युएनको मुख्यालय छिर्दा र डिसीतिर बरालिँदा

लेख विविध

अघिल्लो शृंखलामा अमेरिका प्रवेशका लागि भिसा लिने प्रक्रिया, भुइँचालोको सन्त्रासका बीचमा अमेरिकातिर लागेको विषय उल्लेख गरिएको थियो । यस शृंखलामा भने संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा प्रवेश, त्यसभित्रका गतिविधि, न्युयोर्क, वासिङ्टन डिसी र भर्जिनियातिर घुम्दाको अनुभूति उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र संघको मुख्यालयमा
कार्यक्रमको दोस्रो दिन तर हाम्रो पहिलो दिन सोधखोज गर्दै संयुक्त राष्ट्र संघको मुख्यालयमा पुग्यौँ । कुनै कार्यालयको पनि साइनबोर्ड नहुने पत्ता लगाउन मुस्किल प¥यो । सडक र घर नं. बाट पत्ता लगाउनु पर्ने रहेछ । ९ बजेदेखि युएनको मुख्यालयमा प्रवेशका लागि पास बनाउने ठाउँ खुल्ला हुँदोरहेछ । सो कुरा पनि एक जना बाटोमा हिँड्दै गरेको मान्छेलाई सोध्यौँ । उस्ले ठूलो मेहनत गरेर ठाउँ पत्ता लगाइदिए । अमेरिकामा एकले अर्काको कुनै वास्ता नगर्ने तर सहयोग माग्यो भने मरेर सहयोग गर्ने चलन रहेछ । हामीले भेटेका ती व्यक्ति प्राध्यापन पेसाबाट अवकाश लिएका रहेछन् । उनीलाई हामी नेपालबाट आएको यो ठाउँ भेट्न सकेनौँ भनेको चारैतिर घुमेर भेटाइदिए । नेपाल पुग्नुभएको छ भनी सोध्यौँ छैन भने तर माउन्ट एभरेष्टको देश भनेर चिनेको छु भने । हामीलाई हाम्रो देशको पहिचान सुनाएकामा खुसी लाग्यो । हामी त्यहाँको बिहानको ८ बज्नुअघि नै पुगेका थियौँ । पास बनाउने काम ९ बजे मात्र हुने भएकाले त्यही बस्यौँ । ९ बज्यो कार्यालय खुल्यो । हामी पनि त्यही लाइन बस्यौँ । के गर्नु पर्ने हो थाहा थिएन । अरु जे गर्दछन् त्यसै गरिरह्यौँ । अरुले फारम भरेजस्तो लाग्यो तर हामीले भर्ने नै पाएनौँ । हामीसँग इमेलबाट आएको पत्र थियो । त्यही देखाउँछौँ भनी लाइनमा पालो पर्खेर बस्यौँ । पालो आयो कम्प्युटर अगाडि बसेकी एक महिलाको अगाडिको खाली कुर्सीमा बस्यौँ । युएनबाट अनलाइनवाट प्राप्त पत्र देखायौँ । उनले वेबक्यामबाट फोटो खिची परिचय पत्र वा संयुक्त राष्ट्रको मुख्यालयको प्रवेश पत्र पाइयो ।
प्रवेश पत्र बोकेर सडक पारि रहेको युएनको मुख्यालयको प्रमुख प्रवेशद्वारमा पुगियो । त्यहाँ सुरक्षा जाँच गतिलै रहेछ । झोला, कोट, पर्स, मोबाइल, बेल्ट सबै निकालेर टोकरीमा हाली एक्सरे मेसिनमा जाँचका लागि पठाउनु पर्ने र आफूचाहिँ हात उचाल्दै सुरक्षाकर्मीको अगाडि उभिनु पर्ने रहेछ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा प्रवेश गरियो । बाहिरबाट सानो सानो भवन देखिए पनि भित्र जाँदा त कता हो कता जस्तो महसुस भयो । घना जंगलमा पुगे जस्तो भयो । कसैलाई चिन्ने होइन अनी कसैले वास्ता पनि नगर्ने । यस्तो हुँदा पनि रमाइलो हुँदो रहेछ । कसैले देखेर के गरेको भनी खिसी गर्ला भन्ने डर पनि नहुने । अनी अंग्रजी बोल्दा बिग्रेला, लाज होला भन्ने चिन्ता पनि नहुने । फेकोफनको अध्यक्ष गणेश कार्की र म सोधखोज गर्दै हाम्रो कार्यक्रम हुने स्थलतिर लाग्यौँ । एक हलभित्र पस्यौँ हे¥यौँ । यहि कार्यक्रम हुने रहेछ भनी निक्र्योल गरी कार्यक्रम सुरुवात नभएइसकेकाले त्यतै भौतारिरहेको थियौँ । सामुदायिक वन अन्तर्राष्ट्रिय सञ्जालका संयोजक घनश्याम पाण्डे र फेकोफनका तत्कालिन महासचिव भारती पाठकसँग भेट भयो । अनी हामी चारै जना कार्यक्रमको अनौपचारिक र औपचारिक सेसनहरुमा सहभागी भयौँ ।
जोखेर खाना
संयुक्त राष्ट्रसंघको मुख्यालयभित्र होटल, रेस्टुरेन्ट र अन्य पसलहरु पनि टन्नै थिए । पिउने पानीको धारा पनि फरक पाइयो । हामीले सानामा गाईवस्तु चराउन जाँदा पिपिरी वा कर्कलाको पातमा वगेको सानो पानीको धारा वनाएर खान्थ्यौँ । त्यस्तै तरिका तर सानो बटम थिचेपछि पानी तल झर्ने होइन माथितिर जाँदो रहेछ । अनी मुख थापेर खानु पर्ने रमाइलो नै लाग्यो । यो मेरो फरक अनुभूति हो । हामीले नेपालको गाउँको तरिकालाई थप परिमार्जित गरेछ भन्दै रमाइलो गफ पनि ग¥यौँ । खाना खाने बेलामा मुख्यालयभित्रकैँ एक रेस्टुरेन्टमा गयौँ । त्यहाँ खानेकुरा छानेर एक थालजस्तोमा राख्नु पर्ने अनी त्यो तौलेर मूल्य निर्धारण हुँदोरहेछ । कम तौल भएका परिकार छानेमा सस्तो पर्ने, मैले एक डलरमा प्लेट भरी ल्याएको थिएँ । यो पनी नौलो अनुभूति नै भयो ।
न्युयोर्कको घुमाई
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना भएको युनाइटेड नेसनस फोरम अन फरेस्टको एघारौँ सेसनका हामीसँग सम्बन्धित सत्रमा छलफलमा सहभागी भएपश्चात हामी न्युयोर्कका विभिन्न भागमा घुम्न जाने गर्दथ्यौँ । टुइन टावरमा लैजाने काम फेकोफनका पूर्वकेन्द्रीय सदस्य कृष्ण लामिछानेले गरिदिनुभयो । लामिछाने न्युयोर्कमा नै सपरिवार बसोबास गर्नुहुन्छ । त्यहाँ आफ्नै एक आकर्षक घरमा रहेछ । त्यस घरमा नेपाल र अमेरिकाको झण्डा फहराउनु भएको छ ।
सेम्टेम्वर ११ को आक्रमणपछि ध्वस्त भएको ती दुई टावर भएको स्थाननजिकै त्यस्तै आकारका ३ वटा टावर बनाएको रहेछ । त्यसैगरी एक दिन फेकोफनको पूर्वकोषाध्यक्ष लक्ष्मी पौडेलबाट घुमाउन काममा सहयोग भयो । पौडेल पनि विगत ६ वर्षदेखि न्युयोर्कमा सपरिवार बसेका रहेछन् । ओसन पार्क समुन्द्री तटतिर राजेन्द्र थापाले भ्रमण गराइदिनु भयो । हामी प्रायजसो बिहानको खाना न्युयोर्कस्थित ज्याक्सन हाइटमा गएर खान्थ्यौँ । त्यहाँ नेपाली तथा भारतीय परिकारहरु पाइँदो रहेछ । फापर तथा मकैको ढिँडो पनि पाइने । धेरै जसो दिल्ली हाइट, लालिगुराँस होटल, भीम क्याफेमा खाना खाने गर्दथ्यौँ । ८ देखि १० डलरमा २÷३ थरी मासुका परिकारसहित चाहनाअनुसारको खाना पाइने रहेछ । यो ज्याक्सन हाइटमा भन्ने ठाउँमा नेपाली भाषा बोल्दा हुने रहेछ । धेरै नेपालीहरुले व्यवसायमा संलग्न रहेका छन् ।
डिसी र भर्जिनिया घुम्दा
अमेरिका पुगेपछि त्यहाँको राजधानी हेर्ने रहर नहुने कुरै भएन । शनिबार, आइतबार बिदा हुने भएकाले हामी (गणेश कार्की र म) वासिङ्टन डिसी, भर्जिनियतिर घुम्न निस्कियौँ । भारती पाठक अलि चाँडै नेपाल फर्कनुभयो भने घनश्याम पाण्डे अर्को कार्यक्रमको सिलसिलामा सेनेगल (दक्षिण अफ्रिका) तिर लाग्नु भयो । न्युयोर्कवाट चाइनिज बसमा डिसीतिर हिड्यौँ । ४ घन्टा जति बसयात्रा पछि अमेरिकाको राजधानी वासिङ्टन डिसी पुग्यौँ । बाटामा असाध्यै धेरै जंगल तर सबैतिर ८ ल्यानभन्दा कमको बाटो थिएन । असाध्यै सफा र हराभरा पनि । रमाइलो मान्दै यात्रा गरियो । बसभित्रै ट्वाइलेट, मोबाइल चार्जको व्यवस्था । न्युयोर्कदेखि डिसीसम्म पुग्नका लागि बसले प्रति व्यक्ति २२ अमेरिकी डलर लाग्यो । डिसीमा पुगेपछि हामीलाई राजु श्रेष्ठले लिनु आउनु भयो । कृष्णबहादुर खड्काले समन्वयवाट राजु श्रेष्ठसँग भेट भएको थियो । राजु श्रेष्ठका श्रीमान्÷ श्रीमती नै भर्जिनियामा बस्ने भएकाले हामीलाई ठूलो सहयोग भयो । राजु श्रेष्ठले हामीलाई बसबाट ओर्लनासाथ उहाँकै गाडीमा बजार परिक्रमा गराइदिनु भयो । वासिङ्टन डिसी, भर्जिनियमा र मेरिल्यानड भन्ने अलग अलग राज्य रहेछन् । हाम्रो काठमाडौं, भक्तपुर र ललितपुर भनेकोजस्तो नजिक–नजिक पर्ने रहेछ । एक दिनभर डिसीमा घुमियो । नदीको रमाइलो हेरियो । दोस्रो विश्वयुद्ध पछिको मृतकहरुका सम्झनामा बनाएका स्मारकहरु चाखलाग्दा रहेछन् । घुमिघुमी हेरियो । बास भर्जिनियामा रहेको एक होटेलमा बसियो । न्युयोर्कभन्दा डिसी र भर्जिनिया सस्तो रहेछ । न्युयोर्कका घर धेरै अग्ला तर डिसीमा घरहरु धेरै अग्ला होइनन् खुल्ला ठाउँ अति धेरै रहेछ । ह्वाइट हाउस अलि टाढैबाट हेरियो । नजिकै जान पाइँदो रहेछ । पेन्टागन देखियो । रहर मर्ने गरी फोटो खिचियो ।
भर्जिनियामा जाँदा असाध्यै रमाइलो लाग्यो । अतिसुन्दर बजार, रोडहरु सफा तथा हरियाली पनि । हरेक घर अगाडि आकर्षक रुखहरु रहेका यो स्थानमा गए पछि मात्रै मेरो कल्पनामा रहेको अमेरिका देख्न पाएँ । नत्र अमेरिका भनेको खासै केही होइन रहेछ भन्ने मेरो दिमागमा परिसकेको थियो । अमेरिकामा वन नै छैन सबैतिर घर नै घर छन् त्यही भएर नेपालजस्तो देशमा अमेरिकाले बिरुवा लगाउन पैसा दिन्छ होला भन्ने मेरो धारणा गलत सावित भयो । अमेरिकामा त रुख जंगल झन् धेरै पो देखियो ।
समुद्री किनारमा पारिवारिक पिकनिक
वासिङ्टन डिसीका केही महत्वपूर्ण स्थानहरु भ्रमण गरेपश्चात बेलुका राजु श्रेष्ठले हामीलाई अमेरिकाको नै सबैभन्दा लामो पुल भएको स्थानमा लैजानु भयो । त्यहाँको पार्कमा बेलुका पिकनिकजस्तो मनाउने योजना रहेछ उहाँहरुको । समुन्द्रको एक खाडीको छेउमा यो व्यवस्था गरेको रहेछ । ७÷८ जना साथीभाइका परिवार जम्मा भएका रहेछन् । रहर पुग्ने गरी फोटो खिच्यौँ । विभिन्न खेलसामग्री लगेको रहेछ । खेल्यौँ । मासु पोल्दै खायौँ । रमाइलो गरी बेलुका साँझ भर्जिनिया नै फर्कियौँ । हामी गएको समुन्द्रको खाडीनजिकको पार्क चाहिँ मेरील्यान्ड राज्यमा पर्दोरहेछ । यहाँ बाल्टिमोर राज्यमा नेपालीको असाध्यै धेरै बसोबास छ रे, त्यसमा पनि नेपाली कलाकारहरुको जमघट हुने स्थान हो रे । लोक गायक प्रेमराजा महत यही बस्छन् रे ।
दुबईमा बास
दुई दिनको डिसी र भर्जिनियाको घुमाइपश्चात हामी न्युयोर्क फर्कियौँ । त्यहाँ केही दिन बसेपछि १६ मईमा नेपालतिर हिँडेँ । फेकोफनको अध्यक्ष गणेश कार्की भने आरआरआइको अर्को कार्यक्रममा मन्टोना राज्यतर्फ लाग्नु भयो । हामी दुवैको एयरपोर्ट एउटै थियो । हामी सँगसगै राजेन्द्र थापाको गाडीमा जोन अफ केनेडी विमानस्थलसम्म गयौँ र आ–आफ्नो बाटो ततायौँ । करिब १४ घन्टाको इमिरेट्स विमानभित्रको यात्रामा बिताएपछि दुबईमा ओर्लियौँ । मलाई नेपालमा उपलब्ध गराएको टिकटअनुसार १२ घन्टा जतिको ट्राइजिन्ट समय दिएको भए पनि थप ५ घन्टा समय थपिएछ । दुबईमा उत्रिएको टर्मिनल ३ बाट २ मा जानुपर्ने बेलामा केही अलमल भयो । त्यहाँ नेपाली भाइहरु धेरै काम गर्दारहेछन् । उनीहरुले सहयोग गरे । अर्को टर्मिनलमा जानका लागि बस चढेर जानु पर्ने, म बसमा चढी सिटमा बसेको थिएँ । एक जोडी नेपालीमा गफ गर्दै चढे । मैले काठमाडौं जाने हो ? भनी सोधेँ । हो सर भने । उनीहरुको पनि मेरोजस्तै हालत रहेछ । उनी डिभी परी अमेरिका बस्दा रहेछन् तर म आएको भन्दा अर्कै विमानवाट २ घन्टा अगाडि नै दुबई ओर्लिएका रहेछन् । उनको नाम चण्डीप्रसाद भट्टराई रहेछ । उनीले एयरलाइन्ससँग होटलको व्यवस्था गर्न माग गरिरहेको रहेछन् । म सरका लागि पनि व्यवस्था गर्छु भन्दै लागे । हामीले अर्को एक जना नेपाल जाने एक दिदीलाई पनि भेट्यौँ । उहाँसमेत हामी चार पुग्यौँ । हाम्रो संगठित बल पुग्यो । एयरलाइन्सले हामीलाई होटलमा कोठा, खाना, बिहान खाजाको समेत व्यवस्थाका लागि कुपन पायौँ । खुसी हुँदै एयरलाइन्सले तोकेको दुबई इन्टरनेसनल होटल जुन विमानस्थलभित्रै टर्मिनल ३ मा गयौँ । बेलुकाको खाना खाएर सुविधा सम्पन्न होटलमा आरमदायी तरिकाले सुत्यौँ । भोलि पल्ट बिहान खाजा खाएर टर्मिनल २ मा नेपाल जाने विमानतर्फ लाग्यौँ । करिब ४ घन्टाको उडानमा काठमाडौंमा उत्रियौँ । यसपटकको मेरो अमेरिका यात्रा सकियो ।
अमेरिकाको जीवन महँगो होइन
अमेरिकाका केही विशेषता मननयोग्य लाग्यो । त्यहाँ अरु कसैको मतलब कसैले राख्दैन तर सहयोग मागेमा दिलोज्यानबाट सहयोग गर्छन् । कामको कुनै कमी छैन र काम सानो ठूलो भन्ने हुुँदैन भन्ने पुष्टि गरेको छ । कामदारको हक अधिकारको सुनिश्चित छ । कुनै दिन काममा आउन मन लागेन भने छुट्टीको सुनिश्चित छ । सामान्यतय काम गरेको घन्टाको आधारमा रकम पाइन्छ । त्यहाँको मान्छेको हप्ताको अन्तिम दिन अर्थात् शुक्रबार नेपालीहरुबीच फोन वार्ता हुँदा कतिको चेक आयो भन्ने कुरा बढी हुँदो रहेछ । मान्छेलाई पैसाले लोभ्याएर त्यतै अल्मल्याउने गर्दाेरहेछ त्यो नराम्रो होइन होला । हरेक कुरा सिस्टममा छ । त्यसैले कसैले कसैको मतलब राख्न जरुरी छैन । त्यहाँ हरेक कुरा महँगो तर त्यहीँ बसेर कमाउनेलाई सस्तो हो । उदाहरणका लागि नेपाली ४ लाख मासिक कमाउने मान्छेलाई १÷२ हजारको खाना खानु कुनै मुस्किल पर्ने विषय होइन । तर कमाइ नेपालको खर्च गराइ अमेरिकाको हो भने सातो जाने हुँदो रहेछ । अमेरिकामा एक दिनको कमाइले सामान्य रुपमा केही सामान किन्न सकिन्छ । तर नेपालमा एक दिनको कमाईले एउटा सामान्य लुगासमेत किन्न मुस्किल पर्छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published.