माधव र प्रचण्डको पछि देउवा लाग्नु देशको लागि दुर्भाग्य

राजनीति

दिनेश कार्की
काठमाडौं – यतिबेला नेपाल ‘समृद्ध नेपाल सुखी नेपाली’को महाअभियानमा छ । यो अभियानको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । यस अभियानमा सत्तापक्ष, प्रतिपक्ष सबै–सबै लामबद्ध नै छन् । पछिल्लो राष्ट्रिय राजनीति पेचिलो बन्दै गइरहेको परिवेशमा प्रतिपक्ष दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र थप जिम्मेवार र जवाफदेही बन्न जरूरी छ । कांग्रेस सभापति शेरबहादुर देउवा सन्त नेता कृष्णप्रसाद भट्टराईका आदर्शबाट प्रभावित नेता हुन् । झट्ट हेर्दा सोझा देखिएता पनि देउवा राजनीतिका चतुर र सापेक्षिकरूपमा कांग्रेस भित्र दूरदर्शी, क्रान्तिकारी, सुधारवादी नेताका रूपमा परिचित छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्र विशेषगरी युरोपियन युनियन, अमेरिका, भारतको एक हिस्सासँग राम्रो, भरपर्दाे र विश्वासिलो सम्बन्ध बनाएका देउवा कांग्रेसभित्रको विसंगतिविरुद्ध लड्ने नेताको रूपमा पनि चिनिन्छन् । देउवाले विगतमा पार्टीभित्र जरा गाडेको कोइराला परिवारको सर्वसत्तावादसँग लडेर सभापतिजस्तो गरिमामय पदमा पुग्न सफल भई विवेक र धैर्यता कस्तो हुन्छ भन्ने सन्देश दिन सक्षम भएका थिए । नेपालका वामपन्थी दलहरूले पनि विवेक र धैर्यताका साथ मूल नेतृत्वमा कसरी पुग्न सकिँदो रहेछ भन्ने कुरा देउवाबाट पनि शिक्षा लिन सक्छन् ।
देउवाको आफ्नै इतिहास तथा विगत र वर्तमान छ । उनको विगत प्रशंसनीयको साथसाथै कतिपय सवालमा आलोचित पनि छ । देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रको कोइराला समूहबाट भोगेको असहयोग तथा दाउपेचको राजनीतिको भुक्तभोगी हुन् । उनले भोगेको उतार–चढाव यो इतिहासको समीक्षाको विषय हुनेछ । २०६३ पछिको संक्रमणकालीन राजनीतिमा देउवाले आफ्नो ठाउँबाट स्थायीत्वको सवालमा भूमिका नखेलेका होइनन् । तथापि राजनीति सम्हालिन २०७२ असोज ३ गते नेपालको संविधान २०७२ को प्रस्तावनासम्म आइपुग्नु प¥यो । संविधानले मार्गनिर्देश गरेको आम निर्वाचन २०७४ ले राष्ट्रिय राजनीतिमा फेरबदल ल्यायो । वामपन्थीहरूको बहुमतको सरकार बन्ने अवस्था आयो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम सरकार बन्यो । त्यस निर्वाचनले कांग्रेसलाई प्रतिपक्षमा राखी राष्ट्रिय राजनीतिमा कांग्रेस भद्र प्रतिपक्षको भूमिकामा रहन पुग्यो । यो जनताको म्यान्डेट पनि हो । यस भूमिकालाई नेतृत्व गरेका सभापति देउवाले सरकारको रचनात्मक आलोचना गरी प्रतिपक्षीय भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा शंका छैन ।
जनताको म्यान्डेटलाई शिरोधार्य गर्दै आफ्नो धर्म निर्वाह गरिरहेका बखत हुन गएको राष्ट्रिय राजनीतिको उतार–चढाव बहसयोग्य छ । २०७७ भर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चलेका अन्तरविरोध मित्रतापूर्ण हुन सकेन । माधव नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकातिर र ओली, राम बहादुर थापा ‘बादल’ अर्कोतर्फ रहेर पार्टी बहस चले । बहस चलेकैबखत २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आयो । अफसोच २०७७ फागुन ११ मा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापित भयो । २०७७ फागुन २३ मा सर्वोच्च अदालतमा विचाराधीन नेकपा नामबारे विवादको मुद्दामा फैसला आयो र नेकपामा ऋषि कट्टेल नेतृत्वको पार्टीको दाबी पुग्ने ठहरसहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पूर्ववत् अवस्थामा फर्किए । यस घटनाले नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ कोर्षमा ढालिदियो र ओलीलाई थप बलियो बनायो । यसरी माओवादी केन्द्र र एमाले ब्यूँतिएको घटना प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूहलाई मन परेको थिएन । एमाले ब्यूँतिएपछि माधव समूह ठूलो अप्ठेरोमा परेको सबैले बुझ्न सकिन्छ । ओलीले सिंगो एमाले केन्द्रीय समितिलाई आयोजक समितिमा बदलेर महाधिवेशनमा जाने निर्णय गरी एमालेलाई नयाँ जीवन दिने घोषणा गरे । जसबाट माधव समूह झन् अत्तालिन पुग्यो र भाँडभैलो सिर्जना गर्न थाल्यो । पार्टी हितलाई ध्यानमा राखेर एमालेले माधव समूहका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरी पार्टी हितमा काम गर्न पुग्यो । यसरी बढ्दै गएको तिक्ततापछि कार्यदल बनाएर हल गर्नेसम्म आइपुग्यो र राष्ट्रियसभाको उप–निर्वाचनमा फेरि माधव समूहले अन्तरघात गरेर एमाले उम्मेदवार बादललाई हराउन पुगेपछि पार्टी नयाँ निष्कर्षमा पुग्यो र पुनः माधव समूहका अन्तरघातीहरूलाई कारबाही गर्न बाध्य भयो । त्यसलगत्तै प्रधानमन्त्रीले विश्वासको मत नलिई मार्ग प्रशस्त गर्ने बाटो अख्तियार गर्दा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध देउवा, प्रचण्ड समूहसँग मिलेर षड्यन्त्रका तानाबाना बुन्ने ध्याउन्नमा माधव समूह लाग्यो ।
इतिहासतर्फ फर्किएर मूल्यांकन गर्दा देउवा प्रतिनिधिसभा विघटन र घोषणा भएको निर्वाचनको विपक्षमा थिएनन् । तथापि २०७८ वैशाखपछि नेता देउवामा एकाएक जागेको सत्तामोह बहसको विषय बनेको छ । पक्कै पनि शक्तिराष्ट्रको ग्रिन सिंगलविना देउवा अघि सरेका छैनन् । हुन त राजनीतिक प्राणीमा सत्तामोह जाग्नु अनौठो कुरा होइन । तर, जनताको म्यान्डेट प्रतिपक्षमा बस्ने हुँदाहुँदै पनि एमालेभित्रको घर झगडाबाट उत्पन्न विषम परिस्थितिलाई अवसरको रूपमा छोपेर देउवा जत्तिको सुझबुझ भएका नेतामा सत्तामोह जाग्नु संस्कारिक राजनीति मानिँदैन । देउवामा यस्तो मोह जगाउनमा एमालेभित्र हुर्किएको गलत प्रवृतिका हिमायती माधव समूहले देखाएको अनुशासनहिन, अराजनीतिक चरित्रले काम गरेको छ । ओली सिध्याउने रणनीतिमा साम, दाम, दण्ड, भेदका सबै नीति अख्तियार गरेका माधव समूहको जालमा देउवा पर्नु निसन्देह राम्रो कुरा होइन । देउवाको ढाडमा टेकेर ओलीलाई प्रहार गर्ने प्रचण्ड, माधव, झलनाथको रणनीतिले प्रचण्ड, माधवको पतन त हुन्छ–हुन्छ, सोझा देउवालाई पनि सत्तामा होइन थप बद्नाम गराउने संभावनालाई नकार्न मिल्दैन । त्यसैले देउवाले माधव, प्रचण्डको यो षड्यन्त्र समय छँदै बुझ्न जरुरी छ । अन्यथा पछुताउनुको विकल्प छैन । पटक–पटक प्रधानमन्त्री भएर राष्ट्रिय राजनीतिमा सापेक्षिक योगदान दिएका देउवा प्रचण्ड र माधवभन्दा ठूला र महान नेता हुन् ।

 

Leave a Reply

Your email address will not be published.