकम्पको पहिलो दिन लालिगुराँस बिदालय नरेफाँटमा आश्रय लियौँ । दोलखामा हाम्रा सबै घरहरु ध्वस्त भई पालमा बास भएछ । दोस्रो दिन रातमा एयरपोर्टको चौरीमा तेस्रो र चौँथो दिन कोटेश्वरको बन्दै गरेको घरमा बस्यौं । पाँचौ दिनदेखि आफ्नै नियमित कोठामा बस्यौँ । यसैबीच, भूकम्पको धक्का अलि कम हुन थाले पछि अमेरिकाको भिसा लागेको पासपोर्ट संकलन गर्न गएँ । घरदेखि हिँडेर नै दरबारमार्गमा पुगेँ । १२ बजेसम्म बैंक खुल्दो रहेछ । ५ मिटर मात्र अगाडि पुगेकोले पासपोर्ट लिन सकेँ । बैंकको कर्मचारीले ‘नेपालीले अमेरिका जाने भएपछि आगोमा फाल हाल्छन्’ भन्यो मैले कुनै प्रतिक्रिया जनाइनँ । ५ वर्षका लागि भिसा लागेछ । बाटामा भूकम्पले पारेको असर देखें । फर्कँदा लडेको धरहराको नजिकै टुँडिखेलसम्म पुगेँ तर धरहारा हेर्न जान मन लागेन । धरहरा चढ्छु भन्ने मन थियो । मौका मिलेको थिएन । अब यो अवसर कहिल्यै आउने भएन । टुँडिखेलमा हजारौँ मान्छे पाल हालेर आश्रय लिएका रहेछन् । सैनिक मञ्चतर्फ केही समय बसेँ । जमिन पूरै हल्लाएको जस्तो महसुस भइरहेको थियो ।
हवाइ यात्रा
कम्पनको मात्रा कम हुँदै गयो । अमेरिका जाने कि नजाने दुविधा नै थियो । सल्लाह गर्दा जाउँ भन्ने कुरा भयो । टिकटको चाँजोपाँचो मिलाइयो । केही रकमलाई डलरमा रुपान्तरण गरी ३ मे मा अमेरिका जान भनी फ्लाइ दुबर्ईबाट राति ११ बजे फेकोफनको अध्यक्ष गणेश कार्की र म साथमा लाग्यौँ । ४ घन्टा जतिको उडानपछि दुबर्ई पुगियो । दुबई विमानस्थलमा मेरो नातेदार रामकृष्ण सुवेदीसँग भेट भयो । विमानस्थलभित्रै ड्युटी फ्रिमा काम गर्ने भएकाले भेट्न सम्भव भयो । उनीले हामीलाई खाना खुवाए, रमाइलोसँग गफ गर्दै ७ घन्टाको ट्रयान्जिट बिताइयो । इमिरेट्स विमानबाट हामी अमेरिकातिर लाग्यौँ । मलाई यो सबै यात्रा नौलो थियो । काठमाडौंदेखि दुबर्ईसम्मको यात्रामा गणेश कार्की र म सँगैको सिटमा थियौँ । दुबर्ईदेखि न्युयोर्कसम्मको यात्रामा भने हाम्रो फरक फरक सिट प¥यो । १३ घन्टाभन्दा लामो यात्रा चिनेको मान्छे छेउमा नहुँदा पट्यार लाग्दो हुँदोरहेछ । २ तले विमानमा सुरुका केही घन्टा त रोचक नै लाग्यो त्यसपछि त दिक्क । ३ वटा जति हिन्दी फिल्म हेरेँ । एक सिनेमाको नाम अहिले पनि याद छ ‘लिंघा ।’
विमानमा बेला बेलामा खाना नास्ता फलफूल, वाइन, ह्विस्की, चक्लेटहरु दिन्थे । छेउका साथीहरु ह्विस्की खाने, आफू त नखाने । पारा नै मिलेन । निदाउनका लागि आँखा छोप्न मास्क, मोजा, रुमाल, ब्लांकेट, मन्जन ब्रससमेत बाँडे । हाम्रो विमान कहाँ पुग्यो कति उचाइँमा छ, स्थानीय समय कति भयो ? हामी पुग्ने स्थानको समय र लाग्ने समय सबै जानकारी आफू अगाडिको स्क्रिमा हेर्न मिल्थ्यो । त्यसैगरी विमान बाहिरको अगाडिको भाग समेत क्यामेराले खिचेको लाइभ हेर्न सकिँदो रहेछ । दुबईदेखि न्युयोर्कसम्म १४ हजारभन्दा अलि बढी किलोमिटर पर्दो रहेछ । १० किमीको हाइटमा विमान उड्दो रहेछ ।
अमेरिका टेक्दा
अमेरिकाको न्युयोर्कमा रहेको जोन अफ केनडी विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार ३ बजेतिर विमान अवतरण ग¥यो । अमेरिका कस्तो होला भन्ने कौतुहलतमा मनमा थियो नै । विमानस्थलबाट पनि कतिपयलाई फिर्ता गराएको कहानी सुन्ने गरेको थिएँ । कतै मलाई पनि त्यस्तै त गर्दैन भन्ने मनमा थियो । त्यहाँको इमिग्रेसनका विभिन्न प्रक्रिया गरी बाहिर आइयो । आफूसँग के सामान छ भनी डिक्लिएर गर्दा मैले एग्रिकल्चरसँग सम्बन्धित खानाका परिकार छ भनी लेखेको थिएँ । त्यसका लागि छुट्टै चेकजाँज गर्दो रहेछ । मेरो ब्यागमा केही स्याउहरु थिए । स्याउ लान नपाइदो रहेछ । मेरै अगाडि डसबिनमा हालिदियो । न्युयोर्कमा नै बसोबास गर्ने रहेको मेरो गाउँको भाइ राजेन्द्र थापाका लागि उस्को दाइ श्याम थापाले गुन्दु्रक, भटमास, चिउरा पठाएको थियो । त्यो कार्टुन काटेर हे¥यो । के हो भनी सोधे, मैले जवाफ दिँदै गएँ । भटमासलाई देखाएर बिउ हो भनी सोध्यो । मैले ड्राई फुड भनी दिएँ । नत्र त्यो पनि फालिदिने रहेछ । कार्टुन काटेर उसैले टेप लगाइदियो । त्यहाँका सुरक्षाकर्मीहरुले नेपालको भूइँचालोको असरका बारेमा जानकारी लिए । तिम्रो परिवार तथा घर कस्तो छ भनी सोधे । बताएँ । उनीहरुले सुरक्षित रहन परिवारका सदस्यलाई भन भने । धन्यवाद भन्दै बाहिर निस्किएँ । बाहिर राजेन्द्र थापा गाडी लिई हामीलाई लिन आएका रहेछन् । उनी बस्ने ठाउँ उडसाइट गयौँ । नेपाली पाराको दालभात खसीको मासु बनाएको रहेछन् । गज्जबले खायौँ । त्यहीँ बस्न अनुरोध गरेका थिए तर हामी होटलमा बस्ने जिद्दी ग¥यौँ । राजेन्द्रले नजिकैको उडसाइट मोटलमा कोठा व्यवस्था गरिदिए । केही समय आराम गरेर राजेन्द्रको साथमा बजार घुम्न निस्कियौँ । मैले ४० डलरमा मोबाइलको सिम लिएँ । जस्बाट नेपालमा १२० मिनेट कुरा गर्न सकिन्थ्यो भने १ महिनाभरी अमेरिकाभित्र जति पनि कुरा गर्न सकिन्थ्यो । नेपालतिर फोन गरेर जानकारी कुराकानी भयो ।
३०÷३० डलर खर्च गरेर एक हप्ताका लागि अनलिमिटेड ट्रेन र बस चढ्नका लागि स्मार्ट कार्ड बनायौँ, २ वटा । त्यही कार्ड प्रयोग गरी ज्याक्सन हाइटबाट ग्राउन्ड सेन्टरतिर गयौँ । युएनको मुख्यालय खोज्ने प्रयत्न ग¥यौँ । सकिएन । थाकेका पनि थियौँ । फर्किएर होटलमा आएर सुत्यौँ । युएनएफएफको ११औँ सेसन मे ४ देखि १५ सम्म हुँदै थियो । हामी मे ४ को बेलुका मात्र अमेरिका पुगेका थियौँ । पहिलो दिन हाम्रो छुटिसकेको थियो । क्रमशः

Leave a Reply

Your email address will not be published.