नेपालमा सामुदायिक विद्युत् अभियान

लेख

प्राकृतिक स्रोत र समुदाय बीचका विभिन्न अभियानहरु सञ्चालन भइरहेका छन् ।  प्राकृतिक स्रोतमध्ये जल, जंगल र जमिनमा आधारित अभियानहरुको प्रभावकारिता देखिएको छ । जलभित्र पनि विभिन्न सामुदायिक अभियानहरु सञ्चालन भइरहेका छन् । खानेपानी, सिंचाइ, विद्युत्सँग अलग अलग सामुदायिक अभियानहरु सञ्चालन भइरहेका छन् । अभियान र विद्युत्सँगको चर्चा गर्ने हो भने नेपालको ५३ जिल्लामा सामुदायिक विद्युत् अभियान सञ्चालन भइरहेको छ । २९० वटा विद्युत्मा आधारित सामुदायिक संस्थाहरु क्रियाशिल रहेका छन् । कुनै सहकारीको रुपमा स्थापना भई सञ्चालन भइरहेका छन् भने कुनै जिल्ला प्रशासनमा दर्ता भएका संस्थाको रुपमा पनि । विद्यत् प्राधिकरणले उत्पादन गरेको विद्युत्लाई ग्रामीण स्तरमा जहाँ राज्यको पहुँच कम रहेको छ त्यसतो स्थानमा पु¥याई उज्यालो अभियानलाई सफलतापूर्वक सञ्चालन गरिरहेको छ । सामुदायिक विद्युतीकरणको अभियानले ५ लाख ३४ हजार घरपरिवारलाई सेवा दिन सफल भएको छ ।

माथिको तथ्यले विद्युत् नपुगेको नेपालको दूरदराजसम्ममा उज्यालो वनाउने अभियान नैं सामुदायिक विद्युत् हो भन्दा कुनै फरक पर्दैन । यसका केही मुलभूत पक्षहरुको निम्न अनुसारको बुँदाहरुमा लेखाजोखा गर्न सकिन्छ ।

१. नगद योगदानसहितको स्वयंसेवी अभियान

सामुदायिक विद्युतीकरण अवधारणा यो कुनै कार्यक्रम मात्र नभएर अभियान भएको पुष्टी हुन्छ । अभियान भन्नाले त्यहाँ स्वयंसेवी भावनाले बढी घर गरेको हुनु पर्दछ । त्यो कुरा विद्युत् अभियानमा देख्न पाइन्छ । यो अभियान प्रत्यक्ष अधिकारवालाको जस्तो देखिँदैन किनकि यी सामुदायिक संस्थाहरुले आफैँले बिजुली उत्पादन गर्दैनन् । तर विद्युत् प्राधिकिरणको जस्तो काम गरिरहेका छन् । त्यो पनि आफ्नै खर्चमा । सहरी क्षेत्रमा विद्युत् प्राधिकरण आफैँले सबै खर्च गरी विद्युतीकरण गरिदिन्छ । तर ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि समुदायले सामुदायिक संस्था बनाउँछन् । अनि विद्युतीकरणका लागि लाग्ने खर्चको कम्तीमा १० प्रतिशत नगदै लगानी गर्ने गर्दछन् । समुदायले जम्मा गरेको नगद अर्काको खातामा हालिदिनु पर्छ । अन्य विकास निर्माणका काम गर्दा जनश्रमदान भनेर काम गरेर कटाउन पाइन्छ तर सामुदायिक विद्युत् अभियानमा त्यसो गर्न पाइन्न । नगदै बुझाउनु पर्दछ भलै त्यो पैसा सम्बन्धित समुदायको हितका खातिर सामुदायिक विद्युतीकरणमा खर्च गर्ने गरिन्छ । त्यसैले तथ्यगत दाबीसहित भन्न सकिन्छ की सामुदायिक संस्थाहरुले राष्ट्रलाई योगदान गरिरहेका छन् । राज्यको दायित्व निर्वाहमा समुदायले खुलेर सहकार्य गरेका छन् ।

२.सामुदायिक विद्युतीकरण दिगो अभियान

कुनै पनि अभियान दिगो हुनका लागि खास गरी ३ वटा विशेषताहरु आवश्यक पर्दछन् । पहिलो संगठित, दोस्रो वैधानिकता र तेस्रो नियमित स्रोत हो । यी तिनै विशेषता सामुदायिक विद्युत् अभियानमा देखिएको छ ।

३. सामुदायिक विद्युती अभियानमा सुशासनको अभ्यास

सामुदायिक विद्युत् अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने सामुदायिक संस्थाहरु सहकारी र प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरु रहेका छन् । ती संस्थाहरुले आफूलाई सुशासित वनाउन प्रयासरत देखिन्छन् । सुशासनका अभिवृद्धिका लागि यस्ता सामुदायिक संस्थाहरुको छाता संगठन सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघले समेत भूमिका खेलिरहेको छ । पछिल्लो अवस्थामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने सिलसिलामा सुशासन आंकलन गर्ने कार्य थालनी गरेको छ । सामुदायिक संस्थाको सुशासनको अवस्था पहिचान गरी सुशासन सुधारका लागि संस्था स्वयंले योजना बनाई कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर भएका छन् । केही सामुदायिक संस्थाहरुमा यस्को अभ्यास भइरहेको छ ।

महासंघले सुरु गरेको सुशासन अभ्यासमा ४ वटा विशेषतामा आधारित रहेका छन् । पारदर्शिता, जवाफदेहिता, सहभागिता र विधिको शासनलाई विशेषता मानी हरेक विशेषताका ५ वटा आधार सुचक निर्धारण गरी हरेक आधार सूचकको १ देखि ५ वटा अवस्था निर्धारण गरिएका छन् । सो को आधारमा हालको अवस्था, १ वर्ष पछि चाहेको अवस्था र आदर्श अवस्था पहिचान गर्ने गरिन्छ । चाहेको अवस्था प्राप्तिका लािग सुधार योजना वनाउने समेत गरिन्छ । यो अभ्यास प्रभावकारी देखिएको छ ।

४. सामुदायिक विद्युतीकरणमार्फत उद्यमशिलताको कसरत

विद्युत् खपतलाई व्यवसायिकतातर्फ जोड्ने कोसिस भइरहेको देखिन्छ । विद्युत्को कारण ग्रामीणस्तरमा उद्यमशिलताका कामहरु भइरहेका छन् । विद्युत्सँग सम्बन्धित उद्यमशिलता र विद्युत् प्रयोग गरी गरिने उद्यम विकासको वढेको पाइन्छ ।

५.सूचना प्रवाहमा प्रभावकारिता

सामुदायिक  विद्युतीकरणका कारण सूचना तथा सञ्चारको क्षेत्रमा कायापलट भएको पाइन्छ । मोबाइल फोन चार्ज गर्न कठिनाइ हुने दूरदराजको बस्तीमा समेत टेलिभिजन हेर्न सकिने अवस्था आएको छ । हरेक नागरिकको साथमा मोबाइल फोन हुन थालेको छ । हात हातमा मोबाइलका साथका रेडियो र इन्टरनेटको सुविधासमेत उपयोग हुन थालेको छ ।

६.सामुदायिक विकासमा योगदान

विद्युतीकरणको उपलब्धिको रुपमा सामुदायिक विकासलाई लिन सकिने अवस्था भएको छ । गुल्मीको लिंघा भन्ने स्थानमा विद्युतीकरण गर्न सडक लगेको एक उदाहरण हो । यसता सामुदायिक विकासमा विद्युत् अभियानले सहयोग पु¥याएको देखिन्छ ।

अन्त्यमा, सामुदायिक विद्युत् अभियानले राज्यले निर्वाह गर्नु पर्ने जिम्मेवारी कार्यान्वयनमा सहयोग पु¥याइरहेको छ । हरेक समुदायमा बिजुली पु¥याउने जिम्मेवारी सरकारको हो । त्यस महान् अभियानमा समुदायको संगठित भई सहयोग गरिरहेका छन् । यो कर्ममा सबै तर्फबाट खुल्ला मनले सहयोग गर्नु पर्ने हो । विद्युत् प्राधिकरणको कर्मचारी परिचालन गरी विद्युत् शुल्क उठाउने हो भने पनि कति खर्च हुँदो हो । राज्यकै नियन्त्रणमा रहँदा कति विद्युत् चुहावट हुँदो हो । ती सबै कुराको अपनत्व दिई समुदायले नियन्त्रण गरेका छन् । यो कार्यमा राज्यले यस्ता अभियानलाई थप प्रवद्र्धन गर्नु आवश्यक रहेको छ । त्यसैगरी, यस अभियानमा क्रियाशिल सामुदायिक संस्थाहरुको थप क्रियाशिलता र सुशासनका पक्षमा काम गर्नु पर्ने देखिन्छ । यसका लागि तीन तहकै सरकार अनि विद्युत् सम्बन्धी नियामक निकायसमेत भूमिकामा रहेकोे विद्युत् प्राधिकरणको समेत जिम्मेवारी हो । सामुदायिक संस्थाहरुको क्षमता विकास र पक्ष पोषणका लागि सामुदायिक संस्थाहरुको छाता संस्था महासंघको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहन्छ ।

Leave a Reply

Your email address will not be published.