डोल्पाको अनुभव

लेख

नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा भनेको सुनेदेखि नै त्यहाँ पुग्ने सपना मनभरि सजाएको थिएँ । सामुदायिक वन अभियानको सिलसिलामा वि.सं. २०६३ असारको महिनामा त्यहाँ पुग्ने मौका मिलेको थियो । डोल्पा पुग्नु पैदलको विकल्प हवाइजहाज नै थियो । पैदल त कल्पना गर्न पनि सकिन्नथ्यो । सायद सुर्खेतबाटै पैदल हिड्नु पर्दथ्यो होला । अनि पैदल जाँदा आधा महिनाभन्दा बढी लाग्नसक्थ्यो । त्यसैले नेपालगञ्जको राँझा विमानस्थलवाट डोल्पाको जुफालसम्म हवाइयात्राको विकल्प रोजियो । टिकट पाउन मुस्किल थियो । अहिलेका नेकपाका केन्द्रीय सदस्य तत्कालीन फेकोफन डोल्पाका अध्यक्ष एवं नेकपा एमाले डोल्पाका प्रमुख हंसबहादुर शाहीको पहुँच र पहलले टिकट मिल्यो ।
मनभरि कौतुहलता र रहर बोकेर जुफाल विमानस्थलमा ओर्लिएँ । पहाडको चेप रहेको विमानस्थल यति साँघुरो थियो कि जहाजको गति नियन्त्रण गर्न रनवेमा खाल्डो पारे जस्तो लाग्दथ्यो । अन्यत्रका विमानस्थलमा हवाइजहाज आउँदैछ भनेर पहिला नै सुनिन्थ्यो । आवाज आउँथ्यो । परैबाट विमानस्थल र विमानस्थलबाट प्लेन देखिन्थ्यो तर, जुफालमा त फुत्त पुगेपछि मात्र थाहा हुनेरहेछ । दुई पहाडको चेपबाट फ्याट्ट ठूलो खालको चरो जसोगरी हजाइजहाज निस्केको जस्तो लाग्दछ ।
सामान्यतया, असार महिनामा नेपालभर धेर–थोर पानी पर्दछ । प्रायः डाँडापाखामा हरियाली देखिन थालेको हुन्छ । तर, जुफालमा त्यस्तो देखिएन । घरहरू बाक्ला रहेछन् । करिब–करिब असनको जस्तो टाँसिएका घरहरू देखिए । झट्ट हेर्दा ढलान गरेका जस्ता घर देखेँ । यति टाढा गाडी नपुगेको ठाउँमा पनि घर पक्की रहेछन् भन्ने मनमा लागेको मात्र थियो । कुरो फरक परिगयो । त्यो त माटाले छाएको घर पो रहेछन् ।
हाम्रातिरका जस्तो करालो छानो हाल्ने चलन रहेनछ । सिमेन्ट ढलान गरेका जस्ता छानो । तर, माटोले छापेको । पानी कम पर्ने, हिउँ मात्र पर्ने भएकोले चिसो पस्दो रहेनछ । त्यो माटाको छत भनेको आँगन पनि हो । बिस्कुन सुकाउने, लुगा धोएर टाँग्ने अनि घाम ताप्ने त्यही ठाउँ हो । प्रायः घर अगाडि आँगन देख्न पाइन्न । जुफाल एयरपोर्टको नजिकै झुरुप्प घरहरूको भएको मन नै लोभ्याउने एक गाउँ रहेछ ।
जुफाल विमानस्थलको गेटकै छेउको होटलमा खाना खायौँ । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख वोर्णबहादुर थापासँग मौकावस सहयात्री हुने मौका मिलेको थियो । उहाँ नेपालगञ्ज विमानस्थलमा नै भेट हुनुभएको थियो । चिनजान पनि त्यही भयो । त्यसैले मलाई कता जाने, के गर्ने ? कुनै अलमलमा पर्नु परेन । जुफालदेखि दुनै पुग्न सायद दुई घण्टा जति हिड्नु परेको थियो होला ।
डोल्पाको सदरमुकाम दुनै ठूलो भेरी नदीको किनारमा अवस्थित थियो । दुनैमा होटलको मेसो हंशबहादुर शाहीले गरिदिनु भएको थियो । सायद एक हप्ताको बसाइँ भयो होला दुनैमा । डोल्पाका धेरै विशेषताहरू छन् । पहिल्यै सुनेका नै केही थिए । जस्तो सबैभन्दा ठूलो जिल्ला । नेकपा माओवादीले पहिलो पटक सदरमुकाम आक्रमण गरेको जिल्ला । शेफोक्सुन्डो ताल भएको जिल्ला । ओस्कार पुरस्कारको लागि मनोनयन परेको क्याराभान सिनेमा छायाँकन भएको जिल्ला । सोही सिनेमाका नायक थिन्लेको जिल्ला । यी विशेषता भन्दा फरक के–के होलान् भन्ने खोजनीति गर्ने रहर थियो ।
क्याराभानका नायक थिन्लेलाई भेट्ने ठूलो रहर थियो । यो रहर हंशबहादुर शाहीसँग पोखेँ । उहाँले आश्वासन दिनुभयो । त्यो आश्वासन पूरा हुनेभयो । भेट्ने निर्धारण भएको दिन बिहानदेखि नै छटपटी भयो । विश्वमा नै चर्चित सिनेमाको नायकसँग भेट्ने मौका मिल्दै थियो । त्यो छटपटीलाई म बसेको होटलवालाले नियालेछन् । अनि उनले सोधे ‘किन तपाईं आज छटपटाइरहनु भएको छ ?’ मैले खुसी हुँदै भनेँ, ‘म आज थिन्लेलाई भेट्दैछु । उसँग गफ गर्नु छ, फोटो खिच्नुछ ।’ उनले नाक खुम्च्याउँदै भने, ‘त्यो हिरो ? खै भेट्ला र ? उसँग फोटो खिच्दा पनि पैसा तिर्नुपर्छ भन्छन् ।’ मैले ‘ए होर !’ भने । तर, म ढुक्क थिएँ । उनका पनि नेताले भेटाउने चाँजो मिलाएका थिए । मलाई थाहा थियो थिन्ले २०५४ सालका स्थानीय निकायको निर्वाचनमा जिविस सदस्य भएका थिए । उनलाई एमालेले टिकट दिएको थियो । नेकपा एमाले डोल्पाको प्रमुखको पहलमा थिन्ले र मेरो भेट हुँदै थियो । यदी पैसा मागेछन् भने पनि पाँचसय रुपैयाँ दिन्छु । बुझेको भरपाई लिन्छु । थिन्लेलाई पैसा दिएको भनेर फूर्ति लगाउन मिलिहाल्छ भन्ने कुरा मनमनमा गमी रह्यो ।
हंशबहादुर शाही र म थिन्ले बस्ने घरमा पुग्यौँ । घरको अगाडि ढुंगा ओछ्याएका थिए । प्लाष्टिक कुर्सीहरू त्यही थिए । हामी बस्यौँ । हामी आएको खवर भित्र पठायौँ । केहीबेरमा उनी निस्किए । दुई हात जोडेर नमस्कारका भन्यौँ । उनले मलाई चिन्ने कुरै भएन । तर, उनका नेतालाई नचिन्ने पनि कुरा भएन । थिन्लेले हंशबहादुर शाहीलाई केही सोधे । सायद ‘यो मान्छे को हो ? किन आएको ? मलाई किन भेट्न खोजेको,’ भने होलान् । स्थानीय भाषामा बोलेका थिए । नेपाली नै बोलेको भए पनि मैले बुझ्न कठिन नै हुन्थ्यो । लवज फरक थियो ।
हंशबहादुर शाहीले थिन्ले र मेरो बीचमा परिचय गराएर पुल बाँधी दिए । हामीबीच गफ गर्न सहज भयो । थिन्लेले ‘काठमाडौंबाट आएको हो ? मलाई किन भेट्न खोजेको,’ भने । मैले उनको प्रशंसा गर्दै अलि–अलि फूलबुट्टा भर्दै, ‘तपाईं जस्तो विश्व परिचित मान्छेसँग भेट्न रहर लागेको थियो त्यही रहर मेट्न, अलिअलि गफ गर्न अनी तपाईंसँग बसेर फोटो खिच्न आएको’, भनेँ ।
कुनै बेलाका उनका नेतासँग म गएकोले अटेर गर्ने संभावना कम थियो नै । तै पनि उनले मलाई एउटा शर्त राखे । ‘तिमि लेख्ने पनि गर्दा रहेछौँ, काठमाडौंबाट आएका भनेपछि तिम्रो संगत देश चलाउनेसँग पनि होला । मेरो एक काम गरिदिन्छौ ?’ भनी सोधे । मेरो देश चलाउनेसँग त्यत्रो संगत कहाँ थियो र ?
तै पनि उनीसँग गफ गर्ने फोटो खिच्ने रहर थियो नै । गोलमटोल पाराले भनेँ, ‘मैले के गर्नु प¥यो ?’ ‘तिमिले स्वास्थ्यमन्त्री चिनेका छौँ ?’ उनले सोधे । मैले इमान्दारपूर्वक जवाफ दिएँ, ‘मैले त चिन्छु तर, उनले मलाई चिन्दैनन् होला ।’ त्यो बेला उपप्रधान तथा स्वास्थ्यमन्त्री अमिक शेरचन थिए । तै पनि ‘मैले तपाईंको कुरा पत्रिकामा छापेर त्यो एकप्रति मन्त्रीकोमा र एकप्रति तपाईंलाई पठाउने काम चाहिँ गर्नसक्छु,’ भनी आश्वस्त पार्ने कोशिस गरेँ ।
उनी बोल्न तयार भए । खुलेर कुराकानी गरियो । डोल्पाको अवस्था र उनको दृष्टिकोण मननयोग्य थियो । क्रमशः

Leave a Reply

Your email address will not be published.