भ्रष्टाचारले गाँजेको समाज

लेख

एक जना असाध्यै घुसखोरी रहेछ । उसले हरेक कुरामा घुस खानै पर्ने । अतिरिक्त लाभ नलिई त आफ्नो आमाको काम पनि गर्न नचाहने रहेछन् । धेरैको गुनासो पछि त्यो बेलाको शासकले उनलाई चेतावनी दिएछन् । तैपनि उसको बानी सुध्रिएन ।
उसलाई केरकार गर्दा मैले घुस लिएकै छैन भन्थ्यो । घुस खाएको कुनै प्रमाण नै फेला पर्दैनथ्यो तर खान्छ भन्ने सबैलाई थाहा थियो । तत्कालिन सरकारका मान्छे वा भ्रष्टाचार निवारण गर्ने जिम्मा पाएकोले कसै गरे पनि उसलाई सुधार गर्न सकेन । कसैले पनि उसले घुस खाएको प्रमाण फेला पार्न सकेनन् । कुनै आरोपीलाई सत्य कुरा बकाउनका लागि भैरवको मूर्ति अगाडि लगेर प्रश्न सोधिन्थ्यो रे । आरोपीले झुट बोलेमा वा ढाँटेमा त्यही टाउको फुटेर त्यो मान्छे मर्दथ्यो रे । त्यो घुस्याहालाई बाध्य भएर, भैरवका अगाडि वक गर्न लगाउने निधो गरेछन् । उसलाई वक गर्न लगाउने दिन टुंगो लगाएर अघिल्लो दिन जानकारी दिएछन् । त्यसपछि चाहिँ उसको सातो गएछ । भैरवलाई त ढाँट्न सक्दिनँ; अब मरिने भइयो भन्दै निराश हुँदै घर पुगेछन् ।
सधैँभरी हाँसी खुसी आउने छोरो निराश देखेर आमा छक्क परिन् । ‘छोरा तँ किन आज निराश छस्,’ भनी सोधिछन् । उसले सबै कुरा बेलिबिस्तार लगायो । ‘आमा, म भोलि मरिहाल्छु । अहिलेसम्म त ढाँट्न सफल भएको थिएँ । अब भैरवको मूर्तिको अगाडि घुस खाएको कुरा भन्न पनि मिलेन । खाएको हुँ भनेमा मलाई कारबाही भइहाल्छ । अहिलेसम्म कति खाएँ, त्यो सवै तिर्नु पर्ला, अनि थप कारबाही पनि होला । म बरबाद भइहाल्छु । अनी खाएको छैन भनौँ भने टाउको फुटिहाल्छ ।’
घर परिवार राम्ररी सम्हाल्नु भन्दै आमालगायत परिवारलाई जानकारी नभएको विषयहरु बताउँदै सम्झाइबुझाई गर्न थालेछन् । तब आमाले भनिन्, ‘चिन्ता नमान, बाबु । म तेरी आमा हुँ, तँलाई म जसरी पनि बचाउँछु । मजाले भात खा र आरामले सुत । भोलि बिहान जानुभन्दा अगाडि मलाई भेटेर जा । म तरिका सिकाउँछु । चिन्ता नै नमान्, तैँले जे भने पनि तेरो टाउको फुट्नै सक्दैन,’ भनिछन् ।
आमाको कुराले उ खुसी भयो । खाना खायो । सुत्यो । भोलिपल्ट बिहान पनि खाना खायो । अफिस जाने लुगा लगाएर आमाको अगाडि हाजिर भयो । ‘आमा म जान्छु, मैले के गरौँ ?’ ‘ल छोरा यहाँ आइज,’ भन्दै ती आमाले आफ्नो चोली तुना फुकाउँदै तैँले सानोमा खाएको दूध एकपटक चुसेर जा भनिछन् । आमाले भनेको मानेर ती बूढी आमा दूधको लाम्टा चुसेर उ खुसी हुँदै अफिस गयो । अफिसमा उसलाई भैरवको मूर्तिको अगाडि बकाउने तयारी थियो । उ हाँस्दै त्यहाँ पुग्यो । सबै जना छक्क परे । अहिलेसम्म कोही पनि यस्तो घटनामा खुसी हुँदैनथे । किन यस्तो खुसी मानिरहेको छ । मर्ने बेलामा पनि कस्तो डर नलागेको होला भन्दै अरु साथीहरु खासखुस गरिरहे ।
त्यो घुस्याहालाई भैरवको मूर्तिको अगाडि लगे । अनी एक जनाले प्रश्न ग¥यो, ‘तिमिले घुस खाएको छौ कि छैन ? भगवान् भैरवको अगाडि सत्य बोल ।’
उसले हाँसीहाँसी भैरवतिर फर्करे हात जोड्दै भने, ‘भगवान्, मेरी आमाको दूध खान छाडेदेखि घुस त के कुरा गरौँ प्रभो मैले केही पनि खाएको छैन’ भनेछ । टाउको फुट्ने कुरै भएन । भैरव वोल्ने देवता त थिएनन् । तर न हाँसी बस्नै सकेनन् रे । अनी भ्रष्टाचारीसँग नसकिने रहेछ भन्दै मुसुक्क हाँसेका थिए रे । अहिले पनि काल भैरवको मूर्तिमा मुसुक्क हाँसेको देखिन्छ ।
हो, भ्रष्टाचारीहरु कति चलाख हुन्छ भन्ने कुरा त्यो कथाले पनि पुष्टि गर्दछ । अनी अहिले हाम्रो समाज, राज्य संयन्त्रमा भएको भ्रष्टाचारको गतिविधिहरुलाई हेर्दा त्यो कथा ठ्याक्कै मेल खाने अवस्था देखिन्छ । भ्रष्टाचारी सधैँ अगाडि, चातुर्यता त्यत्तिकै देखिन्छ । ‘भ्रष्टाचार’ भन्ने शब्दावली नेपालमा अत्याधिक भनिने, सुनिने र लेखिने गरिन्छ । शब्दको भावार्थभन्दा पनि भ्रष्टाचारलाई आर्थिक अनियमिततासँग जोडेर हेर्ने गरिन्छ । आर्थिक अनियमितता नभएको कुनै क्षेत्र छैन होला र मौका पर्दा अनियमितता नगर्ने कोही पनि छैनन् होला भने जस्तो लाग्छ । कसैले आर्थिक अनियमिता गरेको छैन भनेर इमान्दारपूर्वक भन्यो भने ‘बेइमान हुने मौका नपाएर इमान्दार भएको’ भन्दा फरक पर्दैन ।
नेपालका भ्रष्टाचारको चर्चा गर्दा कुनै ठाउँ वा क्षेत्र अछूतो छैन । आर्थिक अनियमिततालाई रोकथाम गर्न भनेर तयार भएका निकाय नै भ्रष्टाचारको अखडाभन्दा आरोप लगाएको मानिन्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रको छरपष्ट केही महिना अघि छताछुल्ल भएको थियो । अदालतका विषयमा बाहिर धेरै चर्चा गर्न हुन्न भनिन्छ । (अ)कानुनी पैसाको चलखेल हुने गरेको चर्चा सधैँ हुने गर्दछ । सामान्य फाँटवालाले सय पचास पनि छाड्दैनन् ।
आर्थिक अनियमिततालाई नियन्त्रण गर्न महालेखा परीक्षक भन्ने संवैधानिक निकाय छ तर त्यो निकाय नभए आधा भ्रष्टाचार कम हुन्छ भन्ने कर्मचारी नै छन् । महालेखाका प्रतिनिधि जिल्ला जिल्लामा जाँदा उनीहरुका लागि केही प्रतिशत छुट्टयाएर राख्नै पर्ने हुन्छ रे । यो कुरा ओपेन सेक्रेट हो । कुनै कार्यालय छैन होला जस्ले महालेखाको प्रतिनिधिलाई आर्थिकलगायतको स्वागत गर्नु नपरेको ।
प्रदेशअन्तर्गतका संरचनामा त हाक्काहाकी प्रतिशत माग्ने गरिन्छ । जिल्ला स्तरमा गएका कार्यक्रमहरुमा पनि प्रदेश मन्त्रालय स्तरवाटै त्यो काम चाहिँ मैले नै राखेको, फलानालाई सुहाउँछ भनेर हो मिलाएर दिनुहोला है भन्ने फोन संवाद हुने गर्दछ ।
यस्तोमा स्थानीय तह पनि अछूतो छैन । एक पालिकाले आफ्नो आवधिक योजना निर्माणका लागि सेवा प्रदायक प्रक्रियागत रुपमा छनोट ग¥यो । ठेक्कापट्टा १७ लाखमा टुंगो लाग्यो । त्यसको ७ लाख उतै फिर्ता दिने गरी कामको टुंगो भएको रहेछ । ठेक्का लिने सेवा प्रदायकको पनि आफ्नो विज्ञता नभएकाले अर्कोले ४ लाखमा जिम्मा दिएछ । उसले पनि एक लाख आफ्नो भागमा राखेर ३ लाखमा त्यो काम बेचेछ । यो प्रक्रियालाई के भन्ने होला ? अब त्यस्तो आबधिक योजना कस्तो होला ? कसरी कार्यान्वयनमा आउने होला ?
कथाको भैरव नै आए पनि हाम्रोमा भएको भ्रष्टाचार गर्ने तौरतरिका देख्दा मुसुक्क हाँस्नुभन्दा अरु विकल्प देखिन्न । महामारी बेलाको औषधिमुलो र कात्रोमा समेत अनियमिता भने पछि अरु त के कुरा गर्नु र ?
वन मन्त्रीलाई काठको प्रतिबन्ध खुलाउन अर्ब रकमको अफर गर्दछन् भने भ्रष्टाचार कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । नीतिगत भ्रष्टाचार त सबैभन्दा जटिल हुँदै गइरहेको छ । कुनै बेला मोटरसाइकलका दुवै जनाले हेलमेट लगाउनै पर्ने नियम राखियो । त्यो बेलामा कति हेलमेट बिक्री भयो । कमिसन कति चल्यो होला । सम्बन्धन दिने वा नदिने नाममा हुने चलखेल भनी साध्य छैन । अहिले भन्सार एजेन्ट परीक्षाका लागि सूचना निकालिएको छ । त्यो रोक्न ठूलै चलखेल भइरहेको सुन्नमा आइरहेको छ । यस्ता अनेकानेक उदाहरणहरु छन् ।
सरकारी निकायबाट सेवा लिनका लागि अहिलेसम्म रसिदबाहेकको कति पैसा तिरेँ हुँला भनेर सबैले सोच्ने हो भने ठूलै शृंखला बन्न सक्छ । कतिपय ‘घुस’ होलान् कुनै ‘खुस’ । जे होस्, हामी सबैले केही न केही रकम त्यो मामलामा पैसा खर्च गरेकै छौँ ।
हामीले गैरकानुनी रुपमा कति रकम कतिपटक बुझायौँ होला सायद हामीसँग वास्तविक आँकडा पक्कै छैन । अदालतमा मिसिलको फाइलको कपी गर्न होस् वा मालपोतमा जग्गा पास गर्ने क्रममा किन नहोस् हामीले केही न केही पैसा दिएका हुन्छौँ नै । हामीले अवैध रकम लिएका र दिएका छौँ । सायद तपाइको हातबाटै दिनु भएको छैन होला । तर एजेन्ट वा प्रतिनिधिमार्फत दिनु भएकै होला ।
हामी सरकारी क्षेत्रभन्दा बाहेक पनि यस्ता कर्म गरेका छौँ । फिल्ड गएर एक दिनअघि नै फर्केर घरमा बसी त्यो दिनको भत्ता भरेका होला । साथीको कोठा वा आफन्तकामा बसी होटलको बिल मात्र बनाएर पेस गर्ने कोसिस पनि भएको होला । कुनै गोष्ठीमा जाँदा ट्याक्सी नचढी त्यस्को पैसा दाबी गरेका छौँ होला । कतिपय बेलामा डिस्काउन्टमा बस भाडा तिरेर अनी खाली टिकट मागेर लाग्नेभन्दा बढी भाडा भरेर पेस गर्ने गरेका छौँ । तालिम गोष्ठीमा भाडा पाउने छ भने यातायात साधनको टिकट माग गर्दा हरायो भनेको धेरैपटक सुनिएको छ । हरायो भनेर मनलागी पैसा भर्ने तरिका हो । गोजीको पैसा नहराउने तर टिकट मात्रै हराउने ? यो भ्रष्टाचारको नमुना नै हो ।
हामी सबैले सकेसम्म कर कसरी कम तिर्न पर्छ भनेर अनेक जुक्ति लगाउने गरेका नै छौँ । कर घटाउन उपाय पत्ता लगाउन एजेन्ट नै नियुक्ति गरेको र सरकारी कर्मचारीले नै त्यो चाँजोपाँजो मिलाइदिन्छन् भने हामीले सुनेकै हौला । यी सबै प्रतिशतमा काम हुने गर्दछ । हामी पनि त्यो प्रक्रियामा सामेल भएका हुन सक्छौँ ।
मन्त्री र सरकारी कर्मचारीहरुको बारेमा हेर्ने हो भने एक शब्दावली नै काफी छ । ‘राम्रो कार्यालय र राम्रो मन्त्रालय’ । कस्तो हो राम्रो कार्यालय भनेको ? त्यो भनेको मालदार भनेको नै हो । नत्र एक जना कर्मचारीलाई जहाँ भए पनि आफ्नो जिम्मेवारी निभाउने त हो नी । भन्सार र हुलाक उही होइन र ? ती दुवै कार्यालयका समान तहका कर्मचारीले पाउने उत्ति नै तलब होइन र ? कर्मचारीसँग अनौपचारिक कुरा गर्दा, मेरो जागिरे जीवनमा कुनै राम्रो कार्यालयमा वस्न पाइएन भन्ने सुनेको पाइन्छ ।
जुन मन्त्रालयले धेर पैसा चलाउँछ त्यो नै राम्रो मन्त्रालय भन्ने गरिन्छ । मन्त्रीका लागि राम्रो मन्त्रालय भनेको त मान्छेसँग धेरै सम्बन्ध हुने पो हुनु पर्ने हो तर त्यस्तो ठानिन्न । हरेक घरघर वा नागरिकबीचमा पुग्ने मन्त्रालय त सहकारी वा वन वा स्वास्थ्य वा शिक्षा मन्त्रालय हुनु पर्ने हो नी । ती मन्त्रालय प्राथमिकतामा पारेको सुनिन्न अर्थात राम्रो मन्त्रालय भनी गणनामा आएको पाइन्न ।

Leave a Reply

Your email address will not be published.