उपत्यकाबासीले अब पर्याप्त पानी पाउछन्

अन्तरवार्ता

पानीको कष्ट झेल्दै आएका काठमाडौं उपत्यकावासी गत चैत १५ देखि मेलम्चीको पानी आएपछि खुसी देखिन्छन् । पानीमै मासिक हजारौँ रूपैयाँ खर्च गर्नुपर्ने बाध्यताबीच मेलम्ची आएपछि केही आसाको सञ्चार भएको छ । मेलम्चीबाट दैनिक थपिने १७ करोड लिटर पानी काठमाडौंका सबै स्थानमा पु¥याउने सरकारको योजना छ । राष्ट्रिय गौरवकै आयोजनामा दर्ज मेलम्ची खोलाको पानी वितरण र भविष्यका थप योजनाका सन्दर्भमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईसँग गरेको कुराकानीको अंश ः
काठमाडौंबासीले धेरै लामो समयदेखि प्रतिक्षा गरिरहेको मेलम्चीको पानी काठमाडौं आइपुग्दा कस्तो अनुभव गर्नुभएको छ ?
आम सर्वसाधारणको जस्तै मेरो पनि भोगाइ छ । हामीले राजधानी काठमाडौंमा खानेपानीको धेरै नै दुःख भाग्दै आयौँ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी थप आउँदा अत्यन्त खुसी लागेको छ । यो कार्यमा सहभागी हुने जुन अवसर प्राप्त भयो त्यसका लागि नेपाल सरकार, सहकर्मी साथीहरू जसको सहयोगबाट यो सम्पन्न भएको छ, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । मेलम्चीको सुरुङ नेपालमा सबैभन्दा लामो हो । खानेपानीका लागि दक्षिण एसियामै सबैभन्दा लामो सुरुङ हो । यो आयोजना अलि बढी चुनौतीपूर्ण भयो । यसमा संलग्न सबैका लागि पनि राम्रै सिकाइ भएको छ । सिकाइको प्रयोग गर्दै आगामी दिनमा ठूला आयोजना सम्पन्न गर्न अलिकति क्षमता विकास पनि भएको मैले महसुस गरेको छु ।
पानी त आयो तर मेलम्ची ढिलाइ हुनुका कारण के–के थिए ?
ढिला हुनुको मुख्य कारण हो व्यवस्थापन । निर्माण कम्पनीहरू अन्तर्राष्ट्रिय भए, कन्सल्टेन्टहरू पनि अन्तर्राष्ट्रिय नै भए । सक्षमताका हिसाबले समस्या होइन यद्यपि, व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । यो तहको निर्माण कार्यको व्यवस्थापन गर्न हामी एक किसिमले सफल भएको मान्नुपर्छ । नेपालकै सबैभन्दा ठूलो टनेल निर्माणका लागि हाम्रै जनशक्तिमा पनि क्षमता विकास भइसकेको थिएन । काम गर्दै, सिक्दै जानुपर्ने अवस्था छ । सरुवा–बढुवाका कुरा आदि कारणले गर्दा पनि र सिकिसकेको कुरालाई फेरि नयाँ टिम जाने, फेरि सिक्नुपर्नेजस्ता कुराले पनि ढिला हुन गएको अवस्था हो । मुख्य त सम्झौता तोड्नु नै ढिलाइको कारण हो ।
अब मेलम्ची पूर्णरूपमा कहिले आउँछ ?
मेलम्चीको मुहान (हेडवक्र्स) मा केही काम बाँकी छ । निर्माण कार्य सम्पन्न भए पनि एउटा मेसिन जर्मनीबाट जुनमा आउने योजना छ । त्यो आउनेबित्तिकै हाम्रो सम्पूर्ण कार्य सम्पन्न हुन्छ । त्यसपछि पूर्णरूपले स्थायी मुहानबाटै मेलम्चीको १७ करोड लिटर पानी आउँछ ।
यांग्र्री र लार्केको १७–१७ करोड लिटर मिसाउने योजना कहाँ पुग्यो ?
यांग्री र लार्केको समेत पानी मिसाउने योजनामा एसियाली विकास बैंक (एडिबी) सहयोग गर्न तयार छ । पहिलो चरणको मेलम्चीको काम पूरा गर्न निकै लामो समय लागेको कारणले गर्दा एडिबीले काठमाडौं उपत्यकामा पानी आइसकेपछि हामी अघि बढ्छौँ भनेको थियो । अब एडीबी पनि सकारात्मकरूपमा आएको छ ।
यांग्री र लार्केसमेत आइसकेपछि उपत्यकाको खानेपानीको अवस्था कस्तो हुने देख्नुभएको छ ?
यो महत्वपूर्ण प्रश्न हो । यांग्री र लार्केसमेत आइसकेपछि उपत्यकाको करिब ५० लाख जनसंख्यालाई प्रतिव्यक्ति प्रतिदिन सय लिटर पानी उपलब्ध गराउन सकिन्छ । त्यसमा प्रणालीमा विद्यमान हुने १० प्रतिशत चुहावट कटाउने हो भने प्रतिव्यक्ति प्रतिदिन ९० लिटर पानी उपलब्ध हुनेछ । हाम्रो आनीबानी, रहनसहन र जीवन शैलीलाई हेर्ने हो भने ९० लिटर पर्याप्त हुन्छजस्तो लाग्छ मलाइ । तसर्थ ५० लाख जनसंख्यालाई मेलम्चीले धान्छ ।
मेलम्चीको जुन वितरण सञ्जाल छ, यो पूरा हुन अझ कति समय लाग्छ ?
चक्रपथभित्रकै काम सक्न अझै दुई वर्ष लाग्छ । किनभने स्वयम्भू, महाराजगञ्ज, विशालनगरलगायतका क्षेत्रहरूमा पाइप बिच्छ्याउनै बाँकी छ । टेण्डर गरेर काम सुरु भइसकेको छ । तत्काल पाइप बिच्छ्याइसकेका क्षेत्रहरूमा परीक्षण गर्दै पानी वितरण हुने छ । ती सबै ठाउँमा पानी छाड्दै परीक्षण गर्दै लगिनेछ, त्यसका लागि सात महिना लाग्छ । त्यसपछि सम्पूर्ण पानी वितरण प्रणालीलाई कम्प्युटराइज्ड गरिनेछ । कम्प्युटरले नै पानी वितरण गर्ने, नियन्त्रण गर्ने सबै संयन्त्र स्थापनाका लागि ठेक्का सम्झौता ६ महिनाअघि भइसकेको छ । यसलाई पनि दुई वर्ष लाग्छ । चक्रपथभित्रको सम्पूर्ण प्रणालीलाई अत्याधुनिक बनाइनेछ । कुनै विकसित देशको राम्रो सहरको मापदण्डमा पानी वितरण प्रणालीसमेत विकास गर्न दुई वर्ष लाग्छ । त्यो भन्दैमा दुई वर्षसम्म के त ? त्यो दुई वर्षको अवधिमा आम उपभोक्ताले विगतको भन्दा फरक ढंगले आफूलाई सुखद अनुभवका साथ पानी प्राप्त गर्नुहुनेछ ।
मेलम्ची आएपछि खानेपानी महसुल वृद्धि हुने भनिएको छ कति हुन्छ ?
म अहिले नै ठ्याक्कै भन्न सक्दिनँ । किनभने त्यसैका लागि आयोग पदाधिकारी नियुक्ति प्रक्रिया सुरु भएको छ । केयुकेएलले माग गरेको महसुलमा आयोगले अध्ययन गरी औचित्यता खुलाएर निर्धारण गर्नेछ । खानेपानीलाई संविधानको मौलिक हकअन्तर्गत राखिएकाले महसुल निर्धारण गर्दा न्यूनतम पानी प्रयोग गर्नेको एउटा महसुल हुन सक्छ । मेलम्चीको धेरै पानी उपभोग गर्नेलाई धेरै पैसा तिर्नुपर्ने हुन सक्छ ।
मेलम्चीको पानी जार र ट्यांकरभन्दा त सस्तो होला नि ?
त्यो त कुरै भएन नि । केयुकेएलले अहिले नै पाँच रूपैयाँ लिटरमा एटीएमबाट पानी दिइरहेको छ । नेपाल सरकारले दिने पानीको मूल्य त जार र ट्यांकरसँग तुलना नै हुन सक्दैन । गुणस्तर, परिमाणको हिसाबले आमउपभोक्ता ट्यांकर र जारको पानी किन्न बाध्य हुनेछैनन् ।
मेलम्चीले मुलुकको विकास प्रक्रियालाई के पाठ सिकाएको छ ?
ठेक्का व्यवस्थापनमा भिन्न समस्या आउँछ । यस्ता खाले आयोजना सम्पन्न भएपछि विश्वास बढ्छ । अर्काे ठेक्कामा दुई, तीन पटक ठेक्का तोडिने, पूरा हुन १२, १५ वर्ष लाग्ने हुन्न अब । हिजो सन् १९९४ देखि जुन आँट र हिम्मतका साथ यो आयोजना अघि बढाउनु भयो, त्यसको सराहना गर्नुपर्छ । हिजोको दिनमा यो आयोजना अति महत्वांकाक्षी थियो । आजको मितिमा यो मेलम्ची त्यति महत्वाकांक्षी नहोला । अबका दिनहरूमा यस्ता आयोजना निर्माण गर्न विगतको हिसाबले हेर्दा योभन्दा पनि ठूलो आयोजना बनाउन सकिन्छ भन्ने अबको पुस्तामा त्यो विश्वास हुनुपर्छ । पचास लाख जनसंख्याका लागि मेलम्ची सर्वाधिक चर्चित रह्यो । तर, अढाई करोड नेपालीको घरमा पानी पुगेको छैन । तथ्यांकमा ९१ प्रतिशत पहुँच भनिएको छ । विभिन्न अध्ययनले ९१ प्रतिशत पुगे पनि कतिपय प्रणालीमा २५, ३० प्रतिशतको हाराहारीले काम गर्दैनन् भन्ने देखाएका छन् । तिनको व्यापक पुनस्र्थापना गर्नुपर्नेछ । आधारभूत तहको सेवाको कुरा गर्दा निर्माण गरेका प्रणाली अहिले आएर काम नगरेको पनि हुन सक्छ । त्यसमा हामीले थप काम गर्नुपर्नेछ । उच्च र मध्यमस्तरको खानेपानीको तथ्यांक हेर्दा कुल जनसंख्याको २३ प्रतिशत छ । १५ औँ योजनाभित्र उच्च र मध्यमस्तरको खानेपानी पहुँच ४० प्रतिशत पु¥याउने भनेका छौँ । उपत्यकाबाहिरका खानेपानी क्षेत्रलाई बृहतरूपमा सोचिएको मैले पाइनँ, म यहाँ आइसकेपछि देखेको कुरा । ठूला आयोजनाको परिकल्पना गर्ने विषय अलि कम नै देखेँ मैले । सहरहरू तीव्र विकास भइरहेको छ । बुटबल, भैरहवा, इटहरी, विराटनगर, दमक । यी सहर साँच्चिकै ठूला भइसके । तर, त्यो तहको योजना देखिएको छैन । त्यही भएर ठूला नदीका पानीलाई पथान्तरण (डाइभर्ट) गरौँ भन्ने सरकारको योजना छ । ठूला नदीको पानी प्रशोधन गरी ठूला सहरमा आपूर्ति गर्ने योजना तर्जुमा भइरहेको छ । सुनकोसी मरिन सम्पन्न भएपछि सुनकोसीको पानी खान सकिन्छ । तर बागमतीको सकिँदैन । सुनकोसी मरिनले २ नं. प्रदेशको अधिकांश क्षेत्रको खानेपानी समस्या हल छ । त्यहाँ भूमिगत पानीको लेभल घटिरहेको छ । त्यस्तै, मैले गरेको अर्काे प्रयास नारायणी लिफ्ट सिँचाइ योजना हो । यसको कमाण्ड एरिया थियो, अहिले घर बनिसके, सिँचाइको औचित्य छैन । सिँचाइ नै गर्नुप¥यो भने पूर्ण क्षमतामा सञ्चालन गर्न जरुरी छैन । त्यसमध्येका केही पम्पलाई खानेपानीमा प्रयोग गर्न सकिन्छ ।
सबै उपभोक्ताले अझै पनि पानी पाइरहेका छैनन् नि ?
उपत्यकाको खानेपानी विगतमा हाहाकार थियो । जनसंख्याको अनुपातमा पानी उपलब्धता अत्यन्त न्यून थियो । आम उपभोक्ताले धैर्यधारण गरेर मेलम्चीलाई कुरेर बस्नुभयो, म उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । यो धैर्यताको लागि सराहना गर्छु । अबका दिनमा नयाँ युगमा प्रवेश गरेको अवस्था छ । पुरानो प्रणालीबाट दिइरहेका छौँ । जुन ठूला पाइप अगाडि छन्, त्यसमा पर्याप्त पानी आइरहेको छ । त्यहाँ पम्प गरिदिँदा पुछारको घरमा पानी पुगेको छैन । हामी सबैले विगतका दिन सम्झेर पुछारका उपोक्तालाई पानी दिनुपर्छ । पुरानो पाइप नहटाएसम्म ४० प्रतिशतसम्म चुहावट छ, त्यो पछि हट्छ । समानरूपले सबैलाई वितरण गरिदिनु हुन म आग्रह गर्न चाहन्छु ।
पानी आइसकेपछि यसको व्यवस्थापन पक्षमा के भइरहेको छ ?
अबको काम एकदमै चुनौतीपूर्ण छ । पानी आएन भन्दा एउटा मात्र समस्या थियो । अब झन् सयौँ समस्या आइपर्छन् । यत्रो जनघनत्व भएको ठाउँमा पानी वितरण गर्नुपर्नेछ । हाम्रो नयाँ पाइप लाइनहरूको परीक्षण गरेर त्यसबाट वितरण गर्नुपर्नेछ । पानी आइसकेको र रिजर्भवायर भइसकेका कारण ‘इन्टरकनेक्सन’ गरेर पुरानो पाइपबाट वितरण गरेका छौँ । चुनौतीपूर्ण त छ । सिक्दै अनुभव गर्दै सुधार गर्दै लिएर जाने प्रयास गरिरहेका छौँ । बिहान ६ः०० बजेदेखि राति १०÷११ बजेसम्म साथीहरू खटिराख्नुभएको छ, रिजर्भवायर पाइप लाइनहरूमा उपस्थित भइरहनुभएको छ । लेबल नापिराख्नुभएको छ । यद्यपि जनताका आसा र आवश्यकताअनुसार पानी वितरण गर्न सकिरहेका छैनौँ । कतै धेरै पानी गइरहेको छ कतै थोरै गइराखेको छ । यी सबै समस्यालाई विस्तारै हामी समाधान गर्दै जानेछौँ ।
वितरणमा असमान गर्ने हाम्रो नियत होइन । व्यवस्थापनकै क्रममा कतिपय लाइन ठूलो लाइनमा जोडिएका छन् । ती ठूलो लाइनबाट सानासाना लाइनको पुच्छारमा पर्नेहरूका लागि त्योभन्दा अगाडि मोटर चलाइदिएर पानी तानेका कारण केही उपभोक्ता मारमा परेको हामीले बुझेका छौँ ।
०००

Leave a Reply

Your email address will not be published.