गणतन्त्रको भविष्यमाथि गम्भीर खतरा

लेख

कमलराज राई
नेपालको अढाइ सय वर्षको राजतन्त्रलाई इतिहासमा सिमित राख्ने जनता कति शक्तिशाली छन् ? भन्ने कुरा कोही कसैलाई भन्नुपर्ने अवस्था छैन । तर, यहि जनताको शक्तिलाई कम महत्व दिने नेताहरुले अहिले गणतन्त्रको नाममा अर्को छोटेराजा बनिरहेका छन् । राजालाई हटाएपछि कोही कसैको डर मान्न छाडेका नेताहरु अहिले सबैभन्दा बढी अराजक बनिरहेका छन् । यस्तो अवस्था लामो समयसम्म रहनै सक्दैन । हिजो राजालाई हटाएर कानुनी शासनको स्थापना गर्ने भन्दै आएका नेताहरु आज शासन सञ्चालन तहमा पुगेपछि उनीहरुमा अहंता पैदा भएको छ । यहि उनीहरुको अहंताका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ । नेताहरुकै कारण अहिले लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ । अहिले राजावादीहरु राजा फर्काउन चाहिरहेका छन् । हिजो त्यहि राजा फाल्नका लागि सैयौँको बलि चढाउने काम भएको छ । तर, नेताहरुको गतिविधिका कारण व्यवस्था परिवर्तन महसुस नभएपछि आमजनताले फेरि वर्तमान शासन व्यवस्थाको विकल्प खोजिरहेका छन् । यहि राजा फाल्नका लागि जनताका छोराछोरीको बलिदान दिएर आएको गणतन्त्रमा नेताहरु नै राजाभन्दा बढी सौखिन भएकाले जनताले विकल्प खोजेका छन् ।
जनताले शासन सत्ताको विकल्प खोज्नुको पछाडि वर्तमान शासन सत्तामाथि विश्वास नगर्नु हो । यदि जनतालाई नै शासन सत्ता उचित लाग्दैन भने त्यसबेला यो असन्तुष्टिले शासन गरिरहेका वर्गलाई कुनै पनि मूल्य र मान्यतामा हटाएरै छाड्छ । यहि मौकालाई राजावादीहरुले नगद गर्न खोजिरहेका छन् । त्यसैले त राजावादीहरुले अहिलेको जनताको असन्तुष्टिलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । वास्तवमा गणतान्त्रिक सरकारले नै सिन्का भाँच्न नसक्दा जनतामा असन्तुष्टि पैदा भएको हो । नेताहरुले आफैँ छोटेराजा भएको सम्झेर नियम, कानुनलाई उल्लंघन गर्ने काम गरिरहेका छन्, यहि गल्तीका कारण जनताले चाहेको खण्डमा उनीहरुलाई सदाका लागि शासनसत्ताबाट बाहिर राख्न सक्छन् । यहि मौकालाई राजावादीहरुले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि भएको आन्दोलनमा आफूहरुको समर्थन रहने बताएर राजा पुनस्र्थापना गर्न खोजेका हुन् । तर, राजा पनि हिजो जनताको नजरबाट मूल्यांकन भइसकेकाले त्यत्ति सजिलै राजतन्त्रको पुनस्र्थापना हुन सक्दैन । किनभने राजाको निरंकुशताबाट जनता भलिभाँती जानकार छन् ।
तर, जनताले एक राजालाई हटाउँदा यहाँ हजार जनताले छोटेराजा बनेपछि वर्तमान नेताहरुबाट जनता असन्तुष्ट भएका हुन् । त्यसैको विरोधमा स्वःस्फूर्तरूपमा देशभर भएको आन्दोलनमा राजावादीहरुले मौका छोप्न चाहेका छन् । वास्तवमा अहिले जनताले राजालाई पुनस्र्थापना गर्न चाहेकै होइनन् । उनीहरुले त सुशासन खोजिरहेका हुन् । राजावादीहरुले राजा आऊ, देश बचाऊ भनेर अनेकानेक भाषणहरु छाँट्ने काम गरिरहेका छन् । त्यसो होइन, यो देश हिजो राजाले पनि बचाउन नसकेकै हो, अहिलेका नेताहरुले पनि देश बचाउन नसकेकै हो । विदेशी शक्तिहरुको चंगुलमा फसेर देशलाई नै विदेशीको चलखेलको केन्द्र विन्दु बनाउनु सोह्रै आना गलत छ । हिजो राजाले पनि त्यहि काम गरेका थिए, कानुनलाई नटेरेर आफू सर्वैसर्वा भएको र कानुन आफूलाई नलाग्ने गरी अघि बढ्दा राजा बढारिएका थिए, अब नेताहरुको हालत पनि यहि दोहोरिने भएको छ ।
राजावादीहरुले यो देश राजाले मात्र बचाउँछ भनेर कराइरहेका छन्, त्यसो त नेताहरुले पनि यो देश नेताले मात्र बचाउन सक्ने भनेर भनिरहेका छन् । वास्तवमा उनीहरु दुवै गलत छन् । सहि कुरा त यो देशलाई जनताले मात्र यो देशको रक्षा गर्न सक्छन् । राजा र नेताहरुले त जनताको करलाई कसरी दुरुपयोग हुन्छ भनेर सोच्ने मात्र हुन् । हिजो राजाले देशको ढुकुटी रित्याउने काम गरे, अहिले नेताहरुले उहि काम दोहो¥याइरहेका छन् । राजा फालिसकेपछि फेरि ल्याइयो भने जनताको मानमर्दन हुने भएकाले अब जनताले नै यो देशको रक्षा गर्न अघि सर्नुपर्छ । दलीय तन्त्र पनि नेपालमा असफल भएको र राजाको प्रत्यक्ष पनि असफल भएको हुनाले अब जनताले वैकल्पिक शक्तिको खोजी गर्नुपर्ने बेला आएको छ । साँच्चै यो देशलाई मनभित्रैबाट माया गर्ने बुद्धिजीवी, समाजसेवीहरुलाई यो देशको शासनसत्ता सुम्पनुपर्ने दिन आएको छ । उबाट पनि जनताको भलो हुने काम भएन भने फेरि अर्कोलाई खोज्नुपर्ने दिन आएको छ । अब राजा र नेताहरु असफल घोषणा गर्नुपर्ने दिन आएको छ ।
खासगरी, गणतन्त्रको घोषणा भएपछि नेताहरूमा अत्यन्तै अहंता बढेकै हो । हिजो राजाबाट डराउने नेताहरू आज उनीहरूलाई नियन्त्रण गर्ने निकाय नभएकाले उनीहरूमा अत्यन्तै उच्छृंखलता छाएको छ । यो उच्छृंखलताले गणतन्त्रको भविष्यमाटि नै अब प्रश्न उठ्दा पनि नेताहरुलाई केही मतलब भएको छैन । हिजो कानुनी शासनको आश्वासन बाँडिरहेका नेताहरुले राजा गएपछि आफैँ राजा भएको महसुस गरेकाले उनीहरुबाट नै जनताको अपमान भएको छ । उनीहरुमार्फत लेखिएको संविधानको बर्खिलाप हुने गरी काम गरिरहेका नेताहरुमा लाज र शरम भन्ने चिज नै हराएको छ ।
जनताको दिनाचार्यलाई सुधार्ने भनेर कहिल्यै नथाकेका नेताहरु जब शासन सत्ता सञ्चालन तहमा पुगे तब उनीहरुको मात्र समृद्धि बढेको छ । मुलुक गरिबीको चपेटामा परिरहेको बेला नेताहरू भने धनाढ्य बनिरहेका छन् । उनीहरूविरुद्ध केही गरी प्रश्न उठिइहालेमा आफू जोगी बन्न राजनीति नगरेको भनेर डंका पिट्ने गरेका छन् । राजा कानुनभन्दा माथि रहेकाले मुलुकमा विकास नभएको भन्ने नेताहरू आज जब मुलुक सञ्चालक बने, तब उनीहरूले राजाको भन्दा कम बद्मासी गरेका छैनन् । अहिले उनीहरूले नियम र कानुनलाई धोती लगाउँदै आफूखुसी गरेका छन् । यत्तिका गलत काम त हिजो राजाले पनि गरेका थिएनन् । यहि कुरा अहिले जनताले थाहा पाएका छन् । अब जनताले नेताहरूलाई विश्वास गर्न छाडेका छन् । जनताले विश्वास गर्न छाड्दा त्यसबाट उब्जने खतराका बारेमा नेतामा केही महसुस नहुँदा अहिले गणतन्त्रमाथि नै संकट आउन थालेको छ ।
त्यसैले त युवाहरूले वैकल्पिक शक्तिको साटो राजतन्त्र रोजेका छन् । नेताहरूले आसालाग्दो काम नगरेका कारण युवाहरू विकल्पहीन भएर राजावादी प्रदर्शनमा जोडिएका छन् । यो प्रदर्शनले नेताहरूको घइँटोमा घाम लागेको छैन । यत्तिका गलत काम भइरहँदा पनि नेताहरू आफ्नो स्वार्थमा जुधिरहेका छन् भने उता अनियमितालाई घटाउनेतर्फ सरकारले कुनै बाटो अवलम्बन गरेको छैन । नेताहरूको बद्मासी थाहा पाएका राजावादीहरूको देशव्यापी प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहस आवश्यक छ भन्ने देखिएको छ । प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ । वैकल्पिक राजनीतिक शक्ति भनिए पनि उनीहरूले आफ्नो स्पष्ट मुद्दा किटान गरेर जनताका सामु लैजान नसकेपछि युवाहरू राजाको माग गर्दै सडकमा उत्रिएका छन् । ठूला भनाउँदा राजनीतिक दलहरूले भागबन्डामा अल्मलिने र वैकल्पिक शक्तिहरूले मुद्दा किटान नगर्दा गणतन्त्रको अन्त्यको दृष्य देखिन्छ ।
यहि क्रम बढिरहने हो भने लोकतान्त्रिक गणतन्त्र नै धमिलिने अवस्था छ । अहिले कुनै राजनीतिक दलहरूले गरेको आन्दोलनमा जनसहभागिता घट्न थालेको छ तर राजावादीहरूको प्रदर्शनले जो कोही पनि आत्तिने अवस्थामा पु¥याएको छ तर नेताहरूमा यत्तिसम्म पनि महसुस गरेका छैनन् । वास्तवमा लोकतान्त्रिक गणतन्त्रको सरकारबाट जनतालाई सेवा दिनु नसक्दा असन्तुष्ट जमात राजावादी आन्दोलनमा सामेल भएका हुन् । अबको केही समयमा वैकल्पिक राजनीतिक शक्ति सफल भए भने यो आन्दोलन निस्तेज भएर जान्छ, अन्यथा यो आन्दोलनले गणतन्त्रलाई अन्त्य गर्ने करिबकरिब निश्चित छ । राजनीतिमा नैतिक शक्तिको ठूलो अर्थ हुनुपर्छ तर अहिले नेता–नेताबीच नै भ्रष्टाचारीको संरक्षक भनेर आरोप लगाउने क्रम जारी छ । विकृतिबारे स्वतन्त्र नागरिकहरू सडकमा जाँदा पनि गणतान्त्रिक नेताहरूले जनतालाई वास्ता नगर्दा राजावादी आन्दोलनमा सहभागिता बढेको देखिन्छ । शासन पद्धति फेरिँदा विकृति बढिरहेको तर ती विकृतिको अन्त्य गर्न नेताहरू असक्षम देखिएको छ । यसले अब शासन पद्धति नै पुनः परिवर्तन नहोला भनेर भन्न सकिने अवस्था आएको छ । हज्जारौँको बलिदानबाट आएको गणतन्त्र नै हटेमा यसको नैतिक जिम्मेवारी अहिलेका राजनीतिक दल र नेताहरुले लिनुपर्छ । जहाँसम्म राजनीतिक कार्यकर्ता छन्, उनीहरुको पनि सबैभन्दा ठूलो कमजोरी देखिएको छ । आफ्नो नेताले गरेको गलत काममा आँखा चिम्लने गर्दा नेताहरुमा अहंता छाएको हो । कार्यकर्ताले नेताहरुलाई खबरदारी गर्नुपर्ने हुन्छ तर कार्यकर्ताले नै नेताहरुको गल्तीलाई समर्थन गरेपछि यसबाट निस्कने परिणाम अन्ततः सबैले भोग्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published.