व्यक्तिगतभन्दा संस्थागत लगानी बढाएर पुँजी बजारलाई स्थायित्व बनाउने मेरो लक्ष्य छ

अन्तरवार्ता प्रदेश ३ प्रमुख बिबिध वित्त

 

भीष्मराज ढुंगाना चिनाइराख्नु पर्ने नाम होइन । नेपाल सरकारको मन्त्रिपरिषद्को २२ पुसमा सम्पन्न बैठकले ढुंगानालाई पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय ग¥यो । ३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको विज्ञ संचालक सदस्य हुनुहुन्छ । बैंकिङ तथा अर्थतन्त्र, बैंक नियमन तथा सुपरिवेक्षण, विदेशी मुद्रा व्यवस्थापन, वित्तीय क्षेत्र सुधार र पुँजी बजारका उनी विज्ञ मानिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट बिजनेस फाइनान्समा एमबिएसम्मका अध्ययन गर्नु भएका ढुंगानाले त्यसअघिको पढाइ विराटनगरको महेन्द्र मोरङ कलेजबाट गर्नु भएका थिए । मोरङ जिल्लामा ०१९ साल माघ १० गते जन्मिनु भएका ढुंगाना ०४२ सालदेखि ०४६ सालसम्म राष्ट्रिय बाणिज्य बैंकमा काम गर्नु भएको थियो । सहायक पदबाट जागिर सुरू गर्नु भएका उहाँले त्यहाँ पाँच वर्ष बिताउनु भयो । त्यसपछि राष्ट्र बैंकमा अधिकृतमा नाम निकालेर उहाँ नियामकीय भूमिकामा पुग्नु भयो । ०६२ सालमा उहाँ निर्देशक भए । ०७० सालमा उहाँ कार्यकारी निर्देशकमा बढुवा हुनु भएका थिए । केही समयअघि अवकाश भएका उहाँ अर्को नियामक बोर्डको विज्ञ संचालकमा नियुक्त हुनु भएको थियो । उहाँको सस्टेनिबिलिटी अफ पब्लिक डेब्ट इन नेपाल नामक पुस्तक पनि प्रकाशित छ । ढुंगानाका अघि चुनौति कम छैनन् । बजारमा उपकरणको अभाव छ । बोर्ड आफैँ प्रभावकारी नियामकको रुपमा प्रस्तुत हुन सकेको महसुस सरोकारवालाले गरिरहेको अवस्था छैन । पुँजी बजारमा करलगायत विवाद ज्यूँका त्यूँ छन् । कोरोनाको कहरको अवस्थामा अध्यक्ष बन्नुभएका ढुंगाना यी सबै कुराका जानकार पक्कै हुनुहुन्छ । ढुंगाना यसअघि पनि बोर्डमा विज्ञ सदस्यका रूपमा कार्य गरिसकेका व्यक्ति हुन् । यी र यस्तै विषयमा प्रस्तुत छ, अध्यक्ष ढुंगानासँग गरिएको कुराकानीको सारः
० धितोपत्र बोर्डलाई व्यापक जिम्मेवारी र कार्यक्षेत्र भएको नियामक हो भनेर भनिन्छ तर राज्यका निकायदेखि बजारका सरोकारवालासम्मले धितोपत्र बोर्डलाई बलियो नियामकको रुपमा लिने गरेका छैनन् नि, किन होला ?
नियामक निकाय आफैँमा बलियो हुन्छ, हुनुपर्छ । त्यसको प्रभाव वा त्यसको उपस्थिति बजारले कत्तिको महसुस गरेको छ भन्ने अर्काे प्रमुख विषय हो । अहिलेसम्मको कुरा गर्ने हो भने बैंक वित्तीय संस्थाहरु सबै ठाउँमा छन् । ती संस्थाहरुको नियामक निकाय कुन हो भन्दा नेपाल राष्ट्र बैंक हो भन्ने कुरा आउँछ । राष्ट्र बैंकले नोट पनि ल्याउँछ । सबै मानिसले त्यही नोट बोकेर हिँड्छन् । त्यसैले राष्ट्र बैंकको बेग्लै प्रकारको महत्व र ख्याती छ । धितोपत्र बोर्ड भनेको पुँजी बजारको नियामक निकाय हो । पुँजी बजारको सन्दर्भमा हेर्ने हो भने हामीले धेरै विकास गरिसकेको अवस्था छैन । बैंकिङ क्षेत्रले जति विकास गरेको छ, पुँजी बजार क्षेत्रले त्यो गतिमा विकास गरिसकेको छैन । पुँजी बजारको विस्तार गर्न अझै धेरै कामहरु गर्न बाँकी छ । पुँजी बजारमा सर्वसाधारणका चाहना अनुसारका उपकरणहरु बजारमा उपलब्ध गराउन हामीले धेरै कामहरु गर्न बाँकी छ । पुँजी बजारलाई स्वस्थ्य बजारको रुपमा विकास गर्न पनि निकै काम बाँकी छन् ।

बैंकिङ क्षेत्रमा आवद्ध सर्वसाधारण र पुँजी बजारमा आवद्ध सर्वसाधारणको संख्यामा पनि भिन्नता छ । बैंकिङ क्षेत्रमा आवद्ध सर्वसाधारणको संख्या करिब नेपालकै जनसंख्या बराबर छ । सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या १६ लाखको हाराहारीमा छ । यसमध्ये अनलाइनमा सक्रिय भएर कारोबार गर्ने लगानीकर्ताको संख्या १७ हजारको हाराहारीमा छ । हाम्रो दायरा नै अलि सानो छ ।
त्यसैले यो बलियो नियामक, यो कमजोर भनेर तुलना गर्ने बेला नै भएको छैन । पुँजी बजार आफ्नै गतिमा अगाडि बढ्दै छ । धितोपत्र बोर्डले आफ्नो कुनै समयमा यो बलियो नियामक हो, यसको महत्व धेरै छ भन्ने स्थापित गराउनेछ । अन्य देशमा यस्तो अनुभूति हुन्छ भने नेपालमा नगर्ने भन्ने हँुदैन ।
० धितोपत्र बजारमा करको विषय पनि निकै पेचिलो बनिरहेको छ, यो विवाद समाधानका लागि के कस्तो पहल गर्नुहुन्छ ?
करको विषय धितोपत्र बोर्डको नियन्त्रणमा रहेको विषय होइन । सरकारको नियन्त्रणमा रहेको विषय हो । तर, एउटा कुरा के हुन्छ भने पुँजी बजारको विकासका लागि के कस्ता कुराहरु चाहिन्छन्, पुँजी बजारको विकास लागि करका दरहरु के कस्ता हुनुपर्छ, अन्य देशहरुले पुँजी बजारका लागि करको दरहरु के कस्तो अवलम्बन गरेका छन् भन्नेजस्ता विषय नियामक निकायले हेर्ने हो । करका विषयमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अहिलेको अवस्थालाई विचार गरेर कुन किसिमको ‘ट्याक्स रिजिम’ हामीलाई चाहिन्छ, कुनमा के के गर्ने हो भन्ने विषयमा बजेट निर्माणको समयमा बोर्डले नेपाल सरकारलाई सुझाव दिन्छ । हामीले दिएका सुझाव अबलम्बन गर्न सम्बन्धित अधिकारीलाई हामी ‘कन्भिन्स’ गर्छाैँ । प्रत्येक्ष रुपमा बोर्डको नियन्त्रणको विषय नभए पनि बजार विकासका लागि गर्नुपर्ने काम हामी गर्छाैँ । त्यसै बस्दैनौँ ।
० पु“जी बजारमा अहिलेका मुख्य चुनौती के के देख्नु भएको छ ?
अहिले हेर्ने हो भने पुँजी बजारमा व्यवसायिकताको अभाव देखिन्छ । यहाँ काम गर्ने जति पनि संघसंस्था छन् तिनीहरुमा यो मात्रै मेरो व्यवसाय हो र यसबाटै मैले जीविकोपार्जन गर्न सक्छु वा म अन्य व्यवसायमा आश्रित हुनु पर्दैन भन्ने भावना राम्रोसँग जागिसकेको अवस्था देखिँदैन । ब्रोकरहरु काम गर्छन् तर उनीहरु पनि अरु सहायक व्यवसायमा संलग्न रहनु पर्दछ भन्छन् । इन्भेस्टर छन् उनीहरु पनि हामीले सेयर कारोबार मात्र होइन अरु व्यवसाय पनि गर्नुपर्छ भन्छन् । त्यस्तै अन्य क्षेत्रमा पनि व्यवसायिकता अभिवृद्धि भएको देखिँदैन । यसलाई अभिवृद्धि गर्नुपर्ने अवस्था छ ।
बजारमा सूचना र प्रविधिको विकास उच्चतम् स्तरको हुनुपर्ने ठाउँ पुँजी बजारमा सूचना प्रविधिको उच्चतम् प्रयोग हुन सकेको देखिँदैन । यही बोर्डभित्रै पनि यो प्रविधिको विकास गर्नुपर्ने अबस्था छ । कारोबारका संयन्त्र पनि सूचना प्रविधिमा आधारित हुनुपर्ने हो । सेयरको कारोबार भयो, सेयर कारोबार सेटलमेन्टका कुरा भए, त्यस्तै पुँजी बजारमा प्रयोग हुने केवाइसी, यसको वितरण प्रणाली, यसको प्रयोग र पहँुचमा अभिवृद्धि गर्ने कुरा पनि हामीले अहिले बढाउनुपर्ने अवस्था छ ।
यदि सूचना प्रविधिको प्रयोग अहिले पुँजी बजारमा राम्रो भएको हुन्थ्यो भने यतिखेर यो बन्द गर्नुपर्ने अवस्था पर्दैनथ्यो । त्यसले गर्दा हामीले सूचना प्रविधिको विकास पुँजी बजारमा गर्नुपर्ने छ । त्यस्तै पुँजी बजारका क्रियाकलापमा संस्थागत सुशासनको पनि राम्रो विकास भएको देखिँदैन । यसले के देखाउँछ भने बजारको कारोबारमा कर्पोरेट गभर्नेन्स राम्रो नभएको हुनाले त्यसलाई प्रभाव पार्ने विभिन्न व्यक्ति, संस्थाहरु सक्रिय हुन्छन् । जसले बजारलाई सहि दिशामा अगाडि बढ्न मद्दत पु¥याउँदैन । बजारमा कायम हुने मूल्य, कारोबार, स्वच्छ प्रवृत्तिजस्ता विविध पक्षलाई राम्रोसँग विकासको लयमा लैजान सकिएको छैन भन्ने कुरा पनि बजारमा आइरहन्छ ।
० तपाईं धितोपत्र बोर्डमा आउनुभएको पनि १० महिना हुन लागेको छ । त्योभन्दा अघि पनि विज्ञ सदस्यको रुपमा यहि“ हुनुहुन्थ्यो । त्यसैले तपाईंलाई बोर्डबारे बुझ्न समस्या पनि भएन होला । धितोपत्र बजारका लागि कोशेढुंगा बन्ने गरी यो अवधिमा के के काम गर्नुभयो ?
म बोर्डमा आएको अवधिमध्ये आधाभन्दा धेरै समय त लकडाउनमै बितेको छ । यो भएको थिएन भने यतिबेला धेरै काम अघि बढिसकेको तपाईंले पाउनुहुन्थ्यो । यद्यपि अहिले पनि काम रोकिएका छैनन्, त्यसमा केही ढिलाइ भएको मात्रै हो । म आएपछि बोर्डले वस्तु विनिमय बजार, विशिष्टिकृत लगानी कोष, ब्रोकरको आधिकारिक प्रतिनिधिको व्यवस्था, मर्चेन्ट बैंकरको दायरा विस्तारको कुरा, स्टक डिलरको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । वस्तु विनिमय बजारको सञ्चालनको सम्बन्धमा मैले अघि पनि भनेँ । यो वर्षको बजेटमा पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने भन्ने कुरा आएको छ । सरकारको कार्यक्रम नै बनेर आएपछि जसरी पनि वस्तु विनिमय बजार सञ्चालनमा ल्याउनैपर्छ । त्यसैले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार सञ्चालनमा आउने गरी हामी अघि बढेका छौँ । अहिले विशिष्टिकृत लगानी कोषको विकास गर्ने काम पनि अघि बढेको छ । ती कोषको विकासमार्फत विदेशी पुँजी ल्याउन पनि सकिन्छ । त्यो काम पनि अहिले अघि बढेको छ ।
अर्काे मुख्य समस्या भनेको पुँजी बजार साक्षरताको हो । सेयर बजारको पहुँच बढ्दै गए पनि अहिलेसम्म सेयर कसरी किन्ने, कसरी बेच्ने, डिम्याट कसरी खोल्ने ? यसका प्रक्रियाहरु के हुन् ? जस्ता सामान्य कुराहरुको जानकारी नभएका व्यक्तिहरु पनि छन् । हामीकहाँ त्यस्ता कुराहरु सिकाउने संयन्त्र पनि छैन । ब्रोकरहरु जति छन्, सहरमा मात्रै केन्द्रित छन् । बैंकहरु गाउँगाउँमा पुगेका छन्, तर उनीहरुलाई त्यो सिकाउने फुर्सद नै छैन । यसका लागि हामीले ब्रोकरको आधिकारिक प्रतिनिधि नियुक्तिको व्यवस्था गर्ने योजना अघि बढाएका छौँ । अरु मुलुकहरुमा पनि यस्तो संयन्त्र भएको पाइन्छ । त्यस्ता व्यक्तिहरुले ब्रोकरहरुले प्रतिनिधि बनेर तोकेर गाउँगाउँमा सेयर शिक्षा दिन र उनीहरुलाई ब्रोकरसँग जोडिदिने काम गर्छन् । यसो हुँदा शिक्षा र पहुँच विस्तार दुवै एकैपटक हुन सक्छ भन्ने हो । त्यसका लागि हामीले ठाउँठाउँमा तालिम दिने व्यवस्था गर्न लागेका छौँ । अहिले हाम्रा मर्चेन्ट बैंकरले गर्ने कामको दायरा निकै साँघुरो छ, उनीहरुको कार्यशैली पनि सुस्त छ । त्यसैले उनीहरुलाई आफ्नो दायरा विस्तार गर्न र गतिलाई बढाउन हामीले भनिरहेका छौँ । अहिले पनि उनीहरुले क्लोड इन्ड म्युचुअल फन्डजस्ता सिमित योजना मात्रै ल्याएका छन् । हामीले ओपन इन्ड फन्डका साथै परामर्श सेवालगायत ‘इनोभेटिभ प्रोडक्ट’हरु ल्याउन हामीले भनिरहेका छौँ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा संसदीय समितिमा अड्किएको कुरा तपाईंलाई थाहा नै छ । त्यहाँबाट आवश्यक रायसुझाव नआई हामी अघि बढ्नसक्ने अवस्था छैन । यो विषय अलिकति विवादित पनि बनेको छ । समितिबाट अध्ययन प्रतिवेदन आएपछि त्यही आधारमा हामी अघि बढ्छौँ । अर्काे महत्वपूर्ण काम भनेको स्टक डिलरको हो । यसलाई अघि बढाउनेबारे बजेटमा पनि कुरा आएको छ । हामीले बजारमा एकैपटक ३÷४ वटा स्टक डिलर कम्पनी ल्याऔँ भनेर चाहेका हौँ । तर, अहिलेसम्म नागरिक लगानी कोषको एउटा मात्रै कम्पनी दर्ता भएको छ । उहाँहरुले यो सञ्चालनका लागि कार्यविधि बनाउने र स्रोतको व्यवस्थापन गर्ने काम गरिरहनुभएको छ । त्यसरी आएपछि हामी अन्तिम स्विकृति दिन्छौँ । कर्मचारी सञ्चय कोषलाई पनि हामीले यस्तो कम्पनी खोल्न आग्रह गरिरहेका छौँ । यसमा उहाँहरु पनि सकारात्मक रुपमा छलफल गर्दै हुनुहुन्छ । यो पनि सञ्चालनमा आयो भने तत्काल २ वटा स्टक डिलर कम्पनी हुन्छ । विस्तारै अरु १÷२ वटा थप गर्न सकियो भने यसले बजारलाई राम्रै गर्ला भन्ने हामीले आसा गरेका छौँ । म बोर्डको नेतृत्वमा आएपछि यी सबै विषयहरुलाई एक चरण माथि पु¥याउने काम गरेको छु ।
० तपाईंको भावी योजना के के छन् ?
हो, मैले अध्यक्षको पदभार सम्हालेदेखि नै छ वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पहिलो, पुँजी बजारमा स्थायित्व ल्याउनु जरुरी छ । यसमा व्यक्तिगतभन्दा संस्थागत लगानी बढाउने वातावरण बनाउन सकेमा स्थायित्व आउनसक्छ । दोस्रो, त्यसका लागि पुँजी बजारमा व्यावसायिकता अभिवृद्धि गरिनुपर्छ । अहिले पुँजी बजार आकाशेखेतीजस्तो मात्र भएको छ । पुँजी बजारमा प्रवेश गर्न चाहनेका लागि यो क्षेत्र पनि भविष्य राम्रो छ है भन्ने बनाउनुपर्छ ।
तेस्रो, यस बजारको दायरा बढाउनु अत्यन्तै जरुरी छ । त्यसका लागि अहिलेका डिबेन्चर वा म्युचुअल फन्डबाहेक अन्य उपकरणको पनि खोजी गर्नुपर्ने हुन्छ । डेरिभेटिभहरू थपिँदै जानुपर्छ । चौँथो पक्ष भनेको यस क्षेत्रमा सूचना प्रविधि र आइएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पु¥याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत यसमा सजिलै सहभागी हुन सक्छन् । अझै पनि हाम्रो अनलाइन प्रणाली पूर्णरूपमा प्रयोग हुन सकिरहेको छैन । मैले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पाँचाँै, कर्पोरेट सुशासनको परिपालनामा कडाइका साथ गराउनुपर्छ । इन्साइडर ट्रेडिङ र डिस्क्लोजरहरूलाई थप व्यवस्थित गर्नु जरुरी छ ।
अन्तिम कुरा भनेको हाल प्रचलनमा रहेका कानुनलाई आवश्यकता अनुसार समयसापेक्ष सुधार गर्ने र केही बनाउन बाँकी ऐन नियम बनाउँदै जानु हो । यी विषयका साथै धितोपत्र सेक्युरिटी बोर्डको अहिलेसम्म आफ्नो भवन छैन । मेरो कार्यकालमा यसको आफ्नै भवन निर्माणका लागि पनि पहल गर्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *