नेकपा विभाजनको मूलकारण माधव–प्रचण्ड

राजनीति

दिनेश कार्की
काठमाडौं– पार्टी एकता भएको तीन वर्ष नपुग्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भंग भयो । दुनियाँलाई चकित पार्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीलाई २०७५ जेठ ३ गते एक बनाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थिए । तर, त्यो एकता लामो समय टिक्न सकेन ।
तीन महिनाभित्र सबै तहको सांगठानिक एकता टुंगो लगाउने गरी एकताको घोषणा गरे पनि अढाई वर्षसम्म एकता टुंगो नै नलागी पार्टी विभाजन भयो । के थिए नेकपा विभाजनको मूल कारण भनेर अनुसन्धान गर्ने कसैले पनि सैद्दान्तिक वा वैचारिक मतभिन्नता भएर नेकपाको एकता टुटेको तथ्य पाउन सकेनन् । नेकपाको एकता मूलतः सचिवालयमा रहेका नौमध्ये पाँचजना नेताहरूबीचको उच्च पदीय आकांक्षा, त्यसमा पनि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको उच्च महत्वाकांक्षा र अध्यक्ष ओलीलाई कू गर्ने देशी–विदेशी षडयन्त्र प्रमुख कारक बनेको देखिन्छ ।
प्रधानमन्त्री तथा प्रथम अध्यक्ष ओलीलाई यी दुवै पदबाट हटाउने एक वर्ष लामो खेलपछि गत पुस ५ गते नेकपा अनौपचारिकरूपमा विभाजित भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका आफूपछिका दोस्रो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको आक्रमणको प्रतिकारमा प्रतिनिधिसभा विघटनको अस्त्र हाने । प्रतिनिधिसभा विघटनपछि २०७७ फागुन ११ र फागुन २३ सम्म आइपुग्दा मुलुककै राजनीति निकै तरंगित बन्यो । प्रचण्ड–माधवले प्रथम अध्यक्ष ओलीलाई साधारण सदस्यबाट समेत निस्कासन गरे । फागुन ११ गते सर्वाेच्चले प्रतिनिधिसभा ब्यूँताएपछि प्रचण्ड–माधवले ओली सकिए, आफनो लाइनको विजय भयो भन्दै लड्डु खाए र खुवाए । त्यो खुसी धेरै दिन टिक्न सकेन । फागुन २३ गते सर्वाेच्च अदालतले नै नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्रको २०७५ जेठ २ गतेको अवस्थामा पु¥याइदियो ।
नेकपाका प्रथम अध्यक्ष रहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पार्टी एकतालाई निष्कर्षमा पु¥याउन नसक्नुमा प्रचण्ड–माधवलगायत कतिपय नेताहरूको चरम पदीय आकांक्षा देख्छन् । तीन वर्ष अगाडि जेठ ३ का दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण भएको थियो । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘नेतृत्वकर्ता’ बनाउने इमान्दार प्रयास थियो । तर, कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । यी दुई पार्टीको एकताको अभिभारालाई अब एमालेले पूरा गर्नुपर्ने भएको छ । आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनस्र्थापित भएको छ । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसंकल्पित देखिन्छ ।
महाधिवेशन अगावै पार्टीको नेतृत्व र निर्वाचन अगावै सरकारको नेतृत्व परिवर्तन गर्ने अभियान नै नेकपा विभाजनको कारण रहेको निष्कर्ष निकाल्न सकिन्छ । हाल एमालेका अधिकांश नेता के निष्कर्षसँग सहमत छन् भने प्रचण्ड–माधव समूहले समेत ओलीविरुद्धको अभियानबाट निकै ठूलो क्षति बेहोर्नु परेको छ । सर्वाेच्च अदालतको फागुन २३ को फैसलापछि माधव नेपालले आफैँले साधारण सदस्यबाट समेत निस्कासन गरेको ओलीसँग याचना गरिरहनु परेको छ । ओलीले देश र जनताको पक्षमा गरेको कामबाट तर्सिएर प्रचण्ड र माधव समूह उनीविरुद्ध लाग्दा नै नेकपा विभाजन भएको देखिन्छ । प्रधानमन्त्री ओली पछिल्लो दशक राजनीतिक आरोहको शिखरमा पुग्नुको कारण तीनवटा थिए । पहिलो कारण हो, जंगली विद्रोहबाट दलीय ब्यवस्थामा प्रवेश गरेको उत्ताउलो र उछृंखल माओवादीले मुलुकलाई संघीयताको नाममा जातीय र क्षेत्रीय विद्रोहमा फसाउन खेलेका खेलको कडा प्रतिवाद । माओवादी, आदिवासी जनजाति तथा मधेशवादीसमेतलाई शिखन्डी बनाएर भारत तथा पश्चिमा शक्तिहरूसमेतले नेपाललाई जातीय, धार्मिक तथा क्षेत्रीय विद्रोहमा फसाउन गरेका षड्यन्त्र र दबाब प्रतिवाद गर्दै चट्टानी अडानका साथ त्यसलाई संविधानमार्फत असफल बनाइदिने कोही पात्र थियो भने त्यो प्रधानमन्त्री ओली नै हो ।
दोस्रो, नेपालको आन्तरिक तथा राजनीतिक मामिलालगायत सार्वभौमसत्तासमेतमा बारबार प्रहार गर्दै आएका भारत तथा पश्चिमा शक्तिहरूको बलमिच्याइँ र हेपाहा प्रवृत्तिलाई कडारूपमा प्रहार गर्ने र नेपाललाई विश्वसामु सुनिने र चिनिने स्थितिमा पु¥याउने पनि प्रधानमन्त्री ओली नै हुन् । चाहे मुलुक भूकम्पले थलिएको बेलामा भारतले गरेको अपराधपूर्ण नाकाबन्दीको प्रतिवाद होस, चाहे भारत र युरोपियन युनियनले नेपालको संविधानका विषयमा गरेका अवान्छित र अनुचित टिप्पणीलाई सरकारमा रहेर कडा चेतावनीयुक्त जवाफ दिने कुरा होस, चाहे काठमाडौंमा बसेर नेपालका नेता तथा प्रधानमन्त्रीलाई निर्देशन फर्मान गर्ने भारतीय राजदूत तथा पश्चिमाहरूको ताण्डव बन्द गरिदिने कुरा होस, अथवा विगत ६० वर्षदेखि भारतले नेपालको कालापानीलगायतको भूमि फिर्ता गराउन चुच्चे नक्सा जारी गराउने र भूमि फिर्ता ल्याउन भारतलाई दबाब दिने कुरा होस, अथवा सन् १९५० लगायतका असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारतलाई सहमत गराउने कुरा होस, यी सबै काम प्रधानमन्त्री ओलीकै एकल देन हुन् ।
तेस्रो कारण, विभिन्न राजनीतिक दलको असन्तुष्टि, अलगवाद, मुलुकको अखण्डतामै प्रश्न उठाउने सिके राउतदेखि व्यवस्थाविरूद्व हतियार उठाएको नेत्रविक्रम चन्द बिप्लव समूहको व्यवस्थापन गरी द्वन्द्वको बाटो हिँडेकालाई संसदीय व्यवस्थाको मूलधारमा ल्याउनसमेत प्रधानमन्त्री ओलीकै भूमिका रह्यो । संविधानका सवालमा असन्तुष्टि जाहेर गर्दै मधेशमा आन्दोलन गरिरहेको मधेशवादी दलले फेस सेभिङको निम्ति मात्र मधेशको मुद्दा भन्ने गरेका छन् र ती पनि ठेगान लागिसकेका । मधेशका युवा जमातमा मधेशवादी दलभन्दा प्रधानमन्त्री ओलीप्रतिको क्रेज बढेको छ । माधव–प्रचण्डहरूलाई ओलीले गरेका यी सबै काम देख्दा आफूलाई राजनीतिकरूपमा उनले जित्न सक्ने र आफ्नो भविष्य सकिने लागेको थियो । प्रचण्ड–माधवहरू ओलीको छाँयामा आफू अँध्यारो देखिने र राष्ट्रिय राजनीतिमा हराइने पीरले बहुलाएका थिए, जसको कारण नेकपाको एकता निष्कर्षमा नपुगी पार्टी विभाजन हुन पुगेको थियो ।
०००

Leave a Reply

Your email address will not be published.