उडिसा भ्रमण संस्मरण (३)

प्रदेश ३ प्रमुख राजनीति समाचार

अघिल्ला दुई शृंखलामा भारतको उडिसा भ्रमणका विभिन्न सन्दर्भ चर्चा गरिएको थियो । यस भागमा भने उडिसा पुरीबाट कोलकता अनि काठमाडौं फर्कँदाका संस्मरणहरु समावेश गरिएको छ । खासगरी कोलकताको स्पेस थिएटर मेरो मानसपटलमा अहिले पनि ताजै रहेको छ । उडिसामा रहँदासम्म इन्टरनेटको उपयोग गर्न नपाएकामा कोलकता विमानस्थलमा निःशुल्क उपयोग गर्न पाएका थियौँ । यी र यस्ता संस्मरणहरु यहाँ उल्लेख गरिएको छ ।
रेल यात्रामा रोकेको बेलामा प्रयोग नमिल्ने शौचालय
उडिसाबाट फर्कँदा रेलबाट फर्कने रहरका साथ हामी टिकटको प्रबन्धमा लागेका थियौँ । धेरै मेहनतका बाबजुद एसी २ को टिकट पाइयो । रेलमा एसी १, एसी २, एसी ३ र सिल्परको टिकट बुक हुँदो रहेछ । एसी १ भनेको एउटा कोठामा १,१ वटा सोफाजस्तो हुने त्यहाँ २ जना सुत्न पनि मिल्ने हुँदो रहेछ । एसी २ भनेको एक कोठामा ४ जना बस्न वा सुत्न मिल्ने, सोफाजस्तो तर तला भएको हुने रहेछ । जहाँ मुनी र माथि सुत्न मिल्ने एक कोठाजस्तोमा ४ जना बस्ने वा सुत्नेको व्यवस्था हुँदो रहेछ । त्यसैगरी, एसी ३ मा तीन तलाजस्तो हुने एक कवल ६ जनाका लागि हुने रहेछ । सिल्पर भनेको सुत्ने व्यवस्था हुने तर एसीको व्यवस्था नहुने । हामी एसी ३ को टिकट पाएका थियौँ । तर हाम्रो कवलमा ४ जना बस्न मिल्ने मात्र रहेछ । हामी पनि ४ जना नै थियौँ । सिट अभावको कारण ३ जनालाई त्यो डिब्बामा एकलाई अर्कै डिब्बामा बस्ने टिकट मिलेको थियो । तर हाम्रो डब्बामा टिकट काट्ने मान्छे त्यहाँ आउँदै आएन । धन्य भयो, हामी चारै जना मात्र एकै डिब्बामा बसेर हल्ला गर्दै, रमाइलो गर्दै यात्रा गर्न पायौँ ।
मैले, यो भन्दा पहिला पनि रेल चढेको थिएँ । ०५१ सालतिर हुनुपर्छ, गैरसरकारी संस्था महासंघको विराटनगरमा भएको महाधिवेशनमा सहभागी हुने मौका मिलेको थियो । त्यो बेलामा जोगबनीको पारितर्फ गएर फारबिसगन्जमा रोकिएको रेलको सिँढीमा चढेर फोटो खिचेको थिएँ । रेल चढेर यात्रा गर्ने मौका भने ०६१ सालमा मिलेको थियो । त्यही समयमा अन्तर्राष्ट्रिय स्तरमा चल्ने ठूलो विमान पहिलोपटक चढेको थिएँ । काठमाडौंदेखि दिल्लीसम्म । जडिबुटीसम्बन्धी तालिमका लागि भोपालसम्म जाने क्रममा नयाँ दिल्लीदेखि रेल चढिसकेको थिएँ तर अरु तीन जना साथीहरुका लागि पुरीदेखि कोलकताको यो रेल यात्रा नै पहिलोपटक थियो । मेरो पनि पुरानो स्मरण ताजा थिएन ।
रेलको डिब्बाको ढोकामा नै टिकटवाला यात्रुको नाम उमेर लेखेर टाँसेको हुँदो रहेछ । त्यही हेर्दै चढ्नु पर्ने । डिब्बाभित्र नै शौचालय, मुख धुने स्थान सबै हुँदोरहेछ । यसको अर्को रमाइलो कुरा भनेको शौचालयको भित्तामा रेल रोकेको बेलामा प्रयोग नगर्नु भनेर सूचना टाँसेको थियो । हामीले गरेको दिसा पिसाब कुनै ट्यांकीमा जम्मा हुने होइन रहेछ सोझै भुइँमा खस्दो रहेछ । रेल रोक्दा स्टेसनमा रोकिने त्यो बजार क्षेत्र पनि भएकाले त्यस्तो सूचना राखेको होला, सायद । बेलुका १० बजे पुरीबाट हिँडेको रेल अर्को दिन बिहान ९ बजेतिर कोलकताको हावडा स्टेसनमा आई रोकियो । हामी रेलबाट उत्रियौँ । बसबाट मिर्जा गालिब स्ट्रिट चोक गयौँ अनी त्यहाँ मेजर इन्टरनेसनल होटलमा कोठा लियौँ ।
आहा कोलकताको स्पेस थिएटर
कोलकताको घुम्ने स्थानमध्ये साइन्स सिटी हो भन्ने कुरा हामीलाई काठमाडौंमा नै भनिएको थियो । हामी त्यसको सोधखोज गर्दै ट्याक्सी लिएर त्यता हानियौँ । नौलो कौतुहलता बोकेका हामीलाई त्यो स्थान अलौकिक छ भन्ने कुरा हाम्रा महासचिव अजय मानन्धरले काठमाडौंमा नै बिदाइका बेलामा बताउनु भएको थियो । साइन्स सिटीमा प्रवेशका लागि भारतीय रुपैयाँ ३० प्रतिव्यक्ति लाग्दो रहेछ । त्यहाँभित्रका अरु स्थान हेर्न थप पैसा तिर्नु पर्ने रहेछ । हामीले स्पेस थिएटर र रिभोलुसन पार्क हेर्ने विचार गरी थिएटरको निम्ति प्रतिव्यक्ति भारु. ५० र पार्कलाई रु. १० तिरी टिकट लियौँ ।
स्पेस थिएटरमा ३ बजे बंगाली भाषामा र ४ बजे अंग्रेजीमा हुने भएकाले हामीले ४ बजेको समय छान्यौँ । त्यसभन्दा अगाडि हामी रिभोलुसन पार्कमा छि¥यौँ । मान्छेको उत्पत्तिपूर्व कस्ता कस्ता रुपहरु तथा अन्य जनावारहरु थिए भन्ने कुरा मूर्तिद्वारा प्रत्यक्ष जानकारी पाइने रहेछ । यो पार्कमा प्रवेश गर्दा गोहीको मुखबाट छिर्ने र उसको पेटका सबै कुराहरु हेर्ने घुम्ने र उसको पुच्छरबाट निस्कने मिलाएको रहेछ । भित्र विभिन्न जनावरहरुको मूर्ति रहेछ । हात्ती, गैँडा, आदिम कालका विभिन्न डरलाग्दा जनावरहरु थिए । उनीहरु हल्लिएको, कराएको आवाजसमेत आउँदो रहेछ । फोटो पनि खिच्न पाइने रहेछ, भारतको धेरै स्थानमा ‘तस्बिर लेना मना है’ भन्ने स्टिकर टाँसेको पाइन्छ तर यहाँ चाहिँ अनौठै भयो । जे भए पनि फोटो रहर पुग्ने गरी खिचियो ।
साइन्स सिटीमा नै विभिन्न भुलभुलैया तस्बिर तथा खेल सामग्रीहरु रहेछन् त्यसको अवलोकन गरियो । विभिन्न चित्रहरु, माछाको सजिव प्रदर्शनी हेरियो । त्यस सिटीको सबैभन्दा आकर्षक पक्ष भनेको स्पेस थिएटर भएकाले ४ वजे त्यसमा प्रवेश गरियो ।
प्रवेशपूर्वको मेरो अनुमान अन्तरिक्ष देख्न पाइएला भन्ने थियो तर मेरो अनुमानभन्दा विल्कुलै फरक रहेछ । त्यहाँ त सिनेमा देखाउने पो रहेछ तर बसाइँ अनौठो लाग्दो थियो । पृथ्वीभित्रको आकारमा सिनेमा देखाइँदो रहेछ । आकर्षक पाराको प्रस्तुति थियो । हामी सिटमा बसेका हुन्थ्यौँ तर हामी नै पृथ्वीका विभिन्न स्थानमा प्रत्यक्ष घुम्न गएको आभास हुने गर्दथ्यो । कहिले हिउँको पहाडमा हामी आफू ठोक्किएको जस्तो हुन्थ्यो त कहिल समुन्द्रमा खसेजस्तो ।
मलाई बेला बेलामा डर लाग्यो । मैले धेरैपटक म आफू बसेको कुर्सी च्याप्प समातेँ, पहाडमा ठोक्कियो, खसियो भनेर । कतिपल्ट त मैले आँखासमेत चिम्लिन पुगेँ । अनौठो खाल्को थियो । त्यो बेलाको अनुभूति शब्दमा व्याख्या गर्न नै सकिँदैन । त्यस स्थानको फोटो लिन भने मनाही थियो । मेरो अनुमान तथा अपेक्षाभन्दा फरक भए तापनि एउटा अनौठो अनुभूति गरियो ।
इन्टरनेट सुविधामा चाहिँ नेपाल अगाडि
हाम्रो यसपटकको यात्रा १६ जेठ ०७० सुरु भएर २३ गते सकिने थियो । एकहप्ते हाम्रो यो यात्रामा विभिन्न खाल्का उतार चढाब, रमाइला तथा दुःख लाग्दा पक्षहरु समेट्दै हामी २३ गते कोलकता एयरपोर्टमा पुग्यौँ । हाम्रो विमान नेपाली समय अनुसार २ः०५ मा उड्ने थियो ।
हामी विमानस्थल ४ घन्टा अगाडि नै पुगेका थियौँ । भारतको एक प्रदेशको विमानस्थल र हाम्रो देशको विमानस्थलको मनमनै तुलना ग¥यौँ । हुन त अरुको देखेर डाह गरेर हुँदैन हामी आफैँले गरेर देखाउनु पर्दछ भन्ने हाम्रो मान्यता हो । तर पनि हाम्रोमा पनि यस्तै या यो भन्दा राम्रो भइदिएको भए कति जाती हुन्थ्यो होला भन्ने मात्र हो । हामी विमान स्थलमा घुम्यौँ ।
यहाँ चाहिँ विमानस्थलभित्र निःशुल्क वाइफाइ रहेछ । यसको केही मात्रामा उपयोग गरियो । भारत र नेपालको तुलना गर्दा इन्टरनेट सुविधामा चाहिँ हामी अगाडि छौँ जस्तो लाग्यो । मेरो त्यो बेलाको अनुभव हो । आधिकारिक अध्ययनको पुष्टि होइन ।
भारतमा बस्दा इन्टरनेट भेटेको कोलकता विमानस्थलमा मात्रै हो । हाम्रो भारतको बसाइँभर इन्टरनेट सुविधा कुनै होटलमा पनि पाउन सकेनौँ । नेपालमा त प्रायः मध्यम स्तरका होटलहरुमा पनि यो सुविधा पाइन्थ्यो । साइबरहरु पनि टन्न खुलेका हुन्थ्ये । तर भारतमा त्यस्तो देखिएन । सात दिनसम्म नै हामीले इमेल इन्टरनेट हेर्न सकेनौँ । कोलकताको विमानस्थल पुगेपछि मात्र मेरो चाहना पूरा भयो । रमाएर इमेल खोलेँ । धेरै इमेलको जवाफहरु पठाएँ । फेसबुक खोले हेरेँ, स्टाटस लेखेँ । त्यसैगरी पुरीको समुन्द्रको छालसँग कुस्ती खेलको फोटाहरु फेसबुकमा अपलोड गरेँ ।
स्काइपमार्फत फेकोफनका महासचिव गणेश कार्कीसँग कुराकानी भयो । त्यसैगरी अर्का मित्र चुपबहादुर थापासँग समेट च्याटमार्फत गफ भयो । आज साह्रै रमाइलो तथा सूचनामा पुनर्ताजकीय भएको महशुस गरियो । सूचना तथा सञ्चारले तागत दिन्छ भनेको हो रहेछजस्तो लाग्यो । यो प्रविधिमा चाहिँ नेपालभन्दा भारत पछाडि नै रहेछजस्तो लागेको थियो ।
कोलकतादेखि काठमाडौंको हवाइ यात्रा ६४२ किलोमिटर थियो । करिब १ घन्टा २० मिनेटमा हवाइ यात्रा सकियो । हामी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियौँ । हाम्रा सामानहरु भएको झोला आउन एक घन्टाभन्दा बढी समय लागेको थियो । हामीले आ–आफ्ना झोला टिपी आफ्नो नियमित बसाइँतिर लर्किएको थियौँ । त्यो पटकको भारत यात्रा पनि समाप्त भएको थियो ।
त्यो भ्रमणले भारतमा भएका वन अभियानका बारेमा जान्ने मौका मिलेको थियो । त्यसैगरी संस्थागत सम्बन्ध विकास हुन सहयोग पुगेको थियो । त्यसपछिका कफ्सन नेपालका २ वटै महाधिवेशनमा भारतमा रहेको त्यस संस्थाका महासचिवको नेतृत्वमा प्रतिनिधिमण्डल आएको थियो । यताबाट पनि संस्थागत कार्यक्रममा सहभागी हुने परम्परा चलिरहेको छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *