जिउने सामग्री उत्पादक विज्ञ हुन्

लेख

केही महिनाअघि नेपाल सरकारका दुई वटा प्रतिष्ठित निकायहरुले सूचना प्रकाशित गरे । एक विशेषज्ञहरुले आवेदन दिने र अर्को पुरस्कारका लागि दाबी गर्ने भन्ने थियो । पुरस्कारका लागि दाबी गर्ने सम्बन्धी सूचना त धेरै सरकारी तथा गैरसरकारी निकायहरुले पटक–पटक निकालिरहेका हुन्छन् । यस आलेखमा यी दुई सूचनाका बारेमा संक्षिप्त चर्चा गर्ने कोसिस गरिएको छ ।
कुनै पत्रिकामा छापिएको विज्ञापन फेसबुकमा सेयर भएको देखियो । विशेषज्ञको सूचीमा दर्ता हुनका लागि आह्वान गरिएको थियो । आफ्नो विज्ञतासहितको विवरण ९ वटा बुँदामा लेख्नु पर्ने भनिएको थियो । साथमा वैयक्तिक विवरण (बायोडाटा) पठाउनु भनिएको थियो । राज्यको पहिचान प्राप्त प्रतिष्ठित संस्थाले गरेको यो सूचना धेरैलाई आकर्षित गराउने खाल्को छ । मलाई पनि आकर्षित गरायो । तर म आफैँलाई विश्लेषण गरी हेरेँ ।
आफैँले घोत्लेर विशेषज्ञका सूचकहरु बनाउन थालेँ । बनाएको सूचकका आधारमा म विशेषज्ञ हो कि होइन भनी जाचेँ । म दुविधामा परेँ । राज्यको नीति निर्माण तहमा सुझाव दिन सक्ने हैसियत बोकेको विशेषज्ञ म हुन सक्दिनँ भन्ने निष्कर्षमा पुगेँ । आवेदन हाल्ने कोसिस नै गरिनँ । त्यसपछि विशेषज्ञ हो कि होइन भनेर कस्ले छुट्टयाउने होला ? आधार के होलान् ? भन्ने कौतुहलता भइरह्यो । यसको चित्त बुझ्दो जवाफ भेटेको छैन ।
आफैँलाइ जाँच गरिरहँदा, मनमा भने अनेक कुरा खेल्यो । म के कुरामा जान्ने छु ? कुनै विषयमा पनि पाइनँ । मैले कुनै काम सम्पादन गर्नु प¥यो भने कति धेरैको सहयोग आवश्यक पर्दछ । अनी, म कसरी विज्ञ भएँ ?
मैले केही वर्ष अगाडि बुबा आमाको घरमा जाँदाको एक घटना सम्झिएँ । त्यो दिन राति ९ बजेतिर मेरो छिमेकी गाउँ मकैबारीका एक मान्छे हाम्रो घर आए । उनी जोगी थिए । फेरी लगाउँथे । मन्त्र भन्दै सिंङ बजाउँदै घर तीनपटक घुमे र एक क्षण हामीसँग गफिए ।
म काठमाडौंवाट गएकाले सम्मानसहित सन्चो बिसन्चो सोधेँ । मैले पनि उनको घरपरिवारको कुरो सोधेँ । छोराछोरी पढाइ सोधेँ । उनको नजरमा म ठूलो जान्ने मान्छे थिएँ । उनले भनी पनि हाले हजुरहरु जस्तो हुन पाएको भए पो । मैले नसके पनि छोराछोरीलाई चाहिँ हजुरहरु जस्तै बनाउने विचार छ ।
म भन्दा उनी नै सवल, सक्षम र जान्ने छन् भनेर सहमत गराउन कोसिस गरेँ । मैले प्रपोजल लेखेर पैसा ल्याएर आफू पनि पालिने अरुलाई पनि पाल्ने काम गर्दथेँ । यस काममा १० जनाभन्दा बढीको प्रत्यक्ष सहभागिता हुन्थ्यो । यी मेरा स्रोतहरु अरुले पैसा लगानी गरे मात्र हुन्छन् । यदि बाह्य स्रोत आउन सकेन भने मेरो जीविका चल्न सक्दैन । तर उनी आफैँ सबै काम सम्पादन गर्न सक्छन् । सिङ बोक्छन्, रातभर घरघर घुमेर फेरी लगाउँछन् । बिहान तिनै घरमा गएर सिदा÷ दक्षिणा लिन्छन् । आफ्नो जीवन चलाउँछन् । परिवार पाल्छन् । बालबच्चा पढाउँछन् । म भन्दा उनी नै जीवन जिउनका लागि जान्ने मान्छे हुन् । मेरो तुलनामा उनी नै विज्ञ हुन् । म भन्दा उनी आत्मनिर्भर छन् । म धेरै हदसम्म परनिर्भर अझ सुधारिएको भाषामा भन्नु पर्दा अन्तरनिर्भर छु । म कसरी जान्ने भएँ ?
मेरो आमालाई भात पकाउँदा पानीको मात्रा मिलाउन कपले नाप्नु पर्दैन । हेरेर नै थाहा पाउनु हुन्छ नभए पनि औँलो चोपेर ठ्याक्कै मिलाउनु हुन्छ । अहिले जस्तो प्रेसरकुकर थिएन, २ सिठ्ठीमा भात पाक्छ भनी ठम्माउनलाई । तैपनि मेरो आमाले ‘अब पाक्यो भनेर आगो निभा’ भनेर अह्राउनु हुन्थ्यो । अहिलेको जस्तो सलाई÷ लाइटर थिएन । बिहानदेखि बेलुका अनि बेलुकाबाट बिहानसम्म नै अँगेनामा आगो लुकाएर राख्न सक्नु हुन्थ्यो । अनुमान गरौँ, आगो नै जस्ताको तस्तै राख्ने प्रविधि अपनाउने हाम्रो आमा विशेषज्ञ होइनन् त ?
कुन रुखबाट गोल राम्रो आउँछ भन्ने कुरा त्यही काम गर्ने मात्र जान्दछ । दाउरा चिर्ने कामको विशेषज्ञता दाउरेसँग मात्र छ । कुन जडिबुटी कहाँ पाइन्छ ? त्यसको मात्रा के हो भन्ने बारेमा वैद्यले जान्दछ ।
एउटा किसानले कहाँ राम्रो उत्पादन हुन्छ भन्ने कुरा जान्दछ । कति मल, पानी चाहिन्छ उसले परैबाट जान्दछ । उ विज्ञ हो । यस्ता विशेषज्ञले आवेदन कता हाल्ने होला ?
जीवन जिउनका लागि उत्पादन गर्ने विज्ञ भएनन् तर जिउनका लागि प्रयोग नहुने अक्षरको खेती गर्ने चाहिँ विशेषज्ञ कहलिए । अक्षरका खेती गर्नेहरुले आफ्नो सोधपत्र तयार गर्न तिनै गाउँलेसँग सोध्न जान्छन् । मेरो एक जना मित्र छन्, कमल भण्डारी । उनले बेला बेलामा भन्ने गर्दछन्, ‘मैले धेरै जनाको विद्यावारिधि गराइसकेँ, धेरैलाई डाक्टर बनाइसकेँ । म किन डाक्टर बन्नु प¥यो ?’ हो, उनले धेरै पिएचडी स्कलरको सोधपत्रका लागि चाहिने सूचनाहरु संकलन गरिदिन्थे । उनी वा उनका साथीहरु गाउँमा गएर उपलब्ध प्रश्नहरु सोधेर ती सूचना व्यवस्थित गरिदिन्थे । तिनै सूचनाका आधारमा सोधपत्र तयार हुन्थ्यो अनी डाक्टर पद्वी हासिल हुन सहयोग पुग्थ्यो । यो प्रक्रियालाई आधार मान्दा ज्ञानको स्रोत ग्रामीण तह वा समुदायमा छ भन्दा कुनै फरक पर्दैन । त्यसैले विशेषज्ञ को ? प्रश्न वाचक चिह्न कायमै छ ।
विज्ञ आफैँले दाबी गर्ने कि अर्कोले भन्ने हो ? दुविधा यहिँ निर हो । कसैले आफैँलाई शिक्षा विज्ञ, कृषि विज्ञ, कानुन विज्ञ, यस्तै–यस्तै लेखेको देखिन्छ । त्यसरी आफैँले लेख्न सुहाउला र ? कसैले प्राकृतिक स्रोत विज्ञ भन्यो भने उस्को पानी विज्ञ हो की वन विज्ञ हो ? वनको विषयमा हो भने पनि प्राविधिक हो कि सामाजिक हो ? सामुदायिक वन विज्ञ हो की ? धार्मिक वनको पो हो की ? वा साल विज्ञ हो कि ? अनेक प्रश्न जन्मिन्छ । त्यसैले यो विशेषज्ञता तोकिदिने को होला ? अहिले बजारमा भनिए जस्तो विज्ञ छन् त ? बरु सो विषयको शोधकर्ता भन्नु ठिक होला ।
त्यस्तै, अर्को सूचना हेर्न पाइन्छ, पुरस्कारका लागि दाबी गर्नेबारे । जागिर खाने खोजेजस्तो निवेदन दिनु पर्ने । सूचनामा भनिएको हुन्छ, ‘आफूले गरेको कामको प्रमाण पुग्ने गरी सामग्री तयार गरी तोकिएको मितिसम्म निवेदन दर्ता गर्नु होला ।’
आफैँ विज्ञ हुँ भनी निवेदन हाल्ने र पुरस्कारका लागि आवेदन हालेर प्रमाण पेस गर्ने काम उस्तै लाग्छ । पुरस्कारका लागि निवेदन दिनुभन्दा बरु विज्ञको दाबी गर्नु एक हदसम्म सहि हुन सक्छ । पुरस्कारका लागि सम्बन्धित व्यक्तिले नै प्रमाणसहित दाबी गर्ने पटक्कै सुहाउने काम होइन । पुरस्कार कसैले गोप्य रुपमा पहिचान गरेर दिए पो त्यस्को महत्व हुने थियो । पुरस्कार पाउने सम्बन्धित व्यक्तिले पनि एक्कासि थाहा पाओस् । त्यसको मजा पक्कै गजब हुन्थ्यो होला नी !
पुरस्कार दिने अल्छी भएर हो की ? किन यस्तो झारा टार्ने काम गर्ने चलन चलेको होला । बरु हरेक वर्ष नदिनु नी तर दिने, लिने र सुन्नेलाई पनि कौतुहलता होस् न । अहिले चलेको यो प्रक्रियाले पुरस्कार प्राप्त गर्नलायक व्यक्तिको अपमान गरेकोजस्तो देखिन्छ ।
यस्तो सूचनामा क्षमता भएकाले पक्कै निवेदन हाल्न रहर गर्दैनन् होला । नगरेको काम पनि मिलाएर बनाउने मात्र कस्सिन सक्छन् । आफूले आफैँलाई म सक्षम छु भनेर जागिर वा ठेक्काका लागि पक्कै सुहाउँला । पुरस्कारका लागि त सिफारिस गर्न आव्हानसम्म गर्नु चाहिँ ठिक हो । सम्बन्धित विषयका सरोकारवाला निकाय वा व्यक्तिले पनि हुन सक्छ, त्यस पुरस्कारका लागि लायक व्यक्ति वा संस्थाहरुलाई सिफारिस गर्न आव्हान गर्नु सान्दर्भिक हुन्छ ।
आफैँले दाबीसहित निवेदन दिएपछि भनसुनका कुरा पनि चल्दा हुन् । त्यसैले सबैभन्दा उत्तम तरिका भनेको पुरस्कार दिनेले आफैँले एक टोली बनाएर आफ्नो उद्देश्य अनुसारको खोजून् र नाम घोषणा गरून् । नभए पनि यो आधार पुगेकालाई सिफारिस गर्न आव्हान गर्न सकिन्छ । त्यसका आधारमा छानबिन गरी घोषणा गर्न सकेमा कति राम्रो हुन्थ्यो होला ।

Leave a Reply

Your email address will not be published.