सम्झनामा थाइल्यान्डको सामुदायिक वन

प्रदेश ३ बिबिध लेख

हामी अहिले कोभिड–१९ को महामारीमा बाहिर हिँड्डुल पनि कमी गरिरहेका छौँ । बिहानको समयमा हिँड्ने गरेको बानी पनि थाती राखेको अवस्था छ । यस्तो अवस्थामा वैदेशिक भ्रमणको त कल्पनासम्म पनि गर्न सकिन्न । तथापि विगतमा सहज अवस्था हुँदा गरेको यात्राहरु सम्झने कोसिस गरिरहेको छु । सायद धेरैले पुराना यात्राहरु सम्झिरहनु भएको होला । आजको शृंखलामा भने थाइल्यान्डको बैंककमा एक तालिम सिलसिलामा जाँदाको अनुभूति लेख्ने कोसिस गरेको छु ।
सामुदायिक वनको जननी देश नेपाल
नेपालको वन अभियानले विश्वमा अग्रणी स्थान हासिल गरेको छ । विशेषगरी सामुदायिक पद्धतिको वन व्यवस्थापनलाई अनुकरणीय मान्ने गरिन्छ । यसको नाताले धेरै नेपालीहरु आफ्नो मुलुकबाहिर अनुभव वा सिकाइ आदान प्रदान गर्न गइरहेका हुन्छन् । त्यसैगरी कैयौँ विदेशी नागरिकहरु नेपाली गाउँघरमा सिक्नका लागि आउने गर्दछन् । यसै क्रममा मेरो पनि पुनः एकपटक केही नयाँ अवधारणा सिक्न र नेपालको अनुभव साट्नका लागि थाइल्यान्ड जाने अवसर मिलेको थियो । हुन त म त्यो देश दोस्रोपटक जाँदै थिएँ । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल, नेपालको हितैषी संस्था रिकफ्टका विष्णुहरि पौडेलको समन्वय तथा साथमा सरकारी तर्फबाट बद्रिकुमार कार्की र म गएका थियौँ । क्यासेरसार्ट विश्वविद्यालयभित्रको रिकफ्टको कार्यालयमा भएको तालिममा हामीसहित ७ देशका प्रतिनिधिहरु थियौँ । सोे तालिम ९ दिनसम्म चलेको थियो ।
२२ भदौ ०७१ मा हामी नेपाली ३ जना (बद्रि कार्की, विष्णुहरि पौडेल र म) थाइ ऐयरवेजबाट सुवर्णभूमि एयरपोर्टमा साँझमा उत्रिएका थियौँ । नेपालको वायुसेवा निगम र थाई एयरवेज एकै समयमा स्थापना भएका हुन् रे । थाई एयर कहाँबाट कहाँ पुगिसक्यो ।
बैंककमा हिन्दूको प्रभाव परेकोजस्तो लाग्छ भलै अहिले बुद्ध धर्मालम्वीहरुको बाहुल्यता रहेको छ । यहाँको एयरपोर्टको नाम नै संस्कृत भाषामा नजिक देखिन्छ, ‘सुवर्णभूमि’ । यस विमानस्थलमा हिन्दू धर्मग्रन्थमा भएको समुन्द्र मन्थनको सम्बन्धी मूर्ति देख्न पाइन्छ । करिब ३ घन्टा ३० मि.को हवाइयात्रा पछि हामी बैंककस्थित सुवर्णभूमि विमानस्थल पुग्यौँ । आयोजक संस्था रिकफ्टबाट हामीलाई लिने गाडी आएको थियो । सुवर्णभूमी विमानस्थलवाट करिब ४५ मिनेटको यात्रामा क्यासेटसार्ट विश्वविद्यालयको क्षे भित्र रहेको हाम्रो तालिमको आयोजक संस्थाले व्यवस्था गरेको आवास कक्षमा पुगेको थियौँ ।
रोचक तालिम
हामी पुगेको भोलिपन्ट त्यहाँको स्थानीय समयअनुसार ८.३० मा तालिम कार्यक्रम सुरु भयो । नेपाल र थाइल्यान्डको समयमा १ घन्टा र केही मिनेटको फरक रहेको छ । नेपालको भन्दा थाइल्यान्डको समय छिटो छ । यस तालिममा नेपालको अलावा थाइल्यान्ड, लाओस, म्यान्मार, कम्बोडिया, इन्डोनेशिया, भियतनामका सहभागी गरी २५ जना थियौँ । वनको स्वामित्व र अधिकार सम्बन्धीको विषयको तालिम थियो । हरेक देशको अनुभव हाम्रो लागि पनि सिकाइयोग्य पाइयो । हाम्रो मूख्य प्रशिक्षक भने युगान्डाको महिला थिइन् । हाउभाउसहितको प्रस्तुति राम्रो, बोली पनि दमदार थियो । तालिममा सहभागीतामूलक र प्रयोगात्मक विधिहरु धेरै अपनाइएको थियो । वनमा टेन्युर राइटका सन्दर्भमा नेपालको अभ्यास राम्रो रहेको पाइयो । त्यही अनुभव हामीले सुनायौँ । तथापि हामीले पनि सुधार गर्न पर्ने पनि देखियो । यद्यपि अरु देशका भन्दा हामी कानुन र अभ्यास तुलनात्मक रुपमा व्यवस्थित पायौँ ।
थाइल्यान्डको सामुदायिक वन
तालिमको दौडानमा २ दिनमा थाइल्यान्डको चाइनाट प्रान्तमा रहेको काओ लाओ थिङ थोङ सामुदायिक वन अध्ययन गर्ने मौका मिलेको थियो । वनको अधिकार तथा स्वामित्व पहिचान एवं छलफल गर्न सहयोग हुने विधिहरुको प्रयोग गर्ने अभिप्रायले हाम्रो टोली त्यसतर्फ लागेको थियो । थाइल्यान्डको राजधानी बैंककबाट करिब ३ घन्टाको मोटरको यात्राबाट छाउप्राय नदीको तटमा (जुन नदी थाइल्यान्डको राजधानी बैंकक हुँदै बग्छ) रहेको सुवान्ना रिभरसाईट होटलमा हामी बसेका थियौँ । समथल भूभागमा बिस्तारै बग्ने नदीको किनारमा रहेको यो होटल वडो कलात्मक ढंगबाट बनाएको रहेछ । सबै रुख तथा काठबाट बनाएको जस्तो देखिने तर सिमेन्टबाट बनाएको कला थिए । हामी बस्ने कोठाहरु पनि पहराभित्रजस्तो देखिने तर भित्र आरमदायी तथा आधुनिक सुविधा सम्पन्न कोठा थिए । हामी एक एक कोठामा सामान राखेर नदीतिर र आसपासमा फोटो खिच्न तथा खिचाउन थाल्यौँ । कृत्रिम पानीको झरना, नाउ, रिक्सा, पुरानो मोडलको मोटरसाइकल, विभिन्न मोडलका मोटरहरु प्रदर्शनीमा राखिएको थियो । विभिन्न पोजमा फोटोहरु खिच्यौँ । थाइल्यान्डमा हरेक खानामा मासु अनिवार्यजस्तै हुने रहेछ । विशेषगरी माछा, कुखुरा र संगुरको मासु अनिवार्यजस्तै हुने । खानाको परिकार हेर्दा त्यतातिर शाकाहारी मान्छे नै हुदैनन् जस्तो लाग्छ । जे मा पनि जहाँ पनि मासु ।
हामी सबै सामुदायिक वनको अवलोकनका लागि ४ वटा टोली बाँडिएर काओ लाओ थिङ थोङ सामुदायिक वनभित्र प्रवेश ग¥यौँ । हामी ३ जना नेपालीहरु अलग अलग टोलीमा थियौँ । प्राकृतिक रुपमा नै निगालोको घारी भएको यस वनमा गैरकाष्ठ वन पैदावर मात्र संकलन र उपयोग गर्ने अधिकार समुदायसँग रहेको पाइयो । पूरै थाइल्यान्डमा नै रुख काट्नलाई प्रतिबन्धजस्तै रहेछ । समुदायले काट्न पाउने त कुरै भएन । १४ वटा गाउँ २ वटा जिल्लामा उपभोक्ता फैलिएका रहेछन् । धार्मिक रुपमा वनलाई जोगाउने अनेक रणनीति अपनाएको देखियो । धार्मिक भिक्षुले कुनै रुखलाई कपडाले बेरेपछि त्यो रुख काट्नु हुँदैन भन्ने मान्यता रहेछ । अनि जंगलको चिमा एउटा मन्दिरजस्तो घर बनाएको भेटियो । कसैले वन पैदावर चोरेमा त्यो मन्दिरमा रहेको देउताले देख्छन् भन्ने चलन रहेछ । रुख निकाल्न नपाइने तर जडिबुटी निकाल्न समितिको अनुमतिले पाइने व्यवस्था रहेको पाइयो । वनबाट खास के ल्याइन्छ भनी सोध्दा निगालोको टुसा र च्याउ बढी ल्याउने भनी बताउँथ्ये । २ हजारभन्दा बढी घरधुरी आवद्ध रहेको यो सामुदायिक वनमा रहेको निगालो टुसा भने समितिले खुलाएको बेलामा जहाँको मान्छे आएर पनि लैजान पाइँदो रहेछ । यो ठाउँमा २० वर्ष अगाडिसम्म वन विनाश तीव्र गतिले भएको रहेछ । पछिल्लो २ वर्ष वन जोगाउनका लागि ठूलो प्रयास भएको सुनियो । यसमा भिक्षुहरुको महत्वपूर्ण योगदान रहेछ । यहाँको भिक्षुलाई सबैले सम्मान गर्ने उनीले भनेको मान्ने झण्डै झण्डै देवताको वचनजस्तो मान्दारहेछन् । भिक्षुले बोलेपछि गाउँले कानुनै हुने रहेछ ।
थाइल्यान्डमा सन् १९५७ मा आर्थिक संकट सुरु भएदेखि वन विनासको शृंखला सुरु भएको देखिन्छ । यो क्रम सन् १९९७ सम्म पनि कायम रहन गयो । त्यस पछि केही अगुवाहरुको पहलमा वन जोगाउनु पर्दछ भनी छलफल गरेछन् । यसमा भिक्षुलगायत अन्यले पनि साथ दिएछन् । सन् २००० मा सामुदायिक वन रिस्टोरेसन नेटवर्क गठन भयो । सन् २००४ मा १४ गाउँबासीले १५९ हेक्टर वन व्यवस्थापन गर्ने जिम्मा पाएछन् । अहिले ५ वर्षसम्म राम्रोसँग व्यवस्थापन गरेको हुनाले अब १० वर्षका लगि पुनः व्यवस्थापनको जिम्मेवारी दिने कुरा सरकारी अधिकारीले जानकारी गराउनु भएको थियो ।
थाइल्यान्डमा सामुदायिक वनको व्यवस्थापनको सन्दर्भमा गाउँस्तरको सामूहिक स्वरुपलाई सामुदायिक वन नेटवर्क भन्ने गरिँदो रहेछ । ती गाउँस्तरका उपसमूहहरुबाट नेटवर्क तयार हँुदो रहेछ । तथापि यी नेटवर्क समावेशी सन्दर्भमा प्रश्न चिह्न नै भएको पाइयो । त्यसैगरी सामुदायिक वन भनेको भए तापनि नेपालमा जस्तो वन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी समुदायलाई सुम्पेको पाइएन । सरकारी संरचनाको बाहुल्यता र पहुँच नै अत्याधिक रहेको देखियो । समुदाय वा सामुदायिक नेटवर्कले गर्न पाउने कार्य भनेको निगालोको टुसा, च्याउ र केही गैरकाष्ठ वन पैदावरको संकलन मात्र गर्न सकिने अवस्था देखियो । वनको स्वामित्वको सन्दर्भमा कुरा गर्ने हो भने समुदायलाई त्यति धेरै विश्वास गरेको पाइएन । समुदायसँग कुनै अधिकार रहेको देखिएन तथापि वनको संरक्षणको सन्दर्भमा भूमिका राम्रो रहेको कुरा स्वयं सरकारी कर्मचारीहरुले नै बताएका थिए । यहाँको सामुदायिक वनमा राम्रो अभ्यास भने कुनै काम गर्ने अनि त्यसमा सरकारी अगुवाईमा नै अध्ययन अनुसन्धान गर्ने सफल भएको देखिएपछि मात्र कार्यान्वयनमा लैजाने राम्रो अभ्यास देखियो । उदाहरणका लागि वन जोगाउनमा सरकारको समुदायसँगको सहकार्य भयो । राम्रो प्रभाव देखिएपछि केही वन पैदावर उपयोग गर्न पाउने गरी समुदायलाई जिम्मेवारी दिने कार्य गरियो । त्यो काम प्रभावकारी भएको अध्ययनले देखाएपछि अरु केही थप अधिकारसहितको सामुदायिक वनको अभ्यास गर्ने प्रयास भइरहेको छ । त्यसै गरी वन अभियानमा सरकारी, गैरसरकारी, धार्मिक व्यक्ति वा संस्था, नगरपालिका तथा नीजि क्षेत्र कम्पनीहरुको सबैको सहकार्य तथा संलग्नता रहेको सकरात्मक पक्ष देखियो ।
यस्ता सामुदायिक वनहरु थाइल्यान्डमा ९ हजारको हाराहारीमा रहेका छन् । तथापि तिनीहरु समुदायस्तरमा मात्र क्रियाशिल छन् । यसतालाई सामुदायिक वन नेटवर्क भन्ने गरिन्छ । तर ती सामुदायिक वनको नेटवर्कको प्रान्तीय वा केन्द्रीय तहमा नेटवर्क बनाउन सकेमा सामुदायिक वन व्यवस्थापनमा नयाँ आयाम थप सकिने सम्भावना रहेको छ । अनि यस्ता नेटवर्कहरुले समुदायको भूमिका प्रभावकारी बनाउनका लागि तथा नयाँ सोच सहितको नीति बनाउनका लागि सिर्जनात्मक भूमिका खेल्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *