उच्चशिक्षा अध्ययनरत युवायुवतीहरू कुलतमा फस्दै

समाचार

काठमाडौं– नेपालको विकट ठाँउ, जिल्ला र अन्य विकसित सहरी क्षेत्रबाट समेत उच्च शिक्षा अध्ययनका धेरै युवायुवतीहरू राजधानी काठमाडौं आएका हुन्छन् । आमाबुबाले आफ्नो छोराछोरीको राम्रो भविष्यका लागि घरदेखि टाढा उच्च शिक्षा हासिल गर्न पठाएका हुन्छन् । तर, अधिकांश युवायुवतीहरू सहरी क्षेत्रमा आएर आफूले सोचेको जस्तो उच्चशिक्षा हासिल गर्न सक्दैनन् । किनभने सहरी क्षेत्रमा हरेक कुराको आवश्यकतासँगै महँगाई, कोठाभाडा, खानपिन, व्यक्तिगत खर्चहरू, रहनसहन, साथीसँगतको घुलमिल र कलेजको महँगो फिस तिर्न नसकेर अधिकांश युवायुवतीहरू पढ्न सक्दैनन् ।
सहरीक्षेत्रको रहनसहन साथीसँगतको कारणले धेरै युवायुवतीहरू कुलतमा फसेर बिग्रिएको जताततैँ गल्ली–गल्लीमा देखिरहेका हुन्छौँ । सिर्जना रावत (नाम परिवर्तन) पाँच वर्ष पहिले कालीकोटबाट एस.एल.सी दिएर काठमाडौंमा उच्च शिक्षाको लागी आएकी थिइन् । उनी काठमाडौं आएर कलेज भर्ना भइन् र कलेज जानथालिन । उनको पढाई पनि एकदमै राम्रो थियो । समयसँगै उनको १२ कक्षा पनि कट्यो । उनी न्यूरोडको एक कस्मेटिक पसलमा काम पनि गर्न थालिन् । तर, बिस्तारै उनी कुलतमा फसिन् र उनको दैनिकी अस्तव्यस्त हुन थाल्यो । उनले बताइन्, ‘म कहिलेकाहीँ चुरोट खान्थे । तर, विस्तारै साथीहरूको संगतले म वाइनबाट सुरुवात गरेर हार्ड ड्रिंक पनि गर्न थाले । साथीहरू मिलेर हामी ठमेल डान्स क्लब पनि जाने गरेको थियौँ । रक्सी खान, चुरोट खान, फेसन–फेसनका लत्ता कपडाहरू लगाउन मलाई कस्मेटिकको १२ हजार तलबले पुगेन । घरबाट कलेजको फिसको लागि पठाएको पैसा पनि साथीहरूसँग रक्सी चुरोट खाएर सकिन्थ्यो ।’ उनलाई अहिले रक्सी नखाई निदाउँन नसक्ने समस्याले गाँजिसकेको छ । उनी भन्छिन्, ‘अब त रक्सी नखाई निद्रा पनि लाग्दैन मलाई ।’
पैसाको अभावले उनी सँगै मिलेर रक्सी खाने केटा साथीसँग एउटै कोठामा ‘लिभिङ टुगेदर’मा बस्न थालिन् । ‘साथीको संगत र रक्सी चुरोटको लतमा रमेर मेरो १२ कक्षा पछिको पढाइ पनि बिग्रियो । पढाइ त बिग्रियो–बिग्रियो, मेरो त जिन्दगी नै बर्बाद भयो,’ उनले भनिन्, ‘सँगै बसेको साथीले पनि आखिरीमा धोका दियो ।’
सिर्जना ती केटा साथीसँग तीन वर्ष सँगै लिभिङ टुगेदरमा बसिन् । पछि उनीहरूले बिहे नै गर्ने निधो गरेर दुबई गएको उनको साथी सुरज अहिले सम्पर्कविहीन बनेका छन् । ‘हामीले एक–अर्कालाई मनपनि पराउन थाल्यौँ । बिहे गर्ने निधो पनि भयो । तर, आम्दानीको स्रोत नभएपछि उनी दुबई गए तर, अहिले सम्पर्कविहीन छ,’ उनले भनिन् । सिर्जनाले बिहेको प्रस्ताव गरेपछि उनका साथीले तीनवर्षका लागि दुबई जाने र केही पैसा जम्मा गरेर बिहे गर्ने बताए । ‘तिमी काठमाडौं बस म तीन वर्षका लागि दुबई जान्छु र पैसा कमाउँछु अनि आएर बिहे गरौँला भनेर हिँड्यो,’ उनले विगत स्मरण गरिन् । दुवईतिर गएको केही महिनासम्म सुरज र सिर्जनाबीच सामाजिक सन्जालमार्फत कुराकानी हुने गरेको थियो ।
भौतिक दूरी टाढा भएता पनि फेसवुक भाइबरबाट कुरा हुन्थ्यो । राम्रै थियो सम्बन्ध । तर, केही महिनापछि सुरज अनलाइन आउनै छोड्यो । एकछिन अनलाइनमा आएर फोन गर्दा एकछिन बोल्थ्यो र काम गरेर आएको छु थाकेछु भनेर फोन नै काट्थ्यो । केही हप्तापछि त फेसबुकमा नै आउन छोडेको सिर्जनाले बताइन् । ‘अनलाइन आउन छाडेपछि सम्पर्क पनि कसरी गर्नु ? कसैलाई चिन्दिन, ’उनी भन्छिन्, ‘कुलतमा लागेर साथीको लहैलहैमा मेरो पढाइ मात्र बिग्रिएन, मेरो त जिन्दगी नै बर्बाद। भयो ।’
उनी विगतबारे पछुताउँदै भन्छिन्, ‘कति सपना थियो होला मेरो आमाबुबाको । अहिले हालत के होला ? मैले आज के गरे ? नत राम्रो शिक्षा नै आर्जन गर्न सके नत सँगै बसेको मान्छे नै पाए हिजो जस्तो थिए त्यस्तै छु यो कुरा मेरो घरपरिवार आफन्त कसैलाइपनि थाहा छैन ।’
सिर्जना अहिले पार्लर सिकेर नयाँबानेश्वरमा पार्लरमा काम गरिरहेकी छन् । उनी भन्छिन्, ‘म जस्तै धेरै जना बिग्रेका छोराछोरीको इच्छा चाहाना के छ यो कुरामा आमाबुबा घरपरिवारले ध्यान दिनुपर्छ ।’ आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर सबै कुरामा अभिभावक र परिवारका सदस्यले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published.