एकीकृत योजनाको अभावमा सडक बनाउनेबित्तिकै भत्काउने काम हुँदा सडकको आयु लामो नभएको हो

अन्तरवार्ता प्रमुख

 

हाम्रो देश नेपालमा सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु समस्या सामान्यझँै बनेको छ । व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण समस्या बनेको छ । सडक निर्माण गर्दा ढल, खानेपानी, विद्युत्, टेलिकमलगायत निकायहरुसँग पर्याप्त समन्वय उपयक्त रुपमा भएको देखिँदैन । जसको कारण सडक डिभिजनले सडक निर्माण गरेको भोलिपल्टबाटै सडक भत्काउने काम हुँदै आएको पनि छ । सरकारी निकायहरुबीच नै तालमेल नहुँदा एक महिनामा निर्माण हुनुपर्ने सडक वर्षौँ लाग्ने गरेको छ । यस्तै सडक विस्तारको क्रममा देखिएको ढिलासुस्तीको कारण आमनागरिकहरुले दिनानुदिन सास्ती पाएका छन् । यसै सन्दर्भमा सडक निर्माणमा हुने ढिलासुस्ती, सडकको गुणस्तर, सरोकारवाला निकायहरुबीच समन्वयको अभाव र आगामी योजनाजस्ता विषयमा केन्द्रित रहेर डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख कृष्णराज अधिकारीसँग गरेको कुराकानीको अंशः
सडक डिभिजन भरतपुरमा के कस्ता काम भइरहेका छन् ?
सडक डिभिजन विभागको एउटा अंग हो विशेषगरी राष्टियराजमार्गहरुको सडक मर्मत तथा सम्भारका कामहरु भइरहेका छन् । त्यसका अतिरिक्त पुलहरु र हुलाकी आयेजनाहरुको कामहरु भइरहेका छन् ।
बजेटको अवस्था कस्तो छ ?
यो आर्थिक वर्षका लागि विनियोजन गरेका बजेटहरु पुग्ने नै छ । अपुग होलाजस्तो मलाई लाग्दैन् ।
गत वर्ष के कस्ता कामहरु भए ? लकडाउन र कोरोनाको असर सडक डिभिजन भरतपुरमा कत्तिको प¥यो ?
कोरोनाले असर त विश्वभरी नै पारेको छ नेपालमा नपर्ने त कुरा नै भएन । हामीलाई पनि ढिलो चाँडो आफ्नो ठाउँमा छ तर, असर पा¥यो । हामीले विशेषगरी, चितवन र धादिङ दुई जिल्ला हेर्छौँ । यो वर्ष धेरै नै वर्षा भयो । राष्ट्रिय राजमार्ग नारायणघाट मुग्लिन सडक र पृथ्वी राजमार्ग मुग्लिनसम्मको बाटोमा धेरै नै पहिरो गयो । यस्तो हुँदा पनि हामीले बाटो खोल्नका लागि कुनै कसर बाँकी राखेनौँ र चाँडोभन्दा चाँडो बाटो खोल्ने काम ग¥यौँ ।

कृष्णराज अधिकारी प्रमुख डिभिजन सडक कार्यालय, भरतपुर

सडक डिभिजन भरतपुरलाई काम गर्न कत्तिको सहज छ ?
चितवनमा एउटा कुरा सजिलो छ कि निर्माण सामग्रीहरु सबै उपलब्ध छ अन्य ठाँउको तुलनामा । साथै, जनशक्ति पनि आवश्यक अनुरुप नै रहेका छन् । यी दुइ कुरा भएको कारणले कामहरु धेरै सजिलो रहेको छ । जनशक्ति आवश्यक प¥यो भने आउनका लागि ट्रान्स्पोर्टेसन पनि सहज छ । साथै यो एउटा तराई जिल्ला भएकाले भौगोलिक कठिनाइ पनि त्यत्ति छैन । जसको कारणले काम गर्न सहज छ र अन्यको तुलनामा तीव्र रहेको छ ।
सडक निर्माणको काममा किन एकीकृत मोडलको विकास हुन सकेन नि ?
एकीकृत प्लानिङ नभएर  सडक निर्माणको क्रममा समस्या देखिएको हो । सडक बनाउन पाएको छैन भत्काउने क्रम सुरु हुन्छ । हामीले सडकमा खाल्डाखुल्डी मुक्ति पार्ने त भन्यौँ । तर त्यसको पछाडि अन्य निकायहरु पनि छन् । सडकको तल हेर्ने हो भने ढल, खानेपानीका लाइनहरु फिँजिरहेका छन् । टेलिफोन र विद्युत्का तारको कारणले पनि गाह्रो भएको छ । यसका लागि एकीकृत प्लानिङ भएको भए निकै सजिलो हुन्थ्यो । त्यति हुन नसक्दा पनि एउटा कोअर्डिनेसन भएको भए निकै राम्रो हुन्थ्यो । सडकमुनि १२० वर्ष पुरानो पाइप छ । पुरानो पाइप फुटेर सडक क्षत्विक्षत हुने गरेको छ । ठाउँठाउँमा पानीको खोला बगेको छ । अनि कसरी बन्छ सडक ? धेरै ठाउँमा ढल फुटेर जलमग्न भएको छ । सडकको अवस्था हेरेर दोष चाहिँ सडक डिभिजनलाई दिने गरिएको छ । तर दोष हाम्रो होइन । हामी खाल्डाखुल्डी पुर्ने अभियानमा छौँ ।
सडक निर्माण भएलगत्तै भत्कन सुरु हुन्छ, गुणस्तरमा ध्यान नदिँदा यस्तो भएको हो ?
वर्षभरीमा पिच टाल्नका लागि हामीले सिमित बजेट आएको हुन्छ । यस आर्थिक वर्षभरी सडक टाल्ने बजेट हामीले बिमिस्टेक सम्मेलनको क्रममा नै सकिसक्यौँ । अब बजेट छैन । खानेपानी ढललगायत निकायले खन्दै जाने हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरुले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नु प¥यो । सडकलाई राम्रो अवस्थामा राख्नका लागि पुराना पाइपहरु नै बाधक हुन् ।
सडकको गुणस्तरको विषयलाई लिएर बारम्बार प्रश्न उठने गरेको छ नि ?
हामीले कुन स्तरको सडक निर्माण गर्ने भन्ने पहिला अध्ययन हुन्छ । जस्तै, नारायणघाट मुग्लिनको सडक पहिलाको भन्दा धेरै राम्रो भइसकेको छ । त्यहाँको भौगोलिक अवस्थाले गर्दा अहिले पनि दुःख पाइरहेका छौँ । सबैकुरा डिजाइनमा भर पर्छ साधारण मर्मत भन्यो भने थोरै बजेटले धेरै ठाँउ कभर गर्नु पर्ने हुन्छ । हाम्रोमा भने यस्तो खालको समस्या छैन । अहिले सबैभन्दा ठूलो भनेको ढुंगा, गिट्टी र बालुवाको समस्या हो । अहिले पनि कन्ट्र्याक्टरले भन्नेबित्तिकै ढुंगा, गिटी र बालुवा पाइरहेको छैनन । यसको स्रोतमा नै प्राविधिक जाँच हुनु प¥यो । त्यो निकायले नै गुणस्तर छ भनेर दिनु प¥यो । अहिले ढुंगा बालुवाको सबै नियमन गर्ने अधिकारी भनेको प्रहरी र प्रशासन हो । उहाँहरुले कहिले बन्द गरिदिनु हुन्छ । जहिले माग हुन्छ त्यो बेला बन्द भएको खबर आउँछ ।
हरेक नागरिहरुले उपभोग गर्ने सडक राम्रो बनाउन सरकारले किन ध्यान नदिएको होला ?
अर्थ मन्त्रालयअन्तर्गत पनि एउटा प्राविधिक सेल हुनु प¥यो । हामीले धेरै बजेट माग्यौँ भन्ने अर्थ मन्त्रालयको बुझाइ छ । अहिले थोरै बजेट दिन खोज्नु हुन्छ । हामीले हाम्रा लागि मागेको होइन । त्यो त होइन । हामीले सडक राम्रो बनाउनका लागि मागेका हौँ । अर्थ मन्त्रालयमा प्राविधिक सेल भयो भने उहाँहरुमार्फत सहजीकरण हुन्छ । अहिले धेरै पहिरो गइरहेको छ । त्यसलाई पनि मर्मत गर्नु प¥यो ।
सडकलाई सुरक्षित र व्यवस्थित गर्न कसले के गर्नुपर्छ ?
सडक भनेको लाइफलाइन हो । सडक भत्किएपछि सबै कुरा डामाडोल हुन्छ । एम्बुलेन्सदेखि लिएर यात्रुहरुसबैलाई बाधा पर्छ । त्यही भएर हामीले बर्खाको समयमा सडकमा कुनै पनि काम गर्न नहुने भन्दै यस वर्ष रोक लगायौँ । बर्खाको समयमा अलिकति भत्कायो भने बढ्दै जान्छ । त्यसले ठूलो क्षतिको रुप लिन्छ र दुर्घटनाको पनि सम्भावना हुन्छ । यही कारणले हामीले बर्षात्मा नगर्नु भनेर भनेको हो । हामीकहाँ सडक विभागको मात्र होइन सडक सबै जनताको हो भन्ने कुरा जबसम्म सबैले बुभ्नु हुन्न, तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागकिरहरुले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नु पर्छ । सडकमा फोहोर फ्याँक्दा फोहारेबाट एसिड बन्छ र त्यसले बिटुमिन खान्छ । सबैले बुझेर सडक मेरो पनि हो भन्ने बुझ्नु जरुरी छ । विभागको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरुले तिरेरको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकहरु पनि छ । हामीले गर्नुपर्ने काम त गरी नै हाल्छौँ ।
सडक निर्माण गर्दा प्राविधिकले निकालेको लागतभन्दा घटाएर ठेक्का लगाउने प्रचलन छ । यो नीतिले सडक राम्रो बन्छ र ?
हो, नीति निर्माण तहमा पनि केही सुधार गर्नुपर्ने खाँचो छ । अरु देशहरुका अनुभवहरुलाई लिएर हामीले काम गर्नुपर्ने छ । ठेक्का लिन कम रेटमा हाल्यो भने उसले त केही काम ठग्न खोज्छ । एउटा मान्छेले भित्रदेखि म राम्रो गर्छु भन्नु र कम रेटमा हालेर सकेसम्म छलछाम गर्न खोज्यो भने गुणस्तरमा त फरक पर्न सक्छ । यस विषयमा छलफल भइरहेको छ । कानुनी पाटोमा पनि छलफल भइरहेको छ ।
डिभिजनले सडक निर्माण गर्न ठेक्का लगाउने तर अनुगमन चाहिँ फितलो हुने गरेको गुनासो छ नि ?
हामीले नियमित रुपमा सडकको अनुगमन गर्ने गरेका छौँ । सडकहरुमा हाम्रो इन्जिनियरहरुबाट नियमित रुपमा अनुगमन भइरहेको छ । थोरै जनशक्ति भएको कारण सबै सडकको अनुगमन गर्न अलि गाह्रो भएको थियो । अहिले प्रदेश र स्थानीय तहमा अधिकार गएको हुँदा डिभिजनलाई समस्या हुँदैन । अब झन् अनुगमन गर्ने कार्यलाई बढ्दै छ । सडक गुणस्तरीय बनाउने विषयमा त कुनै शंका नै भएन नि । सडक निर्माण भएलगत्तै मेन्टिनेन्स गर्न सुरु गर्नुपर्छ । नियमित रुपमा मेन्टिनेस गर्दा नै सडकको अवस्थालाई राम्रो राख्न सकिन्छ । सडक राम्रो बनाउन हामी सक्षम पनि छौँ । आवश्यक बजेट भएको अवस्थामा सडकको संरचना जोगाउन सकिन्छ ।
पुल निर्माणमा पनि गुणस्तरीय भएन भन्ने छ नि ?
पुल गुणस्तरहीन भनेर बनाउने होइन । धेरै ठाउँमा पुल भत्किएको छ । जस्तो, अमेरिका, भारतमा पनि पुल भत्किएको छ । केही ठाउँमा प्राविधिक रुपमा ध्यान नदिँदा लापरशाहीले पनि देखिन्छ । हामी गुणस्तरमा सम्झौता गर्दैनौँ ।

Leave a Reply

Your email address will not be published.