डोल्पाको अनुभव–२,थिन्लेको पैरवीप्रति नतमस्तक

लेख

थिन्ले बोल्न थाले, ‘मेरो सालदाङ गाविसका लागि एक स्वास्थ्य चौकी मागेको थिएँ । हुन्छ, भने तर दिएनन्, ढाँटे ।’ यस विषयमा उनीले अलि लामै व्याख्या गर्न आग्रह गरेँ । उनी केही महिना अघि काठमाडौं आएका रहेछन् । (त्यो समयमा राष्ट्रियस्तरको टिभीमा उनको अन्तर्वार्ता हेर्ने मौका मिलेको थियो । त्यही अन्तर्वार्ताको आधारमा मलाई पनि उनीसँग गफ गर्ने रहर जागेको थियो ।) उनले काठमाडौंमा भेटघाट गर्दा ज्ञानेन्द्र शाहको शासन नै थियो । काठमाडौंमा योजना आयोग, मन्त्रीदेखि जिम्मेवार पदाधिकारीहरूलाई भेटेर साल्दाङ गाविसमा एक स्वास्थ्य चौकी माग गरेका रहेछन् । सायद त्यो बेलामा राजालाई पनि भेटेका थिए कि त्यो कुरा बताउन चाहेनन् । उनीले भेटेका सबै पदाधिकारीहरूले अन्तराष्ट्रिय हिरोको माग पूरा गरिदिने भनि आश्वासन दिएछन् । उनी खुसी हुँदै घर फर्किएछन् ।
उनी काठमाडौंबाट नेपालगन्ज, दुनैंतिर अल्मलिँदै साल्दाङ पुगे । उनी भन्दा पहिला नै साल्दाङमा एक खबर पनि पुगेछ, काठमाडौंबाट । त्यो खबरको व्यहोराले थिन्लेलाई भाउन्न बनाएछ । आशा र भरोसा माथि तुषारापात नै भएछ । साल्दाङ गाविसमा पहिला नै एक स्वास्थ्य चौकी भएको हुँदा कानुनले एक गाविसमा २ वटा दिन वा राख्न नमिल्ने भन्ने खबरको सार रहेछ ।
अनि मैले सोधेँ
तपाईंको गाविसमा स्वास्थ्य चौकी नै छैन ?
एक गाविस एक स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकी त नेपालभर हुने कुरा थियो त्यहाँ किन भएनछ ? भन्ने कौतुहलता थियो, मेरो मनमा । उनले भने, ‘छ नि’ । मैले अलि फूर्ति गरेजस्तो गरी तुरुन्तै प्रश्न गरेँ, ‘किन चाहिँयो त दुईवटा ? हाम्रो तिर पनि एउटा मात्र त हुन्छ नी ।’
पहिला–पहिला गाउँको बीचमा पोखरी खन्छु भनी पैसा ल्याउने । नखन्ने । अनी अर्कोले पोखरीमा गाइवस्तु डुबेर मरे, बच्चाहरूलाई पनि खतरा भयो । त्यसैले त्यो पोखरी पुर्ने योजना ल्याएर झ्वाम पारेको कथा सुनिन्थ्यो । त्यस्तै पो हो की भन्ने मेरो आशंका थियो ।
मेरो प्रश्नले उनी रिसाए, ‘तिम्रो काठमाडौंको वुद्धि’ भनेर गाली पो गरे । म प्रश्न सोध्ने भनेर कस्सिएको उनले पो प्रश्न वर्षाउन थाले ।
‘तिम्रो गाविसमा रहेको स्वास्थ्य चौकी पुग्न कति समय लाग्छ’ उनले प्रश्न गरे । मैले भनँे, एक घन्टा ।’ ‘मेरो साल्दाङको मान्छे त्यही गाविसमा रहेको स्वास्थ्य चौकीमा पुग्न कति हिड्नु पर्दछ ? थाहा छ ?’ उनले फेरि प्रश्न थपे । मेरो दिमाखले सोचेको भन्दा थपेर, ‘१० घन्टा लाग्ला भनेँ ।’ उनले भने, ‘तिम्रो बुद्धि भन्दै के के नबुझ्ने गरी गालीको वर्षा नै पो गर्न थाले । ‘थाहा पाउन मन छ कति लाग्छ मेरो गाविसको मान्छे स्वास्थ्य चौकी पुग्न ?’ भनेर प्रतिप्रश्न गरे । मैले थाहा पाउँन चाहेको टाउकोले सूचित गरेँ । उनले भने, ‘तीन दिन लाग्छ ।’ म छक्क मात्र हैन अवाक भएँ ।
अरु थप सोध्न थाले ।
‘तिमीहरू सदरमुकाम पुग्न कति घन्टा लाग्छ ?’, भने मैले भनेँ, ‘एक घण्टा ।’ उनले फेरि थपे, ‘साल्दाङको मान्छे सदरमुकाम आउन कति लाग्ला नी ?’ मेरो अनुमान भन्दा थपेर भनेँ ‘पाँच दिन लाग्ला ।’ उनले झोँक्किदैँ भने, ‘यो पटक सात दिन घोडामा चँढेर यहाँ हिजो आइपुगेको ।’
म उनको प्रश्नदेखि अत्तालिन लागिसकेको थिएँ । अर्को प्रश्न सोधिहाले, ‘तिम्रो घरबाट मोटर बाटो भेट्न कति हिड्नु पर्दछ ?’ मैले पनि लाग्ने भन्दा एक घन्टा भन्दा पनि बढी थपेर भनेँ ‘दुई घन्टा ।’ उनले भने, ‘साल्दाङको मान्छेलाई कति लाग्ला ?’ मसँग अनुमान गर्ने तागत सकिएको थियो र ‘खैँ’ मात्र भनेँ ।
‘सुर्खेत पुग्नुपर्दछ मोटरबाटो भेट्नलाई । १७ दिन लाग्छ,’ उनले भने । केही दिन थपेर भने होलान् । तै पनि मेरो कल्पना भन्दा बाहिरको कुरा हो त्यो ।
‘अनि टेलिफोन गर्न यही सदरमुकाम दुनैंमा आइपुग्नु पर्दछ,’ भन्दै थिए उनी । थिन्लेले फेरि मलाई अर्को तेस्र्याए, ‘तिम्रोमा एसएलसी पास गर्ने कति छन् ।’ मसँग कुनै आँकडा नै थिएन, ‘धेरै छन्’ भन्ने जवाफ फर्काएँ । उनको सालदाङमा त्यस्ता मान्छे नै छैनन् जस्तो गरे । ‘तिम्रामा त डाक्टर पढेका पनि होलान् नी ? साल्दाङमा त सम्झिने मात्र हो’ उनले लाचारीपन देखाए ।
उनीले थप प्रश्न गरे, ‘तिम्रोमा चिनी किलोको कति रुपैयाँ पर्छ ?’
मलाई ठ्याक्कै थाहा नभए पनि, ‘६० रुपैयाँ पर्छ भनिदिएँ ।’
‘साल्दाङमा त १८० रुपैयाँ पर्छ,’ उनले चिनीको मूल्य सुनाए ।
अनि फेरि उनले सोधे, ‘तिम्रो सरकारले हाम्रो साल्दाङ गाविसलाई कति वजेट दिन्छ ?’
मैले, ‘१० लाख दिन्छ होला’ भनिदिएँ । उनीले थपे, ‘तिम्रोमा नी ?’ ‘त्यति नै हो,’ भनेँ ।
‘अनि तिम्रो सरकारले वृद्धभत्ता कति वर्षमा दिन्छ ?’ मेरो जवाफ, ‘७० वर्षमा’ भन्ने थियो ।
‘अनि कर्णाली अञ्चलको सरदर आयू कति छ ? थाहा छ ?’ मैले थाहा नभएको सूचकसहित टाउको हल्लाएँ ।
उनले भने, ‘३९ वर्ष ।’ उनले थपे, ‘तिम्रोतिर श्राद्ध गर्ने चलन छ नी ?’ ‘छ’ भन्दै टाउको हल्लाएँ । ‘त्यो बेलामा पिण्ड दिने चलन पनि छ नी ?’ फेरि टाउको हल्लाएँ । ‘अब भन त ? कति वटा पिण्ड खाएपछि हामी कर्णालीवासी वृद्ध भत्ता खान लायक हुने ?’ उनी आफैले यसपटक उत्तर दिए, ‘तिम्रो सरकारको नियमले कर्णालीबासी मरेको ३१ वर्षपछि भत्ता खान लायक हुने रहेछौँ’ भन्दै उनी हाँसे म चाहिँ कालो–निलो भैसकेको थिएँ ।
उनीले थपे, ‘यही हो तिम्रो सरकारको सोच ? यो तरिकाले अव तिम्रो गाउँको जस्तो मेरो साल्दाङ कहिले हुन सक्छ ?’
‘अब भन त साल्दाङमा दुईवटा स्वास्थ्य चौकी चाहिन्छ कि चाहिँदैन ? अब कति वर्षमा भत्ता दिनुपर्ने होला ? यो तरिकाले सन्तुलित विकास सम्भव छ ?’ उनले प्रश्न माथि प्रश्न गरिरहे ।
उनले थप भने, ‘समान गर्ने तिम्रो सरकार र तिमि केइमान हौ ।’ मसँग जवाफ थिएन । म झरीमा रुझेको बिरालो झैँ लुतुक्क पर्नको विकल्प भएन ।
थिन्लेसँगको कुराकानीमा व्यक्त हरेक वाक्य मेरा लागि तिखो वाण नै थियो । थिन्लेसँगको त्यो संवादपछि मेरो दृष्टिकोणमा रुपान्तरण आएको छ । पैरवीका केही अवधारणा उनले सिकाइदिएका छन् ।
हाम्रा गतिविधिहरू असमान हुन्छन्, उल्टो सोचका साथ । धनी वा सम्पन्नलाई धेर कमजोर वर्गका लागि थोर वितरण प्रणाली हुने गर्दछन् । समानताका लागि असमानता छैन । असमानताका लागि असमानता नै छ । हदैँ भएको भए पनि समान मात्र छ । साल्दाङ र सुगम (जहाँ पहिलादेखि नै भौतिकलगायतको पूर्वाधार रहेको छ) ती दुवैलाई बराबरी गरिएको छ ।
विपन्न वृद्धले पाएको भत्ताले उसको नुन, भुटन, चिया चिनीमा खर्च गर्दछ । तर, सम्पन्नले पाएको त्यो पैसा पूजापाठमा खर्च होला । वा अरु कुनै कार्यमा । सम्पन्नले ज्येष्ठ नागरिक भत्ता जीउनका लागि धेरैले प्रयोग गरेको पाइन्न । विपन्नका लागि सो भत्ता सम्मानपूर्वक बाँच्न सक्ने साधन भएको छ ।
थिन्लेका हरेक विचारमा न्यायोचितलाई जोड दिएको पाइन्छ । उनी भन्दै थिए, ‘हेलीबाट बाकसमा पैसा आउँछ । प्लेनबाट नेपालगञ्ज झर्छ । डोल्पामा अडिदैँन ।’ अधिकांश सरकारी जागिरे स्थानीय वा जिल्लावासी छैनन् । भए पनि अलिअलि कमाएर तराईतिर बसोबास मिलाइसकेका हुँदा रहेछन् । त्यो बेलामा २३ वटा गाविसको जनसंख्या २९ हजार ५ सय मात्र भएको आँकडा देखाए । उनी भन्दै थिए, ‘जिविस र अर्को एक परियोजनाको बजेट डोल्पावासीलाई भाग लगाउने हो भने प्रति महिना प्रतिव्यक्ति १२ हजार भन्दा बढी पर्न आउँछ रे !’ जीवनबुटीको राजस्व मात्र सही किसिमले उठ्ने हो भने ३७ करोड भन्दा माथि उठ्ने आँकाडा सुनाए । त्यसको मूल्यको त लेखाजोखा नै छैन । त्यो वर्ष मुस्किलले १० लाख मात्र जीवनबुटीबाट राजस्व उठेको थियो रे । उनमा दिक्दारी थियो । तर, आशा मारेका थिएनन् । स्रोतमा पनि कमि छैन भन्दै थिए । खाँचो व्यवस्थापन र नेतृत्वको छ भन्ने उनको धारणा थियो । त्यसैले उनको क्रियाशिलतामा कमि थिएन । कुनै दिन सदरमुकाम दुनैं मात्र होइन उत्तरी डोल्पा सालदाङमा पनि मोटर पुग्नेछ भनेर विश्वास पालेका थिए ।
केन्द्रिकृत सत्ता मात्र देख्न पाए उनले । संघीय संरचनाको उपयोग गर्न पाएनन् । विक्रम सम्वत २०७३ सालमा ७४ वर्षको उमेरमा उनको देहान्त भयो । क्याराभान सिनेमा भएको दृश्य जस्तै गरी खच्चडको धक्काबाट घोडासहित लडेर मृत्युको मुखमा पुगे ।
उनीसँगको छोटो कुराकानी मेरो मानसपटल ताजै छ । मेरो लागि थिन्ले पैरवीका एक गुरु थिए । जस्ले तथ्यसहित भनेका थिए, ‘समान गर्ने तिम्रो सरकार बेइमान हो ।’ सरकार मात्र हाइन हाम्रा सबैजसो सामाजिक संरचना नै समान भन्दा माथि उठ्न सकेका छैनन् । सबैलाई बराबर गरेमा न्याय हुन्छ भन्ने सोच छ । निष्पक्ष बन्नुपर्दछ भन्ने नैै छ । सामाजिक न्यायका लागि पक्षपाति र न्यायोचित गरिनुपर्दछ भन्ने चेत अझैंसम्म आएको छैन । केही हदसम्म सामुदायिक वनको अभ्यासको सोचले सम्बोधनको कोशिस गरेको जस्तो लाग्दछ त्यो पनि प्रकृयामा हराइरहेको देखिन्छ ।
हाम्रो सरकार र हाम्रो काम गराइले थिन्लेको आक्रोश मिश्रित दाबीलाई चुनौती दिन सक्ने सामथ्र्य थिएन । तथापि पछिल्लो अवस्थामा कर्णाली क्षेत्रका नागरिकलाई ६० वर्षमा नै भत्ता दिने भनिएको छ । त्यो चाहिँ समानताका लागि केही हदसम्मको कोशिस भन्न सकिएला । सामाजिक न्यायका लागि पक्षपाति बन्नुपर्ने अवस्था अझैँ बाँकी छ । समानताका लागि असमान व्यवहार आवश्यक देखिन्छ । कम्तिमा पनि डोल्पा र काठमाडौंलाई एउटै चस्मा लगाएर हेर्ने काम चाहिँ फेर्न पाए पनि हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published.