नेपालमा प्राकृतिक स्रोतहरुको दुरुपयोग बढ्दै

लेख

नेपालका लागि प्राकृतिले दिएको अमूल्य स्रोतहरु भनेको जमिन, जंगल, जल र जनशक्ति नै हो । प्राकृतिले नेपाल राष्ट्रको आवश्यकताअनुसार पुग्ने गरी यस्ता स्रोतहरु दिएका छन् । भारतका राष्ट्रपिता महात्मा गान्धीका अनुसार प्राकृतिले मानव जगतको सबै आवश्यकतालाई पुग्ने गरी स्रोतहरु दिएका छन् तर लोभ गर्नेहरुका लागि भने त्यो पर्याप्त छैन । मानव जगत्को रचियता मानिएको इश्वरले पनि मानव कल्याणका लागि अति अमूल्य निधि प्राकृतिक स्रोतहरुको दुरुपयोग गर्न नहुने बताउँदै सञ्चिति गर्नका लागि मानव समाजलाई प्रेरित गरेका छन् । तर, हामी नेपाली मूर्ख न ठहरियो जे जति भएका प्राकृतिक स्रोतहरुको दुरुपयोग गर्दै छौँ । हामी नेपाली जनताले छानेका नेताहरुले नै नेपाललाई प्राकृतिले दिएका सबै स्रोतहरुको दोहन र दुरुपयोग गरेको गरेकै छन् । कोशी बेचियो, गण्डकी बेचियो र महाकाली पनि बेचियो भनेको बालक कालदेखि नै सुन्दै आएका छौँ । अहिले आएर पनि नेपालको प्राकृतिक स्रोतहरु बेचिने क्रम रोकिएको छैन । फरक यति मात्रै देखिन्छ कि हिजो नेपालको प्रकृतिक स्रोतहरु बेचिँदा विरोध गर्नेहरु नै अहिले नेपालका नेता भएका छन् र उनीहरु नै नेपाललाई प्राकृतिले दिएको अमूल्य स्रोतहरुको नयाँ व्यापारी बनेका छन् । हरियो वन नेपालको धन भन्ने नारा एका देशको उखानझैँ लाग्न थालेको छ । नेपालको पूर्वी सीमाना मेचीदेखि लिएर पश्चिमी सिमाना महाकालीसम्म फैलिएको घना जंगल चारकोशे झाडी सबै सफाचट भइसकेको छ । यहि कुरा हामीले हाम्रो छोराछोरीलाई सुनाउँदा उखान भनेकोझैँ मान्छन् । अहिले चुरिया पहाडको शृंखला बाँकी छ र यो पनि नेपालको पूर्वी सिमानादेखि मध्य पश्चिम नेपालसम्म फैलिएर रहेको छ । यसको दोहन पनि तीव्र गतिमा भइरहेको छ । ढुंगा गिटीजस्ता निर्माण सामग्री उत्पादन गर्नका लागि चुरिया पहाड महत्वपूर्ण प्राकृतिक स्रोत बनेको छ । नेपालमा मात्र होइन भारतको विहारमा पनि चुरिय पहाडको उत्खनन् गरी उत्पादन गरिएको ढुंगागिटी कै उपयोग गरिन्छ । महाभारत पहाड र चुरिया पहाडबाट दक्षिणतिर बग्ने नदीहरु र खहरे खोलाहरुले ढुंगा, माटो र गिटी बगाएर तराईको समथर जमिनसम्म गुडाउँदै लाने गरेका छन् । आधुनिक क्रसर प्लान्टहरु, जमिन खन्ने मेसिनहरु र ठूला ट्रान्सपोर्टर ट्रकहरुको प्रयोगले झनै चुरिया पहाडको खनन् कार्यलाई तिव्रता दिएको छ । चुरिया पहाडको कतिपय भागमा जमिनमाथिको जंगललाई खुइलाएर मानव वस्ती पनि बसेको देखिन्छ । केही काल वा केही वर्ष बितेपछि चुरिया पहाड शृंखलाको पनि हालत चारकोशे झाडीको जस्तै हुने अनुमान सजिलै लगाउन सकिन्छ । प्राकृतिले नेपाल राष्ट्रलाई यस्तो सुन्दर रुप दिएको छ कि नेपालको यात्रामा आउनेहरुको आँखा खुलाको खुलै हुन्छ र नेपालको सुन्दरताको प्रशंसामा मुख चलाएको चलाएकै गर्दछन् । नेपालको सुन्दरताको रसपान गरी मन्त्रमुग्ध हुनका लागि मानव निर्मित कृत्रिम भ्युटावरहरुको जरुरत पर्दैन । प्राकृतिक देवीले दिएका अग्ला हिमाल, पहाड र डाँडाहरु नै त्यसका लागि पर्याप्त छन् । नेपालका मानव निर्मित आग्ला कंक्रिटका भवनहरु, भ्युटावरहरु हेर्नका निमित्त विदेशी पर्यटकहरु नेपाल आउँदैनन् । उनीहरु नेपालको प्राकृतिक सुन्दरता हेर्न र हाम्रा पुर्खाले निर्माण गरेका कलात्मक मन्दिरहरु, दरबारहरु र भवनहरु हेर्नका लागि मात्रै आउने गरेका छन् । अहिले विकासको नाममा तिनै प्राकृतिले दिएको नेपालको सुन्दररुपलाई भत्काएर कुरुप बनाउने काम भइरहेका छन् । तिनै पुर्खाले निर्माण गरेका कलात्मक सुन्दर मन्दिरहरु, भवनहरु र दरबारहरुलाई भत्काएर आधुनिक कंक्रिटको संरचनाहरु बनाएर प्रतिस्थापन गर्ने होड नै चलेको छ । त्यसैले नेपाली जनताले रानीपोखरीलाई पुरानै शैली र निर्माण सामग्री प्रयोग गरी बनाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए र परिणामस्वरुप रानीपोखरीको निर्माण पुरानै शैली र निर्माण सामग्रीहरु प्रयोग गरी बनाउने काम अहिले सम्पन्न भइसकेको छ । हाल कमलपोखरीको पुनर्निर्माणका लागि लिएर स्थानीय जनताहरु आन्दोलित भएका छन् र उनीहरुको जोड कमलपोखरीको निर्माण पुरानै शैली र निर्माण सामग्री प्रयोग गरी बनाउनु पर्नेमा छ । कमलपोखरीमा प्राकृतिक हिसाबले नै कमल फूलेको हेर्ने चाहना स्थानीय जनताको छ । नेपालमा कम्युनिस्टहरुले सरकार बनाएपछि घरजग्गाको दलालहरु र नाफाखोर निर्माण व्यवसायीहरुले सरकारी प्रतिजग्गा जमिनहरुदेखि लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गासमेत नेताहरु र निजामति कार्मचारीहरुसित मिलेमतो गरी भित्रभित्रै बेचबिखन गरी खाएका छन् । हरियाली वा बगँैचाको रुपमा प्रयोग भएका सरकारी भवनहरु आसपासका बगँैचा खाली जग्गा जमिनहरुदेखि लिए खुलामञ्चको रुपमा प्रयोग हुँदै आएको खाली जग्गासमेत घरजग्गाका दलालहरु र नाफाखोर व्यवसायीहरुको चपेटामा परेका छन् । जबरजस्ती काठमाडौं सहरको आदिकवि भानुभक्तले कवितामा वर्णन गरेको कान्तिपुरको सुन्दर रुपलाई मेटाउने कामहरु भएका छन् । गत भूकम्पबाट भत्किएको धराहराको ठाउँमा पुनर्निर्माण गर्दा आधुनिक निर्माण सामग्रीहरुको प्रयोग गरी नयाँ धराहरा बनाउँदै छन् र त्यसलाई व्यापारीकरण गरी भ्युटावरमा रुपान्तरण गरिएको छ । उक्त स्थल वरपरका गोश्वारा हुलाकको सरकारी घरजग्गा, टक्सार विभागका सरकारी घरजग्गा, ऐतिहासिक सुन्धाराका जग्गा र संरचनालाई पनि नयाँ भ्युटावररुपी धरहरामा नै गाभ्ने काम भएका छन् । सरकारी जग्गा जमिन र संरचनाहरुलाई व्यापारीकरण गर्ने नाममा यस्ता गलत काम भएका छन् । बिचौलिया, व्यापारी र व्यावसायीहरुले सरकारी जग्गा जमिन र ऐतिहासिक संरचनाहरु कौडीको भाउमा लिजमा स्वामित्व ग्रहण गरी उपयोग गर्न सफल भएका छन् । उता पुरानो बसपार्कको जग्गा पनि बिचौलिया व्यापारीहरु र व्यवसायीहरुको जालमा पर्नाले कुरुप बनाएर राखिएको छ । यो सबै निर्माणहरुले कान्तिपुर सहर भनी चिनिने काठमाडौंको पहिचानलाई पूर्णरुपले मेटाइदिने देखिन्छ । काठमाडौं सहरकै गोंगबुको नयाँ बसपार्कलाई पनि बिचौलिया व्यापारी र व्यवसायीलाई जिम्मा लगाइएको हुँदा अहिले उक्त पूरा नयाँ बसपार्क नै सपिङ मलमा रुपान्तरण गरिएको छ । त्यो ठाउँ अहिले सजिलै बसपार्क हो भनी चिन्न निकै कठिन हुने गरेको छ । त्यसैले व्यापारीकरण कतिसम्म गर्न सकिने भनी हद तोक्न नेपालमा कानुनै बनाउनु पर्ने जरुरी भएको छ । खासगरी मूलउद्देश्य अनुसारको पहिचान नै मेटिने गरी व्यपारीकरण गर्नु सर्वथा गलत हो । अहिले काठमाडौं सहरको हरियालीका लागि छाडिएको सार्वजनिक जग्गा जमिनहरुको नाश गर्ने गतिविधिहरु बढेका छन् । कतै भ्युटावरहरु बनाइएका छन् भने कतै कुरुप देखिने स्मारकका संरचनाहरु बनेका छन् । अति भिडभाड हुने नक्सालजस्तो धार्मिक स्थलमा अग्ला पाँचतारे होटल बनाउने स्विकृती दिएको छ भने नागपोखरीको छेउमा नै मेरिएटजस्तो पाँचतारे होटल बनाएर चलाउने अमुमति पाएका छन् । यस्ता महँगा पाँचतारे होटलहरु सहर बाहिर बनाउन कुनै मुस्किल थिएन त्यसैले सहरको दूरदराजको कम विकसित इलाकामा बनाउन अनुमति दिएको भए उक्त ठाउँको विकास पनि हुने थियो । तर दलहरुको सरकारले बिचौलिया व्यापारीहरु र व्यवसायीहरुसित कमिसन लिएर काठमाडौं सहरको पहिचान मेटाउने गरी महँगा होटलहरु धार्मिकस्थल र भिडभाड हुने स्थानहरुको आसपास बनाउने अनुमति दिएका छन् । यस्ता गैरकानुनी निर्माणहरुले गर्दा काठमाडौं सहरका नागरिकहरु झन् असुरक्षित भएका छन् भने कान्तिपुरजस्तो सुन्दर शान्त सहरमा अशान्ति बढ्ने संभावना निकै बढेको छ । अग्ला भवनहरुको निर्माणले गर्दा सहरमा सुरक्षाको चुनौती बढेको हो भने आग्ला भवनहरुमा आगलागी भएको खण्डमा त्यसको समन गर्नका लागि कुनै निकाय वा तयारी छैन । कुनै सुरक्षाको तयारीबिना नै यस्ता अग्ला भवनहरु भिडभाड सहरी इलाकाको बीचमा बनाउन दिइएकाले सहरका बासिन्दाहरुको सुरक्षा कमजोर बनेको छ भने धार्मिक महत्वका स्थलहरु जस्तो नक्साल भगवती नराम्रोसित प्रभावित भएका छन् । उक्त भवनहरु केही तला जमिन मुनी पनि बनेको हुनाले जमिन मुनीको पानीको प्रभाहलाई पनि बिगारेको छ । यस्तो गैरकानुनी कामहरुको अनुमति दिने निजामाति कार्मचारीहरु र दबाब हाल्ने जनप्रतिनिधि नेताहरुलाई सख्त कारबाही नभएसम्म रोकिने छैन । सार्वजनिक प्रतिजमिनहरुको हिनामिना काठमाडौंबाहिर पनि उत्तिकै बढेको देखिन्छ । काठमाडौं उपत्यकामा कडाइ बढेपछि केहि घरजग्गाका दलालहरु काठमाडौं खाल्डो बाहिरका साना सहरहरुमा व्यवसाय गर्न गएको हुँदा त्यता पनि सरकारी घरजग्गाको दुरुपयोग ह्वात्तै बढेको हो । गाउँगाउँमा भ्युटावरहरु र स्मारकहरु बनाउने होड नै चलेको हुँदा हारियालीका लागि छाडेको सरकारी जग्गा जमिनको हिनामिना बढेको छ भने सरकारी बजेटको पनि दुरुपयोग गरेका छन् । झापाजस्तो ग्रामीण भेगमा ४ अर्ब खर्च गरी भ्युटावरसहितको व्यापारिक मल सरकारी बजेटबाटै बनाएका छन् । उता अस्पताल र खानेपानीजस्ता परियोजनाहरु बजेट नभएर रोकिएका छन् । बिचौलया व्यापारीहरु र व्यवसायीहरुकै प्रभावमा पर्दा प्रधानमन्त्रीको चुनाव क्षेत्रमा यस्तो अनुत्पादक संरचना बनेका छन् जसले नेपाललाई सम्पन्न होइन झन् विपन्न तुलाउने पक्का गरेको छ । शीर्ष नेताहरुले नेपालमा आफ्नो नेतृत्वमा यो विकास भयो त्यो विकास भयो भन्दै भाषण दिएर हिँड्ने गरेका छन् । तर यथार्थ के हो भने शीर्ष नेताहरुको योगदानले नेपालमा कुनै ठोस विकास भएको छैन । जे जति विकास भएको देखिएको छ त्यो समय काल परिस्थितिअनुसार भएका विकास मात्रै हुन् । त्यहि विकासलाई मैले गरेको विकास हो भन्दै बर्बराउनु राम्रो लक्षण होइन । प्राकृतिक स्रोतमा सबै नेपालीको समान अधिकार हुन्छ त्यसैले नेपालका शीर्ष नेताहरुले विकासको बाहानामा नाफाखोर व्यापारीहरु र व्यवसायीहरुलाई कौडीको भाउमा नेपालको जमिन, जंगल, जल र जनशक्ति एकलौटीरुपमा लामो समयका लागि उपयोग गर्न दिने नीतिले नेपाली जनताको समान रुपले भोग गर्न पाउने अधिकारलाई प्रभावित बनाएको छ । यती समूहलाई दिएका नेपाल ट्रष्टका जमिनहरु, सोही समूहलाई दिएको नेपालको पाथीभरा मन्दिरदेखि अन्य ठाउँका जमिन र जंगलहरु, चण्डेश्वरी केवलकारलाई दिएको जमिन र जंगलहरु, घरजग्गाका व्यवसायीहरुलगायत अन्य लगानीकर्ताहरुलाई लिजमा दिइएको सहरका हरियालीका लागि छुट्टयाइएको सार्वजनिक खाली जमिन र बगैँचाहरु, वैदेशिक रोजगारी नीतिबाट नेपाली जनशक्तिमा भएका दुरुपयोगहरु सबैलाई पुनरावलोकन गरी दोषी नेताहरु र निजामति कर्मचारीहरुलाई सख्त कारबाही गरी प्राकृतिक स्रोतको समान भोग गर्न पाउने नेपाली जनताको अधिकारलाई स्थापित गर्नु पर्छ । यसो गर्न सकिएमा मात्रै भविष्यमा नेपाली जनताका सन्ततिले पनि नेपालको प्राकृतिक स्रोत भोग गर्न पाउने छन् । अन्यथा नाफाखोर व्यापारी र व्यवसायीहरुले नेपालको सबै प्राकृतिक स्रोतहरु चाँडै एकलौटी बनाउने छन् र नेपाली जनता उनीहरुको दास बन्ने छन् ।

Leave a Reply

Your email address will not be published.