कोरोनाको चपेटामा नेपालको पुँजीवादी विकास

लेख विविध शिक्षा/स्वास्थ समाचार

नेपालले कृषिमा आधारित मिश्रित अर्थतन्त्र छाडेर बजारमा आधारित पुँजीवादी अर्थतन्त्र अपनाएको निकै लामो काल भयो । विश्व बैंकलगायत विदेशीहरूको दबाबमा नेपालका नेताहरू परेकाले दिगो कृषि अर्थतन्त्रलाई त्यागेर बजार विकासमा आधारित कमजोर अर्थतन्त्र अपनाउन नेपाल बाध्य भएको हो । अहिलेको कोरोना कालमा बजार विकासमा आधारित पुँजीवादी अर्थतन्त्रलाई ठूलो संकट उत्पन्न भएको छ । फलस्वरूप नेपाल राष्ट्र पनि त्यसैको सिकार भएको छ । यो कोरोना कालले नेपालका लागि कृषिमा आधारित मिश्रित अर्थतन्त्र नै उत्तम भएको प्रामाणित गरेको छ ।
पूर्वराजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती कालमा कृषिमा आधारित मिश्रित अर्थतन्त्रको विकासमा जोड दिएका थिए भने त्यसपछिको कालमा दलहरूले बजार विकासमा आधारित पुँजीवादी अर्थतन्त्रमा जोड दिएका छन् । अहिले नेपालको कृषि विकासमा दलहरूले ल्याएको विनासका नीतिहरूका कारण नेपालमा मिश्रित अर्थतन्त्रको आधार ध्वस्त भएका छन् । दलका नेताहरू सबै पुँजीवादी बजार विकासमा जोडतोडले लागेका छन् । नेपालको अर्थतन्त्रमा, पूर्वाधार विकासमा, राजनीतिमा जताततै विदेशीको हस्तक्षेपका प्रभावहरू देखिन थालेका छन् । उहिले विदेशतिर लागेका नेपालीहरू नै अहिले विदेशीकै एजेन्ट बनेर पूरै नेपालभर छ्यापछ्याप्ती भएका छन् र नेपालका शीर्ष नेताहरूलाई छानी–छानी घेराबन्दीमा पारेका छन् ।
नेपालमा हाल चलेको दलीय राजनीतिले गर्दा विदेशीका एजेन्टहरूलाई नेपालमा पसेर नेपालको अर्थतन्त्रमा उत्पात मचाउन झनै सजिलो भएको छ । दलका शीर्ष नेताहरूको राजनीतिक भिजन भए पनि आर्थिक भिजन नहुँदा सबै विदेशीहरू र उनीहरूले नेपालमा परिचालित गरेका एजेन्टहरूको फन्दामा परेका छन् । दलका शीर्ष नेताहरू कसैको पनि नेपालका लागि ठोस आर्थिक भिजन नभएको हुँदा यो गरे पो हुन्छ कि त्यो गर्दा पो हुन्छ कि भन्दै संसार घुमेर देखेको र सिकेको अनि आफूले आत्मसात् गरेको अनुभवको आधारमा विदेशकै जस्तो पुँजीवादी विकासको नक्कल गर्ने गोल चक्करमा नेपाल र नेपाली जनतालाई पारेका छन् ।
परिणाम स्वरूप अहिले कोरोना कालमा आएर नेपाली जनताको सुखी जीवन र नेपाल राष्ट्रको विकास र समृद्धि धरापमा परेको छ । वस्ताविक जीवनमा कसैले कसैको नक्कल गर्नु हुँदैन किनकि सबैको प्रश्नपत्र बग्लाबेग्लै हुन्छ र एक अर्कासित मिल्दैन । नेपाललाई सिंगापुर वा स्विट्जरल्यान्ड बनाउँछौँ भन्ने नेताहरू परलोक सुधारिसकेका छन् तर उनीहरूको लेगासी बोकेर वा धानेर बसेका दलहरूकै राज अहिले पनि नेपालमा कायमै छ । नेपालका उक्त राजनीतिक दलहरू आफैँ पुँजीवादी अर्थतन्त्रको लगातार सिकार भएका छन् । उक्त दलका शीर्षदेखि सामान्य नेताहरू कार्यकर्ताहरूसम्म बजार विकास अर्थतन्त्रको सिकार भएका छन् र विदेशीका एजेन्टहरूको पनि एजेन्ट बनेर नेपालको राजनीतिको केन्द्रविन्दु बनेको सिंहदरबारभित्र विदेशीका एजेन्टहरूको फाइल च्यापी छिर्ने गरेका छन् ।
केही राजनीतिक दलहरूका शीर्ष नेताहरूले नै दलको पैसालाई पुँजीवादी बजारमा लगानी गर्दै बसेका पनि छन् । राजनीतिक दलहरूका शीर्ष नेताहरूको यस्तै हर्कतले गर्दा नेपाल राष्ट्र अहिलेको कोरोना कालमा विदेशीको बजारको रूपमा मात्रै सीमित भएको हुँदा अहिले नेपाली जनता समान्य गाँस, बास र कपासका लागि पनि विदेशी आयात व्यापारमा निर्भर हुनु परेको छ । पूर्वराजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायतकालमा नेपालले विदेशमा निर्यात गर्ने दाल, चामल, आलु, प्याजजस्ता कृषि उत्पादनहरू अहिले अभाव हुन थालेका छन् र भारतलगायत अन्य विदेशी मुलुकहरूले उक्त कृषि उत्पादनका सामग्रीहरू नेपालमा निर्यात नगर्दा नेपाली जनता धान्नै नसक्ने महँगीको मारमा पर्ने गरेका छन् ।
कोरोना रोगले गर्दा एकातिर नेपाली जनताका पुँजीवादी व्यवसायहरू ध्वस्त भएको हुँदा एक पैसाको आम्दानी छैन भने अर्कातिर दसैँ, तिहारको मुखमा अत्याधिक महँगी बढेको छ । दलहरूको गलत आर्थिक नीतिको प्राथमिक सिकार अहिले नेपाली जनता नै भएका छन् । यदि कृषिमा आधारित मिश्रित अर्थतन्त्र दलहरूले ध्वस्त नपारी कायम राखेको भए नेपाली जनता यतिसारो कोरोना रोगबाट प्रभावित हुने थिएन । दलहरूले विदेशीको एजेन्टहरूको प्रभावमा परी नेपाल राष्ट्रलाई परनिर्भर राष्ट्र नबनाएको भए अहिले चलेको यो कोरोना कालमा नेपाल राष्ट्र र नेपाली जनताको यस्तो दुर्गति हुने नै थिएन । अहिले नेपालमा कोरोनाको कूप्रभाव जताततै व्यप्त भएको छ । बजारमा आधारित पुँजीवादी अर्थतन्त्र दलहरूले नेपालमा अपनाएको हुनाले कोरोना रोगबाट नेपाली जनता यसरी नराम्रोसित प्रभावित भएका छन् ।
पुँजीवादीहरूले नेपालको सस्तो मानव शक्तिलाई उनीहरूको मुलुकको विकासका लागि उपयोग गर्ने सिलसिलामा नेपालमा वैदेशिक रोजगारीको बजार विस्तार गरेका थिए । नेपाली जनताले पनि दलहरूको प्रभावमा परी वैदेशिक रोजगारीलाई खुबै अपनाएका छन् । परम्परागत कृषिमा आधारित रोजगारीलाई त्यागी नेपाली जनता ठूलो जोखिम मोल्दै वैदेशिक रोजगारीमा गएका छन् तर उनीहरू गएका मुलुकहरूमा कोरोना रोगको प्रकोप फैलिएको कारणले अहिले धेरै नेपालीहरू बेरोजगार भएका छन् र नेपाल फर्किनका लागि पनि नेपाल सरकारको सहयोग कुर्दै बस्नु पर्ने अवस्थामा पुगेका छन् । यता नेपालमा पनि सरकारको वैदेशिक रोजगारको नीतिले ठूलै नोक्सानी गरिसकेको छ ।
नेपालमा चलेको परम्परागत कृषि खेतीपाती मानव शक्तिको अभाव हुँदा सबै ध्वस्त भएका छन् र खेतबारी सबै बाँझै बसेका छन् । दलहरूको जोड नेपालमा कृषि विकास गर्ने र उद्योग विकास गर्नेमा छैन । उनीहरू विदेशीका दलालहरूको प्रभावमा परेको हुनाले नेपालमा पुँजीवादी विकास गर्ने चलखलेमा लामो समयदेखि लागेका छन् । फलस्वरूप वैदेशिक रोजगारी र पर्यटन विकासलाई नेपालको आर्थिक विकासको जग मानेर सोहीअनुसार नीतिहरू, नियमहरू र कानुनहरू बनाउँदै मन्त्रालय स्तरमा नै संस्थागत संरचनाहरूको विकास गरेका छन् । अहिले चलेको कोरोना कालले वैदेशिक रोजगारी र पर्यटन दुवै क्षेत्रलाई नराम्रोसित प्रभावित तुल्याएका छन् ।
नेपालका लागि यी दुवै क्षेत्रको विकास दिगो विकास होइन भन्ने प्रमाणित भएका छन् । यस्ता परनिर्भर क्षेत्रको विकासमा नेपाल सरकारले जोड लगाएर नेपाललाई आवाद होइन बर्बाद तुल्याएका छन् । पुँजीवादी अर्थतन्त्र कोरोनाको सामु नेपालमा मात्र होइन संसारभर धरासायी भएको छ । दलहरूको गलत नीतिहरूले गर्दा अहिले एकातिर नेपालको अर्थतन्त्र धरासायी भएको छ भने अर्कोतिर नेपाली जनतामा गाँस, बास र कपासको समस्या बढेको छ । अहिले नेपाली कामदारहरू संसारभर कोरोना रोगबाट ज्यादा प्रभावित छन् र नेपाल सरकारले उद्धारको नाममा संकटमा परेकाहरूबाटै फाइदा लिने गरी आफैँ संलग्न रहेको निजी व्यवसायीहरूलाई परिचालन गर्ने नीतिअनुसार चलेको हुँदा आलो घाउमा झनै नुनचुक हाल्ने काम सरकारबाट भएको देखिन्छ ।
यस्तो सरकार संसारमा कतै छैन, जसले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्ने काम गर्दै छ । अरुले घोडा चढेको देखेर आफू घरको धुरी चढ्नु गलत हो । नेपालको विकास परियोजनाहरूको यथार्थ हालत यहि नै रहेको छ । दलहरूले कमिसन खानका लागि बनाएका राजनीतिक परियोजनाहरूले नेपालको विकास हुन सक्दैन । औद्योगिक विकासमा पछाडि परेको हुँदा नेपालको विकासचक्र अपूरो छ त्यसैले दलहरूले पूर्वाधार विकासमा लगाएको जोड र लगानीले कुनै प्रतिफल दिन सकेको छैन ।
समग्रमा टिप्पणी गर्दा नेपाल औद्योगिक विकासमा धेरै पछाडि परेको हुँदा पूर्वाधार विकासलगायत अन्य क्षेत्रमा सरकारले गरेको लगानी नेपालको विकास र समृद्धिसित जोडिन सकिरहेको छैन । कोरोना कालमा विकास परियोजनाहरू तोकिएको समय र लगानीमा पूरा हुने सम्भावना छैन । नेपालको जलविद्युत् विकासको क्षेत्रमा लगानी गरेका वा लगानी गर्ने योजना बनाएर बसेका निजी क्षेत्र पनि नराम्रो सित प्रभावित भएका छन् । निर्माण सुरु गरिएका परियोजनाहरू पूरा नहुनेदेखि लिएर बहुमूल्य लगानी नै डुब्नेजस्ता समस्याहरू कोरोना कालमा देखिएका छन् ।
नेपालको विकास परियोजनाहरूमा आयात गरिएको निर्माण सामग्रीहरू र विदेशी कामदारहरूको अत्याधिक प्रयोग गर्नु पर्ने बाध्यकारी अवस्था विद्यमान छ भने विदेशी मुद्राको पनि उपयोग गर्नु पर्ने हुन्छ । कोरोनाले यिनै समस्याहरूलाई बढाउने काम गरेको हुँदा कोरोना कालमा नेपालमा परियोजना लागत झन् बढेर महँगो हुने प्रभाव देखिन्छ । अहिले नेपालमा नेपाली इन्जिनियरहरू बेरोजगार छन् र उनीहरूको परियोजनामा हुने भूमिकालाई नेपालको दलीय राजनीतिले सिमित तुल्याएका छन् । योजना र लक्ष्यसहितको विकास परियोजनाहरूलाई अहिले नेपालमा नेताहरूको हचुवाको परियोजनाहरूले विस्थापित गरिसकेका छन् । नेपाली इन्जिनियर विज्ञहरू आफ्नै मुलुकमा परचक्रीझैँ भएका छन् र वन साङ्लीले घर साङ्लीलाई खेदेको होकीजस्तो महसुस गर्दै छन् ।
नेपाल सरकारको तजबिजी नीतिहरूको सिकार नेपालको विकास परियोजनाहरू र त्यसलाई पूरा गर्ने जनशक्ति नै भएका छन् । नेपाल सरकारको लापरबाही र मनोमानी ढंगले काम गर्ने परिपाटीबाट नेपाली जनता वाक्कदिक्क भएका छन् । यस्तो डरलाग्दो कोरोना कालमा पनि नेपालमा भ्रष्टाचार र अपराध रोकिएको छैन । अहिले नेपालमा भ्रष्टाचार परियोजनाको तहबाट नीतिगत तहमा सरेको देखिन्छ । सरकारको व्यापारीकरणले नेपाली जनताले पाउनु पर्ने सरकारी सेवालाई कुण्ठित तुल्याइको छ । पुँजीवादी विकासलाई अगाडि बढाउन धनशक्ति र जनशक्तिको जरुरत हुन्छ । कोरोनाको कारणबाट नेपालको धनशक्ति र जनशक्ति दुवै प्रभावित भएका छन् । नेपालमा कोरोनाको त्रासले गर्दा अब निर्भय भएर काम गर्न सकिने अवस्था कायम छैन । त्यसैले आगामी दिनमा नेपालको पुँजीवादी विकास झनै खस्किने र नेपाल अल्पविकसित मुलुकहरूको चाङमा झन् तल झर्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published.