कम्बोडियासम्मको यात्रा संस्मरण

लेख

गत साता फेसबुकले आठ वर्षअघिको फोटा देखाइदियो । दिनै पिच्छेजस्तो मेमोरिजमा देखाइरहेको थियो, जुन मेरो पहिलोपटक पासपोर्टमा भिसा लागेको वर्ष थियो । सन् २०१२ मा पहिलो चोटी सिमाना जोडिएको देशबाहेक अन्य देशमा जाने मौका मिलेको थियो । फेसबुकले सम्झाइदिएकोले त्यसै भ्रमणलाई सम्झँदै अबका केही शृंखलामा लेख्ने विचार गरेँ ।
यात्राको तारताम्य
विश्वभर सामुदायिक वा समुदायमा आधारित वन व्यवस्थापन पद्धतिलाई थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ सामुदायिक वन अन्तर्राष्ट्रिय सञ्जाल (ग्लोबल एलाइनस अफ कम्युनिटी फरेस्ट्री (जिएसिएफ) को स्थापना भएको थियो । त्यस सञ्जालले विभिन्न देशका सामुदायिक वन सम्बन्धी अवधारणा, अभ्यासलाई विश्वव्यापी आदान प्रदान गरी सामुदायिक वन अभियानलाई थप प्रवद्र्धन गर्न विभिन्न प्रयासहरु गरिरहेको थियो । यस क्रममा एसिया स्तरमा सामुदायिक वनको सञ्जाल सवलीकरण सम्बन्धी अन्तराष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको थियो । कम्बोडियाको कम्पोङथोङमा आयोजना भएको थियो । त्यस गोष्ठीमा नेपाल, थाइल्यान्ड र कम्बोडियाका सामुदायिक वनका उपभोक्ता, सहयोगी संस्था र सहजकर्ताहरुको प्रतिनिधित्व रहेको थियो ।
२०६९ मंसिर २१ देखि २३ सम्म सञ्चालन भएको सो कार्यशालामा नेपालवाट सामुदायिक वन उपभोक्ता महासंघ नेपालका डिगबहादुर लिम्बू, समुदायका आधारित वन सहजकर्ता सञ्जाल नेपालका भोला खतिवडा, आयोजक संस्था संयोजक घनश्याम पाण्डे र गीता पाण्डेको सहभागिता रहेको थियो । त्यसैगरी, थाइल्यान्डवाट ६ जना र कम्बोडियावाट ११ जना गरी २१ जनाको सहभागिता रहेको थियो । सो कार्यशालामा सहभागी हुने सिलसिलामा भएका संस्मरण यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
यात्रा आरम्भ
नेपालका सहभागीहरु मध्ये भोला खतिवडा, डिगबहादुर लिम्बू र गीता पाण्डे (घनश्याम पाण्डे भने कतार जानु भएकाले बैंककमा भेट्ने योजना थियो) मंसिर १९ गते बिहानै ६ः१५मा हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । गेटमा पुग्नासाथ कहाँ जाने किन जाने भन्ने प्रश्नहरु आउन थाले प्रहरीवाट । हाम्रो टिमका सदस्य गीता पाण्डे २०÷ २२ वर्षको केटी देखेपछि झनै शंका गर्न थाले ।
कम्बोडियामा नेपाली अलपत्र परेका छन् किन जाने भन्ने प्रश्नहरु ओइरिए । आयोजक संस्थाका पत्र देखाएर हामी कार्यक्रममा हिँडेको भन्यौँ । तेहराएर कागजात देखाएपछि छुटकारा पाउन सफल भयौँ । उडान समयभन्दा झन्डै ३ घन्टाअगाडि विमानस्थल पुगेका थियौँ । हामी यता र उता दौडदै अनेक फारम भर्दै र ठाउँ ठाउँमा स्पष्टीकरण दिँदै बल्लबल्ल हामी विमानभित्र पस्न सफल भयौँ ।
विमानस्थलभित्रको अर्को रोचक पक्ष भनेको खाडी मुलुकमा कामदारको रुपमा जानेको संख्या उल्लेख्य थियो । नेपाल बाहिर जाने सबैले फारम भर्नु पर्ने हुँदो रहेछ । त्यो भर्ने कार्य कामदारका लागि महाभारत नै हुँदोरहेछ । यही मौकामा केहीको फारम भर्नमा सहयोग गर्न सकियो । कामदारहरुले त्यो फारम भर्न नसक्दा वा नजान्दाको पीडा असाध्यै नरमाइलो लाग्ने गर्दथ्यो । त्यहाँ कुनै डेस्क थिएन, सहयोग गर्नका लागि । विमानस्थलका कुनै कर्मचारीलाई सोध्न सकिने अवस्था पनि थिएन ।
हामीले हाम्रो यात्रामा ३ वटा हवाइजहाज चढ्नु पर्ने अवस्था थियो । काठमाडौंबाट दिल्लीसम्म जेटएयर एन्डियाबाट अनि दिल्लीबाट बैंकक पनि सोही एयरलाइन्सबाट जानु पर्ने थियो । अनि बैंककवाट कम्बोडियाको राजधानी नोमपेनसम्म चाहिँ बैंकक एयरबाट जाने कार्यक्रम तय भएको थियो । तीनवटै विमानको बोर्डिङपास काठमाडौंमा नै पाइयो । यसबाट हाम्रो यात्रा केही सहज हुन पुग्यो । एयरपोर्टको चेकिङको सिलसिलामा ज्याकेट, पेटी, पर्स र मोबाइलजस्ता कुराहरु निकाली टोकरीमा राखी एक्सरे मेसिनमा राखी पठाउँदा यस्तो चलन नेपालमा मात्र होला भनेको त होइन रहेछ । यो त सबैतिरको चलन नै पो रहेछ ।
हाम्रो टिमलाई विदेश यात्रा प्रायः नौलो नै थियो । विभिन्न नौला अभ्यासलाई आत्मसात् गर्ने तयारीमा थियौँ । हामी पुग्यौँ नयाँ दिल्लीमा । त्यहाँको चमकधमक आफ्नो विमानस्थलको तुलना मनमनै ग¥यौँ । दिल्लीमा करिब ३ घन्टाको विश्रामपछि बैंककका लागि जेट वेयरवेजमार्फत नै उडियो । बेलुका साँझ करिब अध्याँरो भएपछि नै हामी सुवर्णभूमि विमानस्थल बैंककमा उत्रियौँ ।
सुवर्णभूमिमा अलमल
थाइल्यान्ड पहिलोपटक गएका हामीलाई सबै कुरा नौलो नै थियो । सल्लाहअनुसार विश्वभरी घुमिसकेको सामुदायिक वनका अन्तर्राष्ट्रिय नेता वा हाम्रो कार्यक्रम आयोजक संस्थाका संयोजक घनश्याम पाण्डेसँग बैंककमा भेट्ने सल्लाह थियो । तर कसरी भेट्ने थाहा थिएन । उहाँको फोनमा अन्तराष्ट्रिय पनि सुविधा भएकाले फोन गर्ने प्रयास गरियो ।
फोन गर्नलाई कलकार्ड किन्यौँ । किन्दा पनि असाध्यै झन्झट, डलरलाई भाट (थाइ मुद्रा) बनाउनु पर्ने । बल्ल बल्ल कार्ड किन्यौँ । तर कार्ड प्रयोग गर्न जानिएन । एयरपोर्टमा सुरक्षाकर्मीको सहयोग लिन खोज्यौँ । भाषा नमिल्ने, उनीहरु अंग्रेजी नजान्ने । इसाराले कुरा गर्दै उनले मेसिनमा कार्ड प्रयोग गर्ने प्रयत्न गरे तर सकेनन् । कार्ड किनेको ठाउँमा सहयोग माग्यौँ । सहयोग पाउन सकेनौँ । हामीमा निरासा छायो । हाम्रो आजको बास सहयोगी संस्था रिकफ्टमा हुने भन्ने थाहा थियो ।
एयरपोर्टका कर्मचारीहरुसँग सोध्यौँ, हामी भोलि कम्बोडिया जानु छ, बाहिर बस्न जान सक्छौँ कि सक्दैनौँ भनेर । उनीहरुले नेपालीहरु बााहिर निस्केपछि पुनः छिर्न ७०० भाट (करिब ३० भाटको १ अमेरिकी डलर हुने गर्दछ) शुल्क लाग्छ तर बाहिर जान पाइन्छ भने । बाहिर निस्कने अनि घनश्याम पाण्डे बाहिर हामीलाई कुरिरहनु भएको छ कि भन्ने झिनो आसा थियो । हामी बाहिर निस्कन थाल्यौँ । हाम्रा आँखा इन्टरनेट क्षेत्रतिर पनि थियो । कतै सो सुविधा पाइएमा अनलाइन कुरा हुनसक्थ्यो ।
इन्टरनेट सुविधाको खोजी गर्ने क्रममा मान्छेको ठूलो भिड भएको क्षेत्रमा हामी पुग्यौँ । कताबाट बाहिर निस्कने पत्तो थिएन । त्यहाँको गार्डले हामीलाई लाइन बस्न लगायो । यति धेरै मान्छे थिए की वसन्तपुरको आमसभाको भिडजस्तै । तर मान्छे धेरै बेर एकै स्थानमा अडिनु पर्दैनथ्यो । सरेको सरै गर्दथ्ये । अरुको हातमा राहदानी र कागज देखेर हामीले पनि छेउबाट फारम टिप्यौँ र भ¥यौँ । त्यो फारममा कहाँ बस्ने भनेर लेख्नु पर्ने थियो । हामीलाई थाहा छैन रिकफ्ट कहाँ पर्छ ? लाइन मिलाउने एक महिला सुरक्षाकर्मीले हाम्रो फारम हेरर त्यो ठाउँमा चिह्न लगाइदिइन् । संस्थाको नाम लेखी अरु केही नलेखी हामी अझ अगाडि लाग्यौँ । एउटा काउन्टर जस्तो ठाउँमा उभिन पुगियो । त्यस्ता ठाउँ त्यहाँभित्र धेरै वटा थियो । राहदानी र भरेको फारम दियौँ । केही सामान्य कुरा सोध्यो । अनि फोटो खिच्यो । अनी बाहिर पठायो ।
इमिग्रेसनको प्रक्रिया पूरा गरेर हामी बाहिर त आयौँ अब कहाँ जाने केही टुंगो छैन । रिकफ्टको ठेगाना नलिएकोमा पछुतो लाग्यो । मेरो मनमा गीताजीले सबै बोक्नु भएकै होला नभए पनि जहाँ पनि अनलाइन सुविधा भइहाल्ला, त्यही हेरौँला भन्ने भयो । तर गीताजीले पनि बोक्नु भएको रहेनछ र अनलाइन सुविधा पनि पाएनौँ । हामीलाई थाहा नभएर रहेछ नत्र एक घन्टाका लागि इन्टरनेट सुविधाको कार्ड निःशुल्क वितरण हुँदोरहेछ । हामीलाई थाहा नै भएन । फर्कँदा मात्र जानकारी पाएका थियौँ ।
ट्याक्सी भाडामा ठगी
हामी भौतारिँदै हिँड्दै थियौँ । दुई वटा आसाले एक घनश्याम दाइ पर्खिवसेका छन् की भनेर अर्को कतै नेट सुविधा पाइन्छ की भनेर । नभन्दै एक ठाउँमा सुविधा देखियो । त्यसबाट गीताजी हतार–हतार रिकफ्टको ठेगाना टिप्नु भयो र हामीले ट्याक्सी बुक गर्ने ठाउँमा सोध्यौँ । तर १ हजार ४ सय भाट भन्यो । त्यहाँको व्यवसायीले हामीलाई नराम्ररी झुक्याएछ उस्ले भन्यो कि बाहिर गएँ, १ हजार ५ सय भाट पर्छ यहाँ बुक गरेमा १ हजार ४ सय मात्र हो भन्यो । हामी नयाँ मान्छे विश्वास गरी पत्यायौँ । हामी १ हजा ४ सयको ट्याक्सी बुक गरी रिकफ्टको ठेगाना देखाएर बाटो लागियो । बाहिर गएर मिटरवाला ट्याक्सी लिएको भए ४ सय भाटमा पुगिँदोरहेछ । पछि हामीले नराम्ररी ठगिएको महसुस ग¥यौँ तर वेइज्जत होला भनेर तैँ चुप मैँ चुप भई बसियो । त्यहाँका ट्याक्सीवालाहरुको राम्रो बानी भनेको जाने ठाउँ र फोन नं. भएपछि उनीहरु आफैँले फोन गरी सोधखोज गरी पु¥याउँदा रहेछन् ।
बेलुका झन्डै १० बजेतिर निर्धारित ठाउँमा पुगियो । त्यहाँ घनश्याम दाइ पनि छटपटाएर बस्नु भएको रहेछ । कहाँ गए भनेर । हामी पुगेपछि रिकफ्टको गेस्ट रुममा झोलाहरु राखेर हातमुख धोएर खाना खान लागियो । खानामा के खाने भनी घनश्याम दाइले सोध्नु भयो । त्यहाँ के पाइन्छ के थाहा ? तपाईँले जे अर्डर गर्नु हुन्छ त्यही खाने भन्यौँ । गीताजी शाकाहारी भएकोले त्यस्तै अर्डर भयो । त्यहाँको स्पेसल खाना सि फुड हुँदो रहेछ । हाम्रोतिरको खुम्ले किराजस्तो सिंगो नंै तरकारीमा मिसाएर ल्याउँदो रहेछ । खाँदा हिलो–हिलो बास्ना आउने । भात पनि पाइने । सिंगो माछा पकाएर आगोमा पाक्दा–पाक्दै झिक्दै खाँदै गरियो । फर्केर राति बास बसियो । क्रमशः

Leave a Reply

Your email address will not be published.