कृषि उत्पादनमा बिचौलियाको मात्र मस्ती

समाचार

काठमाडौं– नेपाल कृषि प्रदान देश भनिन्छ । वास्तविक तथ्यांक नभए पनि विभिन्न अनुसन्धानलाई आधार मानेर हेर्दा यहा ७०% भन्दा बढी जनसङ्ख्याले कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका छन् । अहिले पनि नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबैभन्दा भरपर्दो पेसा कृषि नै हो ।
मानवसभ्यताको विकाससँगै परम्परागतरूपले खेतीपातीको सुरुवात भएको पाइन्छ र कृषि पेसा विश्वका अधिकांश मुलुकहरूले अपनाएको पेसा हो । नेपाललाई भौगलिक हिसाबले हेर्ने हो भने एकदमै सानो देश हो । तर पनि हावापानीको हिसाबले ठाउँ अनुसार फरक–फरक किसिमको हावापानी पनि पाइन्छ जसले गर्दा ठाउँ अनुसारकैै कृषि उत्पादन र अन्नबालीहरू उत्पादन गर्न सकिन्छ । जस्तै, तराइको हावापानीमा फलफूलमा आँप, लिची, नासपति, आलुबखरा, मौसमी तथा बेमौसमी तरकारीहरू र अन्य बालीहरूसँगै च्याउ, मौरीपालन हुन्छ, भने पहाडी भेगमा सुन्तला, काफल, स्याउ, जुनार, सिट्रसलगायतका फलफूलहरू हुन्छन् ।
एकठाउँमा उत्पादन हुने मौसमी खेती अर्को ठाउँमा बेमौसमी खेती सिजनमा उपज हुन्छ भन्दा केही नेपालीलाई अनौठो महसुस हुनसक्छ । तर, नेपालमा नेपालीलाई पुग्नेगरी कृषिखेती उत्पादन गर्न सकिन्छ । माछा, मासु, दाल, तरकारी, फलफूल तथा जटिबुटीजस्ता औषधीजन्य वस्तु भरपुरमात्रामा उत्पादन गर्न सकिन्छ । तर पनि नेपाली कृषकहरू दुःखी नै छन् । जति मेहनत गरे पनि उनीहरूको स्तर जहाँको त्यहिँ छ । किनभने आफूले मेहनत गरेर उब्जाएको उब्जनीबाट चाहेको मूल्य पाउन सकेका छैनन् । आफूले चाहेको मूल्य नपाएको कारणले तरकारी, फलफूलहरू र अन्य अन्नबालीहरू कुँहिएर, सडेर गएका छन् । बीचमा बिचौलियाहरू भने मौसमी सिजनमा हाम्रो छिमेकी देश भारतमा सस्तो मूल्यमा सप्लाई गर्ने गर्छन् र नेपाली बजारमा पठाउने गर्छन । जब वेसिजन हुन्छ तब त्यहीँ तरकारी आलु, प्याज, गेडागुडीहरू, चामल फेरि महँगो मूल्यमा नेपालमै भित्र्याउने चलन रहिआएको छ । र बिचौलियाहरू बीचमा खेल्छन् ।
नेपाल सरकारको योजना पनि कागजमा मात्र सिमित छ जस्तो मलाई त । किनभने सरकारको योजनाअनुसार आज पनि कृषि क्षेत्रका कृषकहरूले भनेजस्तो सेवा सुविधा पाएका छैनन् । कृषकहरूले समयमा मल पाउँन सकेका छैनन् । बिउबिजन र औषधीसमेत किन्न नसक्ने अवस्थामा गुज्रिरहेका छन् । न त उनीहरूले उन्नत बीउ पाउन सकेका छन् । न त उचित तालिम या कुनै परामर्श नै पाउन सकेका छन् । उही कुटो–कोदालोको भरमा बाँचिरहेका छन् । खेती प्रणालीबाट माथि उठ्न सकेका छैनन् । यसबाट उत्पादनकत्व बढ्न सकेको छैन । न त कृषि क्षेत्रमा नयाँ नयाँ रोजगारीको अवसर नै सिर्जना गर्न सकिएको छ ।
ठूला–ठूला कृषक नेताहरू इस्टेजमा गएर ठूला–ठूला भाषण त दिन्छन् तर, अहिले पनि आयातमा भरपर्नुपर्ने स्थिति छ । यसको मुख्य कारण भनेकै राजनीतिक खिचातानी बिचौलिया र जनस्तरमा चेतनाको कमी साथै सरकारको अक्षमता नै हो । कृषिमा लागिरहेकाहरूले अहिले पनि परम्परागत शैली छाड्न सकेका छैनन् । रहरले भन्दा पनि बाध्यताले भनौँ या आफ्नो जिविका धान्नको निम्तिमात्र कृषिमा आवद्ध हुनेहरूको संख्या नेपालमा अत्याधिक नै छ ।
जबसम्म कृषि क्षेत्रको विकासका लागी राज्यले एकीकृत विकासको खाका बनाउन सक्दैन, तबसम्म देशको उत्पादकत्वमा वृद्धि गर्न सकिँदैन । खेती त लगाउँछन् किसानले तर, यस्को बजारबाट मूल्य पाउँदैनन् र नेपालमा उत्पादन भएका कृषि उत्पादन, खाद्यान्न भारत सप्लाई गर्ने र भारतबाट नेपाली भित्र्याउने परम्परा कायम रहनेछ । तर, भारतले नेपाली किसानलाई मार्कामा पार्दै आएको छ । किनभने नपालमा उत्पादन भएका अन्न भण्डारणमा बिचौलियाले खेल्ने गरेको छ र नेपालमा उत्पादन भएका खाद्यान्न भारतले गर्दा सस्तो मूल्यमा नेपालीले घाटा खाएर बेच्नु परेको छ । नेपालमा अफसिजनको समयमा भारतसँग मिलेर बिचौलियाहरूले भारतवाट खाद्यान्न, तरकारी ल्याएर नेपालीहरूलाई महँगो मूल्यमा बेच्ने गरेका छन् । नेपालीले उत्पादन गरेको तरकारी फलफूलहरूमा सिजन अनुसार उत्पादन भएको समान चाहिँ नेपालीले सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको छ ।
नेपालमा सिजन सकिएपछि भारतले गोलभेडा, प्याज, आलु, भेन्टा, टमाटर, वन्दा, काउली, लसुन, खुसार्नीजस्तो तरकारी नेपालीहरूले बाध्य भएर खानुपरेको छ । त्यस्तै खाद्यान्न र तरकारी भण्डारणबाट खुद्रा बिक्री वितरण गर्ने थोक एजेन्टको रूपमा कालीमाटी तरकारी बजार, टुकुच्चा तरकारी बजार, बानेश्वर मिनभवनको तरकारी बजार, कोटेश्वर तरकारी बजार, असन इन्द्र चोकको तरकारी बजार, गोर्खु तरकारी बजार, वलम्वुको तरकारी बजार, बालाजु तरकारी बजार जस्ता ठाउँहरूमा बिचौलियाहरू बीचमा यस्ता थोक बिक्रेताहरूले खुद्रा व्यापारीहरूलाई अन्योलमा पारी बढी मूल्यमा फसाएर बिक्री वितरण गर्ने गरेका छन् यस्तो विषयमा न सरकाले ध्यान दिएको छ, न त व्यापारी र उपभोक्ताहरूले नै अवाज उठाउन सकेका छन् । न त कसैले अनुगमन गर्न नै सकेको छ ।

Leave a Reply

Your email address will not be published.